रुषा थापा
तात्कालिन नेकपा (माओवादी) ले २०५२ फागुल्न १ गते जनयुद्ध शुरु ग¥यो । माओवादीको आँखामा परे– सरकारी कर्मचारी, सेना, प्रहरीका परिवार तथा आफन्त । कसैको छोरा, बुवा वा श्रीमती सरकारी जागिरे, सेना, प्रहरी भएमा उसको परिवारलाई जागिर छोड्न दबाब दिइन्थ्यो । नभए चन्दा मागिन्थ्यो वा माओवादीमा लाग्न दबाब दिइन्थ्यो ।
माओवादीको दश वर्षे जनयुद्धमा थुप्रै सेना, प्रहरी तथा सरकारी कर्मचारीहरुले जागिर छोडेका थिए । अहिले बैंक तथा वित्तीय संस्थामा जागिर भएकाहरुलाई छोड्न एकदम दबाब दिइरहेको छ । यो दबाब माओवादीले होइन, तिनकै परिवार तथा आफन्तले दिएका हुन् । सहकारी भाग्यो । करोडौं बचतकर्ताको खर्बौ रकम सहकारीमा डुबेको छ ।
लघुवित्त र फाइनान्स पनि सहकारीकै अवस्थामा पुगिसके । अहिले त बैंक संकटमा परेका छन् । बैंकमा करोडौं बचतकर्ताले राखेको रकम जोखिममा छ किनकि सहकारी जसरी बैंकको पनि तीनवटै क्षेत्रमा लगानी छ । यसका कारण सहकारी पनि भाग्नुपरेको थियो । सहकारी भाग्दा बचतकर्ताहरुले कर्मचारीलाई तारो बनाए ।
उनीहरुलाई धम्क्याउनेदेखि कालोमोसोसमेत दल्ने काम भयो । यसले अब बैंकमा पनि समस्या देखिएकोले बैंकमा जागिर भएकाहरुलाई छोड्न आफ्नै परिवार, आफन्तबाट चर्को दबाब आइरहेको छ । हिजो बैंकमा जागिरे बनाउन भनसुनदेखि घुस खुवाउनेसमेत गरियो । अहिले जागिर छोड्न दबाब दिइरहेको छ । आखिर किन त ?
यसको कारण हो, बैंकमा संकट आउनु । बैंक डुब्नासाथ सहकारीका बचतकर्ताजसरी बैंकका निक्षेपकर्ताले पनि कर्मचारीको घरमै आएर बेइज्जत गर्ने, धम्क्याउने, कुट्ने तथा कालोमोसो दल्ने डर तिनका परिवारमा छ । अहिले बैंकमा जागिर छोड्ने बढिरहेका छन् भने त्यसको ठाउँमा नयाँ कर्मचारी ल्याउन सकिएको छैन । बैंकमा जागिर खान मानिसहरु डराएका छन् । बरु बेरोजगारी बस्छु तर जोखिम मोलेर बैंकमा जागिर गर्दिँन भन्छन् अधिकांश योग्य व्यक्तिहरु । बैंकको लगानी घरजग्गा, गाडी र शेयरमै छ । पछिल्लो समय यी तीनै क्षेत्र सुस्ताएका छन् ।
घरजग्गा कारोबार ठप्पै छ । गाडीको किनबेचमा पनि गिरावट आएको छ भने शेयरको मूल्य दिनानुदिन घटिरहेको छ । बैंकले ऋणीलाई दिएको कर्जा उठाउन सकेको छैन । ऋणीहरु कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । अधिकांश ऋणीले त धितो लिलाम गर्न नै भनिसके । धितोको मूल्य लगातार घटेकोले बैंक नै समस्यामा परेको छ ।
धितो लिलाम गरे पनि कर्जा रकम उठ्ने स्थिति छैन, अर्कोतर्फ धितो बिक्रीसमेत हुँदैन । बैंकले लिलाम गरेको धितो सकार्न हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा बैंक थप धितो लिलाम गर्न चाहदैँन । ऋणीले कर्जा नतिरेपछि के गर्नु ?
