विज्ञापन बोर्डकै विज्ञापनमा अशुद्धता

Nayabimarsha (Weekly Newspaper from Nepal)

कौशल कुमार भट्टराई
नेपालमा वर्गीकरणमा परेका छापामाध्यमहरुलाई सरकारी विज्ञापन नियमित रुपमा उपलब्ध गराउने निकाय हो विज्ञापन बोर्ड । यही बोर्डले उपलब्ध गराएको विज्ञापनहरु नै वर्गीकरणमा परेका छापामाध्यमहरुले प्रकाशन गर्ने गर्छन् । यसरी सरकारबाट तोकिएको विज्ञापन प्रकाशन गरेबापत बोर्डले हरेक महिना प्रकाशित भएका विज्ञापनको संख्याका आधारमा विज्ञापन बापतको भुक्तानी पनि गर्दै आएको छ । नेपालमा पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नका लागि उक्त विज्ञापनको भुक्तानी पनि एउटा आधारको रुपमा रहेको छ ।
यसरी उपलब्ध गराइने विज्ञापनको नमूना पनि बोर्डले नै अग्रीम रुपमा पठाउने गरेको छ । आगामी महिनाका लागि यी विज्ञापनहरुमध्येबाट प्रकाशन गर्नु होला भनी बोर्डले इमेलमार्पmत सूचना दिने पनि गर्दछ । यसैगरी बोर्डले आफ्‌नो वेवसाइटमा पनि विज्ञापनहरुको सूची राख्ने गरेको हुन्छ । ती विज्ञापनमध्ये कुनै पनि विज्ञापनलाई समयानुकुल हेरी प्रकाशन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसरी वर्गीकरणमा परी विज्ञापन लिने पत्रिकाको रुपमा मैले सम्पादन/ प्रकाशन गर्ने पत्रिका ‘नयाँ विमर्श’ साप्ताहिक पनि पर्ने गर्दछ । गत कार्तिक महिनाका लागि दुइटा विज्ञापनहरु प्रकाशन गर्नुपर्ने थियो । तिहारको विदाका कारण एकै अंकमा दुइटा विज्ञापन प्रकाशन गर्नुपर्ने अवस्था रहेको हुँदा निर्धारित विज्ञापनहरुको छनौट गर्नुपर्ने अवस्थामा थियौं । पत्रिका सेटिङ गर्ने साथीले दुइटा विज्ञापनहरु तयारी अवस्थामा देखाउनु भयो । ती विज्ञापनहरुमा भाषिक रुपमा धेरै नै अशुद्धि पाएँ ।
त्यसैले अर्को अर्को भन्दै छान्दै गएँ । केही विज्ञापन प्रकाशन भैसकेका तथा धेरैजसो चाडपर्व केन्द्रित खालका विज्ञापन भएकाले असान्दर्भिक भैसकेका थिए । त्यसैले बाँकी रहेका विज्ञापनका नमूनाहरुमध्येबाट विज्ञापनको छनौट गर्नुपर्ने अवस्था थियो । बाँकी रहेका विज्ञापनहरुको नमूनामा भाषिक रुपमा धेरै नै अशुद्धता पाएपछि कुनै एउटा छनौट गरी त्यो अंकको झारा त टारेँ तर मनमा भने खड्किरह्यो ।
त्यसैले गत कार्तिक २८ गते बोर्डमा पुगी आफूलाई लागेका केही सुझावहरु दर्ता पनि गराएँ । भाषिक रुपमा गल्ती भएमा त्यसले कालान्तरमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने कुरा आफ्‌नो सुझावमा दिएँ पनि । मैले दिएका सुझाव तथा अब गरिनुपर्ने कार्यका विषयमा तल केही मात्रामा उल्लेख गर्ने प्रयास यस लेखमार्पmत गरेको पनि छु ।
‘तहाँको निकायबाट प्राप्त हुने विज्ञापनहरुको नमूनामा भने एकदमै सुधार गर्नुपर्ने अवस्था देखिएको छ । खासगरी भाषिक रुपमा विज्ञापनमा ध्यान दिएको देखिँदैन । कुनै पनि देशको भाषा, संस्कृति भनेको महत्वपूर्ण कुरा हो । भाषा, संस्कृतिको जगेर्ना गर्न सकेमा मात्र आफ्‌नो देशको पहिचान कायम रहने गर्दछ ।’ उक्त सुझावपत्रमा उल्लेख गरेको छु ।
