लक्ष्मीप्रसाद देवकोटा
म के लेखूँ के लेखूँ जस्तो भएर विचारान्य क्षणमा घोरिइरहेको आदमी तवरले मेरा बायाँ हातका बूढी र चोर औँला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमगुच्छ तह लाउने काममा पुगेछन्, जसलाई जुँघा मुसार्नु भन्दछन् । मैले के भावले जुँघामा ताउ लाउन लागेँ म भन्न सक्तिन, न त म मनोवैज्ञानिक छु । तर, जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ, तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर शायद यो रहेछ कि– जुँघालाई सम्याउनु !
यो कागत, कलम, मसीको क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुबै कमाउनुपर्दछ । मैले लेखेका कुरामा छिःछिः गरिदेलान् भन्ने त्रास हर– हमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मीठो ऐडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही–मिही भावनाहरू शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बीच–बीचमा पैदा गर्दछिन् । कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादूगरी गिर्खाहरू कुनै मीठो विषयमा क्ल्कँदै, रुनगुनाउँदै जागृत हुन सकेनन् । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषार्थको चिह्न नपाउँदा आफ्नो तेज र ताकप्तको कमीमा सचेत भएर आउँदा अर्को बीज के सम्कियोस् बर ! – ओठमाथिका जुँघासिवाय !
तपाईंले याद गर्नुभएको होला – जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर ऊ आफ्ना औँलाद्वारा पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिन्ह मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ ! यो आत्मा आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौँ किनकि जब जुँघा छुन्छ, तब उसलाई एक किसिमको नवीन फूर्ती, नवोत्साह र नयाँ जोश पैदा हुन्छ । जुँघाका टुप्पा–टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशिनका काइयाँले जम्मा गर्दछन् । त्यही विचारले होला मेरा औँला जुँघाको ताउ लाउन पुगे, जब मैले आपनो लेखन–शक्तिमा धिवकार दिन आँटेको थिएँ !
वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नालाई सवभन्दा सजिलो उपाय हुन्छ–जुँघा बटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही कोही आँखा पल्टाएरः जुँघाका टुप्पालाई बटारबुटुरको सास्ती दिँदा–दिँदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन् । कसैको बानी हुन्छ– जुँघा उखेल्ने । मैले कसै–कसैले जुँघा उखेल्दै टोक्तैसम्म गरेको पनि देखेको छु । कोही खाली ताउ लाइरहन्छन् मानो त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एक किसिमको आत्म–सूचनाशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जति जुँघालाई सास्ती दियो उति पुरुषको फूर्ती र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल–असल मगरहरू–जसका नास्ति जुँघा न दाह्री ।
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिन्ह हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको कुप्पा हो, फूर्तीको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारको मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जति जति बल बढ्दै गयो उति–उति माथिल्लो ओठमा कालो बस्तै जान्छ । जति जति मर्दले संसार चुम्दै गयो उति–उति त्यो लम्बिँदै जान्छ र जति जति पुरुषले पुरुषार्थ गर्दैगयो उति–उति त्यो सम्मिँदै जान्छ । “ओठमाथि जुँघा छ भने तेरो पाइन हेरुँ त” भन्ने दुश्मनको हाँक हुन्छ । “स्यालका जुँघा नउखेली !” भनेर रिसाएको मर्द बुर्लुक्क उफ्रन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ ।
“हाय ती दिनको सम्म्नालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे”, भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको तस्वीर म देख्तछु, ती सबमा म पाउँछु – जुँघाको भयङ्करता । शिवाजीको तस्वीर हेर्नुहोस्– क्या काले, कराले, मूठे जुँघाको भयङ्कर प्राचुर्य र धीरता सङ्केतका तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व देखिन्छ । तरबार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् । जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जाँच्तछ । प्राचीन पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्तै काला–काला डरलाग्दा जुँघे वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।
हाय ! यो नामर्द युग ! जसमा पुरुषको ओठ माथिको रौँसम्मको सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्ता कृष्ण–सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर, वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन ओठमाथि मर्दपना रोई–रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुष जाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्तो लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठमा लाली लाएका स्त्रीहरू जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नी– मान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन् ।
जुँघा राख्नामा केही बलियो, गठिलो, हाकिलो पुरुषार्थ र मजबूत मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइस निरर्थक छैनन् । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा छ । हामी घरकी कुखुरीले डुङ्गिन चाहँदैनौँ । हामी दुर्बल थाङ्ना सह्यार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको ढुङ्ङ्कारी मर्यादा राख्न चाहन्छौँ । आधुनिक पुरुषहरूमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्न सकिन्छ– जुँघाहीन पुरुष भएका घरमा घोडी नै राज्य गर्दछे । पुरुषलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो थालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको; जसमा गम्भीर, शासक, हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जोइटिङ्ग्रे हुन्छन्; जुँघा राख्ने – जवान ।
मैले ‘ले हण्ट’ नामक प्रसिद्ध प्रबन्धलेखकको एक हास्यप्रधान लेखमा पढेथेँ कि कुनै रानीले आफ्ना स्वामीका बागीहरूको पक्ष लिइन् । किनकि राजाले उनको जनाना गाला जस्तो मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको कदम शायद ठीक दिशामा रहेछ । तर आजकलको महान् परिवर्तन हेर्नुहोस् ! ‘लोग्नेले जुँघा राखे रे भन्ने रिसले एक मेमसाहेबले पिस्तोलको गोलोले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।’ आधुनिक स्त्रीहरू जुँघाको किन यस्तो रिस गर्दछन् म भन्न सक्तिन । आजकल स्त्रीहरूले पुरुषलाई मिच्तै ल्याएका छन्ः उनीहरू समअधिकारको मागबाट पनि अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिन्ह देख्यो कि शायद उनका नजर जल्दाहुन् मनोवैज्ञानिक कारणहरू अनौठा छद्म– वेशमा बाहिरका क्रियामा काम गर्दछन् ।
मलाई पनि त्यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मूठा बटारेर चढाउँछ र विशेषताका राक्षसी अधिकार राख्तछ । मेरा सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरू ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति काँटछाँट नगरेदेखिन् त मान्छे र भालूमा के फरक छ ? भालू–नङ पाल्ने, काने जुँघा राख्ने, काडी आँखीभौं बढ्न दिने पुरुषहरू सौन्दर्योपासनाका नजरका कसिङ्गर हुन् । ती अजायबघरलाई नमूना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठह¥याउनुपर्छ ।
जुँघा पनि थरिथरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानो जूत्राको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टेजुँघाहरूमा उत्साह कम हुन्छ, उनीहरू शायद जे भने पनि मान्छन् र ‘जी हाँ हजूर’ किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठीक उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन्, मानो यिनका थर ‘मै हुँ म’ हो । तीखोटुप्पे सुइरे जुँघा भन्दछ ‘कोही टेरे टेर् नटेरे नटेर् ! यो संसार मेरा निम्ति मै हुँ कुबेर !’ कोही पुतलीकट हुन्छन्ः यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ सङ्कुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक–एक जुँघामा एक–एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको चरित्र बुझिहाल्दछु । तर असल–असल मगर र भोटेहरूले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।
जुँघामा केही शासन गर्न सक्ने आदोत्पादक गुणहरू अवश्य छन् । म जब इस्कुलमा थिएँ तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो जत्तिको जुँघे मास्टरजीको । बेतको छडीभन्दा उनका हूँकार डरलाग्दा थिए । जब उनी जुत्रामा हात लगाएर कर्के आँखाले हेर्दथे तब किलासको मुटु थर्कन्थ्यो, सबका आँखा किताबमा लाग्दथे । उनी आला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरूपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लड्काको मनमा सहजसँग प्रभाव गर्दछ । लड्काहरू भन्थे – जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन; त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा–मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चड्कन चिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै–घोक्तै निदाएको बेलामा मैले सपना देखेँ– मास्टरजीका जुँघा ! मान्छे पनि थिएन स्वरूप पनि थिएन, तर साँढे तीन अङ्गुलका दुई टुक्रा बीचमा अलिकति फाटेर कसो कसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दो रहेछु जस्तो कहिले–कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझेँ जब आफ्ना ओठले जुँघा हाले र म मास्टरको वृत्तिमा लागेँ । (‘लक्ष्मी’ निबन्धसङ्ग्रहबाट)

क्लासिक व्यङ्ग्यः जुँघा
Facebook Comments Box