कविताः बेहाल भो देशको

Nayabimarsha (Weekly Newspaper from Nepal)

अम्बिकादेवी निरौला

सारा गाउँ उजाडियो शहरले मान्छे नथेग्ने भयो
छोडी जानु विदेशमा युवकले हा ! बाध्यता नै भयो
लाग्दैछन् परदेशमा दिनदिनै लाखौँ युवा आशमा
आउन्नन् अब ती कुनै कहरमा भुल्छन् उतै सौखमा

छोडी गाउँ कतै पसे शहरमा कोही विदेशी भए
रित्यो गाउँ जताततै मुलुकका बस्ती उजाडी गए
खेती छैन कतै अभाव जनले जग्गा सबै बाँझिए
घट्यो साख अभावले मुलुकका भण्डार रित्ता भए

ब्वाँसो, बाघ, बँदेल, बाँदर बढे बस्ती हुँदा जङ्गल
छैनन् दक्ष युवा सबै हिँडिसके को चाहने मङ्गल
कस्तो रौनक थ्यो कुनै समयमा क्या स्वर्ग तुल्यै थियो
कस्को श्राप प¥यो र आज यसरी बस्ती सबै मासियो

बाँच्दैछन् दिनरात चिन्तित हुँदै मातापिता एक्लिँदा
मान्छे छैन गुहार्न गाउँ घरमा कोही बिरामी हुँदा
छैनन् लाश उठाउने जन यहाँ कस्तो विचल्ली भयो
सच्चा शासकको अभाव हुनमा बेहाल भो देशको

मान्छेकै मतिले असभ्य गतिले कालो बजारी बढी
घट्यो गौरव निम्तियो मुलुकमा हा ! दुर्दशाको घडी
कस्ले रोक्दछ घात गर्न यसरी छैनन् युवा देशमा
देऊ दैव विलम्ब कत्ति नगरी सत्बुद्धि नेतृत्वमा

ऊर्जाशील युवा पलायन हुँदा बन्ला र के देश खै ?
सोच्दैनन् किन निम्छरो मुलुक यो बन्दा कुनै शासकै ?
चिन्ता हुन्छ भविष्यको मुलुकको भो हाल यस्तो किन ?
कस्ले गर्दछ भक्तिभाव रसले यो देशको चिन्तन ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *