भक्तपुर/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सबैलाई चिढ्याउने कार्यमा लागि रहेको आरोप लाग्न थालेको छ । एकोहोरो स्वभावका भन्ने आरोप खेप्दै आएका ओली पछिल्लो समयमा आफू संयुक्त सरकारको प्रधानमन्त्री रहेको कुरालाई बिर्सिदै गएको भन्ने आरोप पनि लाग्न थालेको छ । वर्तमान सरकार बनाउँदा संविधानमा संशोधन गर्ने लगायतका कार्यहरु गर्ने भनी चिल्ला कुरा गरिए पनि त्यसतर्फ सरकार अलिकति पनि लागेको जस्तो अनुभूति नभएको भनी सबैले भन्ने अवस्था आएको बताइन्छ । संयुक्त सरकार भए पनि एकलौटी रुपमा ओली चल्थ थालेपछि सरकारमा रहेका दलहरु नै दिक्क मान्ने अवस्थामा पुगेको बताइन्छ । सरकारले जनमुखी कार्यहरु गर्नुको साटो हरेक कार्य र नियुक्तिमा प्रधानमन्त्रीले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गरिरहेको भनी सबै क्षेत्रबाट त्यसको आलोचना भैरहेको छ ।
सबैभन्दा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेसको साथ पाएर सरकारको नेतृत्व गर्न पुगेको नेकपा (एमाले) का अध्यक्ष ओली अहिले कांग्रेसलाई समेट छक्याउने कर्ममा लागि रहेको आरोप कांग्रेसका नेताहरुले लगाउन थालेका छन् । ओलीले आप्mनो अनुकुलको अवस्था थोरै पनि देखेको अवस्थामा अरुलाई सिध्याई हाल्ने खेल खेल्ने गरेको स्रोतको दाबी छ । यस्तो अवस्थामा मुख्य सहयात्री कांग्रेसका लागि भनी छुट्याएका पदहरुमा समेत ओलीले आफ्नै मान्छे हाल्ने खेल खेलिरहेको कांग्रेसका नेताहरुले बुझ्न थालेका छन् ।
यसको प्रमुख उदाहरणका रुपमा नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिलाई लिइएको छ । गभर्नरका लागि ओली स्वयम्ले आफूले चाहेका व्यक्तिलाई नियुक्त गर्न अनेक प्रपञ्च गरिरहेको बताइन्छ । यसकालागि ओलीले कांग्रेसले चाहेका डेपुटी गभर्नर डा.गुणाकर भट्टलाई रोक्न भित्री रुपमा खेल खेलिरहेको स्रोतले बतायो । भट्टले पदबाट दिएको राजीनामा स्वीकृत गर्नुपर्ने अवस्थामा रहेकी निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेको अवस्था छ । यसैगरी भट्टलाई नियुक्त गर्न लागिएको भनी त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अदालतमा परेको रिटको सुनुवाई हुन नसक्दा उनको नियुक्ति प्रक्रिया पनि कानूनी फन्दामा परेको छ । गभर्नरजस्तो पदको विषयमा अदालतमा प्रश्न उठेको अवस्थामा अदालतले समयमै निर्णय दिएको खण्डमा त्यसले न्याय पाएको महसुस गर्ने थियो । गभर्नरजस्तो पद जुन देशको मौद्रिक कार्य र अर्थव्यवस्थासँग जोडिएको हुन्छ, त्यसमा अदालतले अदालती प्रक्रियालाई अग्राधिकार दिएर हेरिदिएको भए हुने भन्ने खालको आममानिसको बुझाइ रहेको छ ।
यो विषय अदालती प्रक्रियामा रहेको स्थितिमा कानूनी राजलाई मान्ने कांग्रेसले यसका बारेमा खासै प्रतिक्रिया दिएको छैन । कांग्रेसको यो संयमतालाई कानूनलाई मानेको भनी बुझ्नुको साटो निरिहताका रुपमा प्रधानमन्त्री ओलीले बुझिरहेको भन्ने चर्चा पनि चलेको छ । यही तरल अवस्थामा ओलीले आफू निकटका युवराज खतिवडालाई फेरि गभर्नर बनाउने खेल खेल्न थालेको बुझाइमा कांग्रेसका नेताहरु पुग्न थालेका छन् ।
यसैगरी हरेकजसो नियुक्तिमा ओलीले एकलौटी गरी कांग्रेसलाई झनै चिढ्याउने कार्य गर्न थालेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय पनि ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति नलिई गरेको भन्ने कांग्रेसजनको बुझाइ छ । यसैगरी हितेन्द्रराज शाक्यलाई सो पदमा नियुक्त गर्ने कार्य पनि ओलीले आफूखुशी गरेको बुझाइमा कांग्रेसजन पुगेका छन् । यसैगरी हालका प्रहरी महानिरिक्षक दीपक थापाको नियुक्ति पनि ओलीले आफूखुशी गरेको भनी कांग्रेसका सभापति शेरबहादुर देउवा पनि रिसाएको अवस्था छ ।
कुलमान घिसिङको खेदो खन्दै आएका ओली उनको पक्षमा कोही देखियो भने त्यसलाई सिध्याउने कार्यमा लाग्ने गरेको बताइन्छ । त्यसको पछिल्लो उदाहरण ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गर्नुलाई लिने गरिएको छ । घिसिङ र तामाङ रामेछापका जिल्लाबासी पनि हुन् । लोकप्रियताको शिखरमा रहेका घिसिङलाई चार महिना समय बाँकी हुँदै पदबाट हटाउन ओली लागेको अवस्थामा तामाङ त्यसको विरुद्धमा थिए । तामाङले उक्त निर्णय ठीक नभएको भनी दिएको अभिव्यक्तिकै आधारमा ओलीले उनलाई बुधबार बर्खास्त गरेका बताइन्छ ।
त्यसो त ओली आफ्नो विरुद्धमा बोल्ने कसैलाई पनि नछोड्ने मनसायका साथ लागि परेका छन् । उनले आफ्नो विरोधका आवाज निकाल्ने एमालेजनलाई नै बाँकी नराखेको अवस्था रहेकोे भनी भन्न थालिएको छ । शिक्षामन्त्रीका रुपमा रहेकी विद्या भट्टराईले राजीनामा दिनुपर्ने मुख्य कारणमा ओलीको असहयोग रहेको बताइन्छ ।
उता, ओलीका गतिविधिले कांग्रेस विच्किन पुगेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) भने मख्ख परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकार चाँडै नै ढल्ने बताइरहेका छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ओलीको विकल्पमा प्रधानमन्त्री बन्न भनिरहेका छन् । आफ्नो दल लगायतले देउवालाई स्वीकार्ने भनी दाहालले आश्वस्त पार्ने कार्य गर्दै आएका छन् ।
यो भेटघाटको प्रसंग चलिरहेको बेला देउवा उपचारका लागि भनी थाइलेण्ड पुगेका छन् । एक साताको बसाईपछि आज शुक्रबार देउवा नेपाल फर्कने स्रोतले बताएको छ । देउवाको आगमनसँगै दाहाल नयाँ सरकार गठनका लागि सक्रिय रहने बताइएको छ । उनले पछिल्लो संसदीय निर्वाचनमा बनेको गठबन्धनलाई नै अघि सारेर ओलीको दल एमालेलाई पाखा लगाइनुपर्ने मान्यता बोक्दै आएको बताइन्छ ।
ओलीको पेलानबाट कांग्रेस समेत वाक्क भैसकेको बुझाइका विपक्षीहरु पनि पुगेका छन् । आफूभन्दा बाहेक अरुलाई मान्छे नै नगन्ने स्वभावका ओलीकै कारण सरकार धरापमा पर्ने बुझाइ आमबुझाइ हो ।
वर्तमान सरकारले आन्दोलनमा रहेका शिक्षक, चिकित्सकदेखि निजामती कर्मचारीहरुको मागलाई रत्तिभर सम्बोधन नगर्ने देखिएको छ । तीन साता बढीेदेखि आन्दोलनमा रहेका शिक्षकहरुलाई सधैं सडकमा उत्रिन बाध्य पार्ने कार्य सरकारले गरेको आरोप लाग्दै आएको छ । आन्दोलनमा सहभागी शिक्षकहरुमा समेत फाटो ल्याई आन्दोलन तुहाउन सकिएला भन्ने सोचका साथ ओलीले अनेक तानाबाना बुनिरहेको स्रोतको बुझाई छ ।
