मुख्य समाचार
भक्तपुर/प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तनाव बढेको छ । कुर्चीका लागि जस्तो पनि झुठ बोल्न सक्ने भन्ने आरोप लाग्ने गरेका ओली त्यही कुर्ची खोसिने चिन्ताले तनावग्रस्त बनेको समाचार स्रोतले दाबी गरेको छ । हाल करिब दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका ओली समीकरण फेरबदल हुने कुराले त्रसित बनेको अवस्था छ । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार परिवर्तनको कुरालाई प्रचार गर्ने गरेबाट ओलीमा त्रास सिर्जना भएको हो । वर्तमान सरकारले कुनै पनि किसिमको काम गर्न नसकेको आरोप लगाउँदै दाहालले यो सरकार नयाँ वर्षको आगमनसँगै ढल्ने ठोकुवा गरी भाषण गरेका थिए । ओलीलाई ‘बेइमान’ को संज्ञा दिने गरेका दाहालको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएपछि ओलीको तनाव झनै बढेको हो ।
नेकपा (एमाले) को अध्यक्ष समेत रहेका ओली आफ्नो विकल्पमा कसैलाई देख्न नसक्ने अवस्थामा छन् । उमेरहदका कारण दलको अध्यक्ष बन्न रोक्ने व्यवस्थालाई नै परिवर्तन गराई अभैm पनि अध्यक्षमा रहेका ओली आजीवन अध्यक्षका रुपमा रहने वातावरण बनाउन चाहिरहेका छन् । यस्तो अवस्थामा उनको चाहना प्रधानमन्त्रीमा कायमै रहनु भन्ने नै देखिएको छ ।
यसरी सरकारको नेतृत्व गरिरहेको अवस्थामा उनी दुई तिहाईको बलमा आफ्ना विरोधीहरुलाई सिध्याउँदै जाने सोचका साथ अघि बढिरहेका छन् । उनले आफ्नो प्रतिकुलका नेताहरुलाई दलबाट बाहिर पु¥याउने काम गरेका छन् । यसैगरी संसदमा समेत आफ्नो प्रतिकुलका ठानिएका दलहरु खासगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई सिध्याउने ध्याउन्न ओलीमा रहेको बताइन्छ ।
यस्तो स्थितिमा ओलीको मुख्य चाहना भनेको सरकारमा रहिरहनु हो । आफ्नो दल तथा आपूmलाई प्रतिपक्षमा पुग्ने अवस्था नआओस् भन्ने कुरामा ओलीको ध्यान रहेको छ । सरकारलाई जे जसरी संचालन गरेर भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई रोक्नै पर्ने मान्यतामा ओली रहेको स्रोतको दाबी छ ।
ओलीलाई प्रधानमन्त्री बनेको नौ महिना पुग्दासम्म पनि छिमेकी मुलुक भारतले औपचारिक रुपमा भ्रमणको निम्ता नदिएको चिन्ताले सताइरहेको बेलामा दाहालका कुराले झनै सताएको छ । जो पनि प्रधानमन्त्री बन्नासाथ भारतको औपचारिक भ्रमण गरिहाल्ने परम्परा विपरित ओलीलाई अहिलेसम्म भारतबाट बोलावट भएको छैन । यसरी भारतले नबोलाएको अवस्थामा ओलीले विभिन्न संयन्त्रहरु, सूत्रहरु प्रयोग गरी भ्रमणको वातावरण बनाउन चाहिरहे पनि त्यो सम्भव भएको छैन ।
यस्तो अवस्थामा रहेका ओलीले केही दिनअघि थाइलैण्डको भ्रमणको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यहीँ भेटेका थिए । दुईजनाका बीचमा एक्लाएक्लै भएको उक्त भेटबाट ओली उत्साहित बनेका थिए । ओलीले भारत भ्रमणका लागि उक्त भेट उपलब्धीमुलक हुने ठानिरहेको बेलामा दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटवार्ता भएको थियो । दाहालले देउवालाई भेटी वर्तमान प्रधानमन्त्री ओली र ओलीको दल एमालेलाई सरकारबाट बाहिर पु¥याउनुपर्ने चाहना राखेका भनी स्रोतहरुले जानकारी दिएका थिए ।
यसरी दाहालको चाहना कुनै पनि हालतमा ओली नेतृत्वको सरकारलाई ढाल्नु रहेको छ । यसका लागि दाहाल जुनसुकै मूल्य पनि चुकाउन चाहने अवस्थामा छन् । दाहालले देउवालाई प्रधानमन्त्री बन्नका लागि आग्रह गरेको पनि स्रोतले बताएको छ । देउवा भने हालको गठबन्धन टुटाउने पक्षमा नरहेको बताइन्छ ।
दाहाल र देउवाको भेटबाट अत्तालिएका ओलीले लगत्तै देउवासँग भेट गरेका छन् । दुवैजनाको बीचमा भएको भेटमा बाहिरी रुपमा अरु विषयमा छलफल भए पनि भित्री रुपमा सरकारको फेरबदलकै विषयमा ओली केन्द्रित हुन चाहेको स्रोतले बताएको छ । देउवाले भने अहिलेको अवस्थामा सरकारले चाहे अनुसारको कार्य गर्न नसक्दा कांग्रेसजनमा निराशा आएको बताएका थिए । नौ महिनाअघिको सहमति अनुसार नै हालको गठबन्धन जाने आश्वस्त पार्ने कार्य देउवाले गरेका थिए ।
देउवाको चासो भने गभर्नर नियुक्तिमा रहेको स्रोतले बतायो । यसअघि महाप्रसाद अधिकारी गभर्नर रहेको र हाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ओलीले चाहेको मानिसलाई नियुक्त गरिएको भनी देउवाले स्मरण गराएका थिए । उनले अबको गभर्नर कांग्रेसले भनेको मानिसलाई नियुक्त गरिनुपर्ने धारणा राखेका थिए । उता, ओलीले भने अर्थ मन्त्रालय आफ्नो दलको भागमा परेको स्थितिमा गभर्नर पनि एमालेले चाहे अनुसारको बनाइनुपर्ने धारणा राखेका थिए ।
संयुक्त सरकार भएकाले मिलाएर लानुपर्नेमा देउवाले जोड दिएका थिए । उनले मन्त्रालय कस्को भन्दा पनि मिलाएर लाने कार्य विद्युत प्राधिकरणमा गरिएकाले गभर्नरका लागि पनि प्रधानमन्त्रीले अत्तो थाप्नु नहुने धारणा राखेका थिए । आफ्नो अडानमा अडिग रहने स्वभावका ओलीले भने सरकार नढाल्ने भनी देउवाबाट आश्वासन चाहेका थिए ।
ओलीको शंकालाई हटाउन देउवाले हिजो विहीबार कांग्रेसका पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीहरुको बैठक डाकी हालको सरकारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गराएका छन् । ओलीको चट्टानी अडानलाई भाँड्नका लागि कांग्रेसको यो निर्णय सेतु बन्ने अपेक्षा देउवाले गरेका छन् ।
