एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई नछोइकन याने कुनै प्रकारले केरमेट नगरिकन छोटो बनाएर देखाउन सक्छौ ? भनेर प्रश्न गरेको याद आउँछ । मलाई सम्झना छ, प्रश्न सुनेर मैले तुरुन्तै उनलाई भनेको थिए, ‘यो लाइनलाई नछोइकन त कसरी छोटो पार्न सक्नु र ? यस्तो काम मैले मात्र हैन, राजाले पनि गरेर देखाउन सक्दैनन् ।’
केटाकेटीमा साथीहरुले अलिक असम्भव लाग्ने खाले कुराहरु गर्न वा गरेर देखाउनभन्दा त्यतिखेर एउटा हाम्रो प्रचलित भनाई हुने गथ्र्याे “यस्तो त राजाले पनि गरेर देखाउन सक्दैन ।’’ यस्तो कुरा सम्झदा अहिले पनि हाँसो लाग्छ, शायद यहाँहरुलाई पनि लाग्दो हो । यसले एउटा कुरा चाहिँ स्पस्ट बनाउँछ, त्यो के भने त्यतिखेर हाम्रा देशका राजालाई त्यो रुपमा हेरिन्थ्यो जसका लागि असम्भव केही पनि हुँदैन भन्ने बुझाई थियो । राजाले जे पनि गर्न सक्छन् । राजाका लागि असम्भव केही पनि हुँदैन । हर कोहीले गर्न नसकेको काम राजाले चाहिँ गरेर देखाउन सक्छन् भन्ने एउटा आम बुझाइ थियो । हुन पनि त्यतिखेरका राजा देशको नियम कानूनभन्दा पनि माथि हुने गर्थे । उनीहरुलाई देशको कुनै कानूनले छुदैन थियो । उनीहरु आफ्नो इच्छा अनुसार जे पनि गर्न सक्थे ।
अब अहिले राजा रहेनन् । देश गणतन्त्रमा प्रवेश गरेको छ । अहिलेको संविधानले देशको कानूनभन्दा माथि रहने छुट कसैलाई पनि दिएको छैन, भलै यो कुरा राजनीतिक दलका नेताहरूमा भने खासै लागू हुँदैन । हुनत संविधानमा देशका हरेक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ भनेर पनि उल्लेख गरिएको छ, तर यो अधिकार तल्लो वर्गका अधिकांश निमुखा नागरिकले अझैसम्म महसुस गर्न पाएका छैनन्, जुन कुरा एउटा अलग्गै बहसको बिषय बन्न सक्छ ।
खैर, अब हामी सुरुकै प्रसङ्गतिर फर्कियौ । अतः साथीले मेरो कुरा सुनेपछि भने – तिमी साँच्चै यो धर्को लाई नछोइकन छोटो पार्न सक्दैनौँ त ? लु त्यसो हो भने बाजी ठोक, म यो धर्कोलाई तिम्रो आँखा अगाडि नै नछोइकन छोटो पारेर देखाइ दिन सक्छु । अब त्यतिखेरको बेलामा बाजी लगाउनका लागि हामीसँंग के नै पो हुन्थ्यो र ! उनले कापीको दुइटा चोखो पन्ना, मागे । मैले लु यो धर्कोलाई नछोइकन छोटो पारेर देखायौ भने म तिमीलाई दुईटा होइन कापीको एउटा चोखो पन्ना चाहिँ पक्का दिन्छु, तर पहिला यो धर्कोलाई छोटो पारेर देखाउ भनें । त्यो बेला यसरी हामी दुईबीचमा एउटा ‘डिल’ तय भयो ।
कपीको एउटा चोखो पना दिने सर्तमा ‘डिल’ तय भए सँंगै, उनले तुरुन्तै त्यही लाइनको सामुन्ने अर्को अलिक लामो लाइन तानेर, लु हेर त, अब यो पहिलाको लाइन छोटो भयो, भनेर मलाई देखाई दिए । नभन्दै उनले, साँच्चै नै पहिला कोरेको लाइनलाई नछोइकन नै उक्त लाइनलाई छोटो पारेर देखाई दिए । म हेरेको हेरै भएँ र आफ्नो हार स्वीकार्दै उनलाई आफ्नो कपीबाट एउटा चोखो पन्ना छुट्याएर दिएँ ।
मेरो बालचेतनाले पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को अलिक लामो धर्को तानेर पहिला कोरिएको धर्कोलाई नछोइकन छोटो बनाउन सकिने त्यो प्रकृयालाई त्यतिखेर एकछिनको एउटा रोचक खेल जस्तो मात्र मानेर बिर्सिदिएको थियो । त्यतिखेरको बाल चेतनाले यस्तो विषयको गहनतालाई बुझेर विश्लेषण गर्ने सम्भावना हुने कुरा पनि भएन ।
अहिले आएर ज्ञात भयो, पेन्सिलले कोरेको एउटा धर्कोको सामुन्ने अर्को उस्तै लामो धर्को कोरेर पहिला कोरिएको धर्कोलाई कुनै छेड्छाड् नगरीकन नै त्यसलाई छोटो बनाउन सकिने कुरा बाल्यकालमा मैले बुझे जस्तो एउटा रोचक खेल मात्र नभएर हामी मनुष्यको सिङ्गो जीवनलाई मार्गदर्शन गर्ने एउटा सूत्र रहेछ । जुन सूत्रले तपाईं हामीलाई आपूmलाई लायक सावित गर्न अर्कोलाई नालायक सिद्ध गर्नु पर्दैन, बस आपूm लायक बनिदिए पुग्छ भन्ने कुराको शिक्षा दिने रहेछ ।
दुःख लाग्दो कुरा, यति सामान्य कुरालाई हाम्रा राजनीतिक दलका ठूल्ठूला नेता तथा तिनका कार्यकर्ताहरुले बुझ्न नसकेर आपूmलाई उत्कृष्ठ साबित गर्नकै लागि अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा भने अचम्भ लागेर आउँछ । आपूmलाई उत्कृष्ठ सावित गर्न, आपूmले उत्कृष्ठ काम गरेर देखाउन सक्नुपर्छ, अरुलाई निकृष्ट देखाउन आवश्यक छैन भन्ने कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरुमा चाँडै पलाउन सकोस् । (झापाको भद्रपुर स्थायी ठेगाना भएका ढकाल हाल दोहामा बस्दै आएका छन् )