अस्ट्रेलियामा पौडेललाई भोलेन्टियर अवार्ड

Nayabimarsha (Weekly Newspaper from Nepal)

अस्टे्रलिया/ अस्ट्रेलियामा रहेर सामाजिक काममा सक्रिय एक नेपाली युवा प्रवेश पौडेल पुनः सम्मानित हुनु भएको छ । यसअघिको वर्ष जस्तै पौडेलले न्युकासल भोलेन्टियर अवार्डबाट सम्मानित हुने अवसर यस वर्ष पनि पाउनु भएको हो ।
लगातार दोस्रो पटक सम्मानित भएसँगै आफूमा जिम्मेवारी पनि थपिएको पौडेलले बताउनु भएको छ । उहाँलाई अस्ट्रेलियाको संघीय संसदकी उपसभामुख सारोन क्लेडोनले यो अवार्ड प्रदान गर्न पौडेल निक्कै नै हर्षित देखिनु भएको थियो ।
पौडेल विगत तीन वर्षदेखि हन्टर मल्टी कल्चरल सोसाइटीका सदस्यका रुपमा कार्यरत हुनु हुन्छ । यो न्युकासल क्षेत्रको गैरनाफामूलक संस्था हो । यो संस्थाको बोर्ड सदस्यमा पौडेल हालै निर्वाचित हुनु भएको छ । यो संस्थाको इतिहास करिब ५० वर्षे रहेको बताइन्छ । यस्तो ऐतिहासिक संस्थाको बोर्डमा नेपाली मूलका प्रतिनिधि बन्ने उहाँ नै पहिलो व्यक्ति बन्नु भएको पनि बताइएको छ ।
यो संस्था न्यूकासल, सेन्ट्रल कोस्ट र हन्टर क्षेत्रकै सबैभन्दा ठूलो गैर–नाफामूलक संस्थामध्येको एक मानिन्छ । यसले आप्रवासी, युवाहरू, शरणार्थी तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ । हन्टर क्षेत्रमा बहुसांस्कृतिक स्वयंसेवकको रूपमा चिनिन पाउँदा आफूलाई खुशी लाग्ने गरेको पौडेलले प्रतिक्रिया दिनु भएको छ ।
त्यसो त लामो समय बैंकिङ र अकाउन्टिङ क्षेत्रमा काम पौडेलले काम गर्दै आउनु भएको छ । उहाँ अहिले सेभेन फाइनान्स एण्ड होम लोनका सिनियर क्रेडिट एनालिस्टका रूपमा समेत कार्यरत रहुनु भएको अवस्थामा समय निकालेर सामाजिक कार्यहरुमा सक्रिय हुँदै आउनु भएको छ ।
सबैभन्दा बढी आयकर तिर्नेमा शाह
ललितपुर/ यस वर्ष व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित हुनु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आर्थिक वर्ष २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायलाई सम्मानपत्र प्रदान गर्ने क्रममा शाह बढी आयकर तिर्नेमा पर्नु भएको हो ।
सरकारले मंसिर १ गतेका दिन हरेक वर्ष बढी कर तिर्ने करदातालाई सम्मान गर्ने गरेको छ ।
शाह तीन वर्षसम्म सबैभन्दा बढी कर तिरेर सम्मानित हुनु भएका उद्योगपति विजयबहादुर शाहका छोरा हुनु हुन्छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत हुनु हुन्छ ।
उहाँ लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित हुनु भएको हो । नेपालमा मदिरा उद्योगबाट स्थापित शाह परिवारले राज्यलाई व्यक्तिगत आयकरमा सबैभन्दा बढी कर तिर्नेको रुपमा आफूलाई राख्न सफल हुँदै आएको छ ।
विजयबहादुर शाह २०७७, २०७९ र २०८० सालको कर दिवसमा धेरै कर तिरेबापत सम्मानित हुनु भएको थियो । यसरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै वर्ष सम्मानित व्यवसायीको रुपमा सिप्रदी टे्रडिङका अध्यक्ष सिद्धार्थ राणा रहने गर्नु भएको थियो ।
यसैगरी सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण परेको छ । सरकारले कुल १६ करदातालाई विभिन्न शीर्षकमा बढी कर तिरेकोमा सम्मान गर्दा प्राधिकरण परेको हो । नेपाल टेलिकमले इजाजतपत्र नवीकरण गरेबापत शुल्क एकमुष्ट बुझाउँदा प्राधिकरणको आम्दानी ह्वात्तै बढ्दा प्राधिकरण उक्त सम्मानको भागिदार बन्न सफल भएको हो ।
एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल परेको छ । बस्तु निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा डाबर नेपाल प्रा.लि. परेको बताइएको छ । भेरिक्स नेपाल प्रा.लि. सूचना प्रविधि सेवा निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । यसैगरी पोषक ब्रिडर फार्म प्रा.लि. कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था र बीमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परेको छ । यसैगरी पर्यटन व्यवसायमध्ये सोल्टी होटल लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको जनाइउको छ । बस्तु व्यापार काराबार गर्नेमा भाटभटेनी सम्मानित भएको छ ।
यसैगरी वार्षिक ५० करोडभन्दा बढी १ अर्ब रुपियाँसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा सीडीएस एन्ड क्लियरिङ कम्पनी परेको छ । यस्तै रेमिट्यान्समा आईएमई र ऊर्जामा भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन् । नियमित कर दाखिला गर्ने कम्पनीमा भने नेपाल टेलिकम सम्मानित भएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *