सेतो दरबारमा एक दिन

Nayabimarsha (Weekly Newspaper from Nepal)
डा. नवराज खतिवडा

भक्तपुरको कौशलटारको ह्वाइट प्यालेस ब्याङ्क्वेट, अर्थात् सेतो दरबार भोज परिसरमा, हाम्रो तीन बजे भेट्ने सल्लाह थियो । फित्कौली प्रकाशनका लुइँ मास्टर र विमोचन हुन लागेको पुस्तकका लेखक भलादमी भोला र म गरी तीन जनाको त्रिशुल ठड्याउने साइत जुरेको थियो । सन्दर्भ थियो– फित्कौलीको खित्कौली सभा ।
कार्यक्रम भोलिपल्ट दिउँसो हुने भए पनि, हामीले अघिल्लै दिन पुगेर लुइँमास्टरकै शब्द सापटी लिएर भन्दा व्यवस्थापनको दंगा–फसाद गर्नु थियो । फित्कौली प्रकाशन गृहका ब्रह्मा र विष्णु दुवै लुइँ मास्टर हुन् । उनको न्वारानको नाम भने नरनाथ लुइँटेल हो भन्ने मेरो अनुमान छ । मैले मेरो परिचय स्वस्थानीका नायक फुइँ डाक्टर भनी दिएकाले, उनले सिङ्गौरी खेल्ने सुरमा आफूलाई लुइँ मास्टर भन्न थाले ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानको बैठक नै तीन बजेसम्म चल्यो । बैठक सकिनै लागेको थियो, लुइँ मास्टरको फोन आयो ।
“कता हुनुहुन्छ, फुइँ डाक्टर साहेब ? म त पुगिसकेँ त ।”
“तपाईंहरूले पत्र लगाउने काम गर्दै गर्नुहोला, म स्वयम्बर गर्न आईपुग्छु ।”
अहिलेको चलनचल्तीको भाडाको सवारी सेवामध्ये एक ‘याङ्ग’को एक ट्याक्सीमा चढेर म कौशलटारतिर हानिएँ । शंखमूलको छेउछाउ पुगेपछि “फित्कौली बा” को फोन फेरि आयो ।
“खै त ! यहाँ त स्वयम्बर मात्र होइन, कन्यादान नै हुने बेला भो ।”
“म कोटेश्वरको जाममा छु ।”
मनले मिचेको मान्छेलाई सूचनाको मिचमाच पनि चलिहाल्छ । मैले त्यही गरेँ ।
म लगभग एक घण्टा विलम्ब गरी पुगेँ । विहान घरबाट हिँड्देखि केही खाएको थिएन । सेतो दरबार भोजकक्षमा मनग्ये मान्छे थिए । पास्नी भोज आयोजना गरिएको रहेछ। मूल कक्षमा पस्ने ठाउँमा हरहर बास्ना आउने सुप राखेको रहेछ । एउटा गाग्रोजस्तो भाँडोबाट वाफ निस्किरहेको देखिन्थ्यो । भित्रपट्टी खानाका परिकार । भोजमा आएका निम्तालुहरू भोजनको आनन्द लिँदै थिए ।
“पेटमा मुसा कुदेका छन् । यहाँ खानाको विस्कुन छ । फुईँ डाक्टर ! केही जुक्ति निकालिस् भने, टेबुलमा भएको त्यो परिकारले तँलाई तृप्त गर्न सक्छ ।”
यो मैले आफैँलाई भनेको थिएँ । हामीले दंगाफसाद गर्नुपर्ने काम सामान्य थियो । त्यो पनि फुइँ डाक्टर र लुइँमास्टर दुई भाइले । भलादमी भोलाले सुइँकुच्चा ठोकेर अर्कैतिर भागेछन् । बरु त्यहाँ डिल्लीप्रसाद मूलतिहुन भन्ने एक जौडे व्यङ्ग्यकार भेटिए । उनले पनि म पुगेपछि बाटो तताए ।
मैले लुइँ मास्टरलाई भने– भोक लागेर पेट बाउँडिन लाग्यो । के उपाय छ ?
“लाग्ने त लाइनमा ?”
“त्यो मन हुने बुद्धि नहुनेले गर्ने हो । म जुक्ति लगाउँछु ।”
मैले उनलाई भोज परिसरको कार्यालयमा लगेँ । त्यहाँ औपचारिक पहिरनमा सजिएका एक कर्मचारीको ध्यानाकर्षण गरेँ ।
“भाइ ! हामी भोलिको कार्यक्रमका आयोजक । केही बेर यहाँ काम गर्नु छ । हामीलाई सौजन्य स्वरूप केही खाजा ख्वाउन सक्नुहुन्छ ।”
आगन्तुक कक्षभन्दा भित्र एक व्यक्ति सोफामा उत्तानो परेर मोबाइल खेतीमा तल्लीन देखिन्थे । परिसरका संचालक उनै रहेछन् । उनले ती कर्मचारीतिर हेरेर मुन्टो हल्लाए ।
हाम्रो पेटपूजा भयो । मैले हालै चलेको दुर्गेश थापाको एक गीत सँझिएर मनमनै गुनगुनाएँ।
“लुइँमास्टर हेरेको हेरै…………।”
फुइँ डाक्टरको दिमाग न भयो । कुनै पनि परिस्थितिमा केही न केही उम्रिनैपर्छ, नत्र फुइँ कसरी लाग्छ । मैले मलामी–गाम्भीर्यको लेप लगाएका ती संचालकलाई पनि श्रोतागण बनाएर एक चुटकिला सुनाएँ ।
एउटा भोजमा निम्ता नगरिएका दुई जना व्यक्तिले पेटपूजा गर्ने जुक्ति निकालेछन् । लाम लागेका सहभागीहरूमा मिसिएछन् । खाना पस्केर लिने क्रममा पहिलो व्यक्तिलाई आयोजकले भनेछन्– हजुर को पर्नुभो ?
“म बेहुलाको मामा ।”
दोस्रोलाई पनि यही प्रश्न सोधिएछ ।
उसले भनेछ– “म बेहुलीको मामा ।”
यो वार्तालाप सुनिरहेको र लामबद्ध तेस्रो व्यक्ति पनि धुरा पसेछ ।
“मित्रहरू ! कार्यक्रमको त हेक्का राखौँ । यो विवाह भोज होइन, यो त पास्नीको भोज हो ।” मतलब, तेस्रो पनि ‘मामा’कै हुलियाको व्यक्ति परेछ ।
भोलिपल्टको खित्कौली सभाका अध्यक्ष नरेन्द्रराज पौडेल र प्रमुख अतिथिमा प्रा.डा. माधवप्रसाद पोखरेल हुनुहुन्थ्यो। मैले भलादमी भोलाको कृति ‘घोप्टे युग’ को समीक्षा गर्नुपर्ने थियो । परम्परागत शैलीभन्दा फरक तरिकाले प्रस्तुति गर्दा श्रोताहरूले रुचाउने भएकाले, र यस्ता विमोचन समारोहहरूमा अधिकांश सहभागीहरूले निरस प्राज्ञिक विश्लेषणभन्दा सटीक, मन छुने र नौलो विषयवस्तु मन पराउने भएकाले, मैले दोस्रो तरीका अपनाएको थिएँ ।
मभन्दा अघिल्ला समीक्षकले भाषण शैली प्रयोग गरे । म भने स्लाइड प्रस्तुतिमा लागें । मलाई मञ्चमा निम्त्याउँदै उदघोषकले छोटो समयमा प्रस्तुति सक्ने उर्दी जारी गरे ।
मैले एक दृष्टान्त मार्फत आफ्नो भनाई शुरु गरेँ ।
“मलाई आईएस्सीमा ‘नेपाल परिचय’ पढाउने एक गुरु हुनुहुन्थ्यो । उहाँको विषयमा ५५ कटाउन पनि मुश्किल । अन्य विषयमा हामी अस्सी वा नब्बेसम्म सजिलै ल्याउँथ्यौँ । यो पृष्ठभूमि राखेर हामी गुरुसमक्ष गुनासो गथ्र्यौँ । उहाँ भन्नुहुन्थ्यो– नेपाल परिचय भनेको विषय नै यस्तो हो कि यसमा ५५ वा ६० भन्दा बढी नम्बर आउँदैन । मेरा गुरुले भनेझैँ कतिपय विषयहरूलाई तन्काउन मात्र सकिन्छ, छोट्याउन सकिन्न । मेरो बुझाईमा समीक्षा भनेको पनि त्यस्तै हो । समीक्षा छोटो हुन सक्दैन ।”
मेरो प्रस्तुतिको प्रस्थानबिन्दुले बरफ बनेर जमेका श्रोतामा केही हलचल ल्यायो । मैलै दोस्रो चरणमा ‘उत्तरआधुनिक विश्वकर्मा बाबा’को प्रसङ्ग जोडेको थिएँ । कृत्रिम बौद्धिकता, अर्थात एआई भनेका यी ‘बाबा’ हुन, जसले जे चितायो त्यही पुर्याउँछन् । प्रस्तुतीको तयारी गर्दा पुस्तकको शीर्षक अर्थात ‘घोप्टे युग’ भएको लेखलाई मैले बाबाको आरनमा हालेर सोधेको थिएँ– बाबाजी, भलादमी भोलाको यो लेखलाई हास्यव्यङ्ग्यको कसीले पर्गेल्नुहोस् त ।

बाबाजीले जे जवाफ दिएका थिए, मैले श्रोतालाई त्यही सुनाएँ ।
यो दोस्रो कडीले पनि चमत्कारै गर्यो । “उत्तरआधुनिक विश्वकर्मा बाबा” भनेको को हो ? यो प्रश्न मैले दर्शकदीर्घामा हुत्याएँ । सबैले मुखामुख गरे । कौतुहलताले आकाश छोयो ।
मेरो प्रस्तुतिको अंश सगरमाथाको शिखरमा पुगेको त्यसबेला भयो, जब मैले तलका दुई वाक्यलाई प्रतिनिधि अभिव्यक्तिका रूपमा स्लाइडमा देखाएँ ।
पहिलो, “अति गर्ने अतिथि” शीर्षकको लेखमा उल्लेखित तपसीलको वाक्य थियो ।
“अस्ति राती प्रधानमन्त्रीको निद्रा नपरेकोले हिजोको विद्यार्थी दीक्षित हुने कार्यक्रम स्थगित गरिदिए ।”
यो वाक्यांश सुन्नासाथ प्रमुख अतिथि गुरु माधव पोखरेल खित्का छोडेर हाँस्नुभयो । अरूले उहाँलाई साथ दिए ।
विमोचन कार्यक्रम भएको दोस्रो दिन मेरो ‘घोप्टे युग’का लेखकसँग यो वाक्यको लेखन गर्भमा कसरी बीजारोपण भन्ने बारेमा कुराकानी भयो। उनको पुष्ट्याइँ अनुसार मैले समाचार फेला पारें । भदौ २३, २०८१ मा आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह, तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम जुधेका कारण अन्तिम समयमा स्थगित भएको रहेछ ।
माधव गुरुलाई मन्त्रमुग्ध बनाएको दोस्रो वाक्यांश थियो– शहर पसेपछि चिर्पटभित्र छिरेको माउसुली भएँ म ।
प्रस्तुति सक्नुअघि मैले फरक शैलीमा ‘घोप्टे युग’ पुस्तक पढ्दा मलाई, अर्थात फुइँ डाक्टरलाई, सबैभन्दा मन नपरेका भनी स्लाइडमा तलका दुई वाक्य देखाएँ ।
“मान्छेको इज्जतको खाता पल्टाएर हेर्दा सबैको गलामा जुत्ताको माला छ ।”
“उनी आफूले तीन विषयमा डिग्री हासिल गरेकाले मैमत्त छन् । तिनको डिग्रीले न गाउँलेको झैझगडा मिलाउन सक्यो, न तमसुक लेखिदिन सक्यो ।”

तालीको गडगडाहटले सभाकक्ष गुन्जियो । भलादमी भोला एक सफल हास्यव्यङ्ग्यकार हुन भन्ने कुराको स्पष्ट संकेत थियो त्यो ।
खित्कौली सभा आयोजना गरिएको दिन एकादशी परेकाले, सेतो दरबार भोज परिसरको पनि बाह्र बजेको थियो । आयोजकले सहभागीहरूलाई फलाहारको भोज गराउने आदेश दिएका थिए । फलस्वरूप उसिनेका तरुल, सखरखण्ड, ईस्कुस र फर्सी परिकार बनाइएर सजाइएको थियो । हास्यव्यङ्ग्य विधाको पुस्तक लोकार्पणसिहतको कार्यक्रमका लागि यो पहल गर्नुले ठूलो न्याय दियो भन्ने मलाई लाग्यो ।
फलाहार सेवन गर्दा केही महिना अघि विमोचन भएको कृति “जङ्गबहादुरको फ्रेण्ड रिक्वेष्ट” का लेखक भोजराज रेग्मी ‘मुखाले’ लगायत अन्य केही सहभागीहरूसँग भेट भयो ।
पुस्तक समीक्षाको कौशलका बारेमा चर्चा भयो ।
मैले एक चुटकिला सुनाएँ । पुराण वाचन गर्ने एक पण्डितजी बडा गजबका थिए । उनी चाहन्थे– उनले भनेको कथा सबैले ध्यान दिएर सुनुन् । तर त्यस्तो भएको थिएन । भक्तजनहरू कोही मोबाइलमा व्यस्त थिए, कोही एकआपसमा गफ गर्दै थिए । यो देखेर दिक्क मानेका पण्डितजीले आफ्नो वाचनको गियर बदले । उनले घरी शृङ्गार रसको स्वाद चखाउन थाले, घरी करुणाको । दोस्रोले काम गर्यो । दर्शक दीर्घाको पश्चभागमा बसेकी एक बृद्धा रुन थाल्नुभएछ । विश्राम लिएका बेला पण्डितजी आमा नजिक पुगेछन् । उनी आमासँग भलाकुसारी गर्न थालेछन् ।
“आमा ! आज हजुरलाई मेरो कथाले भावनात्मक बनायो होगि ?”
“त्यस्तो केही होइन, नानी ।”
“हजुर त आँखाभरी आँसु पारेर सुँक्कसुँक्क गर्दै हुनुहुन्थ्यो त !”
“त्यसको कारण अर्कै छ, बाबु !”
“के कारण हो त, आमा हजुरलाई भावनात्मक बनाउने ?”
“हिजोदेखि मेरो बोको हराइरहेको छ । त्यसको र हजुरको दाह्री ठ्याक्कै मिल्दो रहेछ । हजुरले हल्लिएर वाचन गर्दा मेरै बोको हल्लिएको जस्तो लाग्यो । त्यसकै झझल्को आयो, अनि मन थाम्नै सकिन ।”
मैले फलाहारको तृप्ती लिँदै फुइँ डाक्टरको वाचन सुनिरहेका मेरा मित्रहरूलाई भने– पुराण भन्ने पण्डितजीको हालत कसैको नहोस् भन्ने मेरो चाहना हो ।
कतिपय वक्ताहरूलाई श्रोतासँग जोडिने यो कौशलका बारेमा ज्ञान हुँदैन । कतिपय अहंकारको जालोले घेरिएका हुन्छन् । समीक्षकहरू पनि अछुता छैनन् । उनीहरू पनि परम्परागत तौरतरीकाकै फेरो समात्ने खालका छन् । अबको जमाना मूर्तिभन्जकहरूको हो । जसले जान्यो, उ चक्रवर्ती हुन्छ; जसले जानेन, उ डाइनासोरको कित्तामा जान्छ ।
वक्ताले बोलेको श्रोताले सुन्नु मात्र होइन, त्यसलाई हजम गरेर प्रत्युत्पन्न शैलीमा प्रतिक्रिया दिनु एक जटिल कला हो । त्यसमा पनि हास्यव्यङ्ग्य विधामा यो विषय अझ प्रखर हुन्छ ।
खित्कौली सभाका प्रमुख अतिथी एवं मेरा सदाबहार गुरु, उनै माधव पोखरेलले, केही महिना अघि लुइँ मास्टर र फुईँ डाक्टरले लिएको एक अन्तर्वार्तामा यस विषयमा रोचक अभिव्यक्ति दिएका छन् ।
“वास्तवमा हँस्यौली भनेको संस्कृतिजन्य विषय हो । जेलाई विषय बनाएर हाँसिन्छ, त्यसमा त्यो सुन्ने र भन्ने दुवैको ज्ञान हुन जरुरी हुन्छ । त्यो तालमेल मिल्यो भने श्रोता हाँस्छ, नत्र हाँस्दैन । बिबिसीमा भनेका थुप्रै हँस्यौली म बुझ्दिनँ ।”
फलाहार सेवनपश्चात म घर फर्कने उपक्रममा लागें । लुइँ मास्टरकै सौजन्यमा कलङ्की जाने एउटा सवारी साधन फेला पर्यो ।
म मेरो हातमा झुण्ड्याउने झोला र प्रोजेक्टर राखेको अर्को झोला बिसाएको टेबुलमा पुगें । मेरो उझिण्डो भएको छालाको झोला आकर्षक छ । त्यो सँगै एउटा स्त्रीजन्य थैलीजस्तो सानो झोला टाँसिएर बसेको पाइयो । त्यो लेडिज व्यागले मेरो ध्यान आकर्षण गर्यो । मैले नजर घुमाएँ । तीन जना अधवैँसे नारीहरू नारिएर तस्वीर खिचाउन व्यस्त रहेछन् । मैले उनीहरूको रङमञ्च बिथोलेँ । भनेँ– यो हजुरहरूको ब्याग त, मेरो ब्यागसँग साथी हुन आइपुगेछ नि ?
“हजुरजस्तोको साथी बन्न पाउनु भाग्य त होला ।”
नारिएर तस्वीर खिचिने दुई मध्ये एकले भनिन् । त्यो ब्याग तस्वीर खिच्ने चेलीकै परेछ ।
“अब ब्याग साथी भएपछि, ब्याग धनी पनि त साथी बन्नुपर्छ । एउटा फोटो खिचे कसो होला ।”
तिनैले भनिन् ।
मैले मौन स्वीकृति जनाएँ ।
ती चेलीसँग उभिएर फोटो खिच्दै गर्दा मैले फेरि उनीहरूको ध्यानाकर्षण गरेँ ।
“फोटो त खिचियो, तर एउटा शर्त छ ।”
“त्यो के होला ?”
“यो तस्वीर फेसबुकमा नराख्नु होला । राखी हाल्नुभयो भने ट्याग नगर्नु होला ।”
“त्यो गर्दा के हुन्छ र ?”
यो प्रश्न उनैको थियो अर्थात मसँग जोडी बाँधिएर फोटो खिच्ने नायिकाको ।
“वकिल पछि लाग्छन् ।”
मेरो आशय थियो– घरका मान्छेले थाहा पाउँछन् र वकिलसम्म कुरा पुग्छ भन्ने । उनीहरू मुस्कुराए मात्र । के बुझे भगवान जानुन् । म भने खित्कौली सभाको अन्तिम उपलब्धीमा दङ्गदास परेर सवारी साधनतिर लम्किएँ । (फित्क्यौलीबाट)

 

संघलाई पुरानै लयमा फर्काउन आग्रह’
काठमाडौं÷ गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघलाई पुरानै लयमा फकाउन आग्रह गर्नुभएको छ । अफ्रिका महादेशका एनआरएनए अभियन्ताहरूसँग भर्चुअल माध्यमबाट विशेष अन्तरक्रिया गर्दै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । संघभित्र हालै कायम भएको एकताको खुशी र सन्देश प्रवाह गर्ने उद्देश्यले जुममार्फत उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि संघमा देखिएको विवाद र विभाजनका कारण अभियान अप्ठ्यारोमा परेको स्मरण गर्नुभयो । अब संस्थागत एकता भइसकेको अवस्थामा संघ पहिलेकै स्वरूप र सक्रियतामा फर्कने विश्वास उहाँले व्यक्त गर्नुभयो । श्रेष्ठले अफ्रिका क्षेत्रका एनआरएनए अभियन्ताहरूलाई विगतका तीतामीठा कुराहरू बिर्सेर फेरि एकजुट भई क्रियाशील हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा अफ्रिकाका विभिन्न मुलुकमा रहेका एनआरएनए प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, एनआरएनए प्रवक्ता गंगाधर गौतम र सल्लाहकार हिक्मत थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट (केन्या), महिला क्षेत्रीय संयोजक डा. सरिता पाण्डे भट्टराई (दक्षिण अफ्रिका), क्षेत्रीय सहसंयोजकद्वय छवि श्रेष्ठ (सेसेल्स) र विकास सुवेदी (घाना) को पनि सहभागिता थियो । कार्यक्रममा क्षेत्रीय महिला सहसंयोजक शान्ति सुवेदी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया), एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई, एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, तथा अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्यहरू मन थापा (नाइजेरिया) र रमेश शर्मा (रुवान्डा) लगायतको उपस्थिति रहेको संघले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *