वीरसिंह धामी
कामको सिलसिलामा नेपाल विद्युत प्राधिकरणका पूर्व का.मु. कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठज्यूसँग भेट भयो । उहाँले सो क्रममा नेपालमा बिजुलीको विकाससम्बन्धी आफ्ना कैयौं अनुभवहरू बाँड्नुभयो । एक दिन एउटा प्रसंगमा नेपालको पहिलो जलविद्युत आयोजना “चन्द्रज्योति अर्थात् फर्पिङ्ग जलविद्युत आयोजना (५०० किलोवाट)” को पनि कुरा निस्क्यो ।
आयोजना उद्घाटनका क्रममा तात्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर जंगबहादुर राणाले वि.सं. १९६८ साल जेठ ९ गते टुँडिखेलमा गरेको सम्बोधनको पनि कुरा भयो । यसै सन्दर्भमा उहाँले उक्त आयोजना उद्घाटनको शिलालेख पनि रहेको र उक्त शिलालेख प्राधिकरणले आफ्नो रत्नपार्कस्थित कार्यालय प्रागंणमा स्थापित गरेको कुरा बताउनुभयो ।
चन्द्रशमसेरको सम्बोधन खोज्ने क्रममा गर्नुपरेको मिहेनत सम्झेर शिलालेख भएको थाहा पाएपछि खुशी हुँदै एक दिन प्राधिकरणको कार्यालय परिसरमा खोज्न गइयो । भेट्टाउन सकिएन । पछि उहाँले नै त्यो शिलालेखको फोटो ल्याएर दिनुभयो । निकै खुशी लाग्यो । उहाँले यो फोटोले के गर्नुहुन्छ ? पढ्न सक्नुहुन्छ ? मलाई पढेर सुनाउनुस् त ? भनेर पढ्न लगाउनुभयो ।
५०–६० प्रतिशत जति पढ्न सकियो । पछि उहाँले नै पढेर सुनाउनुभयो र त्यहाँ भएका कुराहरु प्रष्ट पारिदिनुभयो । यसले, इतिहास अध्ययनका लागि मलाई थप हौसला प्रदान ग¥यो । संस्थागत स्मरणका लागि हाम्रा अग्रजहरूले गरेको प्रयास एकदम सह्रानीय छ । अहिले हाम्रा संस्थागत स्मरणका संयन्त्रहरू झन् झन् मर्दै गइरहेको अवस्थामा यस्ता कुराको महत्त्व झन् झन् बढेको जस्तो लाग्छ । यहाँ सोही शिलालेखको सेरोफेरोमा रहेर केही ऐतिहासिक तथ्यहरू संकलन गरिएको छ ।
शिलालेखको व्यहोरा यस्तो छः
श्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणोत्यादि विविध विरुदावली विराजमान मान्नोत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज पृथ्वी वीर विक्रम शाहदेव जङ्गबाहादुर साहा वाहादुर सम्सेर जङ्ग देवानां सदासमर विजयि नामका पालामा स्वस्तिश्री मदतिप्रचण्ड भुजदण्डेत्यादि श्री श्री श्री महाराज मेजर जनरल सर चन्द्रसम्सेर जङ्गवहादुर राणा जि.सि.वि.जि.सि.येस.आइ आंड डि.सि.एल. आनरेरि कर्णेल फोर्थ गोर्षाज थोङ लिङ पिम्माको काङ वाङ स्यान प्राइम मिनिस्टर याण्ड मार्सेल वाट इलेक्ट्रीकल इन्जीनीयेर वर्नाड पांटे लाई लगाई यो चन्द्र वत्ती विक्रम सम्वत १९६८ सालमा प्रकास भयो”।।
शिलालेखको सुरुवात राजाको प्रशस्ति अर्थात् प्रशंसाबाट शुरु भएको छ । उक्त समयमा आठौं शाह वंशीय राजा श्री ५ पृथ्वी वीरविक्रम शाहादेव रहेको कुरा प्रष्ट देखिन्छ । राजाको पछि श्री ३ चन्द्रशमशेरको स्तुति गरिएको छ । चन्द्रशमसेरलाई ‘श्री ३ महाराज मेजर जनरल सर’ भनेर सम्बोधन गरिएको छ । शिलालेखमा चन्द्रशमशेरलाई प्राप्त न्ऋद्य, न्ऋक्क्ष्, म्ऋी आनरेरि कर्णेल फोर्थ गोर्खाज, थुङ्ग लिङ् पिम्माको काङ वाङ स्यान र मार्सलजस्ता मान पदवीहरुको पनि उल्लेख गरिएको छ ।
यसको साथै शिलालेखले आयोजना निर्माणमा खटिएका मुख्य इलेक्ट्रिकल इन्जिनियर बर्नाड पांटे (द्यबचलबग एगधबलतभ) लाई समेत छुटाएको छैन । आजभोलि, विकास निर्माणसँग सम्बन्धित यस्तै शिलालेखहरूमा केवल नेताहरुको मात्र नाम उल्लेख गर्ने गरिएको छ । चन्द्रशमशेर जस्ता शासकको पालामा समेत यसरी शिलालेखमा आफ्नो नामसँगै काम गर्ने इन्जिनियरको नामसमेत उल्लेख गरेको कुराले शिलालेखमा ‘आफ्नो नाम सानो अक्षरमा भएको’ भनेर उफ्रिने अहिलेका केही नेताहरू भन्दा चन्द्रशमशेर बढी सुझबुझयुक्त र फराकिलो सोच भएका नेता रहेको कुराको अनुभूत हुन्छ ।
श्री ३ महाराज चन्द्रशमशेरलाई प्राप्त मानपदवीहरू ‘थुङ्ग लिङ् पिम्माको काङ वाङ स्यान’ बाहेकका बाँकी सबै पदवीहरु ब्रिटिस सरकारले प्रदान गर्ने पदवी रहेछन् । थुङ्ग लिङ् पिम्माको काङ वाङ स्यान पदवी चाँही चीनको बादशाहले प्रदान गर्ने रहेछ । यो पदवी पाउने पहिलो नेपाली वजीर (प्रधानमन्त्री) चाँही जंगबहादुर राणा रहेछन् । जंगबहादुर राणाले सन् १८७१ मा यो सम्मान पाएका रहेछन् । यो सम्मान पाएपछि चीनका बादशाहले समेत आफ्नो पद (श्री ३ महाराज) लाई मान्यता प्रदान गरेको ठानेर चन्द्रशम्शेरसम्मका सबैजसो राणा प्रधानमन्त्रीहरूले यो पदवी प्राप्त गर्नका लागि निकै मिहेनत गर्नुपरेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । तर, पछि गएर चन्द्रशम्शेरले नै यो सम्मान चिनियाँ बादशाहद्वारा अन्तर्गतका राज्यहरूका सरकार प्रमुख र मन्त्रीहरूलाई दिइने स्तरको भएको कुरा पत्ता लागेपछि मात्रै लिन बन्द गरिएको रहेछ ।
चन्द्रशमसेरको यो सम्मानको सम्बन्धमा एकदम रोचक इतिहास रहेछ जुन कुरा यहाँ त्यति सान्दर्भिक नदेखिएकोले राखिएको छैन (विस्तृत जानकारीका लागि तीर्थप्रसाद मिश्र, १९८७,“श्री ३ महाराज चन्द्रशम्शेर र चिनियाँ सम्मान”, प्राचीन नेपाल, संख्या ९८–९९) ।
आयोजनाका लागि चाहिने विद्युतीय उपकरणहरू भीमफेदीबाट मानिसले बोकेर फर्पिङ्ग र काठमाडौंसम्म ढुवानी गर्न निःशुल्क भरिया पठाउन सरकारले सूचना जारी गरेको रहेछ । सम्पूर्ण सामानहरू ज्याला दिएर मात्र ढुवानी गर्न सम्भव नरहेको भन्दै सूचनामा भनिएको छः “सरकारले फर्पिङ्गदेखि काठमाण्डौंसम्म विजुली आपूर्ति गर्नको लागि आयोजना निर्माण गरिरहेको छ । विद्युत आपूर्ती भएपछि उपत्यकामा विभिन्न किसिमका उध्योग धन्दाहरुको शुरुवात गर्न सकिनेछ र प्रत्येक क्षेत्रमा प्रगती गर्न सकिनेछ”।
अतः उक्त कार्यमा सहयोग गर्न विष्णुमती नदी पूर्व र बागमती नदीको पश्चिम, बाँसबारी र बालाजुको दक्षिण र बागमतीको उत्तर सिमानाभित्रका बासिन्दाहरूलाई प्रतिघर दुई जना भरिया पठाउन उर्दी जारी गरेको देखिन्छ । यदि, कसैले भरिया पठाउन नसकेको खण्डमा प्रतिघर रु.४ को दरले ज्याला तिर्नुपर्ने व्यवस्था गरेको रहेछ । विधवा, १६ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेर भएकाहरूलाई मात्र छुट दिएको रहेछ ।
उर्दीमा थप भनिएको छ– “अन्य देशहरूमा नगरपालिकाले खानेपानी, ढलनिकास, सडक आदि कार्यको लागि कर उठाउने गरिन्छ । हामीकहाँ त्यस्तो कुनै प्रकारको कर लिने गरिएको छैन । यी कुराहरु निःशुल्क उपलब्ध गराइएको छ । यस्तो अवस्थामा पनि आदेशको उल्लंघन गरेको खण्डमा तपाईहरुलाई याद होला कि वि.सं. १८६० मा जसरी बाग्मती नदीको पुल निर्माण गर्नको लागि बाग्मती पूर्व र पश्चिमका वासिन्दाहरुलाई ‘झारा’ (निःशुल्क श्रमदान) उपलब्ध गराउन आदेश गरिएकोमा सो को पालना नगर्ने बाग्मती पूर्वका सबै घरहरुलाई वार्षिक रुपमा कर तिर्नुपर्ने बनाइएको थियो, त्यसैगरी यो कार्यको लागि भरिया नपठाउनेलाई पनि त्यही प्रावधान लागू गरिनेछ” (रेग्मी रिसर्च कलेक्सन, भाग ११, पृष्ठ १३९)।
यो इतिहासले विद्युत विकासको हाम्रो करिब एक सय दश वर्ष पुराना दिनहरुको अवस्था उजागर गरेको छ । जलविद्युत विकासले विभिन्न कलकारखाना खुल्ने र त्यसले समृद्धि ल्याउने सपना त्यतिबेलैदेखि देखेको वा देखाइएको रहेछ । ‘चन्द्रज्योति’ को उद्घाटनको क्रममा चन्द्रशमसेरले भनेका थिएः
“….एसबाट हाम्रा मुलुक्को उद्योग उतसाहमा नञा युग हुनगया झै उन्नतिगराउने होला भनन्या आशा छ । ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइनेबस्तु बाटै मिलन सक्ने फाइदा हामिले उठाउन सकेनौ भने तेसभन्दा अपसोचको कुरा के छ ?”
साँच्चिकै आजसम्म कति उद्योग कलकारखानाको विकास भयो ? कति समृद्धि हासिल भयो ? ईश्वरबाट दया भएर दिएको स्रोत साधनबाट कतिको फाइदा लिन सकियो ? अहिलेसम्म पनि हाम्रा लागि यो ‘अपसोच’ र ‘विडम्बना’ कै कुरा भएको छ । हामी अझै रनभुल्ल छौं । भिल्लको देशमा मणि नचिनिएझैँ जलविद्युत चिन्न नसकेर राजनीतिक दाउपेच र व्यक्तिगत स्वार्थका लागि विदेशीको इशारामा नाँचिरहेका छौं । देशलाई दुर्घटनातिर धकेल्न उद्धत्त छौं । (ऊर्जाखबर डटकमबाट)
