विश्वका विशिष्ट कथाः बेलायत

Nayabimarsha (Weekly Newspaper from Nepal)
गोविन्द गिरी प्रेरणा
टेलिफोन
मूलः जेम्स लीज मिल्नी
अनुवादः गोविन्द गिरी प्रेरणा

उन्नाइस सय एकचालीसको दिन । सेप्टेम्बर महिना । युध्द चर्केको थियो । लण्डनमा बम वर्षा भइरहेथ्यो। म युध्दमा घाइते भएर अस्पतालमा गएँ । अस्पतालबाट म केही दिनमै मुक्त भएँ ।
एउटा सिपाहीका रुपमा मेरो जीवन निकै दयनीय थियो । म आफू आफैंसँग अत्यन्त निराश भएको थिएँ र युद्धको स्वरूपले पनि मलाई धेरै दुःखी बनाएको थियो । यो मेरो सौभाग्य थियो कि यसै समय म एउटी अपरिचितासँगको मित्रतामा गाँसिन पुगें ।
त्यो लण्डनको एउटा सन्नाटापूर्ण कालो रात थियो । म आफ्नो कुनै साथीसँग टेलिफोनमा सम्पर्क राख्न कोशिश गर्दै थिएँ । अचानक फोनको लाइन एउटी अपरिचित महिलाको लाइनसँग जोडियो । त्यो महिलालाई पनि गलत नम्बरमा परेको थियो र ऊ टेलिफोन अपरेटरसँग गुनासो गर्दै थिई – “मेरो नम्बर ग्रास वेनर ८८२९ हो । मैले तपाईंसँग हेम्पस्टिटको नम्बर मागेको थिएँ तर तपाईंले चेलभाको कुनै फ्याक्सम्यानको नम्बर दिनुभयो । त्यो भद्र व्यक्ति मसँग एकदमै कुरा गर्न चाहँदैन ।”
“खैर, म कुरा गर्न चाहन्छु,” म अचानक कुराकानीमा सामेल भएँ । मलाई उसको आवाज मन प–यो । त्यो आवाजमा समझदारी र मित्रताको झल्को थियो । बीचको मेरो यस प्रकारको कुरा गराइले त्यस महिलालाई नराम्रो लागेन । हामीले एकअर्कासँग क्षमा मागेर फोन राखिदियौं । एक दुई मिनेटपछि मैले आफ्नो नम्बर डायल गरें र फेरि तिनै महिलाको नम्बरमा प¥यो । हामीलाई लाग्यो – हाम्रा लाइनहरू मित्रहरूबाट काटिएका छन् । यसकारण हामीले बीस मिनेट जति अपरिचित मित्रले झैं कुरा ग¥यौं ।
“रात आधा बितिसक्यो र पनि तपाईं कुनै पनि हालतमा आफ्नो मित्रसँग किन कुरा गर्न चाहनुहुन्छ ?”
“अनि तपाईं चैं किन चाहनु हुन्थ्यो नि ?” मैले पनि उही प्रश्न गरें जवाफमा । उसले स्पष्टीकरण दिई– उसकी आमालाई राम्रोसँग निद्रा आउँदैन र अक्सर राति अबेरसम्म आमासँग कुरा गरिरहन्छे । फेरि हामीले ती किताबहरूको बारेमा चर्चा ग–यौं, जुन हामीले पढेका थियौं । हामीले लडाईंको बारेमा पनि छलफल ग¥यौं र अन्तमा मैले खुशी प्रकट गर्दै भनें – एक युगदेखि मैले कसैसँगको कुराकानीमा यति सुख अनुभव गरेको मलाई सम्झना छैन ।”
“खूब मज्जा भयो ! तर अब हामीले आफ्नो कुराकानी यहीं बन्द गर्नु वेश हुनेछ । लौ त शुभ रात्रि !” उसले यति भनी र हाम्रो कुराकानी टुङ्गियो ।
अर्को दिन म सारा समय उसको बुध्दिमानी, सहजता, उमङ्ग र रमाइलो व्यवहारको सम्झनामा डुबिरहें । मलाई ऊ र उसको कोमल अनि सम्मोहक आवाज सम्झना भइरह्यो जुन कुनै पनि कोणबाट हेरे पनि बनावटी प्रकारको थिएन । उसको स्वरमा जादू भरिएको थियो ।
बेलुकीदेखि नै म ओछ्यानमा पल्टेर पढ्ने कोशिश गर्दै थिएँ तर आधि रात हुनेबित्तिकै ग्रास वेनर ८८२९ ले मलाई घोच्न थाल्यो। म उठें र हडबडाउँदै नम्बर डायल गरें। अति चर्को आवाजमा घण्टी बज्यो र कसैले फोन उठायो – “हेलो ।”
“अँ, म बोल्दैछु !” मैले भनें, “बोर गर्न खोजेकोमा क्षमा चाहन्छु । तर जुन कुराकानी अघिल्लो रात अधूरो छाडिएको थियो, के त्यसलाई हामी फेरि शुरू गर्न सक्दैनौं ?”
हुन्छ या हुन्न नभनीकनै उसले वाल्जाकको “ला काउसिल पेल” पुस्तकमाथि आफ्नो एउटा हास्यास्पद र मौलिक शोध प्रबन्ध शुरु गरी । एकैछिनपछि हामी यसरी हँसी ठट्टासहित कुरा गर्न थाल्यौं मानौं हामी वर्षौंदेखिका परिचित हौं । हामीले झण्डै पौने घण्टा कुराकानी ग–यौं । ती कुरा निकै सम्मोहक थिए। अब हामीबीच अपरिचितताको गन्ध हराइसकेको थियो । हाम्रो कुरामा कुनै प्रकारको झर्को फर्को थिएन । हामी साथीभाइझैं कुराकानी गर्दै थियौं तर जब मैले एकअर्कासँग परिचय गर्न अनुरोध गरें, ऊ यसका लागि तयार भइन र भनी “यसबाट निश्चय नै सबथोक गडबड हुनसक्छ ।” उसले मेरो लागि यतिसम्म आत्मियता अवश्य देखाई कि उसले मेरो टेलिफोन नम्बर टिपोट गरी ।
मैले उसलाई वाचा गराएँ, त्यो के भने लडाईं सकिनेबित्तिकै हामी एकअर्कालाई भेट्नेछौं । मैले सुनें – सत्र वर्षको उमेरमै उसको बिहा यस्तो व्यक्तिसँग भयो जसलाई उ मन पराउन्न थिई । पछि ऊसँग छुट्टिई । उसको एउटै मात्र सन्तान छोरो – हवाई दुर्घटनामा म–यो । त्यतिखेर ऊ अठार वर्षको थियो । उसको जे जति भन्नु छ – सबै उसैको छोराको हो। ऊ यस किसिमले बोली मानौं उसको छोरो जिउँदै छ। उसले भनी – उसको छोरो बिहानीझैं सुन्दर थियो र ऊजस्तै थियो । यसबाट मैले उसको रेखाचित्र मनमा कोरें जो कहिल्यै परिवर्तन भएन ।
एकपल्ट जब मैले ऊसँग भनें, “तिमीलाई थाहा छ, तिमी कति सुन्दर छ्यौ ?”
ऊ त केवल हाँसिरही र सोधी, “तिमीलाई के थाहा कि म सुन्दर छु कि छैन ?”
हामी एकअर्कालाई फोन गरिरह्यौँ । फोनका क्रममा यस्तो कुनै विषय बाँकी थिएन जसमाथि हामीले बहस नगरेका हौं। हामी सबै विषयमा एकअर्कासँग सहमत हुन्थ्यौं । एकअर्कासँग मतो नमिल्दा झगडा पनि गरिहेर्ने विषयमा सोच्थ्यौँ । एक प्रकारले हामी दुई एकै प्रकारले सोच्थ्यौं । उसको कुराले मलाई बल र हिम्मत दिएको थियो। हामीले उस्तै किताब पढ्ने सल्लाह ग¥यौं ताकि हामी दुवैले ती पुस्तक पढेर खूब चर्चा गर्न सकौं । मजा लिन सकौं । हामी दुवै बेलायतको ‘लण्डन पुस्तकालय’का सदस्य थियौं तर हामीले पुस्तकालयाध्यक्षसँग एक अर्काको नाउँ चिन्ने कोशिश पटक्कै गर्नेछैनौं भनी आपसमा तय गरेका थियौं ।
बेलायतमा बसुन्जेल कुनै यस्तो रात बितेन जुन रात हामीले फोनमा कुरा नगरेका हौं । टाढाको हामीले वास्ता नै गरेनौं । कुनै दिन सप्ताहान्त बिताउन म बाहिर गएको थिएँ र उसलाई फोन गर्न सकिनँ । भोलिपल्टै उसले गुनासो गरी– “एक्लोपनाको आभासले ऊ निकै मुस्किलसँग सुत्न सकी ।”
कैले कैले म उसलाई भेट्न बेचैन हुन्थें । उसलाई भन्थें, “कुनै दिन म तिमी भए ठाउँमा अचानक आइपुग्नेछु ।” तर उसको जवाफ एउटै र उही हुन्थ्यो, “यदि भेटेपछि तिमीले त्यति प्रेम गर्न सकेनौ जति अहिले गर्छौ भने त मलाई असाध्य दुःख लाग्छ ।”
