दीपक चौलागाईं
आदिम गुफाजस्तो
समयको अँध्यारो सुरूङमा
धमिलो लालटिन बालेर
मिर्मिरेको लाली पर्खिरहेको थिएँ,
त्यही बेला ऊ आयो
मलाई भेट्न ।
उसलाई थाहा थियो—
मेरो छनोटको रंग कुन थियो ।
उसले मलाई
भरखरै फक्रिएको
एक थुँगा रैथाने गुराँस उपहार दियो ।
उसलाई थाहा थियो—
मलाई सबैभन्दा मनपर्ने ऋतु कुन थियो ।
वरिपरि
ठाडो उकालो बनेर
निषेधका पहाडहरू ठडिएका थिए ।
उसले मलाई
ती गीतहरू सुनायो,
जसलाई
म मनमनै गुनगुनाउने गर्थेँ ।
उसलाई थाहा थियो—
मलाई सबैभन्दा प्रिय लाग्ने धुन कुन थियो ।
उसले मलाई
सधैं देख्ने गरेको
त्यो लोभलाग्दो सपना देखायो,
जसले
मेरा आँखामा चाँदनी छथ्र्यो ।
उसलाई थाहा थियो—
खुला आँखाले देख्ने
सबैभन्दा रूमानी सपना कुन थियो ।
समयको सिँढी,
स्वाधिनताको बतास,
निर्धक्क उडिरहेको चरा,
खुला क्षितिज
उषाको प्रथम किरण…
उसको गलामा
सम्मोहनको अपूर्व कला थियो ।
उसलाई थाहा थियो—
मनको क्यानभासमा
मैले सधैँ कोर्ने गरेको बिम्ब कुन थियो ।
बन्द पिँजडामा
समय नजरबन्द थियो
चेतनाको गति मन्द थियो,
सास फेर्नु पनि असाध्यै सास्ती थियो ।
उसले पिँजडाको ढोका खोलिदियो ।
उसलाई थाहा थियो—
मेरा लागि
सबैभन्दा अनमोल पल कुन थियो ।
खुला पनमा
ओठहरू खुले,
हातहरू तन्किए,
म फटफटाउँदै उड्न थालेँ—
अगाडिको विस्तारित क्षितिज छुन ।
तर
जति–जति उसको नजिक पुगेँ,
क्षितिज उति–उति टाढा हुँदै गयो ।
म र गन्तव्यको बीचमा
भ्रमको अदृश्य पर्दा थियो ।
म केबल सारिएको थिएँ
एउटा सानो पिँजडाबाट
अर्काे विशाल कारागारमा ।
अर्थात्,
पर्खालबिनाको पर्खालभित्र,
जहाँबाट
दूर… धेरै दूर…
केबल देख्न सकिन्थ्यो—
क्षितिज पारिको स्वप्निल संसार ।
अहिले म—
त्यही सपनाको सुन्दर संसार पुग्ने
भरपर्दाे बाटो खोजिरहेछु ।