कौशल कुमार भट्टराई
रविजी अर्थात् धेरै उपमा भएका व्यक्ति । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद (निलम्वित), पूर्वसञ्चारकर्मी, लोकप्रीय कार्यक्रमप्रस्तोता जस्ता उपमा उहाँसँग जोडिएर आउने कुरा हो । अहिलेको सन्दर्भमा हेर्दा सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा थुनामा रहेका व्यक्ति, विभिन्न अदालती प्रक्रियामा आइरहने व्यक्तिको संज्ञा पनि अहिले उहाँमाथि सान्दर्भिक हुन्छ । यसरी हेर्दा रविजी अर्थात् रवि लामिछाने ।
उहाँका विषयमा लेख्न खासै मन पनि थिएन । केही लेख्यो, त्यसमाथि केही प्रतिकुल लाग्ने खालका कुरा आए भने उहाँका भक्तहरुको गाली खानुपर्ने अवस्थाका कारण पनि लेख्न मन नलाग्ने गरेको हो । साँचो कुरा सुन्न नसक्ने जमात रहेको अवस्थामा लेखेर हुनेवाला पनि केही नठानेकै हुँ । पछिल्ला घटनाक्रमले भने केही लेख्नै मन लाग्यो । अझ उहाँका सल्लाहकारहरुको सल्लाह देख्दा केही भन्नै मन लाग्यो ।
पछिल्लो कुरा उहाँ अहिले रुपन्देही कारागारमा थुनामा हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री भैसकेको व्यक्ति भए पनि उहाँमाथि राजनीतिक मुद्दा लागेको होइन । उहाँमाथि सहकारी ठगीलगायतका मुद्दाहरु अदालती प्रक्रियामा रहेकाले पुर्पक्षका लागि उहाँ थुनामा हुनुहुन्छ । यस्तो अवस्थामा उहाँले आफूलाई थुनामुक्त गरिपाऊँ भनी विभिन्न किसिमका प्रयोगहरु गरिरहनु भएको छ । उहाँले चाहेजस्तो आदेश अदालतले दिइरहेको छैन ।
यसरी हेर्दा उहाँलाई दिइने सल्लाहहरु सही नभएका हुन् कि भन्ने देखिन थालेको छ । उहाँलाई यस्ता सल्लाह कसले र किन दिइरहेको छ भनी मैले मथिंगल गरेँ । मेरो बुझाइमा जसले उहाँलाई सल्लाह दिइरहेका छन्, तिनीहरु उहाँलाई थुनामुक्त गराउन होइन कि थुनामै राख्न चाहन्छन् । नहुने र नचाहिने खालका सल्लाहको पछि लाग्दा त्यसको प्रतिकुल अवस्थाको सामना भने रविजी र उहाँको परिवारले नै खेप्नुपर्ने हुन्छ ।
भर्खरै मात्र रविजीका तर्फबाट रुपन्देही जिल्ला अदालतमा आफ्नो भागमा यति बिगो कायम होला भन्ने अनुमान गरी उक्त बिगो बराबरको बैंक ग्यारेन्टी बुझी बाहिर बसेरै पुर्पक्ष गरिपाऊँ भन्ने थियो । यो विषयमा अदालतका न्यायाधीशले त्यसो गर्न नमिल्ने भन्ने आदेश दिनुभयो । उहाँले बिगोको विषयमा यकिन भैनसकेको तथा यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेर हालको अवस्थामा रहेको कुरालाई आधार बनाएको देखिन्छ । यसरी हेर्दा रविजीलाई जसले यो सल्लाह दियो त्यो ठीक दिएन भन्ने प्रष्ट हुन्छ ।
२२ जना प्रतिवादी भएको मुद्दामा रविजीका तर्फबाट चारजना कसूरदार ठान्दै आफैं बिगो चार भाग लगाउने कार्य गरियो । यसको मतलब उहाँले पनि यो मुद्दाका मुख्य सरोकारवाला आफूसहित चारजना हो भन्ने मानेको अर्थ लाउने मिल्ने देखिन्छ । यसैगरी बिगो पनि आफैं कायम गर्ने कार्यले उक्त कुरालाई पनि मानेको देखिन्छ । भोलिका दिनमा यही कुरालाई आधार बनाउँदै सरकारी वकीलका तर्फबाट जिकिर लिइयो भने यो कर्म रविजीका लागि प्रत्युत्पादक हुने देखिन्छ ।
यसअघि पनि हिरासतमा रहेका बखत उहाँका दलका कतिपय नेताहरुले अदालतलाई प्रभावित पार्ने गरी नाराजुलुस गरेका थिए । पोखरामा शुरु भएको उक्त कर्म अन्यत्र पनि फैलिएको थियो । त्यसो गर्नेहरुका विरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो । यो मुद्दा अझै पनि विचाराधीन छ ।
यसरी अदालतलाई प्रभावित गर्ने कार्य अदालतको अवहेलनामा पर्छ भन्ने जानकारी हुँदाहुँदै पनि रविजीको रिहाइका लागि भनी अहिले हस्ताक्षर अभियान चलाइएको छ । यो अभियानका दौरान २५ लाख बढी मानिसले हस्ताक्षर गरिसकेका तथा अब घरघरबाट संकलन गरी ल्याइने भनिएको छ । यसतर्फ पनि विचार गर्ने हो भने यो सल्लाह पनि गलत साबित हुने देखिन्छ ।
अदालतको आदेशबाट थुनामा रहेका त्यो पनि ठगीलगायतका मुद्दामा, त्यस्तो व्यक्तिको रिहाइको लागि भनी हस्ताक्षर संकलन गर्ने कर्म कानूनसम्मत रुपमा हेर्दा विवादित नै देखिन्छ । यो विषय राजनीतिक मुद्दा वा व्यवस्थाविरुद्ध लाग्दा थुनामा राखिएको हुन्थ्यो भने हस्ताक्षर अभियानले पनि केही अर्थ लाग्नसक्थ्यो तर अवस्था त्यो होइन । हस्ताक्षर अभियानकै विषय उठाउँदा नेपालमा बी.पी.कोइराला, अफ्रिकामा नेल्सन मण्डेला, वर्मामा आङसाङ सुकी, भारतमा महात्मा गान्धीको प्रसंग पनि रास्वपाका नेता कार्यकर्ताले उठाउने गरेको पाइन्छ । उहाँहरु सहकारी वा कुनै ठगीकाण्डमा बन्दी हुनुहुन्थ्यो र ? उहाँहरु त तात्कालिन व्यवस्थाविरुद्ध लाग्दा राजनीतिक वन्दीको रुपमा हुनुहुन्थ्यो ।
कहाँको राजनीतिक बन्दी कहाँको सहकारी ठगीको बन्दीको कुरालाई जोड्ने कार्य रास्वपाका नेता कार्यकर्ताले गरेको देखिन्छ । त्यसैले यो हस्ताक्षर अभियानलाई तुरुन्तै रोक्नु रविजीका लागि उपयुक्त देखिन्छ । विवादमाथि विवादमा पर्नुको साटो अदालतको आदेशको पालना गरी सकेसम्म पूर्ण रुपमा सफाइ पाउने प्रयास गर्नु उहाँका लागि उचित देखिन्छ ।
रविजीलाई राखिएको कारागार र सुविधाको विषयमा पनि अहिले कुरा उठाइने गरेको छ । उहाँ थुनामा रहेको काराकारको कैदीबन्दीको क्षमता २५० जनाको तर त्यहाँ रहेका कैन्दीबन्दीको संख्या भने ७०० बढी रहेको भनिएको छ । झट्ट सुन्दा करिब तीन गुणा बढी कैदीबन्दी राखिएको ठाउँमा उहाँलाई पनि राखिएको जस्तो लाग्ने गर्दछ । यसरी क्षमताभन्दा बढी संख्यामा बस्नुपर्दा कैदीबन्दीलाई सकस भएको होला भन्ने लाग्नु स्वाभाविक हो ।
रविजीलाई भेटेर फर्किनेहरुले पृथक धारणा राखेको पाइन्छ । उहाँ सामान्य आधारभूत आवश्यकता नपाई बसेकोदेखि राम्रै गरी बसेकोसम्म कुरा आएका छन् । उहाँमाथि विभेद भएको भन्ने ढंगबाट कुरा आइरहेका छन् । रविजीका तर्फबाट अदालतमा पेश गरिएको कागजातमा उल्लेख भएको कुरालाई आधार मान्दा उहाँलाई ३५ फिटको एउटा कोठा दिइएको छ । सोही कोठाभित्र अट्याच बाथरुम, कुलरको व्यवस्था भएको कुरा आएको छ । त्यसैले अन्य कैदीबन्दीभन्दा उहाँमाथि विभेद भएको देखिन्छ । उहाँलाई अरुभन्दा राम्रो सुविधा दिएर राखिनु चाहीँ विभेद हो ।
उहाँलाई दिइएको जस्तो सुविधा अन्य कैदीबन्दीलाई पनि दिइनुपर्छ । यसैगरी उहाँलाई कोठामै सीमित राखिएको भन्ने कुरा आएको छ । त्यसो भएको हो भने त्यो ठीक कार्य होइन । उहाँले अरु कैदीबन्दी सरह घुम्न डुल्न, ब्यायाम गर्न पाउनुपर्छ । पत्रिका, किताब पढ्ने सुविधा पाउनुपर्छ । सञ्चार सुविधा अरुले पाए सरह पाउनुपर्छ । अरुको भन्दा बढी सुविधा उहाँले पाइरहेको हो भने त्यसमाथि रोइलो गराउने सल्लाहकारहरु सल्लाह उहाँले मान्नु हुन्न ।
अझ भन्ने हो भने कारागारमा कैदीबन्दीको अवस्था के रहेछ, कस्तो सुविधा दिइनु पर्ने रहेछ भन्ने कुरालाई उहाँले आफू गृहमन्त्री बनेका बेलामा नगरेको कुराले पनि अहिले उहाँँलाई गिज्याइरहेको होला । दुई दुईपल्ट शक्तिशाली गृहमन्त्री बनेको समयमा उहाँले कारागार सुधारका लागि प्रयास नगरेका फल अहिले आफैंले भोग्नु परेको पो हो कि !
यसैगरी रविजी थुनामा रहनु भएको हालको अवस्थामा उहाँकी पत्नी तथा परिवारजन पीडामा पर्नुभएको छ । त्यसप्रति सबैको चासो र चिन्ता पनि छ । यो अवस्थाप्रति पनि रविजीले ख्याल गर्नु जरुरी देखिन्छ । उहाँका गलत सल्लाहकारहरुले उहाँकी पत्नीलाई विभिन्न स्टाटस लेख्न उत्पे्ररित गरेको जस्तो देखिन्छ । अदालतमा विचाराधीन रहेका विषयमा समेत रविजीकी पत्नी निकिता पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै आउनु भएको छ । त्यसो गर्न नमिल्ने कतिपय कुरामा समेत उहाँले गर्दै आउनु भएको छ । उस्तै पर्दा साइबर क्राइमदेखि अन्य खाले कानून आकर्षित हुने अवस्था देखिन्छ । त्यसैले गलत सल्लाहकारहरुबाट टाढा रहनु होला ।
रविजीले आफ्नो लागि प्रयासहरु गरेको कुरालाई सामान्य माने पनि उहाँकै जस्तो मुद्दामा सयौं व्यक्तिहरु थुनामा रहेको कुरा भने विर्सिएको जस्तो लाग्छ । रविजीसँगै छविजी पनि मुद्दाको पुपक्र्षका लागि थुनामै हुनुहुन्छ । उहाँका लागि पनि दबाबका कार्यक्रम गरिनु उचित हुने लागेको भए गरिन्थे होलान् । उहाँ अवस्थालाई पर्खिएर बस्नु भएको छ ।
अझ भन्ने हो भने रविजी भन्दा पहिलेदेखि नै नेकपा (एमाले) का नेता तथा सांसद टोपबहादुर रायमाझी भुटानी शरणार्थी मुद्दामा थुनामै हुनुहुन्छ । उहाँको राजनीतिक इतिहास पल्टाउने हो भने रविजीको भन्दा धेरै अगाडि देखिन्छ । राज्यसत्ताकै कारण जे पनि गर्न अर्थात् फसाउन, निकाल्न पाइने भए उहाँ अहिले पनि थुनामा रहिरहनुपर्ने व्यक्ति होइन होला टोपबहादुर रायमाझी ।
सत्तारुढ दल नेकपा (एमाले) को उहाँ सचिव हो । यसैगरी अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हो । अझ भन्नुपर्दा रविजीभन्दा धेरै पहिले नै उपप्रधानमन्त्री बनिसक्नु भएको व्यक्ति पनि हो । अझै भन्नुपर्दा उहाँकै दलको अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री पनि हुनुहुन्छ । अदालती प्रक्रियालाई सरकार वा राज्यपक्षबाट हस्तक्षेप गर्न मिल्ने वा गरिने भए टोपबहादुर रायमाझी अहिले बाहिर हुनुपर्ने हो ।
खोइ त रायमाझीले गलत सल्लाह मानेर अनेक हर्कत गरेको ? खोइ त एमालेका कार्यकर्ताले नारा जुलुश गरेको ? खोइ त उहाँको पक्षमा हस्ताक्षर संकलन गरिएको ? खोइ त उहाँकी पत्नीले स्टाटस लेखेको ?
रविजीमाथि प्रतिशोध साँध्नुपर्ने कारण खासै देखिँदैन पनि । रास्वपाविरुद्ध प्रतिशोध साँधिएको ठान्ने हो भने रविजी बाहेकका अन्य नेताहरुमाथि प्रश्न नउठेको अवस्थामा कोही पनि थुनामा हुनु हुन्न त । रविजीमाथि प्रश्न उठ्ने ठाउँहरु रहेकै कारण सरकार र अदालतले प्रक्रिया अघि बढाएको हो, प्रतिशोध साँधेको होइन ।
त्यसैले रविजीले पनि धैर्य धारण गर्नु उचित हुन्छ । अझ उहाँ आफ्ना गलत सल्लाहकारहरुबाट टाढा रहन सक्नु उचित देखिन्छ । सल्लाहकारका रुपमा देखिने व्यक्तिहरु रविजीका लागि भोलि अदालती प्रक्रिया वा न्यायमूर्तिको विवेकले खोल्न सकिने ढोकाहरु अहिले नै बन्द गराउन चाहिरहेको जस्तो मैले चाहीँ बुझिरहेको छु । कतिपय कुराहरुले रविजी विवन्धनमा पर्दै जानु भएको देखिन्छ ।
रविजी भित्र रहँदा त्यसको सबैभन्दा बढी लाभ रविजीको दल र त्यो दलका अन्य नेताहरुले पाउने देखिन्छ । उनीहरुले रविजीलाई देखाएर आफूले विभिन्न पदमा जित निकाल्न सक्ने देखिन्छ । यसैगरी उहाँको अवस्थालाई गाउँगाउँमा पु¥याएर अरुले राजनीतिक लाभ लिनसक्ने अवस्था विद्यमान छ । रविजी प्रयोगमा आइरहने, सफल नहुने हुँदा भोलिका दिनमा अन्य मार्गहरुलाई अहिले नै बन्द गराउने उहाँका सल्लाहकारहरुको चाल हुन सक्छ । यसैगरी केही कानूनव्यवसायीहरुले विभिन्न आश्वासन दिंँदै उहाँसँग जोडिएको मुद्दा भनी नाम र दाम कमाउने अवसर पनि पाइरहेको हुन सक्ने कुरातर्फ पनि रविजीले ध्यान दिनु उचित हुन्छ ।
लागेका तर सत्य कुरा लेख्दा रविजीका भक्तहरुले विरोधका वाणीहरु वर्षाउनु नै होला । त्यसलाई स्वीकार्न तयार नै छु । कुरा त ठीकै रहेछ भनी कतिपय कमजोरीलाई सुधार्ने प्रयास गरेका खण्डमा वा अरिंगालहरुको टोकाइ नआएमा भोलिका दिनमा पनि थप लेखहरुमार्फत घच्घच्याउने प्रयास गर्ने नै छु ।