रातको कुराकानी पश्चात् यदि मेरो मनमा नराम्रो कल्पना आयो भने म तुरुन्तै उसलाई फोन गर्थें र सोध्थेँ, उसलाई कस्तो छ । मेरो यस्तो कुराले उसलाई सधैं खुशी तुल्याउँथ्यो ।
एकवर्षसम्म मलाई यसरी आत्मसन्तोष भइरह्यो । यो सन्तोष आश्चर्यजनक पनि थियो । लडाईको भयानकतामा सम्भव पनि थियो । हाम्रो स्नेह अधूरो भए पनि मित्रताको अभाव पूरा भइरहेको थियो। यो यस्तो स्नेह थियो जसमा कुनै व्यवधान थिएन जसले हाम्रो भावनामा अङ्कुश लगाओस् । हाम्रो सामुन्ने यस्तो पनि कुनै कारण थिएन जसले हाम्रो स्नेह सधैं यसरी अघि बढिरहनबाट रोकोस् । आखिर आँखा अथवा हातको भाषाको तुलनामा शब्दको भाषा ज्यादा शक्तिशाली र दीर्घकालीन हुन्छ ।
एकरात अचानक मेरो दुर्भाग्यले मलाई घे¥यो । एकपल्ट शहर बाहिरबाट म निकै रात बितेपछि लण्डन पुगें। मैले टेलिफोनको रिसिभर उठाएँ । उसको नम्बर डायल गरें। न त कुनै स्पष्ट र ठूलो घर्घराहट सुनियो, न टेलिफोन व्यस्त भएको संकेत नै पाइयो । यसको साटो भित्रसम्म चिसो पार्ने खालको एउटा लामो खडखडाहट सुनियो । मलाई लाग्यो, यो आवाज सुनिरहें भने म बहुलाउन बेर छैन । त्यो आवाजको मतलब हुनसक्थ्यो– टेलिफोनको लाइन खराब छ अथवा अरु नै केही भएको हुनुपर्छ ।
अर्को दिन पनि उही चिच्याहट पूर्ण खडखडाहट । फेरि अर्को दिन पनि । अत्यन्त दुःखी भएर मैले टेलिफोन डाइरेक्ट्रीको सोधपूधबाट पत्ता लगाउने कोशिश गरें, आखिर वास्तविकता के हो ? मैले अनुरोध गरें –उनीहरुले मलाई ग्रास वेनर ८८२९ को ठेगाना दिऊन् जब कि मलाई यो थाहा थियो उसले लोग्नेको अवान्छित व्यवहारबाट बच्न आफ्नो नाउँ टेलिफोन डाइरेक्ट्रीबाट हटाएकी थिई ।
पहिले सोधपुछले क्यै बताएन । उनीहरूलाई यो विवित्र लाग्यो कि म तिनको नाउँसम्म जान्दिनँ । अन्तमा एउटा भद्र अपरेटरलाई बारम्बार अनुरोध गरेपछि नियम तोड्न तयार भयो ऊ । उसले आफ्नो साथी अपरेटरलाई भन्यो– “लडाईंमा हामीमध्ये कसैलाई पनि यस्तो पर्न सक्छ । तीनवटा बम एकैपल्ट त्यो घरमा खसेथ्यो । त्यो बम हाम्रो घरमाथि पनि त खस्न सक्थ्यो । मेरो विचारमा यो फोन नम्बरको मालिकको नाम ठेगाना बताउन अब क्यै अप्ठयारो छैन ।”
ती टेलिफोन अपरेटरकोको आपसी कुराकानी सुनेर मेरो सम्पूर्ण छाती हल्लियो । मैले थर्थर काँपेको स्वरमा भनें, “सुन्नुस त, तपाईंले अब मलाई त्यो नाम र ठेगाना नबताउनु नै वेश हुनेछ। सहयोगको लागि धन्यवाद !”
मेरो हातबाट टेलिफोन छुट्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *