अनुसा थापा
नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ठ्याक्क १० महिना भयो । गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेका छैनन् । मन्त्री हुनुभन्दा अगाडि सम्पत्ति कति थियो ? जनतालाई थाहा छैन ।
उनीहरुले जाँदा कति कुम्ल्याउँछन् ? यो पनि जनताले थाहा पाउने छैनन् । एमाले सरकारमा भएको एउटा प्रमुख दल हो । एमाले नै मोटरसाइकल ¥याली निकालेर सरकारलाई खबरदारी गर्छ । केही दिनअघि भएको मोटरसाइकल ¥यालीका लागि एक ट्याङ्की तेल र प्रति व्यक्ति हजार रुपियाँ बाँडेको आन्दोलनमा आएकाहरु बताउँथे ।
यो पैसा कहाँबाट आयो ? एक ट्याङ्की तेल र ¥यालीमा आएका हजारौंलाई हजारका दरले दिने पैसा कहाँबाट ल्याइएको हो ? सरकार देश र जनताका लागि काम गर्न नसक्ने, भ्रष्टाचार गर्ने अनि त्यो पैसा बाँडेर खबरदारीको नाममा ¥याली निकाल्ने ! सरकारमा बसेको दल आपैंm आन्दोलनमा उत्रिनुभन्दा ‘नालायक’ काम के होला ?
सार्वजनिक पदमा बसेका व्यक्तिहरुले आफ्नो सम्पत्ति छानबिन गर्नैपर्ने कानूनी व्यवस्था छ । एमाले र काँग्रेसको सरकारले कानूनकै उल्लंघन गरेको छ । एमाले मात्र होइन्, अन्य पार्टीले आन्दोलनमा मान्छे उतार्नका लागि पैसा नै दिने गरेको छ ।
गत चैत १५ गते समाजवादी मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन ग¥यो । एक जनालाई दुई हजार रुपियाँ दिएर कार्यक्रममा ल्याइएको थियो भन्ने कुरा पनि आए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री भए तर उनको सम्पत्ति कति छ ? जनतालाई थाहा छैन । ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत पनि प्रधानमन्त्री बने । सबैले पदमा पुगेपछि गर्ने भनेको ‘भ्रष्टाचार’ हो भनिन्छ ।
अनि सिधासाधी जनतालाई बाँडेर सडकमा उतार्छन् । पैसा देखेपछि अहिलेसम्म जनता सडकमा आउँछन् । जनताको सोझोपन, बेरोजगारीको फाइदा देशका नेतृत्वहरुले विगतमा उठाए र अहिले पनि उठाउँदै छन् । प्रहरीले स्रोत नखुलेको रकम समात्छ । त्यो रकम राष्ट्रियकरण हुन्छ ।
प्रहरीले नेताहरुको स्रोत नखुलेको सम्पत्ति किन समात्दैन ? राष्ट्रियकरण गर्दैन् ? नेताहरुको व्यापार व्यवसाय के छ ? केही न केही । राजनीति गरेर दशौं रोपनीमा महल बनाउन सकिन्छ ? यो सबै भ्रष्टाचार भएको प्रष्टै छ । मुलुकमा सानालाई ऐन लाग्छ, ठूलालाई जे गर्न पनि छुट छ ।
जनताले छिरिक्क ग¥यो भने लगेर कोच्ने प्रहरी नेताहरुले भ्रष्टाचार गरेको देख्दादेख्दै हात बाँधेर बसेको छ । नेता देश र जनताको नाम लिएर भ्रष्टाचार गर्ने, जनता मासुभात र हजार रुपियाँ पैसामा बिक्छन् । अनि यो देशको कसरी सुधार हुन्छ ? १० महिनासम्म त आफ्नो र मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गर्न नसक्ने ओलीले देश र जनताका लागि के काम गर्छन् ?
यिनीबाट जनताले के अपेक्षा गर्ने ? जुनसुकै दल होस्, लुट्ने, भ्रष्टाचार गर्ने, थर्काउने, तर्साउने खाने । यिनीहरु नेता होइनन्, ‘लुटेरा’ हुन् । पञ्चायतकालदेखि भूमिगत होस् या लोकतन्त्र गणतन्त्र यिनीहरुले लुटेरै खाएका छन् । पहिले लुकेर खान्थें, अहिले खुलेआम । नेता भनेका छन्, भ्रष्टाचार गरेका छन् ।
यदि भ्रष्टाचार नगरेको भए सम्पत्ति लुकाउँथे ? जनताले प्रश्न उठाउने भएपछि सम्पत्ति विवरण लुकाइएको न हो । जाने बेलामा मन्त्रीहरुले भएको सम्पत्तिको दोब्बर लिएर जान्छन् । नेताहरु नसुध्रिदाँ आज देश भ्रष्टाचारको दलदलमा फसेको छ । व्यापारीहरु राजश्व छल्ने, जनता कर नतिर्नेलगायतका प्रवृत्ति मौलाएको छ ।
देश वास्तवमा नै राम्रो र भ्रष्टाचारमुक्त बनाउने हो भने नेताबाट शुरुवात गर्नुपर्छ । उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेर स्रोत नखुलेको राष्ट्रियकरण गर्नुपर्छ । यिनीहरुमा कहाँ त्यति नैतिकता छ र ? देशका नेताहरुमा नेतृत्व गर्ने क्षमता छैन । आफू सरकारमा हुँदा टन्न भ्रष्टाचार गर्छन् अनि निस्किएपछि जनताको आवाज सुन्ने भन्दै टोलबस्तीमा पुथ्छन् ।
आफूले सरकारमा हुँदा के गरे ? हेर्दैनन् । सरकारमा उनीहरु पनि गएकै थिए । जनताले मौका दिएकै थिए । यहाँ नेताहरु छेपारोले रंग फेरेकोभन्दा छिटो रंग फेर्छन् । ओली सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा जनप्रतिनिधिहरु चुइँक्क बोल्न सकेका छैनन् । स्रोतभन्दा बढी रकम भएरै सम्पत्ति सार्वजनिक नगरिएको हो ।
स्रोत देखाउने ठाउँ नभएरै त यिनीहरु तर्सिएका हुन् । स्रोत देखाउनका लागि कमाएको पनि हुनुप¥यो नि ! सबै भ्रष्टाचार गरेको पैसा न हो । बजारमा दुइटा कुराको एकदमै चर्चा छ । त्यो हो, खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालको हातको घडी । ओलीको हातमा तीन करोडको र दाहालको हातमा ८८ लाखको घडी छ भनिन्छ ।
मिडियामा समेत त्यो कुरा आइसकेको छ । उनीहरुले लगाउने लुगाको मूल्य पनि लाखौं छ । दुवैले जनतालाई स्पष्टीकरण दिएका छैनन् । त्यसको मतलब त्यो कुरा सत्य हो भन्ने हो तर करोडौंको घडी बाँध्ने यिनीहरुको हैसियत के ? ओलीले ७० हजार पर्ने पानी पिउँछन् भन्ने कुरा पनि आइरहेका छन् ।
यत्रो महंगो पानी किन्ने पैसा कहाँबाट आयो ? जनताले तिरेको कर, वैदेशिक ऋण २७ खर्ब, रेमिट्यान्स, सरकारी गुठीको जग्गा सबैले यिनीहरुले खाएको भन्ने खालका आरोपहरु नेताहरुमाथि लाग्ने गरेको छ । अनि त्यसको केही पैसा जनतालाई ¥यालीमा निकाल्न प्रयोग गर्छन् । विडम्बना, जनताले यो कुरा बुझेनन् ।
देश सबै नेपालीको साझा हो तर जनता बोल्दैनन् । उल्टै पैसाका लागि यिनीहरुको कार्यक्रममा दौडिन्छन् । जनताकै कारण देश सकिएको र नेताहरुमा भ्रष्टाचार गर्ने मनोबल बढेको प्रष्टै छ । हुन् त यहाँ बेरोजगारी धेरै छ । त्यसैको फाइदा नेताहरुले उठाइरहेका छन् । एक हजार रुपियाँ पायो भने दुई छाक खान पुग्छ भन्ने उनीहरुलाई लाग्छ ।
के कारणले आफू बेरोजगार भयौं ? उनीहरुले मूल्यांकन गरेका छैनन् । नेताहरुको कारणले होइन ? नेताहरु गतिलो भइदिएको भए जनताले देशभित्रै रोजगारी पाउँथे होला । सुविधा पाउँथे होला । दुःखलाग्दो कुरा के भने, सबै नेताहरु खत्तम भए । व्यक्तिगत स्वार्थका लागि देश बेच्न पनि नछोड्ने खालका भए ।
एउटै व्यक्ति दर्जनौं पटक मन्त्री भएका छन् । त्यसको सूचीमा शरतसिंह भण्डारी छन् । उनको काण्डहरु बाहिर आइरहेका छन् । एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री हुने, मन्त्री हुने तर उखाल्ने केही होइनन् । भ्रष्टाचार गर्छन्, स्वास्नीको संख्या थप्छन् । देउवा पाँच, ओली तीन पटक प्रधानमन्त्री भए तर सिन्को भाँचेनन् ।
माधवकुमार नेपाल, झलनाथ खनाल एकएक पटक भए । प्रधानमन्त्री हुँदा यिनीहरुले कुम्ल्याउनु कुम्ल्याएका छन् भनिन्छ । अझै पनि जनता यिनीहरुले काम गर्छन् भनेर यिनीहरुको पछाडि लाग्नु मुर्खता होइन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रले यिनीहरुको सम्पत्तिको स्रोत खोज्ने कि नखोज्ने ?
कानून सबैलाई बराबर हो । रवि लामिछाने सहकारी ठगीमा जेल पुगे, देश बेचेर खाने अरु नेताहरुलाई किन जेल नहाल्ने ? सानालाई ऐन र ठूलालाई चैनको व्यवहार नगरौं । जनता अब यिनीहरुको कार्यक्रममा होइन्, यिनीहरुलाई कानूनको कठघरामा उभ्याउन लाग्नुपर्छ ।
त्यसो गरेनौं भने अब नेपाल नै नरहँला । त्यसैले जनता सचेत बनौं ।
