पात्रको मनोवैज्ञानिक वर्गीकरण

Nayabimarsha (Weekly Newspaper from Nepal)
नवीन पौड्याल

आजको आख्यान साहित्यमा पात्रको स्थान सर्वाधिक महत्वपूर्ण रहेको प्रतीत हुन्छ । कथातत्वलाई प्राधान्य नदिएर आख्यान लेखक मानवीय चरित्रलाई आफ्नो कृतिमा उतार्न बढी उद्यत हुन्छ । आजको मानवका गुण–दोष, समता–विषमता, व्यवहार, इच्छा, प्रचेष्टा, जिजीविषा इत्यादि विभिन्न कुराहरूमा बढी ध्यान केन्द्रित गरी आख्यानले आफ्नो संसार सिर्जना गर्दछ । आख्यानका विभिन्न तत्त्वहरूलाई बरु प्राधान्य नदिएर पात्र र चरित्रलाई बढी चिनाउनु नै आख्यानकारको लक्ष्य रहेको हुन्छ । यसैले आजका कथा र उपन्यास घटनाप्रधानभन्दा बढी चरित्रप्रधान हुन्छन् ।
आज संसार दिनानुदिन जटिल बन्दै जाँदैछ । मान्छेले आफूले चाहेको, रोजेको, खोजेको जस्तो पाउँदैन । जीवन र जगत्का जटिलतम कुराहरूलाई झेल्दै मान्छे अझ संघर्षशील बनेको छ । जीवनमा केही पाउनु होइन अपितु जीवन धान्नु नै साध्य बनेको छ आजका मान्छेलाई । यही जीवन धान्ने क्रममा मान्छे र उसको चरित्र नै जटिल बनेको छ । आजको मान्छे न पूर्णतया आदर्श त पूर्णतया राक्षस वा अनादर्श नै बन्न सक्दछ । काम, क्रोध, लोभ, मोह, मात्सर्य इत्यादि सामान्य मानवीय गुण हुन् भने केही उदात्त, केही आदर्श, केही सकारात्मक गुण पनि मान्छेमा पाइन्छन् नै । त्यसैले त आजको साहित्यमा मान्छेका सत्–असत् दुवै गुणको बराबरी नै उल्लेख पाइन्छ । आजको साहित्यमा बढी मनोवैज्ञानिकता र मनोविश्लेषणात्मकता पाइनु पनि मानवीय चरित्रको उद्घाटन गर्नलाई नै हो ।
संसारमा बासिन्दाको बढी महत्त्व हुन्छ । बासिन्दा नै नभए कसैलाई संसारको बोध हुँदैन । आख्यान पनि आख्यानकारको आफ्नो मनोसंसार हो । यसका बासिन्दा नै पात्र हुन् । यस बाहिरी संसारका मान्छेले जे भोग्छन्, जे देख्छन्, जे पाउँछन् ती सबै आख्यान संसारका बासिन्दाहरूले पनि भोग्छन्, देख्छन् अनि पाउँछन् । पात्रको क्रियाकलाप, चारित्रिक विशेषता, ढङ्ग, व्यवहार इत्यादि चाहिँ उसको चरित्र हो । आख्यान लेखकले आफ्नो आख्यानमा मानवेत्तर पात्रलाई उतार्न पनि सक्छ, तर यसमा सीमित सफलताको गुन्जाइस हुन्छ, त्यसैले आख्यानका पात्र सामान्यतः मानव नै हुने गर्दछन् । गैरमानवीय पात्रको प्रयोग पनि लेखकले परोक्ष रूपमा मान्छेकै चरित्रोद्घाटनका लागि गर्नसक्छ । पात्रको विभिन्न स्वभावका आधारमा, कार्यकलापका आधारमा र विचारका आधारमा विभिन्न वर्गीकरण गरिएको पाइन्छ । यस लेखको आशय चाहिं पात्रको मनोवैज्ञानिक वर्गीकरणको संक्षिप्त चर्चा गर्नु हो ।
उन्नाइसौं–बीसौं शताब्दीमा मनोविज्ञान क्षेत्रमा असाधारण एवम् व्यापक मीमांसा र अनुसन्धान भए । सिग्मण्ड फ्रायडको मनोवैज्ञानिक क्षेत्रमा पदार्पणले अझ नयाँ क्षितिज खुल्यो । उनले मान्छेको मनका विभिन्न विभिन्न अवस्थाको पत्तो लगाई त्यसको सम्यक् चर्चा गरे । अब मान्छेको बाह्याचरणभन्दा आन्तरिक मनोजगत्को बढी पारख हुनथाल्यो । फ्रायडले मानवीय चरित्रमा यौनतत्त्व वा कामवासनाको बढी व्यापकता र प्रभाव देखे । मान्छेमा कामवासना मात्र होइन अन्य तत्त्व पनि पाइन्छन् । कामवासनाका अतिरिक्त मान्छेलाई अन्य मनोवैज्ञानिक कुराहरूले पनि उत्तिकै प्रभाव पारिराखेका हुँदछन् भन्दै र फ्रायडेली सिद्धान्तलाई पनि आलोचना गर्दै कार्ल गुस्ताभ युङ, एडलरप्रभृति मनोवैज्ञानिकहरू आए ।
यसै सन्दर्भमा व्यक्ति वर्गीकरणको अन्तः वृत्तिको आधार लिएर विभिन्न मनोविद्हरू देखा परे पनि व्यक्तिको ‘मनोवैज्ञानिक प्रकारलाई विधिवत् प्रचलनमा ल्याउने तथा यस सम्बन्धमा सर्वाधिक मान्य सिद्धान्त निर्धारित गर्ने श्रेय मनोविद् कार्ल गुस्ताभ युङलाई जान्छ । उनै युङद्वारा निर्धारित व्यक्तिप्रकार मुख्य रूपले दुइवटा छन्– १. अन्तर्मुखी व्यक्ति वा पात्र र २. बहिर्मुखी व्यक्ति वा पात्र ।
वास्तवमा व्यक्तिको वर्गीकरण र आख्यानका पात्रको वर्गीकरण भन्नाले एकै बुझौं यो लेखको सन्दर्भमा, किनकि पात्र पनि मुख्य रूपले व्यक्ति नै हो । हामीबाट नै पात्रको निर्माण भएको हुन्छ ।
१. अन्तर्मुखी व्यक्ति वा पात्र
अन्तर्मुखी व्यक्तिको रुचि ‘स्वयम्’ तर्फ बढी केन्द्रित हुन्छ । ऊ प्रमुख रूपमा स्वसम्बद्ध समस्याप्रति जागरूक रहँदछ । उसलाई सामाजिक जीवनप्रति अपेक्षाकृत कम आस्था र रूचि हुन्छ । उसका लागि वैयक्तिक कुराको बढी महत्त्व हुन्छ । ऊ गम्भीर हुन्छ र कम बोल्दछ । ऊ स्वभावतः सङ्कोची, विचारशील एवम् संवेदनशील हुन्छ । भीडभाडभन्दा उसलाई एकान्त बढी मनपर्छ । आन्तरिक दुनियाँमा लीन भएपछि ऊ बाहिरी संसारलाई भुल्नपुग्दछ । अन्तर्मुखीहरू बढी असुरक्षित भावनाले ग्रसित हुन्छन् । एकान्त, उद्यान, नद–नदी र हरियालीप्रति धेरै आकृष्ट हुन्छन् । अन्तर्मुखी व्यक्ति चेतनमनमा जति स्वार्थी हुँदछन् अचेतनमनमा चाहिँ उति नै निःस्वार्थी हुन्छन् । उनीहरू हृदयका चाहिं परोपकारपरायण नै हुन्छन् । साधारण भाषामा भन्नुपर्दा अन्तर्मुखी व्यक्ति बढी घोसे प्रवृत्तिको हुन्छ । कसैसित हत्तपत्त मन–प्राण खोलेर आफ्नो कुरा बताउँदैन । अन्तर्मुखी व्यक्तिहरू कुण्ठित पनि हुनसक्छन् ।
२. बहिर्मुखी व्यक्ति वा पात्र
केही व्यक्तिहरू यस्ता हुन्छन् जो बाह्य एवम् वस्तुगत औ परसम्बद्ध कुरामा बढी वास्ता राख्दछन्; ती व्यक्तिहरू बहिर्मुखी हुन् । यस्ता व्यक्तिहरू चतुर, व्यवसायी एवम् विभिन्न परिस्थितिको सामना औ त्यसमा कार्य गर्ने क्षमता राख्दछन् । बहिर्मुखी व्यक्ति आफ्ना बारेमा सोच्नुभन्दा फाल्तु कुरामा बढी लिप्त रहन्छ । ऊ स्वसम्बद्ध समस्याभन्दा बढी सामाजिक जीवन र तिनका समस्यामा रुचि राख्दछ । ऊ कम विचार गर्छ, तर बढी बोल्छ । ऊ मनमा कुरा राखिबस्न सक्दैन र अरूलाई व्यक्त गरिहाल्छ । साधारण भाषामा भन्नुपर्दा ऊ फतौरे किसिमको हुन्छ, ‘पेटमा पाप राख्दैन’ भन्ने खालको हुन्छ । यस्ता व्यक्ति प्रायः समाजसुधारक हुँदछन् औ मानवीय नेतृत्व पनि यही वर्गबाट संरचित हुँदछ ।’ यी दुई वर्गीकरणबीचको अन्तर निम्न प्रकारले हेर्न सक्छौंः–
अन्तर्मुखी बहिर्मुखी
व्यवहार वैयक्तिक कुराहरूबाट निर्धारित वस्तुपरक वातावरणबाट व्यवहार निर्धारित
शान्त, एकांकी, कुरा गोप्य राख्ने, मितभाषी वाचाल, सम्पर्कशील, विश्वासी औ मिलनसार
हठी, दृढमति, नियम–आदर्शबाट जीवन व्यतीत गर्ने खालको अरूको विचार सहजै ग्रहण गर्ने, कार्य–व्यवहारमा शीघ्रगामी
संवेदनशील, सन्देहशील, सानो आलोचनाले विचलित हुने कडा स्वभाव भएको, आलोचनामा नडराउने, अरूमा विश्वास गर्ने
आत्मविश्लेषण औ दिवास्वप्नमा रत हुने आत्मविश्लेषण औ दिवास्वप्नमा रत नहुने
संवेगात्मक दृष्टिले संयत, असहानुभूति र निर्दयी प्रवृत्तिको संवेगात्मक दृष्टिले उन्मुक्त, सहृदयी औ सहानुभूतिशील
युङको यस वर्गीकरणलाई एउटा अर्को उप–वर्गीकरण पनि गरिएको छ । यसअनुसार अन्तर्मुखी औ बहिर्मुखी दुवै चरित्रलाई दुई–दुईवटा उपभेद दिइन्छ– भावप्रधान र विचारप्रधान ।’
१. भावप्रधान अन्तर्मुखी ः यस्तो किसिमको व्यक्ति भावुक तथा निराशावादी हुन्छ । ऊ आफ्नो स्थितिबाटै दुःखी बन्दछ । साथै संसारकै दुःखबाट समेत ऊ दुःखी बन्दछ, तर प्रत्यक्ष रूपले यसलाई मेटाउने कोशिश पनि गर्दैन । अधिकतर कविहरू यस्तै किसिमका हुन्छन् । यसै कारण अधिकांश कविहरूले दुःख, पीड़ा, व्यथाहरू आफ्ना कवितामा बढी मात्रामा अभिव्यक्त गर्छन् ।
२. विचारप्रधान अन्तर्मुखी ः यस्तो खालको व्यक्ति एकान्तप्रिय, आध्यात्मिक विषयहरूमा बढी चिन्तन गर्ने खालको हुन्छ । उसको अधिकतर समय अध्ययन र चिन्तनमा व्यतीत हुन्छ । ऊ सधैं आफ्नो समस्या सुल्झाउनतिर उद्यत हुन्छ । दार्शनिकहरू बढी विचारप्रधान अन्तर्मुखी हुन्छन् ।
३. भावप्रधान बहिर्मुखी ः भावप्रधान बहिर्मुखी व्यक्तिको कुनै पनि कार्यचेष्टाको मूलमा भावुकता रहेको हुन्छ । विशेष गरी स्त्रीहरू यस्ता खाले हुन्छन् । त्यसैले स्त्रीहरूमा कारुण्य, दया औ ममता पुरुषको भन्दा अधिक हुन्छ । कोही भावप्रधान बहिर्मुखी व्यक्ति कुनै भाषणकर्ताको भाषण सुनेर नै भावुक हुन्छ । यस्ता खाले व्यक्तिहरू सिनेमाको मार्मिक दृश्यमा आँसुसमेत बगाउने गर्दछन् ।
४. विचारप्रधान बहिर्मुखी ः यस किसिमको व्यक्ति तर्क–वितर्क गर्नतिर नलागेर बरु वैचारिक विषय बाह्य पदार्थ अथवा बाह्य घटनातर्फ छ्यान–विचार गर्छन् । ऊ ठोस निर्णयमा पुग्दछ । यस्ताहरू अन्तरात्माको आवाजमा विश्वास राख्दछन् । उनीहरू विचारको सत्यता एवम् मौलिकतामा विश्वास गर्छन् । राजनेताहरू प्रायः विचारप्रधान बहिर्मुखी हुन्छन् र खूब विचार पु¥याएर कार्य सिद्ध गर्दछन् ।
अन्तर्मुखी र बहिर्मुखी चरित्रबीचको एउटा तेस्रो चरित्र पनि युङले उल्लेख गरेका थिए र त्यो हो उभयमुखी चरित्र । वास्तवमा मान्छे न पूर्णतः बहिर्मुखी हुन्छ न त अन्तर्मुखी नै । व्यक्तिहरू विभिन्न परिस्थिति अनुसार चल्ने गर्छन् । कहिले खुस परेका बेला बडा बोलक्कड, फस्र्याइला र रमाइला हुन्छन् औ दुःख परेको बेला नबोल्ने, घोसे, निराश पनि बन्दछन् । यही प्रवृत्ति नै मानिसमा बढी मात्रामा पाइन्छ । यस कारण उभयमुखी चरित्रलाई पनि हामीले उत्तिकै महत्व दिनुपर्दछ भन्ने विचार युङको थियो ।
