धनबहादुर मगर
केवरत पूर्वी तराईको मोरङ जिल्लाको दक्षिण क्षेत्रमा परापूर्व कालदेखि बस्दै आएको आदिवासी जनसमुदाय हो । केवरत समुदायको मौलिक पहिचानको ‘केवरत भाषा’ रहेको छ । यस समुदायको फरक खालको भेषभूषा, कला, संस्कृति, संस्कार रहेको छ । केवरतहरू प्रकृतिपूजा, धामीझाँक्री, टुनामुना, झारफुक, आत्मशिलता आदिमा विश्वास गर्छन् । यस समुदायमा स्थानीय जडिबुटीको प्रयोग र परम्परागत हिसाबले लोकोपचार गर्ने प्रचलन अहिले पनि कायम रहेको छ । केवरतहरूको ‘सोलो सवाली वाईस मुखिया’ नामक आफ्नै न्याय प्रणाली रहेको इतिहास छ । केवरतहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ । यस समुदायको मुख्य बसोवास मोरङ जिल्लाको सुनवर्षी नगरपालिका रहेको छ । त्यसैगरी रतुवामाई नगरपालिकाका केही वडा र झापा जिल्लाको पन्तापरा गाउँमा केही घर रहेका छन् । बढ्दो शहरीकरणको प्रभावले केही घर परिवार शहरबजारतिर बसाँइ सर्न थालेका छन् ।
नेपालको बाह्रौं राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक केवरत समुदाय र केवरत भाषालाई समावेश गरिएको छ । जसअनुसार केवरतको कुल जनसख्या ८८०९ रहेको छ । जुन कुल जनसंख्याको ०.०३ प्रतिशत हो । जसमध्ये महिलाको संख्या ४५४५ र पुरुषको संख्या ४२६४ रहेको छ । केवरतले बोल्ने भाषा केवरत भाषा हो । यो भाषा भारोपेली परिवार अन्र्तगत पर्दछ । नेपाल सरकारको तथ्याङ्कले केवरत वक्ताको संख्या ३५०८ देखाएको छ (केन्द्रीय तथ्याङ्क विभाग २०२१) यद्यपि शत् प्रतिशत् केवरतहरू मातृभाषा बोल्ने गरेका छन् । यिनीहरू एकआपसमा संवाद गर्दा मातृभाषामा नै बोल्ने गर्दछन् । केवरत समुदायमा हुने सामाजिक, धार्मिक कार्यक्रममा तथा मन्त्रोचारण र झारफुक गर्दा पनि मातृभाषाको प्रयोग गर्छन् । नेपालमा परापूर्वकालदेखि बस्दै आएका केवरतहरू २०६४ सालदेखि मात्र भाषिक तथा साहित्यिक अभिलेखनका लगि कलम चलाउन थालेको पाइन्छ ।
केवरत साहित्यको वर्तमान अवस्था ः
जीवनजगतसँग सम्वद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि) लाई साहित्य भनिन्छ । यहाँ केवरत भाषामा लेखिएको साहित्यलाई ‘केवरत साहित्य’ भनिएको हो । केवरत समुदायका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विषयवस्तुलाई कलात्मक तरिकाले केवरत भाषामा प्रस्तुत गरिएको साहित्यलाई केवरत लोकसाहित्य भनिएको हो । साहित्यलाई दुई भागमा विभाजन गरेर अध्ययन गरिन्छ, ती हुन् लोकसाहित्य र लिखित साहित्य ।
लोकसाहित्य ः
साहित्यको पहिलो रूप लोकसाहित्यलाई मानिन्छ । यसलाई कतै ‘कथ्य साहित्य’ र कतै ‘मौखिक साहित्य’ पनि भनिन्छ । विगत लामो समयदेखि समुदायमा एउटा व्यक्तिबाट अर्को व्यक्तिमा तथा एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण तथा हस्तान्तरण हुँदै आएको कथ्य साहित्यलाई ‘लोकसाहित्य’ भनिन्छ । यस्तो साहित्यमा समुदायका लोकभावनाका विषयवस्तु समावेश गरिएका हुन्छन् । लोकसाहित्यले ग्राम्य परिवेश अपरिष्कृत ग्राम्य बोलीलाई उतार्ने गर्छ । लोकसाहित्यमा प्रागैतिहासिक सन्दर्भका साथै स्थानिक परम्पराका विविध पक्षहरू समावेश गरिएका हुन्छन् । केवरत समुदायमा परापूर्व कालदेखि कथ्य परम्परामा आफ्नो अस्तित्व जोगाउँदै आएको अलिखित साहित्य नै केवरत लोकसाहित्य हो । केवरत समुदायको लोकसाहित्य निकै समृद्ध रहेको छ । यसको लोकसाहित्य हालसम्म कथ्य परम्परामा नै अनुप्रणित हुँदै आएको छ । केवरत लोकसाहित्य मौखिक परम्परामै अघि बढेकाले वृद्ध पुस्ताको मृत्युसँगै यस लोकसाहित्यका कतिपय विषयवस्तुहरू क्रमशः लोप हुँदै गएको पाइन्छ । केवरत लोकसाहित्यअन्र्तगत लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, लोकविश्वास, उखान, टुक्का, गाँउखाने कथा आदि छन् । केवरत लोकसाहित्य अन्तर्गतका विविध विधाहरूबारे तल संक्षेपमा चर्चा गरिएको छ
लोकगीत ः
लोकमा मौखिक परम्परामा जीवित गीत नै ‘लोकगीत’ हो । बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक देश नेपालमा विविध जाति एवम् समुदायका फरक–फरक लोकगीत पाइन्छन् । केवरत समुदायमा थुप्रै लोकगीतहरू छन् । केवरतहरू प्रसङ्गअनुसार फरक–फरक खालका गीत गाउने गर्दछन् । केवरत लोकगीतअन्तर्गत संस्कार र संस्कृति गीतहरू पर्दछन् । केवरत संस्कार गीतहरूमा प्रायजसो विवाह संस्कारमा गाइने गीतहरू नै बढी रहेका छन् । केवरत समुदायमा कसइ खन्नेदेखि लिएर सोजुम पानफेरि हल्दि, कसई लगाउने सन्दर्भमा, लावा भुट्ने, पानीको पूजाका निम्ति इनार पुज्ने, आँपको रुख पूजा गर्ने, स्थानीय लोकदेवीदेवताका थानपूजा गर्ने, जन्ती प्रस्थान गर्ने, बेहुलीको घर पुग्ने प्रसङ्गमा, मण्डपमा कन्यादान, सिन्दुरदान, लगनगाँठोको प्रसङ्गमा तथा बेहुलीलाई घर भित्र्याउने सन्दर्भमा फरक –फरक भावका गीतहरू गाउने प्रचलन अहिले पनि छ । कार्यपत्र प्रस्तोताले केवरत जातेर बिहार गिदला (२०७५) पुस्तकमा २५१ वटा केवरत भाषाका गीत संकलन, सम्पादन तथा प्रकाशन गरेकी छन् । यस संकलनमा केवरत समुदायका धेरैजसो गीतहरू समावेश गरिएका छन् । भरौवा हँयगेल कवितासंग्र्रह केवरत भाषामै छापिएको पहिलो कृति हो भने केवरत जातेर बिहार गिदला पुस्तक केवरत भाषामै प्रकाशित दोस्रो कृति हो । केवरत संस्कृतिअन्तर्गत विभिन्न चाडपर्वका अवसरमा गाइने गीतहरू पर्दछन् । केवरतहरू विशेष गरी घाँटपावन, डालिपावन, हुक्कापावन र फगुवापावनका अवसरमा फरक– फरक भाव एवम् मौलिक लयका गीतहरू गाउँछन् ।
लोककथा ः
समुदायमा कथ्य परम्परामा प्रचलित कथाहरू नै ‘लोककथा’ हुन् । लोककथाहरू एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा नै पुस्तान्तरण हुँदै आएको पाइन्छ । लोककथामा बहादुरी, धुत्र्याइँ, छलकपट, तिलस्मी, परीका सन्र्दभहरू, स्थानीय लोकदेवीदेवताका प्रसङ्गहरू, दुस्टात्माका प्रसङ्गहरू, धामीझाँक्री, टुना–मुना तथा बोक्सी–बोक्सेरोका सन्दर्भहरू जोडिएका हुन्छन् । केवरत समुदायमा कथ्य परम्परामा पुस्तान्तरण हुँदै आएका मौलिक कथाहरू नै ‘केवरत लोककथा’ हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको लोकसाहित्य विभागबाट अनुसन्धानकर्ता चतुर्भुज केवरतले केवरत समुदायका ३४ वटा ‘केवरत लोककथाहरू’ संकलन गरेका