भक्तपुर/ एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम हालै भव्य रूपमा सम्पन्न भएको छ ।
यो आयोजनाका कारण भक्तपुर जिल्लाका प्रि स्कुल विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शनी गर्ने अवसर पाए । भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा आयोजित उक्त कार्यक्रममा जिल्लाका २३ वटा प्रि स्कुलका बालबालिकाले आफ्नो प्रतिभा प्रदर्शनी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद दुर्लभ थापाले निजी क्षेत्रबाट सञ्चालित प्रि स्कुलहरूले बालबालिकाको शैक्षिक, शारीरिक र मानसिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए । उनले प्रि स्कुलका लागि राज्यले लगानी गर्नुपर्ने तर निजी क्षेत्रले जुन सक्रियता देखाएको छ, त्यो अत्यन्तै महत्वपूर्ण छ भन्ने धारणा राखे ।
अपेन केन्द्रीय अध्यक्ष बद्रीप्रसाद दाहालले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । बालबालिकाको क्षेत्रमा अहिले निजी क्षेत्रबाट भइरहेको प्रयास निकै सराहनीय रहेको बताउँदै दाहालले यस्ता कार्यक्रम बालबालिकालाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न निकै प्रभावकारी हुने धारणा राखे ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको क्षमता अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाए । उनले आफ्नो नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिका लागि निकै राम्रो काम गरेको बताए ।
यसैगरी अपेन केन्द्रीय सचिव सम्झना बस्नेतले बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पु¥याउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् । अपेन भक्तपुरका अध्यक्ष योगेश खड्काले सीमित स्रोतसाधनका बाबजुद पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।

‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न
Facebook Comments Box