नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । हिजो विहीबारदेखि कांग्रेसले आफ्ना सबै कार्यालयहरुलाई प्लाष्टिकरहित बनाउन थालेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका थिए । विश्व वातावरण दिवस (जुन ५) अर्थात् २०८२ जेठ २२ गतेदेखि लागू हुने गरी यो कार्यको थालनी गरिएको हो । दलको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले यो घोषणा आइतबार नै गरेका थिए । उनले गरेको घोषणा अनुसार केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह, सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लाष्टिकरहित क्षेत्र बनाइने भएको हो । देउवाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लाने कांग्रेसको नीति रहेको जानकारी गराएका थिए ।
विश्व वातावरण दिवसका दिन कांग्रेसले मात्र होइन कि विभिन्न संघसंस्थाहरुले प्रदूषणलाई रोक्नका लागि भनी विभिन्न प्रतिवद्धताहरु जाहेर गरे । हिजो विहीबार विश्वभरी नै विभिन्न किसिमका कार्यक्रमहरु गरिए । नेपालमा पनि वातावरणको पक्षमा देखिने गरी विभिन्न कार्यक्रमहरु नभएका होइनन् । सरकारी तथा गैह्र सरकारी निकायहरुले वातावरण जोगाउने नाममा धेरै नै खर्च गर्ने गरेको पाइन्छ । यसरी हेर्दा नेपालमा पनि वातावरणका नाममा कामभन्दा चर्चा बढी हुने गरेको देखिन्छ । सन्दर्भ फेरि राजनीतिक दलतर्फ नै जाने हो भने कांग्रेसको यो निर्णय एकदमै उपयुक्त देखिन्छ । राजनीतिक दलले आफ्ना कार्यालयहरुमा वातावरण विगार्ने चिजहरुलाई हटाउन, घटाउन सकेका खण्डमा त्यसले अरु दललाई पनि प्रेरणा दिने हुन्छ ।
सबैजसो दलहरुमा वातावरणसँग सम्बद्ध गरेर केन्द्रदेखि तलसम्म विभाग वा संयन्त्र खडा गर्ने कार्य हुँदै आएको छ । यस क्रममा सबैभन्दा ठूलो दल कांग्रेसले पनि आप्mना सबै तहमा वातावरणको क्षेत्रमा कार्य गर्ने गरी विभागहरु गठन गरेकै छ । यसरी सबैभन्दा ठूलो दलले यस्तो वातावरणमैत्री निर्णय गर्नु आफैंमा स्वागतयोग्य कार्य हो । योसँगै कांग्रेसमा चुनौती पनि छ । सुन्दा राम्रो लाग्ने निर्णय गरिए पनि त्यसको पालनाका लागि भने फलामको च्युरा चपाउनु जत्तिकै अवस्था रहन्छ । प्लास्टिक सर्वसुलभ बस्तु हो । मानिसको दैनिक जीवनमा प्लास्टिकको प्रयोग विभिन्न रुपमा हुने गर्दछ । जस्तो कि पिउने पानी राख्ने जार होस् वा पिउने पानीको बोटल नै होस्, धेरैजसो प्लास्टिकबाटै बनेका हुन्छन् । यसैगरी कुनै पनि सामान खरिद गर्न गएमा बोक्न सजिलो हुने भएकाले प्लास्टिककै झोला थमाउने गरिन्छ । यतिमात्र होइन कि सार्वजनिक कार्यक्रमहरु गर्दा पानी पिउन, चिया पिउनकालागि प्लास्टिककै गिलासहरु प्रयोग गरिन्छन् । यस्ता बस्तुको प्रयोग ठूला राजनीतिक दलका कार्यालयहरुमा हुने कार्यक्रमहरुमा झनै बढी मात्रामा हुने गर्दछ । त्यसैले यस्ता बस्तुहरुको प्रयोगलाई घटाउन तथा हटाउनका लागि कांग्रेसले गरेको यो निर्णयको पालना सधैंलाई व्यवहारमा उतार्न सकेका खण्डमा त्यसले साँच्चै नै नेपालको वातावरणमा सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । कांग्रेसको सिको अरु दलले पनि गर्न सक्ने अवस्था रहन्छ । यसैगरी धेरै जमघट हुने कार्यक्रमहरुमा वातावरणमैत्री बस्तुहरुको प्रयोगलाई बढावा दिने गरिएमा त्यसले समग्र विश्वको वातावरणलाई सन्तुलित राख्न मद्दत पु¥याउने देखिन्छ ।
प्लास्टिकमुक्त कांग्रेसका कार्यालय
Facebook Comments Box