यसैगरी ‘यही कुरालाई मध्यनजर गरी जपान, चीन, कोरिया लगायतका देशहरुले विदेशबाट अध्ययन वा कामका लागि आउनेहरुलाई भाषाबारे स्पष्ट अडान लिने गरेका छन् । उनीहरुले सबैभन्दा पहिले उनीहरुको देशको भाषामा दक्षता भएका व्यक्तिहरुलाई मात्र आफ्‌नो देशमा अध्ययन वा कामका लागि अवसर दिने गरेका छन् ।’
यसैगरी यो कुराको ख्याल ती देशहरुले मात्र गरेका छैनन् । अमेरिका लगायतका युरोपेली देशहरुले पनि आफ्‌नो देशको भाषा जोगाउन प्रयास गरिरहेका छन् । ‘अमेरिका, अष्टे्रलिया, बेलायतलगायतका युरोपियन देशहरुमा अध्ययनका लागि जाने विदेशी विद्यार्थीहरुले अंग्रेजी भाषामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । अनि मात्र ती देशमा विद्यार्थीको रुपमा अध्ययन गर्नका लागि एउटा योग्यता पुगेको मान्ने गरेको देखिन्छ ।’ मैले दिएका सुझावमा माथिका कुरा पनि उल्लेख छन् ।
त्यसरी जाने विद्यार्थीहरुले पहिले आयल्ट वा टोफल वा पिटी आदि गरेको हुनुपर्ने भन्ने हामी सबैले सुनेकै कुरा हो । विभिन्न नाम दिइए पनि ती सबैको प्रमुख आशय भनेको अंग्रेजी भाषामा के कत्तिको दख्खल छ भन्ने कुरा उनीहरुले प्रमाणित रुपमा लिन चाहन्छन् । विभिन्नस्तरका परीक्षामा उत्तीर्ण भएपछि मात्र ती विद्यार्थीहरु ती देशमा पढ्नका लागि जाने एउटा योग्यता पुगेको मान्दछ । तपाइँ हामीले हाम्रा सन्तानहरुले यत्ति आएछ, उति आएछ भनेको सुनेकै छौं, त्यो भनेको उनीहरुले गरेको प्राप्ताङ्क हो ।
फिनल्याण्ड, स्वीडेन, स्कटल्याण्ड, स्पेन मात्र होइन कि चीनको भ्रमण गर्दा समेत ती देशका जनताले आफ्‌नै देशको भाषालाई प्राथमिकतामा राखेको पाएँ । चीनमा त भाषाको जानकारीको अभावमा धेरै नै सकस भोग्नु पर्‍यो । उनीहरु कहीँ कतै पनि अंग्रेजी वा विदेशी भाषामा कुरा नगरी आफ्‌नै चीनियाँ भाषामा कुरा गर्ने गरेको पाइयो । यसैगरी हालको प्रविधियुक्त युगमा समेत चीनले आफ्‌नै भाषाको प्रयोग गर्ने गरेको छ । बरु उनीहरुले अनुवाद गर्ने प्रविधिको विकास गरी आफ्‌नै भाषाबाट बुझ्‌ने र बुझाउने गरेको पाइन्छ ।
विज्ञापन बोर्डबाट उपलब्ध हुने विज्ञापनमा भाषिक अशुद्धता भएका खण्डमा सबै सञ्चारमाध्यमहरुले त्यही व्यहोरा प्रकाशन गर्नुपर्ने अवस्था रहन्छ । हजारौंको संख्यामा रहेका छापामाध्यमहरुले ती विज्ञापन प्रकाशन गर्दा लाखौं प्रति छापिने गर्दछ । यसैगरी लाखौं प्रति छापिने पत्रिकालाई दशौं लाख पाठकले पढ्ने अनुमान गर्न सकिन्छ । अझ वेवसाइत तथा अन्य डिजिटल माध्यमबाट समेत ती पत्रिकाहरको पीडीयफ प्रति पाठकसमक्ष पुग्ने गर्दा त्यो विज्ञापन पढ्ने व्यक्तिमा नकारात्मक असर पर्ने देखिन्छ ।
अब सोचौं त विद्यालयमा एउटा कुरा शुद्ध भनी पढाएको अवस्थामा साना विद्यार्थीहरुले पत्रिकामा प्रकाशित अशुद्ध भाषालाई देख्दा वा पढ्दा त्यही अशुद्ध नै शुद्ध हो भन्ने भ्रममा पर्ने अवस्था रहन्छ । यसैगरी अशुद्ध भाषालाई मान्ने खतरा पनि कायम हुने भएकाले यस कर्मलाई बोर्डले सुधार गरी शुद्ध भाषामा विज्ञापन उपलब्ध गराउनु उचित हुने देखिन्छ । बोर्डबाट उपलब्ध एउटै विज्ञापनमा समेत भाषिक एकरुपता नभएका धेरै विज्ञापनका नमूनाहरु छन् । त्यो भनेको भाषिक अज्ञानता मात्र नभई लापर्बाही समेत हो ।
यो कार्य गर्न बोर्डका लागि ठूलो कुरा पनि होइन । न त ठूलो खर्च नै आउने गर्दछ । बोर्डद्वारा जारी गरिने विज्ञापनहरुलाई नेपाली भाषाका जानकार व्यक्तिहरुबाट पहिले भाषिक शुद्धता हेर्न लगाएर मात्र हरेक महिनाका लागि विज्ञापनको नमूना पठाउनु हुन वा आफ्‌नो वेवसाइटमा राख्नु उचित हुन्छ । एक वर्षका लागि शुरुमै विज्ञापनको नमूनाहरु बनाउन सकिन्छ । यसका लागि बोर्डले हरेक वर्ष एकजनालाई भाषा हेर्नको लागि एक पटकका लागि नियुक्त गर्न सक्छ । उक्त विज्ञापनको नमूना हेर्ने कार्यका लागि एक महिनाको वा उचित प्रारिश्रमिक दिएर त्यसलाई अन्तिम रुप दिन सकिन्छ । भाषाशास्त्रीबाट शुद्ध बनाइएका विज्ञापनलाई बोर्डले आधिकारिक रुपमा प्रकाशनका लागि पठाउँदा उचित हुन्छ ।
पाठक तथा विज्ञापन बोर्डलाई उपयुक्त होस् भनी भाषाको विषयमा तल थप केही कुरा उल्लेख गरेको छु ।
‘भाषा भनेको व्याकरण र शब्दावली मिलेर बनेको संरचित सञ्चार प्रणाली हो । यो मुख्य माध्यम हो जसद्वारा मानिसहरूले बोली र हस्ताक्षर दुवै रूपमा अर्थ व्यक्त गर्छन् र लेखनमार्फत पनि व्यक्त गर्न सकिन्छ ।’ यसैगरी भाषा सञ्चारको एउटा उपकरण र प्रणाली हो । भाषा अलग–अलग भाषिक खण्डहरूको जटिल नियम–शासित प्रणाली हो । त्यसैले भाषा अर्थ बनाउने संस्था हो । यो पहिचानको अभिव्यक्ति हो ।
भाषाविद्हरूले भाषाहरूमा पाइने पाँच आधारभूत तत्वहरू (ध्वनी विज्ञान, आकारविज्ञान, वाक्यविन्यास, अर्थशास्त्र र व्यावहारिकता) भनी पहिचान गरेका छन् । त्यसैले भाषा महत्त्वपूर्ण छ किनभने यो सञ्चारको आधार हो । यसले मानिसहरूलाई सम्बन्ध बनाउन र समुदाय निर्माण गर्न जटिल विचार, भावना र भावनाहरू व्यक्त गर्न अनुमति दिन्छ । यो सांस्कृतिक पहिचान र ज्ञानको हस्तान्तरण, इतिहासको संरक्षण र पुस्ताहरूमा सहकार्य र सिकाइलाई सक्षम पार्न पनि आवश्यक छ ।
यसैगरी स्थानीय भाषाहरूको पनि आफ्‌नै महत्व छ । स्थानीय भाषाका विषयमा भन्नुपर्दा यसले सांस्कृतिक सम्पदा र पहिचानको संरक्षण गर्न, समुदायहरूसँग गहिरो सम्बन्ध प्रवद्र्धन गर्न र संज्ञानात्मक र शैक्षिक लाभहरू प्रदान गर्न महत्त्वपूर्ण छन् । तिनीहरूले प्रत्यक्ष सञ्चारको लागि अनुमति दिन्छन्, जसले सम्बन्धलाई बढाउँछ, यात्रा अनुभवहरूलाई समृद्ध बनाउँछ र समुदाय विकासको लागि महत्त्वपूर्ण पनि मानिन्छ । स्थानीय भाषा सिक्नुले आर्थिक र व्यक्तिव्य विकासको अवसर पनि प्रदान गर्दछ ।
त्यसैले भाषा र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो । त्यसमाथि विज्ञापन बोर्ड जस्तो निकायको त झनै ठूलो कर्तव्य पनि हो । मैले सम्पादन गर्नेदेखि अरु साथीहरुबाट सम्पादित हुने सामग्रीहरुमा सकेसम्म भाषिक शुद्धता कायम राख्ने प्रयास गरौं । गर्दागर्दै पनि सकिएन वा चिप्लियो भने त्यो अर्कै कुरा हो तर पनि प्रयास गरौं ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *