कथा: सन्तवीर गाउँमा छैन

Nayabimarsha (Weekly Newspaper from Nepal)

गणेश रसिक
सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज–भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिंदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छाड्नुभयो त्यसै दिन सन्तवीरको हर्ष, खुशी र आनन्दहरू उहाँले आफ्नो सुटकेसमा बन्द गरेर जानुभयो ।
आजभोलि गाउँमा एक्लो छ सन्तवीर !
हुन त आमा बा छन् सन्तवीरका । आठजना दाजुभाइ, दिदीबहिनीको हकवाला पनि हो सन्तवीर । तर ती सबैलाई उसको आत्माले आफ्नो ठान्दैन । आत्माले आफ्नो नठानेपछि आफ्नाहरू पनि पराई जस्तै । बरु रगतको वा फरियाको कुनै नाता छैन सारजन्नी भाउजूसँग । तर लाग्छ उसको जन्म भने केवल सारजन्नी भाउजूकै निम्ति हो ।
सारजन्नी भाउजूले गाउँ छोड्नु भएदेखि मानसिक रूपमा विक्षिप्त सन्तवीर कति दिन बिना भातपानी केवल रक्सीले मातेर बारीका कान्ला, खेतका आलीहरूलाई सिरानी हालेर निदायो । बतासिएको पुतली भएर जङ्गल, पाखा, पर्वत र नागीहरू चहार्यो । कहिले खोलाका किनारैकिनार दौडँदै घाँगीमा हामफाल्यो । जियाद्रो रहेछ मरेन, आधापिल्टो भयो ।
सन्तवीरको यस्तो दुर्दशा देखेर गाउँका रूढिवादी थाङ्नाहरू उल्टै कुरा काट्छन्, “सारजन्नीले पल्टन जाने बेलामा पनि सन्तवीरको मोहनी फुकाइदिएनछे क्यारे !”
सारजन्नी भाउजूको बान्की परेको शरीर, हिस्सी परेको अनुहार देखेर या मोहनी बोली सुनेर कसै पनि उमेरको अन्दाज गर्न कठिन छ अनि झट्ट हेर्दा तीनजना छोराछोरीकी आमा भनेर पत्याउन पनि गाह्रै पर्छ । जो कोहीसँग पनि एकपटक भेटेर दोहोरो कुरा गरिसकेपछि ढुङ्गाको मन भएका मान्छेको पनि पग्लिनै पर्ने हुन्छ र चित्तआकर्षक भाउजूको बानी बेहोरा देखेर सधैं भेटिरहूँ भन्ने चाहना पनि मनले गर्छ । यस्ती सारजन्नी भाउजू अभावैअभाव, गरीबी र थोत्रा लुगाहरूमा जन्मेर हुर्किएको निरीह सन्तवीरका लागि भाग्योदय चिटठा भइन् । खालीखुट्टे सन्तवीरले सार्जने पल्टनबाट ल्याएको डीएम बुट पायो । उनी स्विटर कम्व्याक्ट ड्रेस, डाङ्ग्री पायो । जाडोमा लगाउने ओभरकोट र छत्रे टोपी पायो । लुम्रे, झुप्रे सिकुटे सन्तवीरले सारजान्नी खान्कीको पोस लागेर भालुवासको तामाजस्तै हलक्कै हलक्कियो । सार्जनको जडाउरी लगाएर सारजन्नीसँग ठाँटिएर हिँड्दा ऊ सन्तवीरभन्दा सार्जनको ‘डुब्लिकेट’ जस्तो देखिन्थ्यो ।
दुवैको यस्तो चाला देखेर चिन्नेहरू जिब्रो फड्काउँदै कुरा काट्थे, “यो सन्ते र सारजन्नी मिलेर सोझा सार्जनलाई उठिबास लगाउने भए ।”
सारजन्ती भाउजूका सासूससुरा पितृ भएको माङकोठामा पसिसके । नन्दआमाजू पराईका चूह्लामा पसिसके । लोग्ने पल्टनमा । आफू एक्लै छोराछोरी सम्हालेर खेतबारी गर्दै पहाडको घर गरिखानु कति अप्ठ्यारो छ भन्ने भोग्नेहरूलाई मात्रा थाहा हुन्छ । कतै घर छाडेर एकदिनका लागि बाहिर जानु परे, मूलढोकामा ताल्चा लाग्छ, सुंगुर, कुखुरा थुन्न–खोल्न, गाईवस्तुलाई घस्याउटा, भकारो सोहोर्न खेताला खोज्नुपर्छ । यस्तै दिनचर्यामाझ चाहना, आवेग, भावना र आत्मीयताले डोरÞ्याउँदै सन्तवीरलाई सारजन्नी भाउजूको घरआँगनमा पुरÞ्यायो । उदार भावना, खुल्ला स्वभाव र विशाल हृदयकी सारजन्नी भाउजूको माया र ममताको छहारीमा सन्तवीरले आफ्नो जन्मघरलाई बिर्सन कर लाग्यो । आमाबाबुको मायालाई दागबत्ती दियो । अब आफ्नो घरमा बाँचेको अभाव, गरीबी, दुःख, पीडाका सीमाहीन क्षणहरूलाई फर्केर पनि हेर्न चाहँदैन । ती क्षणहरूलाई सम्झेर ऊ अति भावुक हुन्छ तर त्यत्रा अजङ्गका दुःखका टेम्के पहाडहरू बोकेर जीवनका सप्तकोशीहरू उसको नाङ्गो शरीर तर्न सक्दैन । नियतिले डोरÞ्याएर उसलाई जहाँ ल्याएर थन्काएको छ, त्यहीं नै जीवनको सत्य हो भनेर चित्त बुझाउँदछ– सन्तवीर ३
सन्तवीरलाई थाहा छ, यस घरमा सारजन्नी भाउजू हुनुहुन्न । तर जबजब यस घरभित्र ऊ पस्छ, तबतब उसलाई एक्लो भएको महसूस कहिल्यै हुँदैन । यहाँका प्रत्येक कोठा, राखनधरान, ठाउँ जिनिसहरू माझ सारजन्नी भाउजूको उपस्थितिको आभास हुन्छ । छुट्टिने समयको सारजन्नी भाउजूको बोली सन्तवीरको कानमा टेपरेकर्ड भएर गुन्जिरहन्छ– “म गए पनि चिन्ता नगर्नु सन्ते भाइ ! बरु मन परेकी केटी छानिराख्नु, अर्को साल आउँदा तिम्रो विवाह गरिदिन्छु । शायद अब हामी गाउँ होइन काठमाडौं बस्छौं होला । छोराछोरी हुर्किए, पढाउनु छ, यो घर तिमीले सम्हाल्नुपर्छ–मेरो देवर भएर ।”
सारजन्नी भाउजूको कुरा सुनेर एकक्षण आवाक् भयो– सन्तवीर !
उसको बन्द दिमागको ढोकाबाट बल्ल अलिकति उज्यालो पस्यो – सारजन्नी भाउजूको मायामा ऊ आफू यति साह्रो पात्तिएछ– उसले यो बैंसमा पनि अरू केटीतिर आँखा लगाउने र मैले पनि विवाह गर्नुपर्छ भन्ने सोच्ने फुर्सदै पाएनछ । आफ्नो विवाह गरिदिने सुनेर तन्नेरी सन्तवीर खुशीभन्दा बढी खिन्न भयो । कहाँ सारजन्नी भाउजूको माया, जसको निम्ति ऊ आजीवन विवाह नगरी बस्न राजी छ । एउटालाई दिइसकेको माया फेरि अर्कोलाई कसरी दिन सकिन्छ ? सम्झिंदा विरक्तिएर आउँछ सन्तवीरको मन ।
“मलाई बिदा दिनोस् भाउजू, यस घरमा तपाईं गइसकेपछि को छ र मेरो ….।” सन्तवीरले सारजन्नी भाउजूसँग आफ्नो बहको तितो पोख्न चाह्यो ।
तर सारजन्नी भाउजूको आँखाको कटाक्ष सम्मोहनयुक्त सियो र धागोले टम्म सिलाइसकेको छ, निरीह सन्तवीरको ओठ । ऊ बोल्न सक्दैन । कुनै आदेश वा इशारा आयो भने पनि ऊ त्यसलाई नाघेर जानसक्दैन । बरु सारजन्नी भाउजूप्रति ऊ यति नतमस्तक, इमानदार अनुशासित र समर्पित छ । सन्तवीर ! तिमी मर्न जाऊ भन्यो भने पनि ऊ तत्कालै खुकुरीले सेरिन तयार हुन्छ ।
गाउँमा पल्टनबाट बिदा आउने र बिदा सकेर पल्टन फर्कने क्रम यथावत् छ । यही बिचमा पल्टनबाट बिदामा आए जमदारका लाहुरे छोरा–बुहारी । सन्तवीरलाई खबर आयो – उसको नाममा सारजन्नी भाउजूले केही खर्च र पार्सल पठाउनु भएको छ ।
सन्तवीर जमदारको घर पुग्दा, सिकुवामा जमदारबा, लाहुरे छोरा र छिमेकीहरू साथ मग्नमस्त थिए गफमा । अरूबेला भन्दा छुट्टीमा आएको लाहुरेको घरमा तमकझमक नै बेग्लै हुन्छ । त्यही खुशीको रमझममा मिसिन पुग्यो सन्तवीर ।
जमदारकी बुहारी हातमा पार्सल र नगद लिएर निस्किन् । गोरो धपक्क बलेको अनुहारमा सुलुत्त परेको चम्किलो दुई आँखाले सन्तवीरलाई हेर्दा झन्डै बेहोस भयो ।
“सन्ते भाइ, तिमी त तीन वर्षमा कति लाठे भएछौ” जमदारकी बुहारी यति राम्री थिइन् भनेर पहिले केटाकेटी उमेर भएकाले यादै गरेको रहेनछ । झन आफू लाठे भएको बेहोरा जमदारकी बुहारीको मुखबाट सुन्न पाउँदा सन्तवीर दङदास पर्यो, र सारजन्नी भाउजूले छोडेर गएदेखि हराएको उसको अनुहारको चहक बल्ल आजै मात्र देखाप¥यो ।
जब सन्तवीर पार्सल र नगद बोकेर घरको बाटो फिर्यो । बाटोभरि उसका आँखामा सारजन्नी भाउजूको ठाउँमा जमदारकी बुहारी उभिएकी थिइन् । सारजन्नी भाउज्यूसँग छुटेपछि, नितान्त एक्लो, दुःखी र असहाय भएको सन्तवीरले जमदारकी बुहारीसँग भेटेपछि केही पाएजस्तो भयो । पार्सल नगद हातमा थाप्दा उनले केके समाचार भनिन् सन्तवीरले राम्रै सुनेको हो तर कुनै हेक्का राख्न सकेन । भावशून्य भएर जमदारकी बुहारी हेरेर टोलाइरह्यो सन्तवीर । शायद एकोहोरो प्रेममा सीमा नाघेपछि सबै प्रेमीहरू सन्तवीर हुन्छन् ।
जमदारको लाहुरे छोरो, आफ्नी श्रीमती, छोराछोरीलाई आमा–बाबुको साथमा छोडेर पल्टन फर्कियो ।
सन्तवीर, जमादारको घरदलान कुनै न कुनै बहानाले दिनको एकपटक नटेकी सक्दैन । त्यस घर र त्यसघरको बुहारीको अदृश्य सम्मोहनले सन्तवीरलाई जबरजस्ती घोक्राएर ल्याउँछ । नआउन्जेल त्यस घरका लागि नौलो र पराई सन्तवीर आउन थालेपछि मायामोहले नजिक र सहयोगी हुन थाल्यो । खेतबारी, मेलापात, दाउरा, घाँस, सघाउपघाउ बलको काम गर्न फुर्तिलो र छरितो सन्तवीरले जमदार, जमदारिनीको मात्र होइन उनीहरूकी बुहारीको मन जित्न पनि सफल भयो ।
साँझपख, धेरै दिनदेखि बज्न छोडेको सन्तवीरको जोरमुरली फेरि सुनिन थाल्यो । पात झरेर सिक्रिएका बैंसका हाँगाहरूमा नयाँ जोश र जाँगरले नयाँ पालुवाहरू पाउलिए । उसको अनुहार नै फेरिएर घामझैं तेजिलो भयो । सन्तवीरमा आएको यो परिवर्तन देखेर गाउँकै आहारिसे डाढेहरूले कुरा काट्न थालिहाले– “सारजन्नी भाउजूले सन्तवीरलाई लगाएको मोहनी जमदारकी बुहारीले उल्टाइदिएजस्तो छ ।”
सन्तवीरले यो हल्ला सुन्दा पहिलो पल्ट झस्कियो । उसले त थाहा नपाई सारजन्नी भाउजूको ठाँउमा जमदारकी बुहारीलाई एकोहोरो प्रेम गर्न थालिसकेछ । ऊभित्रको यो पापको सुइँको सारजन्नी भाउजूले पाइन् भने मेरो के गति होला ? र, मप्रति के सोच्लिन् ? सन्तवीर सारजन्नी भाउजूको टिठलाग्दो अनुहार सम्झेर द्रवित हुन्छ र कताकता कुबाटो पो लाग्दैछु भन्ने मनभित्र आशङ्का र डर उब्जिन्छ । तर गरोस् के, कहाँ को कहाँ समुद्रपारी छ सारजन्नी भाउजूको माया । आफू यहीं एक्लै, बैंस छ उमेर छ, इच्छा र चाहना छ, उसलाई पनि हाँसखेल, ठट्टा गर्न मन लाग्छ । मायाको भारी चौतारी खोजेर बिसाउने चाहना हुन्छ । यही चाहनाको साकार रूप जमदारकी बुहारी उसको जीवनमा आइन् भने पनि सन्तवीरले सारजन्नी भाउजूलाई चटक्कै माया मार्न भने सक्दैन कहिल्यै पनि ।
पानधारेमा पन्ध्रपन्ध्र दिनमा हाट लाग्छ, वरिपरि छिमेकी गाउँलेहरूलाई चाहिने किनमेल गर्ने बजार यही हो । हटारूको हूलमा सन्तवीर पनि मिसिएर केही नून र अन्य खित्रिकमित्रिक सामान बेसाउन एकबिहानै पानधारेको बाटो लाग्यो । हूलमा जमदारकी बुहारी, निर्मली, दखले, मैना र शिवराम पनि थिए ।
पूर्वको डाँडामा झुल्के घामले पखेटा फिजाउँदा चखेवा भञ्ज्याङ्गमा बिसाउन पुगेका हटारूहरूले थुम्से र झोलामा बोकेका कठुवा र खोयाबिर्केका चुस्की लगाए । फिलिङ्गो र मेसुको अमिलो अचार अकबरे खोर्सानीको पिरोमा जिब्रो फड्कारे । सन्तवीरले पनि जमदारकी बुहारीसँग बसेर कठुवामा ठाडो घाँटी लगायो । क्षणमा नै रसिलो आँखा पारेर जमदारकी बुहारीलाई हेर्यो, “भाउजू नरिसाउनु होला, तपाईंलाई जति म हेर्छु उति सारजन्नी भाउजू जस्तै लाग्छ । कठै ! यतिबेला के गर्दै होलिन् । हामी पानधारे जाँदा यसरी नै यहाँ बस्थ्यौं, यसरी नै खान्थ्यौं ।”
जमदारकी बुहारीले सन्तवीरको कुरा भूइँमा खस्न नदिई टपक्कै टिपिन्, “तिमीले सारजन्नी भाउजू देखिन्जेल त ठीकै छ तर सार्जनले देख्न थाले भने त तिम्रो दाइले पल्टनबाट आएर डाँडा कटाउँछ त भाइ मलाई…।”
जमदारकी बुहारीको कुरा सुनेर सबै गल्ल हाँसे । सन्तवीर भने दङ्गदास पर्यो । मनमनै सोच्यो, मौकामा चौका दाउमा च्याखे थापियो बल्झिन्छ क्यारे ।
बिहानको सिरसिरे हावाले पसिना ओभायो, थकाइ मेटियो । सबै आआफ्नो झोलातुम्बी बोकेर बाटो लागे । पानधारे पुग्न अझै निकै छ ।
लमतन्न सुतेको पहाड, हरियो नागी, सर्पजस्तो नागबेली परेको बाटोमा आफ्नो सुरमा फटाफट हिंडिरहेका हटारूहरू, सन्तवीर सारजन्नी भाउजूसँग यसरी नै हिंडेका बिगत सम्झेर त्यहींभित्र हराउँदछ ः
आज पनि पहिलेजस्तै पानधारेको हाट भरेर घर फर्कंदा बाटोमा झमक्क साँझ पर्यो । मातेर कसैको खुट्टा ठेगानमा थिएनन् । सन्तवीरले अँध्यारोमा डोरÞ्याउनु पर्ने थियो । सारजन्नी भाउजू र सन्तवीर पछाडि परे । सन्तवीर सोचिरहेको थियो – ‘यो तालले कसरी घर पुग्नु होला ।’
सारजन्नी भाउजू हिंड्न नसकेर थचक्क भुँइमा बसिन् । समाएका हातहरू आगोको भुङ्ग्रोजस्तो तातो ! सारजन्नी भाउजूले तानेर अँगालो हालिन् र छातीमा टाँसेर उत्तानो परेर आफै लडिन् र बौलाही जस्ती बरबराउँदै चुम्न थालिन् सन्तवीरलाई । सन्तवीर त्यही समयदेखि नाबालकबाट एकैपटक तन्देरी भयो । समर्थवान् पुरुष भयो । र आफ्नो घर, आमाबा सबै त्यागेर सारजन्नी भाउजूकै रखवारी गर्ने अङ्गरक्षक भयो ।
आज पनि पानधारेबाट फर्कंदा जमदारकी बुहारीसँग त्यस्तै भइदियो भने के गर्ने ?– सन्तवीरको मन उत्तेजना र खुशीले खरायो भएर हरियो नागीमा बेतोडसँग दौडियो । हेर्दाहेर्दै माथि चप्लेटी ढुङ्गामा पुग्दा बाज बनेर नीलो आकाशमा उड्यो ।
नभन्दै पानधारेबाट हाट भरेर घर फर्किंदा बाटोमा त्यस्तै साँझ त्यसरी नै पर्यो, हिंडेको बाटो त्यही छ । मौसम त्यही छ । झिसमिसे साँझको बतास र मनको चाहना त्यही छ । सन्तवीरलाई त्यस्तो लाग्छ आज विगतका प्रत्येक घटनाहरूमा पुनरावृत्ति भइरहेको छ, भिन्नता यति मात्र छ– सारजन्नी भाउजूको स्थानमा जमदारकी बुहारी छिन् ।
जति अँध्यारो हुन्छ त्यति हिंडाइले बाटो काटिन्छ, जति बाटो काटिन्छ त्यति अधैर्य हुन्छ सन्तवीरको मन । जमदारकी बुहारीप्रतिको उसको पाप मन, अनुराग र आसक्तिका घोडाहरू तबेलामा बाँधेर राख्न साह्रै गाह्रो परेको छ उसलाई । कुकुरे बैंसमा सारजन्नी भाउजूले ‘भोटे कुकुरको छाउरालाई खोलेमा बानी पारिदिएको लतले’ सन्तवीरलाई हरेक पल्टनिया भाउजूहरूप्रति समान दृष्टिकोण राख्ने मनरोगी बनाइदिएको छ । त्यही मनोरोगका कारण देख्दा निरीह, सोझो, लठुवा र आज्ञाकारी लाग्ने सन्तवीर मौका पर्नासाथ जखमले देउते बोका हुन्छ । जमदारकी बुहारीप्रति उसको आँखा गाडिएको उसलाई देखेकै दिनदेखि हो । यति हो धरापमा पार्ने मौकाको खोजीमा छ सन्तवीर । आज त्यो अवसर आइलाग्दैछ उसलाई ।
उकालो ओरालो हिंड्ने बानी छुटेको हुनाले पल्टनमा बसीबसी खाएर पोस लागेकी जमदारकी बुहारीलाई हिंड्न गाह्रो भयो । एकातिर मातेका खुट्टा अर्कोतिर अँध्यारोले तिरमिराएका आँखा । सधैं बानी परेकाहरू फटाफट लड्दैपड्दै भए पनि बाटो लागे । पछि परे सन्तवीर र जमदारकी बुहारी ।
सन्तवीर आखिर साधु बिरालो न थियो । एकान्त पर्नासाथ डोरÞ्याइरहेको जमदारकी बुहारीको हात तानेर छातीमा टाँस्यो र अनि जुरुक्कै बोकेर भुइँमा उत्तानो पारेर सुतायो ।
जसको भरोसामा हिंडिरहेकी बुहारी, उही डरलाग्दो चितुवा भएर आफूमाथि झम्टेको देखेर पहिले के भइरहेको छ सोच्नै सकिनन् । पछि पो होस खुल्यो र एक्कासि चिच्चाइन् । आफूलाई अभर पारेकोले बचाउन गुहार मागिन् ।
जमदारकी बुहारीको चिच्चाहट सुनेर हिंडिरहेकाहरू सबै फरक्क फर्किए । सुसेली पार्दै होहल्ला गर्दै घटनास्थलतिर सबै हाँक्किए । निमेषभरमै सबै एक गोला परे ।
घटनास्थलमा जमदारकी बुहारी मात्रै एक्लै थिइन् । सन्तवीर अँध्यारोमा उफ्रिएको उपियाँझै बेपत्ता भयो । जमदारकी बुहारी रिसले दाह्रा किट्दै थरथर काम्दै थिइन् । “यस पातकीले सबै स्वास्नी मान्छेहरूलाई सारजन्नी भाउजूझैं ठान्छ कि कसो ? मान्छेको फेला नपरेको साला कुकुर ! किन भाग्छस् ए आइज…..।”
नामर्द । डाँका सन्ते…..! बाबुको छोरा होस् भने आइज…।”
त्यस साँझदेखि सन्तवीर गाउँमा छैन ।
(‘प्रज्ञा आधुनिक नेपाली कथा भाग – ३’ बाट, (गणेश रसिकको सम्झनामा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *