रन्जना लम्साल
बन्यो देश आज रङ्गमञ्च,
चर्को भाषण र तालीमा छ खुलामञ्च !
खोइ कहाँ छ गणतन्त्र ?
घर–घरमा, जल–जलमा अनि थल–थलमा
देखिन्छ जतासुकै घुसतन्त्र अनि लुटतन्त्र !
‘उठौँ र जागौँ’ को चर्को नारामा
लमतन्न, लमलस्कर ताँतीमा
‘उखेल्ने र फ्याल्ने’ नवजागरणमा,
पोषणतत्व भर्ने सङ्कल्पमा
आफ्नै पोषक बनी पेट भर्ने दाउमा
कर्म, धर्म र मर्म सबै बिकाउमा ।
चुर्लुम्म डुबाउँदै लोभको पसारोमा,
आकाशको फल झार्ने आसमा।
शासक अनि शासन आफैँ,
अभियान अनि अभियन्ता दुवै
बडो तामझाममा ।
सत्ताको मातले खेल्दै सिँगौरी,
देखाउँदै बलको बहादुरी।
कहिले रङ्गमञ्चको नाटकजस्तो,
एकादेशको कहानीजस्तो !
पर्दामा देखिएका थरिथरिका पात्रहरूजस्तै,
रङ्गबदल्ने फूलहरू र छेपारो जस्तै ।
एउटा जाग्यो, अर्को निदायो,
देखाएका सपनाहरू
हावाहुरीझैँ सबै उडायो ।
इतिहासले देखेका सपनाहरूमा
आज नमिठा स्वादहरूमा,
प्रत्येक गाँस–गाँसमा,
चालेका हरेक पाइलाहरूमा,
आज अपाच्य बनेको छ गणतन्त्र !
राजनीतिको त्यो भोक
न सेवक बन्यो कसैको सेवामा ।
लोकतन्त्रको त्यो चोक
न आवाज बोल्यो कसैको आवाजमा !
पुर्खाले खुकुरी चलाए
देशको अस्तित्व जोगाउन,
सिकारीहरूले बन्दुक चलाए
आज देशको गरिमा मेटाउन !
वीर पुर्खाको त्यागले खडा भएको साम्राज्यमा,
गणतन्त्र चढ्दैछ बन्दुकको यात्रामा ।
देश सिध्याउने, युवा रित्याउने षड्यन्त्रको पथमा !
राजनीतिको नाममा बजेका ती ढ्याङ्ग्राहरूमा
एक दिन अवश्य प्वाल पर्छ,
पक्कै ढल्छ, खरानी बन्छ !