छन् । ती लोककथाहरूलाई नेपालीमा शब्दानुवाद र भावानुवाद गरिएको छ । ती कथाहरूमा पशुपंक्षीको कथा, मानव र मानवेतर बिचका मित्रताको कथा, हिंस्रक जनावरको कथा, टुहराका कथा, वृक्षका कथा, चलाखीका कथा, दैवी उत्पत्तिका कथा, स्वर्ग र मत्र्यलोक आदिका कथा पाइन्छन् । केवरत लोककथाहरूमा मनोरञ्जनका साथ–साथै स्थानीय रङ, नैतिक शिक्षा, छलकपटको दुस्परिणाम, मित्रता परोपकारिता, सामाजिकता, परिणाम, अर्ती उपदेश आदि सिक्ने गर्दछन् । “केवरत लोककथाहरूमा राजकुमारको पुरुषार्थ र चलाखीको वर्णन, खलपात्रको छलकपट र दुस्ट्याइँ, मानव र मानवेतर पात्र विचको घनिष्ट मित्रता, मित्रतामा पारस्पारिक सहयोग जस्ता लोककथाहरू पनि छन्” । केवरत लोककथामा राजपरिवारका सन्दर्भ, शिकारका प्रसङ्ग, स्थानीय लोकदेवीदेवताका सहयोग, दैवी पोखरी सृष्टि सम्बन्धी कथा आदि पर्दछन् ।
लोकनाटक ः
लोकनाटक लोकजीवनको पूरानो विधा हो । लोकनृत्य र गीत नै यसको मूल आधार हो । लोकनाटक पौराणिक कालदेखि चल्दै आएको पाइन्छ । महाभारत, रामायण पनि लोकनाटकको विविध स्वरूप देख्न सकिन्छ । केवरत समुदायमा पनि लोकनाटक रहेका छन् । केवरतहरू परापूर्व कालमा पारस्परिक मनोरञ्जनका निम्ति नाटक मञ्चन गर्थे । तिनीहरू नाटकलाई स्थानीय केवरत भाषामा ‘नाँच’ भन्ने गर्छन् । केवरत समुदायमा चोर चोरनी, राजा भरथरी, जोगी बृजभार, विधापद, शङ्खवझा, बेहुला विसहरी, गोपीचन, जस्ता नाचहरू रहेका छन् । कतिपय नाँचहरू लोप भैसकेका छन् ।
लोकगाथा ः
लोकगाथा ‘लोक’ र ‘गाथा’ दुइटा शब्दको योगबाट बनेको हो । लोकगाथा लोकमा नै प्रचलित गीत हो । लोकको समस्यालाई आधार मानेर गाइने गाथालाई लोकगाथा भनिन्छ । केवरत समुदायमा लोकगाथाहरू रहेका छन् । यस समुदायमा सिलईको लोकगाथा, जितमलको लोकगाथा रहेका छन् । यी दुइटै लोकगाथा प्रकाशित छन् । केवरत जातिका लोकगीत २०७८, केवरत लोकगाथामा पीर, वेदनाका कथा पाइन्छ ।
उखानटुक्का ः
लोकव्यवहारको अनुभवबाट प्राप्त गहकिला उक्ति नै उखान हो । लोकजीवनका विभिन्न क्रियाकलाप, रीतिथिति, बानीबेहोरा आदिमा उखानको प्रयोग हुन्छ । उखानमा सामाजिक शिक्षा, दृष्टान्त, उपमा, व्याँग्य आदि सुत्रवद्ध रूपमा प्रयोग गरिएको हुन्छ । व्याँग्यार्थ भावलाई व्यक्त गर्ने वाक्यांशलाई टुक्का भनिन्छ । टुक्काले भाषालाई सुन्दर बनाउँछ र यसले भाषिक अभिव्यक्तिमा रौनक बढाउँछ । केवरत भाषामा उखान र टुक्का दुइटैलाई संयुक्त रूपमा बुझाउनका निम्ति अर्सिफर्सि शब्द प्रयोग गरिन्छ । केवरत भाषामा धेरै अर्सिफर्सिहरू रहेका छन् । यस समुदायका २१६ वटा अर्सिफर्सि प्रकाशित भएका जनाएका छन् । यस भाषामा अरू धेरै अर्सिफर्सिहरू भए पनि संकलन र प्रकाशन गर्न भने बाँकी रहेका छन् । केवरत अर्सिफर्सिहरूलाई वृद्धवृद्धाहरूले कथ्य परम्परामा जोगाउँदै आएका छन् । वृद्धवृद्धा केवरतका निधनसँगै अर्सिफर्सिहरू क्रमशः लोप हुँदै गएको पाइन्छ ।
केवरत अर्सिफर्सि आमे माछे खेत बिरान ः
एकबेर कान काट्ले अगलेबगले जाय बेरबेर कान काट्ले गित गाउँदै
जाय, नेपाली भाषामा अनुवाद माछा मार्न खोज्दा खेत बाँझो
एकचोटि कान काट्दा छेउछाउबाट हिँड्नु पटक–पटक कान काट्दा बिच गाउँबाट हिँड्नु
प्रयोगको सन्दर्भ, थोरै उपलब्धिका लागि धेरै गुमाउने, अवस्था, एकचाटी बेइज्जत भएपछि लजाउँदै हिँड्नु बारम्बार बेइज्जत भएपछि लाज पचाएर ठाटिएर हिँड्नु,
कल्ल्हुर गोरु बने जाय ने कोल्हुरको गोरु न बाहिर जानु घरको काममा मात्र दलिरहने मान्छेलाई बाघे खाय भनेर भन्ने गरेको पाइन्छ ।
गाउँखाने कथा ः
बाघले खानु
बाहिरी संसारको बारे थाहा नहुने सन्दर्भ केवरत गाउँखाने कथालाई ‘पेहनि’ भन्ने गरिन्छ । केवरत भाषामा कूट अर्थ दिने धेरै गाउँखाने कथाहरू छन् । ती धेरै जसो मौलिक परम्परामै जीवित र पुस्तान्तरित हुँदै आएका छन् । गाउँखाने कथाहरूमा श्रुतिमधुरता हुनुका साथै ज्ञानवद्र्धक पनि हुन्छन् । यस्ले शिक्षा, मनोरञ्जन, हाँसो, व्याङ्ग्य आदि प्रदान गर्दछ । केवरतमा प्रकृति सम्बन्धी, बोटविरुवा सम्बन्धी, शरीर सम्बन्धी, घरेलु सामग्री आदि सम्बन्धी गाउँखाने कथाहरू रहेका छन् । केवरत समुदायका ३० वटा गाउँखाने कथाहरू प्रकाशित छन भनेर हेमन्ती केवरत बताउँछिन् । केवरत गाउँखाने कथाहरुले वहुविषयक ज्ञान दिने गर्दछ ।
लोकविश्वास ः
केवरत समुदायमा विभिन्न लोकविश्वासहरू रहेका छन् । ती विभिन्न विषयवस्तुसँग सम्बन्धित छन् । यस समुदायका लोकविश्वासहरू जन्म, विवाह, मृत्यु, कृषि पेशा, चाडपर्व, साइत आदिसँग सम्बन्धित छन् । कतिपय लोकविश्वासहरू झारफुक, धामीझाँक्री, परम्परागत जडिबुटी, ओखतीमुलो आदिसँग सम्बन्धित रहेका छन् । केवरतका लोकविश्वासहरू केवरत समुदायमा मौखिक परम्परामा जीवित रहेका छन् । यस समुदायका १०१ वटा लोकविश्वासहरू केवरत लोकजीवन पुस्तकमा प्रकाशित छन् भएको पाइन्छ । केवरत लोकविश्वासहरू व्यवहारिक र जीवनउपयोगी रहेका छन् ।
बाल खेलगीत ः
केवरत समुदायमा केटाकेटीहरूलाई सुताउन, फकाउन र खेल्दाखेरि मनोरञ्जनका निम्ति बालगीत गाइने चलन रहेको छ । यस्ता गीतहरूमा माटो, पानी, आगो, कुकुर, बिरालो, सर्प, भ्यागुतो, जूनकिरी, चन्द्रमा, दुधभात, दही, च्युरा, मिठाइ, नयाँ नाना, फलफूल आदि विषयवस्तुको प्रयोग गरिएको पाइन्छ । वर्तमान समयमा आधुनिक मनोरञ्जनात्मक प्रविधिहरूको कारणले केवरत बालगीतहरू क्रमशः हराउँदै गएको विश्वास गर्दछन् ।
लिखित साहित्य ः
सर्जकले सिर्जना गर्ने साहित्यलाई ‘लिखित साहित्य’ भनिन्छ । सर्जकले समाजका विविध विषयवस्तु एवम् सन्दर्भलाई समेटेर लिखित साहित्यको सिर्जना गर्दछ । लिखित साहित्यअन्तर्गत विभिन्न विधाहरू पर्दछन् । यसअन्तर्गत कविता, कथा, उपन्यास, नाटक, गीत, गजल, निबन्ध, हाइकु, ताङ्का, मुक्तक, आत्मजीवनी, जीवनी, नियात्रा पर्दछन् ।
लिखित साहित्यका विभिन्न विधाहरूमध्ये कविता सबभन्दा पूरानो र जेठो विधा हो । आदिवासी केवरत समुदायमा साहित्यिक लेखनको जागरण निकै ढिलो भएको हो । यस समुदायमा ‘प्रिथ्वि सव्हार’ घर शिर्षकको कविता वि.सं. २०६४मा सिर्जना गरिएको हो । यसको लेखक कवि चतुर्भुज केवरत हुन् । उक्त कविता नेपाल प्रज्ञा–प्रतिष्ठानबाट वि.सं.२०६५ मा प्रकाशित भएको हो । यस भाषामा पङ्तिकार हेमन्ती केवरत, रमेश केवरत, विद्या देवी केवरत, कृतिका केवरत, नीतिश केवरत, प्रजापती केवरत, धिरज कुमार केवरतका फुटकर कविता प्रकाशित छन् । केवरत भाषामा चतुर्भुज केवरतको ‘भिट्ट उजार’ शीर्षकको लघुनाटक प्रकाशित छ । उक्त नाटक नेपाल प्रज्ञा प्रतिष्ठानको अल्पसंख्यक बहुभाषिक पत्रिका ‘सिरुवा जातिरि’ चाँडपर्व विशेषाङ्क–१ मा प्रकाशित भएको छ । केवरत भाषामा लिखित साहित्यको क्षेत्रमा कविता र नाटक विधा मात्र प्रकाशित छन् । केवरत भाषा र साहित्यका विषयवस्तुलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समेटेर केही सिर्जना, अनुसन्धानमूलक प्रकाशन भएका छन् । केवरत भाषा, संस्कृति, लोकजीवन र साहित्यसँग सम्बन्धित केही सामग्री संकलन तथा अनुसन्धानमूलक कृतिसमेत प्रकाशन भएका छन् । तिनका बारेमा यहाँ सूच्य रूपमा जानकारी गराइएको छ । भरौवा हयगेल (केवरत भाषाको पहिलो कविता संग्र्रह २०६८)लाई मानेको छ । केवरत शब्दसंग्र्रह (नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७०), केवरत लोक कथाहरूको संकलन ( नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७०, अप्रकाशित), केवरत जातेर बिहार गिदला (२०७५), केवरत आदिवासीत्वका आधारहरू (२०७५), केवरत लोकजीवन ( नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७६), केवरत जातिका लोकगीत ( नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७८) र चतुर्भुज केवरतको केवरत भाषाको आधारभूत व्याकरण (भाषा आयोग २०८२, अप्रकाशित) रहेका छन् । त्यसैगरी केवरत भाषा र साहित्यका विविध सामग्रीहरू नेपाल प्रज्ञा प्रतिष्ठानबाटको बहुभाषिक अर्धवार्षिक पत्रिका सयपत्रीका विभिन्न अङ्कमा प्रकाशित भएका छन् ।
निष्कर्ष ः
केवरत समुदायका मानिसहरूले बोल्ने भाषालाई ‘केवरत भाषा’ भनिन्छ । यो भाषा केवरत समुदायको मातृभाषा (राष्ट्रभाषा) हो । परापूर्व कालदेखि केवरत समुदायका मानिस बिच कथ्य परम्परामा आफ्नो अस्तित्वलाई जोगाउँदै आएको केवरत भाषाले नेपाल सरकारको बाह्रौं जनगणनामा विशिष्ट पहिचान पाएको हो । यस भाषाका वक्ताहरूको संख्या धेरै भए पनि वर्तमान जनगणनाले यसको वक्ता संख्या ३५०८ देखाएको प्रति सरोकारवाला केवरतहरूले आपत्ति प्रकट गरेका छन् । केवरत साहित्यको अवस्थाअन्तर्गत लोकसाहित्य र लिखित साहित्य रहेका छन् । केवरत लोकसाहित्यअन्तर्गत लोककथा, लोकगीत, लोकगाथा, लोकनाटक, उखानटुक्का, गाउँखाने कथा, लोकविश्वास रहेका छन् । केवरत भाषाको लोकसाहित्यको अवस्था समृद्ध रहेको छ । यस भाषाको लिखित साहित्यअन्तर्गत कविता र नाटक विधा मात्र सिर्जना गरिएका छन् । केवरत भाषाको लिखित साहित्यलाई समृद्ध तुल्याउन सरोकारवाला केवरतहरूले विविध विधामा कलम चलाउनु उपयुक्त हुने देखिन्छ ।
‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा २८ औं मातृभाषा साहित्य श्रँृखला (सिर्जना, संवाद र विमर्श) कार्यक्रममा हेमन्ती केवरतद्वारा २०८२ कार्तिक २८ गते शुक्रबार प्रस्तुत कार्यपत्रको सम्पादित अंशः
इमेल ः पभधचबतजझबलतष्२नmबष्।िअयm