पाँच वर्षअघि बैंकले १४ प्रतिशतसम्म ब्याज दिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठायो । सहकारी, लघुवित्त, फाइनान्सहरुले त २२ प्रतिशतसम्म ब्याजको प्रलोभनमा बजारमा भटाभट पैसा उठाए । यत्रो ब्याज पाउने भएपछि मानिसहरुले आफूसँग भएको सबै रकम बैंक, वित्तीय संस्थामा राखे । विदेशबाट पठाएको पैसादेखि यहाँ व्यापार व्यवसाय गरेर कमाएको, घरजग्गा बेचेर वा वृद्धभत्ताको पैसासमेत बैंक, वित्तीय संस्थामा राखियो ।
एउटै व्यक्तिले ३९ वटा लघुवित्तबाट बिना धितो एक–एक लाख रुपियाँ ऋण लिएको पाइन्छ । बैंकबाट पनि ठूला व्यापारी तथा व्यवसायीहरुले कमसल धितो राखेर अर्बौ ऋण लिएका छन् । घुसको आधारमा । अहिले धितो बेच्दा दुई अर्ब आउँदैन, ऋण चाँहि दश अर्ब उठाउनुपर्छ । यसले गर्दा बैंक तनावमा परेको छ । अर्कोतर्फ, घरजग्गा, गाडी र शेयरको मूल्य दलाल, भूमाफियाहरुले बढाएका थिए ।
यो कुरा बुझ्न नसक्दा यसमा लगानी गर्नेको ओइरो लाग्यो व्यक्तिदेखि बैंक, वित्तीय संस्थासमेतले यसमा लगानी गरे । यही क्षेत्रमा लगानी गरेकै कारण सहकारी रातारात भाग्नुप¥यो । सर्वसाधारण पनि करोडपतिबाट सडकपतिको स्थितिमा आइपुगे । ऋण लिइलिई लगानी गरेकोमा तिर्न नसकेपछि कतिपयले आत्महत्यासमेत गरे भने कतिपय लुकीलुकी हिँडेका छन् ।
अब भने बैंकको पालो आएको छ । बैंक पनि नराम्ररी डुब्ने देखिएको छ । अहिले बैंकबाट लिलाम धितोको थुप्रो छ तर किन्ने मान्छे कोही छैन । किन्ने कोही नभएपछि बैंकले कसरी त्यसबाट ऋण उठाउँछ ? अर्कोतर्फ, धितो मूल्य आधाले घटेको छ । यसले गर्दा धितो बिक्री भए पनि राम्रो मूल्य वा ऋण रकमसमेत उठ्ने सम्भावना न्यून छ ।
बालुवाटारस्थित ललिता निवासको सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएकोमा केही समयअघि मात्रै सर्वोच्च अदालतले त्यसलाई गैरकानूनी ठहर गर्दै सरकारकै नाममा ल्याउन फैसला सुनाइसक्यो । त्यस्तै, गंगालालस्थित बाँसबारीको दश रोपनी जग्गा तथा नक्साल बालमन्दिरको व्यक्तिको नाममा गएको तथा भाडामा दिएको जग्गा पनि सरकारकै स्वामित्वमा ल्याउन आदेश आइसक्यो ।
झापाको गिरिबन्धु टि स्टेटको हजारौं बिगाहा सार्वजनिक जग्गा व्यक्तिको नाममा गएकोमा सर्वोच्च अदालतले सरकारकै नाममा ल्याउन फैसला सुनाइसक्यो । बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा थानकोटस्थित मातातीर्थको हजारौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारित गराएका थिए । त्यसबारे अहिले अख्तियार दुरुपयोग आयोगले छानबिन गरिरहेको छ ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा काभ्रेपलाञ्चोकस्थित साँगाको आठ सय १५ रोपनी र धुलिखेलको ८८ रोपनी सरकारी जग्गा भारतीय कम्पनी पतञ्जलीको नाममा पारित गराए । यतिमात्र नभई काठमाडौंको चावहिलस्थित १२ रोपनी ११ आना सरकारी जग्गा पनि व्यक्तिको नाममा पारित गरिदिए । टीकापुरको हजारौं बिगाहा सरकारी जग्गा परराष्ट्रमन्त्री डा.आरजु राणादेखि विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो नाममा ल्याएको आरोप लागि रहेको छ ।
हरेक जिल्लाका सरकारी, सार्वजनिक, ऐलानी, गुठी, मठमन्दिर, ताल पोखरीको जग्गा व्यक्तिको नाममा गएको छ । काठमाडौं उपत्यकाभित्रै हजारौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । त्यसमा सहयोग गर्नेचाहिँ दलकै नेता हुन् । दलकै संरक्षणमा कार्यकर्ताहरुले सरकारी सम्पत्तिमाथि आँखा गाड्दै आएका छन् ।
तर, अहिले व्यक्तिको नाममा गएका सरकारी जग्गाहरु धमाधम राज्यकै नाममा आइरहेको छ । स्मरणीय रहोस्, यस्ता जग्गामा बैंक, वित्तीय संस्थाहरुको अर्बौ लगानी छ । यसले यो जग्गा सरकारकै स्वामित्वमा आएपछि बैंक समस्यामा परेको छ । जग्गा सरकारको नाममा गएपछि ऋणीले कर्जा तिर्दैन, अनि लिलाम गर्न बैंकसँग अधिकार पनि हुँदैन । बैंकले यस्ता जग्गामा गरेको लगानी शतप्रतिशत डुबेको छ ।
यतिमात्र होइन, खोला, नदी किनारा आसपासका घर तथा संरचनामा पनि बैंकको लगानी थुप्रै छ । अब यसमा पनि बैंक डुब्ने पक्का छ किनकि खोला, नदी वरपर कुनै पनि संरचना बनाउँदा अनिवार्य ४० मिटर छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले गरिसकेको छ । अहिले खोला आसपास जति पनि घर तथा भवन बनेका छन् । तिनले २० मिटरसमेत छोडेका छैनन् । अब त्यस्ता संरचना महानगरले कतिबेला डोजर चलाउँछ अत्तोपत्तो छैन ।
अनि ऋणीले कर्जा नतिरेपछि र धितोमाथि डोजर चलेपछि बैंक खाली हात हुनेछ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बैंकबाट ५३ अर्ब ऋण लिएका छन् । साढे दुई दर्जन भाटभटेनी सुपर मार्केट धितो राखेर । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि बैंकबाट ११ अर्ब ऋण लिएका छन् । ऊर्जामन्त्री दीपक खड्काले समेत बैंकबाट १४ अर्ब कर्जा लिएका छन् । त्यो पनि कमसल धितो राखेर ।
पहुँच र घुसको आडमा बैंकले ठूला व्यापारी तथा नेताहरुलाई धमाधम अर्बौ ऋण दियो । अहिले उनीहरुले ऋण तिर्नु त परको कुरा हो साँवाब्याजसमेत तिरेका छैनन् । अनि यो कुरा थाहा पाएपछि भोलि बैंक डुब्छ, सञ्चालक अध्यक्ष त भागिहाल्छन् कर्मचारीलाई फसाउँछन् भनेर बैंकमा जागिर भएका आफ्ना छोराछोरी, श्रीमान्, श्रीमतीहरुलाई जागिर छोड्न दबाब दिइरहेको छ ।
बैंकका कर्मचारीलाई जागिर छाड्न दबाब
Facebook Comments Box
