रञ्जुश्री पराजुली
उनलाई लाग्यो, “लोग्नेमान्छेको बानी बिगार्ने स्वास्नीमान्छे नै हुन् । उनीहरूलाई घरायसी कामकाजको चेतना नै हुँदैन, तर जब उनीहरू आफूले गर्नुपर्ने काम थाहा पाउँछन्, तब कत्ति पनि झर्को नमानीकन गर्दा रहेछन् ।”
၀၀၀၀
“रमा घडी पनि हेर्दै गर है । आज त झन् मोटरसाइकलमा पनि तेल हाल्नुपर्छ । त्यहाँ हूल रहेछ भने अफिस पुग्न ढिला हुन्छ । त्यसैले सधैंको भन्दा पाँच मिनेट अगाडि हिंड्नुपर्छ ।” अफिस जान प्रायः हतार गर्नुपर्ने हुनाले प्रदीप आज बिहानैदेखि रमालाई सतर्क गराउँदै छन् ।
आफ्नो हतारको जिन्दगी देख्दा कहिले त रमालाई वाक्क पनि लाग्थ्यो । उनको गृहस्थी सानो परिवारको भए पनि सम्पूर्ण आफैंले मात्र हेर्नुपर्ने हुनाले उनलाई सधैं भ्याउन मुस्किल पथ्र्यो । उनी सोच्थिन् अफिस पनि नगै भएन, घर बनाएको केही ऋण तिर्न नै बाँकी छ । घर पनि एक तला थप्न पाए भाडामा राख्न पाइन्थ्यो, जसबाट एक जनाको तलब जति भाडा (पैसा) आउँथ्यो होला अनि बरु जागीर छोडेर घर बसेपछि ठीकै हुन्थ्यो । घरको धन्दा ग¥यो, केटाकेटीलाई स्कूल ल्याउने–लाने अनि उनीहरूको गृहकार्यमा सघाउने गर्दा दिन बितिहाल्थ्यो ।
रमाको यस्तो सोचाइ हुन्थ्यो, तर यो केबल उनको सधैंको सोचाइ मात्र भएको थियो । अफिस जाने बेलामा यस्तो सोचाइ उनलाई सधैं नै आउँथ्यो । आफू बसेको एउटा सानो घर बनाएको चार वर्ष भइसक्यो, तर पनि त्यसमा तला थप्न सकेका थिएनन् । रमा बिहे गरेर जतिसुकै सुखी र आनन्दी भएको अनुभव गरेता पनि कताकता उनीभित्र एउटा पारिवारिक असन्तुष्टि टाँसिएको जस्तो अनुभव उनलाई सधैं हुन्थ्यो । उनी हिजो अफिसमा खाजा खाने बेलामा भएको गफ सम्झिन्थिन् ।
सावित्रीले कस्तो आनन्दले भनेकी थिई, “मेरो श्रीमान्ले छोराछोरीलाई ख्वाउने–प्याउने काम गरिदिनुहुन्छ । म सबै घरको काम भ्याउँछु, नत्र म पनि अफिस आउन ढिलो भइहाल्थ्यो नि ।”
त्यसै बीच रमिलाले थपिन्, “म त आनन्दसँग नै भ्याउँछु किनकि मलाई त श्रीमान् र सासू दुवैले सघाइदिनु हुन्छ । सबैथोक ठीक पारिदिएपछि सासू चुलामा बसिदिनुहुन्छ । श्रीमान् केटाकेटीसँग लाग्नुहुन्छ । म लुगा धुने र घरको सरसफाइमा लाग्छु ।”
दुवै साथीको कुरा सुन्दा रमालाई ईष्र्या लाग्यो किनकि उनलाई भने घरमा कसैले सघाउँदैनथे । केटाकेटी सानै थिए । आसै गर्नु पर्दैनथ्यो । सासू– “म त सक्दिनँ है, सक्ने बेलामा मैले जस्तो दुःख कसले ग¥यो होला र ? अब त मेरो केही लाग्दैन, दिए खान्छु नदिए भोकै बस्छु” भन्थिन् ।
श्रीमान्को कुरै भएन । बिहानभर ओछ्यानको ओछ्यानमै हुन्थे । बीचबीचमा त्यहीँबाट – “ए रमा ! चिया ल्याऊ, रमा घडी हेर्दै गर, ए रमा ! छोराको लुगा फेरिदेऊ” आदि–आदि गरेर कराइरहन्थे । रमालाई त कहिले दुई जोर हात भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।
आफूले मन पराएको केटा प्रदीप हैसियत नमिलेको हुनाले रमाका बाबुले उनीहरूको बिहे गरिदिन नामञ्जुर गरेपछि उनले परिवारको स्वीकृति बेगर प्रदीपसँग बिहे गरिन् । त्यसैले बुबा उनलाई हेर्दैन थिए । “कुलको इज्जत फाल्ने छोरीको मुख हेर्दिनँ” भनेकाले उनी माइती जान पनि बर्जित थिइन् । आमासँग यसो कहिलेकाहीं भेट भएता पनि उनले केही सहयोग पनि पाएकी थिइनन् ।
प्रदीपले पहाडको केटो काठमाडौं आएर शिक्षा हासिल गरी जागीरे भएपछि आफ्नी विधवा आमालाई पनि साथमा ल्याएर राखेको थियो । रमा र प्रदीप विश्वविद्यालयमा पढ्दा मन मिलेर एक सूत्रमा बाँधिएका थिए । ती दुवै अधिकृत थिए । दुवै अधिकृत भए पनि केही वर्षअगाडि मात्र एउटा घर ठड्याएका हुनाले उनीहरूलाई ठूलो आर्थिक बोझ परेको थियो । त्यसैले गर्दा घरमा काम गर्नेसम्म पनि राख्न सकेका थिएनन् ।
रमा सोच्दथिन्, “बूढी आमा काम गर्न सक्दिनन्, ठीक हो, किनकि उनले पहिले नै धेरै दुःख गरिसकिन्, तर प्रदीप बिहानभरि ओछ्यानमा बस्थे, त्यो ठीक थिएन । यसमा केही सुधार ल्याउनुपर्छ, यस्तै यस्तै सोच्दासोच्दै प्रदीपले हर्न बजाएको सुनेपछि यस विषयमा अरू गहिरिएर विचार गर्नुपर्ला भन्ने सोच्दै उनी “आएँ, आएँ” भन्दै गएर मोटरसाइकलको पछाडि सीटमा बस्थिन् । मोटरसाइकलले गन्तव्यतर्फ आफ्नो गति लिन्छ ।
भोलिपल्ट बिहान सधैं झैं रमा आफ्नो घरायसी काममा लाग्थिन् । बाहिर हतारिएको देखिए तापनि आज उनी हड्बडाएकी थिइनन् । बीचबीचमा उनी भान्छेबाट प्रदीपलाई जो ओछ्यानमै थिए, “यसो गर्न पाए हुन्थ्यो प्रदीप ! उसो गर्न सक्छौ कि ?” भनेर भन्न थालिन् ।
यसो गर्ने आँट उनले ६ वर्षको लामो वैवाहिक जीवनमा कहिल्यै गरिनन् । उनी हुर्केको समाजले लोग्ने भनेको देवता हो, सदैव उसको आज्ञाको पालना गर्नुपर्छ भन्ने सिकाएको थियो, तर ती सबै विश्वासलाई मस्तिष्कबाट हटाएर “आखिर लोग्ने पनि त मान्छे हो, झन् आफ्नो सबैभन्दा नजिकको सम्बन्ध भएको, ऊसँग सहयोग माग्दैमा लोग्नेस्वास्नी बीचको सम्बन्ध बिग्रने होइन । पश्चिमी समाजमा लोग्ने स्वास्नी मिलेरै घरायसी काम गर्दछन् भने हाम्रो मात्र किन नहुने,” यस्तो सोचेर उनले प्रदीपबाट सहयोग पाउने आशा गरेकी थिइन् ।
नभन्दै आफूले जे गर्न अनुरोध ग¥यो, त्यो काम कत्ति पनि झर्को नमानीकन प्रदीपबाट भएको देखेर उनी छक्क पर्थिन् । उनलाई लाग्थ्यो, “लोग्नेमान्छेको बानी बिगार्ने स्वास्नीमान्छे नै हुन् । उनीहरूलाई घरायसी कामकाजको चेतना नै हुँदैन, तर जब उनीहरू आफूले गर्नुपर्ने काम थाहा पाउँछन्, तब कत्ति पनि झर्को नमानीकन गर्दा रहेछन् ।”
त्यस दिनदेखि रमाले कहिले पनि अफिस ढिलो पुग्नु परेन । हँसिलो अनुहार लिएर अफिस पुग्थिन् भने सोही अनुहार लिएर घरायसी काममा लाग्थिन् । मद्दतको लागि उनको लोग्ने प्रदीप सधैँ नै आफ्नो नजिक भएको उनी पाउँथिन् ।
(‘नेपालका नारी कथाकार ः प्रवृत्ति र प्रतिनिधि कथा’बाट)