अश्विनी कोइराला
छ महिनाअघि हाम्रो ग्रुपको एउटा साथी अचानक शहरबाट हरायो । कहाँ गयो ? म¥यो ? या जिउँदै छ ? छ भने कहाँ छ ? केही भेउ पाउन सकिएन । आत्महत्या ग¥यो कि भन्ने त्रासले भने मनमा चीसो पसेको थियो । यो यसकाणले कि हराउनुअघि उसले फेसबूक स्ट्याटस अपडेट गरेको थियो, “यो जीवन बोझ भयो । आजैका दिन यो प्रद्युम्न आत्महत्याको घोषणा गर्दछ ।”
प्रद्युम्न आत्महत्या गर्ने खालको युवक थिएन । जस्तो उसको जीवनशैली थियो, कमसेकम त्यो हेर्दा त कसैले पनि विश्वास गर्न सक्दैन कि उसमा जीवनविमुख कामनाहरू पनि लुकेर बसेका छन् । ऊ पहाडबाट ठूलो मान्छे हुन काठमाडौँ आएको थियो । दुःखले माथि उठेको थियो । व्यवसाय गरेर राम्रै पैसा कमाएको थियो । लोभी पनि थिएन । तर युवती, डान्सबार, पार्टी आदिमा उसको खूबै रस थियो । हाम्रो समूहमा उसले जे भन्यो, त्यो शिलालेख झैं अमिट हुन्थ्यो । यसो भनौं, हामी सबै उसको व्यक्तित्वबाट साँच्चै नै प्रभावित थियौं ।
अचानक फेसबूकमा आत्महत्या गर्ने उद्घोष गरेर हराएको प्रद्युम्नको लामै समयसम्म कुनै खबर पाइएन । पहाडबाट छोरा खोज्न आएका उसका बा–आमाले हामीसँग सोधपुछ मात्र गरेनन्, रुवाबासी र आर्तनादको माहौलले हामीलाई पनि विरक्त मनोदशामा पारी दिएर गए । प्रहरीले पनि हप्काइ–दप्काइ ग¥यो । न लाश कतै फेला प¥यो, न सास । न त त्यो भेटिएला भन्ने आश । हामी थियौं त केवल निराश । हताश ।
एक महिनासम्म सम्झाएपछि प्रहरीले बा–आमालाई घर पठायो । फोटो देशभरिका प्रहरी चौकी पुगेका थिए । उसको फेसबूक स्ट्याटस प्रहरीको अघि कम्प्युटरबाट प्रिन्ट भएको थियो । अनुसन्धान जारी थियो र सबैभन्दा धेरै शंका हामीमाथि गरिएको थियो । हामी निगरानीमा थियौं । हामीलाई साँच्चै नै तनाव दियो । मिल्ने साथी हराएकोमा दुःखी हुनु स्वाभाविक त छँदै थियो । त्योभन्दा बढी प्रहरीको नियमित केरकारले हामी तनावग्रस्त थियौं । कहिलेकाहीं लाग्थ्यो, त्यो मूला मरेकै भए पनि एकपल्ट ज्यूँदो बनाएर मोरालाई फेरि मारिदिऊँ ।
तनावग्रस्त दिनहरूमध्ये एक दिन प्रद्युम्नबारे एउटा खबर आइपुग्यो । केही दिनअघि मात्र ट्रेकिङमा गएका केही व्यक्तिले प्रद्युम्न जस्तै व्यक्ति रसुवामा देखिएको सूचना दिए । हामीमा अचानक आशाको दीप प्रज्वलित भयो । तर पनि खबर पक्का थियो वा थिएन, यो पक्का गर्नु आवश्यक थियो । जाबो एउटा समाचारले मात्र यति खुशी दियो । हामी बयान पनि गर्न सक्दैनौं, यदि ऊ साँच्चिकै फेला परे हाम्रो खुशी कुन हदसम्मको हुने हो ।
हामी भोलिपल्टै सूचनाको त्यान्द्रो समातेर रसुवाको बान्द्रा गाउँ पुग्यौं । यात्राभरि ऊसँग बितेका दिनहरू मस्तिष्कमा फनफनी रोटेपिङझैं घुमिरह्यो । के विवशताले ऊ हामीमाझबाट अचानक हरायो ? कुतूहलले दरिलो डेरा जमाएर बसेको थियो ।
सूचनामा दिइएको बान्द्रा गाउँ पुगियो । पहाडी गाउँ निकै सुन्दर थियो । युवाहरू शहर र विदेश पसेकाले युवा शून्य यही गाउँमा प्रद्युम्न पुगेको हुनसक्ने आकलन थियो । त्यतै प्रद्युम्नजस्तो युवक देखिएको सूचना आएको थियो ।
ब्रान्द्रा गाउँ पुगेर सोधपुछ गर्दा गाउँलेले खोलातिर इशारा गरे । गाउँको पुछारमा खोला थियो । त्यही खोलाको किनारमा एउटा कुटी थियो । निक्कै नै मोहक पर्यावरण । सूचना अनुसार त्यही खोलाको तीरमा प्रद्युम्न देखिएको थियो । गाउँलेहरूले त्यहाँ रहेको पुरानो छाप्रोलाई मर्मत गरेर एउटा जोगी बस्न थालेको बताएका थिए । त्यही सूचना पछ्याउँदै घण्टौँ लगाएर हामी खोला किनारैकिनार कुटी भएको ठाउँमा पुग्यौँ ।
आश्चर्य ! त्यहाँ हामीले जुन दृश्य देख्यौं, कमसेकम प्रद्युम्नको नजिकको साथी भएको नाताले गर्दा हामीलाई पत्यार गर्न अलिक असम्भव भयो । जुन हविगतमा प्रद्युम्न थियो, हामीले कुनै पनि क्षण सोचेकासम्म थिएनौं ।
प्रद्युम्न जोगीको भेषमा कुटिभित्र ध्यान गरिरहेको फेला प¥यो । अनि अर्को आश्चर्यकै कुरा उसको ठीक पछाडि चर्चित पोर्न स्टार सन्नी लियोनको अर्धनग्न तस्वीर थियो । एउटा कुनामा सानो भान्सा थियो । अर्को कुनामा सुत्ने ओछ्यान देखिन्थ्यो । केही बेर अघि मन मस्तिष्कमा विद्यमान आश्चर्य अब दिग्दारी, रिस र उत्तेजनामा परिणत भयो । तत्कालै मेरो पारो तातेर आइहाल्यो ।
पहिलो संवाद पूरै उत्तेजनामा मेरै मुखबाट फुत्कियो, “साले, हामीलाई प्रहरी खोरमा थुन्ने योजना बनाएर भागेको ?”
सालिकले त मभन्दा अघि बढ्दै अश्लील भाषामा गाली गर्न थाल्यो । ऊ मभन्दा पनि बढी उत्तेजित देखियो । निमेषले बसिरहेको आसन उठाएर फ्याँकिदिँदै भन्यो, “शरम लाग्दैन । अझै चुप लागेर बस्छस् ।’
शुरूमा हामीलाई देखेर प्रद्युम्न झस्केको थियो । गाली गर्न थालेपछि उसले मुहारमा एउटा अलौकिक चमक निकाल्यो र ओझिलो मुस्कानका साथ हामीतिर हेर्यो । तर, उसको मुस्कुराहटको बदलामा हामी मुस्कुराउन सकेनौं । हामीलाई गिज्याइरहेको प्रतीत भयो । उसलाई हाम्रो गालीले कुनै असर पनि गरेन । बरु हाम्रा गाली जति जम्मै सकिए । गालीसँगै हाम्रो रिस पनि सकिँदै गयो । तर, उसको ओठमा रहेको मुस्कान भने सकिएको थिएन । ऊ उही मुस्कुराहटका साथ भान्साको कुनामा गएर केही काठका टुक्रा राखेर चिया बनाउन थाल्यो । धेरै बोलेन । केवल ६ महिनासम्म हामीले पाएको दुःख, उसका आमा–बुवाको चिन्ता र प्रहरीको अनुसन्धानका बारेमा सुनिरह्यो । हाम्रा गाली, आरोप, व्यङ्ग्य पनि सजिलै पचाइरह्यो ।
टर्रो चिया पियौं । त्यो बेलासम्म हामी सामान्य अवस्थामा आइपुगेका थियौं । आखिर जतिसुकै रिसाए पनि ऊ हाम्रो साथी थियो । आत्महत्या गरेको थिएन, सग्लो थियो । खुशी हुने यथेष्ट कारण यही एउटा मात्र हुन सक्थ्यो ।
रिस जति सप्पै मरिसकेपछि अब हामीमा कौतूहल र जिज्ञासाहरू प्रचुर मात्रामा आइसकेको थियो । चिया पिउँदै गर्दा हामी आँखा च्यातिच्याती र कानका जाली पूरै उसैतिर केन्द्रित गर्दै उसका कुरा सुन्न आतुर भयौं । उसले किन यस्तो निर्णय ग¥यो ? हाम्रो लागि यही नै प्रमुख कौतूहलको विषय थियो । उसको शान्त र सौम्य शैली चोर्दै मैले नै कुरा झिकें, “आखिर जोगी नै हुन मन लागेको थियो भने हामीलाई भनेको भए भैहाल्थ्यो नि ।” उसको हात समाउँदै प्रेमपूर्वक सोधें, “फेसबूकमा आत्महत्या गर्दै छु भनेर उद्घोष गरेर किन यस्तो ग¥या ?”
“सन्यासी हुनु भनेको आत्महत्या गर्नु हो मित्र ।” उसले जोगीकै शैलीमा भन्यो, “पुरानो प्रद्युम्न मरिसक्यो ।”
“अनि तँ चाहिंँ को नि ?” उसको कुरा सुनेर सालिकलाई फेरि रिस उठेछ । पछाडिबाट सालिक करायो, “अस्तिसम्म रातभरि केटी खेलाएर हिंड्थिस्, अहिले आदर्शको कुरा गर्छस् ?”
मैले सालिकलाई चुप लाग्ने इशारा गरेँं । फेरि प्रेमपूवर्क सोधें, “खै त तिम्रो गुरु ?”
उसले भित्तामा टाँसेको पोर्नस्टार सन्नी लियोनको अर्धनग्न तस्वीरतर्फ इशारा ग¥यो ।
“के वाहियात कुरा गर्छस् यार ।”, निमेषलाई सहिनसक्नु भएछ क्यारे । अब ऊ जङ्गियो, “यस्तालाई गुरू भन्छन् । तँ पागल त भएको छैनस् ?”
“पहिले खुस्किएको रहेछु मित्र । अब सद्दे भएको छु बरु !”
अब हामी सबैलाई डर लाग्यो । उसको दिमाग ठीक छैन भन्ने कुरा बझ्न हामीलाई बेर लागेन ।
मैले निमेषलाई पनि चूप लाग्ने इशारा गर्दै प्रेमपूर्वक नै सोधें, “ल भन् के आधारमा यो पोर्नस्टार तेरो गुरु भई ?”
उसका आँखा फ्लोरिसेन्ट ल्याम्प झैं चम्किला भए । चमकलाई टिकाइराख्दै भन्यो, “मैले पैसा कमाएँ । साथी कमाएँ । धेरै युवती खेलाएँ । तर, जुन दिन सन्नी लियोनको जीवनकथा पढें, त्यसै दिन जोगी हुने निर्णय गरें ।”
मलाई भित्र–भित्र हाँसो उठिरहेको थियो । खिस्सीको हाँसो तर हाँसो दबाएरै उस्तै प्रेमपूर्वक भावलाई निरन्तरता दिंदै सोधें, “उसको जीवनीमा त्यस्तो के रहेछ ? जो तिमीले देख्यौ, हामीले देख्न सकेनौं ? सन्नी लियोनको पोर्न मुभी त हामीले सँगै बसेर हेरेको होइन र ?”
“हो । हामी सबैले हेरेका छौं । थाहा छ, उनले त्यत्रा फिल्महरूमा एक जनासँग मात्र क्रीडा गरेकी छन्, आफ्नो श्रीमान्सँग ।” उसले सबैको अनुहार राम्ररी नियाल्यो । त्यसपछि सम्मानपूर्वक सन्नी लियोनको नाम लिंदै भन्यो, “एउटी पोर्नस्टार पनि विवाहपछि आफ्नो श्रीमान्बाहेक अरूसँग सम्पर्क गर्दिनन्, केवल अभिनय गर्छिन् । यो अचम्म होइन ? जसको पेसा नै यौनक्रीडा छ, उसको त आदर्श हुन्छ भने हाम्रो आदर्श हुनुपर्दैन ?”
प्रद्युम्नको कुरा सँगसँगै उसको मुहार र उसकी गुरुमा सन्नी लियोनको भित्ते तस्वीरलाई हेर्दै हामी सबै मौन भयौं । गुरुमा सन्नी लियोन !
