मन देखि गरेको माया कदर भएन
त्यस पछि त माया गर्ने रहर भएन ।
माया पनि किसिम किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छल, कपट र भ्रम हँुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच वा बनावटीपन रहँदैन । यस्तो माया निःस्वार्थ हुन्छ, एकअर्काप्रति केही आशा अनि अपेक्षा रहँदैन । मनदेखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मनदेखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमी हुँदैन अनि कहिल्यै डग्मगाँदैन, मनदेखि लाएको माया अजम्मरी हुन्छ ।
आफै तर्किन खोज्यौ रहेन गुनासो
धोखेवाज भन्छौ भन्ने डर भएन
आफूले मनैदेखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुक्र्याएर आफै तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र ? आफै तर्किए पछि एउटा पाटो सजिलो पनि बन्यो, आफूलाई धोखेवाजको आरोप आउला भन्ने डर पनि भएन । मनदेखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला उनी तर्किन खोज्नुलाई कुचोले बढार्नु पर्ने धुलो हावाले उडायो भने झैं उसले सहज महसुस गरेको छ ।
दोष कस्लाई दिनु भाग्य नै उस्तै हो
त्यसैले कहि सफल सफर भएन ।
सरोज ‘संगम’ रावलका गजलका शेरहरुले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडियोमा बबिना आफै फिचर्ड छिन् । गजलको ऐरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड, मिक्सिङ र मास्टरिङ शम्भु कुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ऐ.जे. अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु कि बोर्ड, दीपक सापकोटा तवला तथा जय बि.के गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।