चरित्रको मनोवैज्ञानिक वर्गीकरणको सन्दर्भमा अर्का मनोविद् अर्नेस्ट क्रेस्मदले पनि आफ्नो नयाँ प्रकारको चरित्र वर्गीकरण गरेका छन् । उनको नयाँ वर्गीकरण सामान्य व्यक्तिहरूका शारीरिक बनावट तथा त्यस अनुसारको व्यक्तिको गुणको विकासका आधारमा दुई प्रकार छन् – १. साइक्लायड र २. सियाजइड ।
१. साइक्लायड स्वभाव ः यस्तो स्वभावका व्यक्ति मोटाघाटा हुन्छन् औ सामाजिक सम्पर्कमा चाँडै आउँछन् । यिनीहरू बडा रमाइला, दयालु, समाजप्रेमी हुन्छन् । समस्याप्रति यिनीहरूको दृष्टिकोण व्यावहारिक एवम् वस्तुपरक हुन्छ । कहिलेकाहीं यिनीहरू अनुचित रूपले बढी प्रफुल्ल औ विषादपूर्ण पनि हुने गर्छन् । यस्ता व्यक्तिहरू संवेगहरूको आवेशमा चाँडै आउँछन् । स्वभाव अस्थिर हुन्छ । यिनीहरू क्रियाशील हुन्छन् औ बाहिरी उत्तेजनाहरूप्रति आफ्नो प्रतिक्रिया चाँडै प्रकट गर्दछन् ।
२. सियाजइड स्वभाव ः साइक्लायडको ठीक विपरीत सियाजइड स्वभावका व्यक्ति दुब्ला, लज्जाशील, एकाकी एवम् संवेदनशील हुँदछन् । यिनीहरू अधिकांश सामाजिक सम्पर्कदेखि टाढा रहन्छन् । यस्ता स्वभावका व्यक्ति निष्ठर, कुटिल, स्वार्थी अनि बिझाउने खालका हुन्छन् । यिनीहरूको संवेग दमित हुँदछ । यिनीहरूले अर्कालाई व्यङ्ग्य–छेडछाड बढी बिझाउने गरी गर्दछन् । समाजका अघि नआइकन पछाडिबाट अरू मार्फत् आफ्नो स्वार्थसिद्ध गर्न तल्लीन रहन्छन् । बहिर्मुखी र अन्तर्मुखी तथा साइक्लायड र सियाजइड स्वभावहरू वास्तवमा केही लक्षणका आधारमा समान देखिन्छन् । यी दुई वर्गीकरणमा अघिल्लोले सामान्य व्यक्तिको चारित्रिक व्याख्या गर्छ भने पछिल्लोले मानसिक रोगीहरूको व्याख्या गर्छ । अन्तर्मुखी चरित्र असल गुणको नै हुन्छ भने यहीसित उस्तै देखिने सियाजइडबाट भने प्रायः नकारात्मक चरित्र भएकालाई बुझिन्छ ।
यसरी यी विभिन्न प्रकारका चरित्रहरू वास्तवमा मान्छेका बाह्यिक दृष्टि औ त्यस अनुसारको आन्तरिक स्वभाव अन्तर्गत पर्दछन् । यी चारित्रिक वर्गीकरण सोहै आना सत्य छन् कि असत्य भन्नेबारे मनोवेत्ताहरू अझसम्म लागिपरिरहेकै छन् । जहाँसम्म आख्यानको पात्रको चारित्रिक स्वभावको प्रश्न छ, अन्तर्मुखी किसिमका स्वभावहरू नै बढी प्रयोगमा ल्याइएका छन् । नेपाली आख्यानको सन्दर्भमा भने उपर्युक्त आधार थोरै मात्रामा मात्र प्रचलनमा ल्याइएको छ । विशेष गरी विश्वेश्वरप्रसाद कोइराला, पारिजात, विजय मल्ल, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट प्रभृति आख्यानकारहरूले केही मात्रामा बहिर्मुखी चरित्रको आधारमा चित्रण गरेका छन् । यसो भनौं, यी केही साहित्यकारका आख्यानमा पाइने पात्रहरू यो वर्गीकरणका लक्षणसित मिल्न पुग्छन् । हुन त यी वर्गीकरणका आधारमा पात्रहरूको खोजी पनि नेपाली आलोचकहरूबाट कम नै भएको जस्तो लाग्छ । यस सम्बन्धमा नेपाली आलोचनाको क्षेत्रमा व्यापक अनुसन्धान अपेक्षित छ । (साहित्यपोष्ट डटकमबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *