डोल्माको अधुरो कथा

Nayabimarsha (Weekly Newspaper from Nepal)

जानु काम्बाङ्ग लिम्बु
मन्दिरमा घण्टी बज्नासाथ म उठ्छु, किनकि त्यति बेला बिहानको चार बजिसकेको हुन्छ । घर मन्दिरको छेउमै भएकाले कहिल्यै उठ्न अलार्म सेट गर्नुपर्दैन—यही एउटा फाइदा हो । तर, काममा जान नपर्ने दिनमा त त्यो घण्टीको आवाज उल्टै हल्लाजस्तै लाग्छ । उठिसकेपछि तातो पानीको कितली अन गरेर तयार हुने मेरो दैनिकी बनेको छ ।
दिनभर काममा खाने खाजा र खानेकुरा लोड गरेर रोडमा निस्कँदा बल्ल साढे चार बजेको थियो । सारा प्लमस्टेड चकमन्न अँध्यारोमा डुबेको थियो । ओर्लँदै गर्दा बाटो हराएझैँ अलमलिएको चन्द्रमा पनि बादलभित्रै लुकेर बसिरहेको थियो । हिउँदको मौसममै आएकोले पनि होला, मलाई युके अत्यन्तै अनौठो लागिरहेको छ ।
पूजारीले मीठो स्वरमा भोजन गाएको बाटोसम्म सुनिन्थ्यो । गोराहरूको देशमा इन्डियनहरू पनि आफ्नो लाग्दो रहेछ, हिन्दू मन्दिरमा बज्ने घण्टी, त्यहाँ गाइने भजन सबै, सबै मलाई आफ्नो लाग्छ । बनक्बन रोड अलिक उकालो भएकोले जाडोमा स्याँस्याँ सास बढिरहेको थियो मेरो । अँध्यारोमा आफ्नै छायाले पनि तर्साउने बेला आफैले लगाएको स्लिपिङ ब्याग जत्रो ज्याकेट स¥याक¥याक गरेर कराउँदा अँध्यारोमा आफै तर्सिन्थें । मुखबाट धुँवा फुसफुसाउँदै हरेक दिन यसरी काममा जान्थें ।
मेन रोडमा निस्कँदा सधैँ झैं लालकुमारी हाई स्ट्रिट्मा मलाई पर्खिरहेकी थिइन् ।
“हेल्लो साथी डर लागेन एक्लै बाटोमा उभिन, ठोक्लान् है ठोक्लान् ?” रेला गर्दै मैले भनें ।
“आ….के को डर, डलिंदैन । बरु ढालिन्छ नि अझै सम्म, एक दुई जना त, नेपालीको छोरी पो त हेहेहे….”
यसो भन्दै कुरो टुङ्ग्याई उसले । त्यसपछि मैले पनि थपिनँ कुरो । हामी हिंड्दै ५३ को स्टप सम्म पुग्यौं । पोलेको आलू आगोबाट झिकेर टोक्नुअघि खरानी फुके झैं चिसोले ठिहि¥याएको हात फुक्दै सारदा पनि आइपुगिन् ।
“आ….बेकारमा ओभर टाइम गर्छु भनेछु कस्तो अल्छी लाग्यो बाई !” बेन्चमा बिस्तारै चिसो टिस्युले पुछेर बस्दै लाल कुमारीले भनिन् ।
“लौ न ! के भन्या होला त्यस्तो भर्खरै २, ४ जना ढाल्छु भन्ने मान्छेले ?” मैले हाँस्दै गिज्याएँ । मेरो कुराले एकछिन बस स्टप हाँसोमय बन्यो ।
केही छिनमा बस आइपुग्यो अनि चढेर उकालो कमनतिर लाग्यौं, कमन छेउको स्टपबाट डोल्मा पनि चढिन् । “धन्न ठीक टाइममा उठिछिन् केटी, नत्र त एक्लै हुनेथ्यौ,” मैले डोल्मालाई हाँस्दै भने !
“कहाँ उठ्नु नि गाँठे, लगातार ३ पल्ट सम्म बज्ने गरी अलार्म सेट गरेथें नि सुत्नुअघि,” उसले भनी ।
“बाफरे ….रे अल्लि ?” भनेर सारदा हाँसिन् !
“अनि के त ? म तिमीहरू जस्तो फिट कहाँ छु त ? मोटो मान्छेलाई धेर निद्रा लाग्छ भन्ने थाहा छैन ?”
“ओऐ….ठिट्टी हो हल्ला नगरौं त ? एकछिन भए पनि झ्याप्पै दिनुपर्छ बसमा नत्र निद्राले बिजोक पार्छ यार …,” लाल कुमारीले भनिन् र आँखा बन्द गरिन् ।
हामी पनि जाडोले नून खाएको कुखुरा जस्तो झोक्रिएका थियौं बात मार्ने जोश जाँगर कसैलाई थिएन । आ– आफ्नो कानमा इयरफोन घुसाएर उड्न थाल्यौं म्युजिकको मीठो धुनमा निद्राको विमान चढी बिन्दास पाराले । विकेन्ड भएकोले बसमा त्यति मान्छे थिएनन् । सबै स्टप खाली भएकोले चढ्ने ओर्लने पनि नभएर होला हामी चाँडै पुग्यौं पेकहाम ।
“हाम्रो स्टप आउन लाग्यो है केटी हो ! उठौँ अब,” ठूलो स्वरमा एकपल्ट हल्ला ठोकें मैले । मेरो छेउमा लाल निदाइरहेकी थिइन्, अर्को सिटमा सारदा र डोल्मा थिए । सबैलाई ओर्लने आदेश दिंदै म पनि अल्छी मान्दै आङ तन्काउन थालें । सबै ज¥याकजुरुक उठेर माथिल्लो तलबाट तल झ¥यौं । बस रोकियो सबै ओर्लियौं । बस सेन्ट्रल लन्डनतिर लाग्यो, हामी हाम्रो कामतिर जाने सानो रोडतिर मोडियौं ।
“हेल्लो ! हेल्लो गल्र्स …….वेयर आर यू गोइङ ?”
गीतमा रमाइरहेको मेरो बिन्दास कानले अँध्यारोमै यस्तो अनौठो आवाज सुनेपछि एउटा कानबाट हेडफोन झिकें । म बसबाट ओर्लेर पनि गीत सुन्दै हिँड्ने बानी भएकोले दुवै कानमा हेडफोन थियो । त्यो अनौठो आवाज हाम्रो नजिक, नजिक आइरहेको थियो ।
हामी सबै डरले भाग्न थाल्यौं । भाग्दा–भाग्दै एउटा कार हाम्रो छेउमा आएर रोकियो । मैले कानमा भएको हेडफोन र मोबाइल थुतेर बाटो पारिको झाडीमा फालेर तुफान दौडिएँ । हामी दौडेको देखेर ती कारबाट ओर्लेका केटाहरू झन् लखेट्न थाले ।
बिहानको ५ः३० बजेको मात्र थियो । जनवरी १ तारिख आइतबार भएकोले सबै छुट्टीमा थिए । ओभरटाइम गर्न इच्छुक हुने र हामी केही नेपालीलाई मात्र ओभरटाइम गर्न बोलाइएको थियो । हामी पनि बैंक होलिडेमा पैसा डबल हुने लोभले एक्लै अँध्यारोमा आउन तम्सिएका थियौं । हामीलाई थाहा थियो लन्डनमा धेरै यस्ता घटनाहरू घट्छन् भन्ने, तर आफैले नभोगेसम्म महसूस गरिँदैनजस्तो बिना डर–त्रास हामी काममा जाँदै थियौं ।
हामी दौडिरहेका थियौं, ती केटाहरू हाम्रो पछि थिए भने एक जनाले कार ड्राइभ गरिरहेको थियो । म छक्क परें—जनवरी १ तारिख यस्तो जाडोमा पनि ती केटाहरू अर्धनग्न थिए । अचानक मेरो छेउमै हिँडिरहेकी साथी सारदा गुरुङ चिच्याइन् — “आइया ओए ! यिनीहरू त चोर पो रहेछन्, मेरो फोन खोस्यो बै !”
सारदाको फोन एउटाले खोस्यो, अर्कोले डोल्माको झोला तान्न थाल्यो । बाटोमा पूरै खैलाबैला मच्चियो । हामी “हेल्प…प्लिज…हेल्प” भन्दै चिच्याइरहेका थियौं ।
यतिकैमा वरिपरिको घरहरूबाट कसैले पुलिस बोलाइदिएछ । साइरन बजाउँदै पुलिसको भ्यान आइपुग्यो । पुलिसको साइरन सुने शायद । ती २ केटाहरू कारमा चढेर भागे । बाटोमा हल्का उज्यालो खस्न थालेकोले हामीले एकअर्कालाई देख्न सक्ने भएका थियौं । म अलि छिट्टै दौडिने भएकाले होला, मलाई ती चोरहरूले भेटेनन् । डोल्मा पनि बलिया भएकीले झोला छाडिनन् । लालकुमारी पनि मसँगै दौडेर टाढै पुगिन् तर दौडिँदा उनको फोन झरेर फुट्यो । हामी चार जनामध्ये घाटा सारदालाई भयो, उसले केही महिना अघि मात्र नयाँ लेटेस्ट फोन बजारमा आएको बित्तिकै किनेकी थिइन् ।
पुलिसहरू आएपछि निडर भएर सबै कुरा बताउँदै झाडीमा हुत्त्याएको फोन जस्ताको तस्तै टिपेर ल्याएँ । मलाई देखेर पुलिसहरू पनि हाँसे ।
हामी सबै डर र जाडोले काँपिरहेका थियौं । पुलिसहरूले हामी सबैको नाम टिपेर बयान लिए अनि भ्यानमा राखेर फ्याक्ट्रीको गेटसम्म पु¥याइदिए ।
भित्र पस्नेबित्तिकै भेटिएका सबै स्टाफ र साथीहरूलाई दिनभर हाम्रो घटना सुनाइरह्यौं । भोलिपल्ट, पर्सिपल्ट नथाकेसम्म सुनाउन छाडेनौं । केही दिनपछि आफैले पनि बिर्सँदै गयौं ।
हामीले करीब १ वर्षजति सँगै काम ग¥यौँ त्यो फ्याक्ट्रीमा । अलिअलि कमाइ पनि भयो । विशेष गरेर म र डोल्मालाई गाह्रो थियो । हामी लन्डनमा विद्यार्थी भिसामा छिरेका थियौं । लालकुमारी पुनः हङकङबाट युके आएकी थिइन् । सारदा गुरुङ भूपू गोर्खा सैनिककी श्रीमती थिइन् ।
पढाइ पूरा नभएसम्मै डोल्माको कलेज बन्द भयो । त्यो कलेजले स्पोन्सर गरेको सबै विद्यार्थी नेपाल फर्किए, डोल्मा पनि फर्किन् । डोल्मा फर्किएपछि नरमाइलो लाग्यो । मेरो कलेजको पनि भरोसा थिएन । मान्छेहरूले लन्डनमा कलेज व्यापारको लागि खोलेका रहेछन् भने हामी विद्यार्थी लाखौं खर्च गरेर मुर्गा बनिरहेका थियौं । मेरो पनि लाखौं डुबेको थियो । पढाइभन्दा बढी डुबेको पैसा र ऋणको चिन्ताले कामतिर लागेँ । बिस्तारै पैसा बाक्लो, पढाइ फितलो बन्दै गयो । कमाएको पैसा अन्य देश छिर्नतिर खर्च गर्न थालेँ ।
अरू धमाधम पढाइमा लागिरहेका बेला म रातारात युरोप छिरेर बेल्जियम पुगें । बेल्जियममा दाजु भएकोले मलाई सहज पनि भयो । यसरी छुट्टिएका हामी फेरि कहिल्यै भेट भएनौं ।
० ० ० ०
म युरोप पुगेर बस्दाबस्दै त्यहाँको कार्ड पाउन झन्डै १० वर्ष लाग्यो । अहिले म १२ वर्षपछि नेपाल निस्किएकी छु । मैले केही प्रगति गर्न नसके पनि मेरो देश नेपालले केही कुरामा प्रगति गरेको रहेछ । डोमेस्टिक विमानस्थलमा बस्ने सिटहरू धेरै नयाँ देख्दैछु । तर, आज विमानस्थल खचाखच छ । कुर्सीहरू भएर पनि खाली छैनन् । बस्ने सिट नपाएर मान्छे अलपत्र भुइँमा बिस्कुनझैँ पोखिएका छन् ।
म भद्रपुर उड्ने बुद्ध एयरको पर्खाइमा छु । तराईतिर हुस्सु लागेकोले काठमाडौँको न्यानो घाम तापेर तराईको हुस्सु हट्ने समय कुरिरहेको छु ।
उड्ने, रद्द हुने र डिले हुने सबैको पालैपालो माइकिङ हुँदैछ । मौसमको खराबीले लुक्ला जाने फ्लाइट भर्खरै रद्द भएको छ । लुक्ला जाने एकजना बिरामी यात्रुलाई ह्वीलचेयरमा ल्याएर मेरो छेउमा राखिदियो कर्मचारीले । साथमा बक्खु लगाएकी बुढी आमा पनि आएर कुर्सीमा बसिन् । हातमा तातो चिया थियो । बिरामीको मुखमा मास्क थियो ।
बुढी आमाले मास्क हटाएर भनिन्— “डोल्मा, लौ तातो चिया खाऊ ।”
म छक्क परें, तर्सिएँ पनि । किनभने त्यो व्हीलचेयरमा बस्ने केटी अरू कोही नभएर लन्डनमा मसँगै काम गर्ने साथी डोल्मा थिइन् । मैले उनलाई १२ वर्षपछि भेटेकी थिएँ । तर अफसोस, उनी पहिलेको जस्तै डोल्मा थिइनन् । दुब्लाएर चिन्नै नसकिने, बोल्न पनि नसक्ने, हातखुट्टा नचल्ने, एकदमै कमजोर भएकी थिइन् । जता हे¥यो उतै एकोहोरिने मूर्तिजस्तै देखिन्थिन् ।
म डोल्माको आमालाई केही कुरा सोध्ने हिम्मत जुटाउँदै गर्दा बुद्ध एयरले भद्रपुर जाने यात्रुहरूलाई गेट नम्बर २ तिर बढ्न भन्यो ।
म आँखाभरि आँसु बोकेर हिँडेँ । बसमा चढेर प्लेन फेरि रद्द भए पनि हुन्थ्यो जस्तो लागिरह्यो । तर भएन, फ्लाइट रद्द भएन । म डोल्माको कथा अधुरै छाडेर उनको याद बोकी माथि, माथि, धेरै माथि बादल छिचोल्दै उडेँ ।
लन्डनमा हुँदा डोल्मा भन्थिन्— “मेरी आमाले धेरै दुःख पाउनु भएको छ । बाबाको देहान्तपछि अर्को बिहे पनि गर्नु भएन । मेरो लागि सबैसँग लडेर गरिखानु भो । अब अहिले पाको उमेरमा जब मेरो आवश्यकता आमालाई छ, म भने यहाँ छु ।”
म भन्थें— “किन गछ्र्यौ चिन्ता ? आमाको हातखुट्टा चल्छ, आफ्नै देशमा हुनुहुन्छ । अग्र्यानिक खाना खाएर हामीभन्दा हट्टा–कट्टा हुनुहुन्छ ।” आफैले देखेर आएझैँ गरेर उनलाई सम्झाउँथेँ । मेरो कुरा सुनेर आँसु छचल्किँदै मुस्कुराउँथिन् डोल्मा ।
आज, उही जीवनभर “म आमाको सहारा बनेर जिउँछु” भन्ने छोरी उल्टै आमाको सहारा बनेर चिया खुवाइरहेको एउटा नमीठो सत्य देखेर म उड्दै थिएँ । यो सत्य झूट भए हुन्थ्यो भन्ने सोचले मन बिथोलिरह्यो । तर, हुने कुरा त कसले टार्न सक्छ र ?
फेरि एकपल्ट आमालाई भेट्न पाए म डोल्माको कथा पूरै लेख्थेँ । यो उनको अधुरो कथा हो ……… (ताप्लेजुङ, हाल युके)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *