गायत्री लम्साल
दिनदिनै काण्डको रमिता
गर्दैन पशुले
सात पुस्तालाई पुग्नेगरी भकारी
भर्दैन पशुले
पशु पशु नै हो चोरलाई चोर र
साधुलाई साधु भन्छ
मान्छेले जस्तो डाँकाहरूलाई
मान, सम्मान गर्दैन पशुले
एउटा पशुले अर्को पशुलाई
शरणार्थी बनाउँदैन
आफ्नै जननीलाई बोक्सी भनी
मलमूत्र खुवाउँदैन
साथी हो पशु बन्न त सिकौँ
माथि जानेको खुट्टा
तान्दैन पशुले
शरण पर्नेलाई मरण
गर्दैन पशुले
बालबचेरालाई दिएर मात्र
आफूले खान्छ पशुले
जन्मदातालाई वृद्धाश्रममा
लाँदैन पशुले
पशुले कसैको कुरा काट्दैन
ठूला भाषण पनि गर्दैन
नाम र पदको लागि
लुछाँचुडी गर्दैन
पशुले झुट्टा आश्वासन बाँडेर
आफूलाई भोट माग्दैन
सित्तैमा पैसा पाइने भए तापनि
पशु आफ्नो वासस्थान छोडेर भाग्दैन
साथी हो, हामी पनि पशु बन्न सिकौँ
पशुले काम गर्छ
खुराफाती गर्दैन
आफ्नै पौरखले बाँच्छ
पैसाको लागि मर्दैन
पशुले भोलिको लागि
केही साँचेर राख्दैन
क्विन्टल–क्विन्टल सुन
चोरेर भाग्दैन
पशुले जति राम्रा कुर्ची देखे पनि
उसलाई आफ्नै बासस्थान मनपर्छ
दुई नम्बरी काम
कहिल्यै गर्दैन पशुले
आफूले खाको र लाकोमा सन्तुष्ट छ
प्रकृतिको नियमलाई कहिल्यै
मिच्दैन पशुले
त्यसकारण,
अरु केही गर्न नसके पनि
कमसेकम पशु बन्न त सिकौँ !
चाकरी र चाप्लुसी गर्न
जान्दैन पशुले
आफ्ना जति सबै राम्रा
भन्दैन पशुले
मौकामा चौका मिले पनि
आफैले थुकेको थुक
चाट्दैन पशुले
आफ्नो फाइदाको लागि
आफ्नो देश बेच्दैन पशुले
पशु पशु नै हो,
निकै इमान्दार छ
साथी हो, पशु बन्न त सिकौँ !
हत्या, हिंसा र बलात्कार गर्न
जान्दैन पशुले
आफैँलाई गाड्ने ठूलो खाडल
खन्दैन पशुले
पैसा दिएर न्याय किन्दैन पशुले
काम नगरी दाम कमाउने बाटो
चिन्दैन पशुले
पशु पशु नै हो
आफ्नो परिश्रममा रमाउँछ
साथी हो पशु बन्न त सिकौँ ।
