हात्तीहरु फर्काऊ सरकार !

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

आज अलि भिन्न विषयमा लेख्न मन लाग्यो । अझ भन्नुपर्दा लेख्न बाध्य बनायो । मानवमा संवेदना हराएको महसुस भैरहेको अवस्थामा पशुहरुमाथि गरिने व्यवहारलाई लिएर लेख्नैपर्ने अवस्था सिर्जना भयो । मानवअधिकारको कुरा गरेर नथाक्ने हामी मानवले यहि जगतका अन्य प्राणीको अधिकारका विषयमा भने रत्तिभर वास्ता नगरेको देखिएको छ ।
विभिन्न घटनाक्रम हेर्दा कहिले कुकुर त कहिले अन्य प्राणीहरुलाई एकदमै क्रुर रुपमा मारिनेसम्मका कार्यहरु गरिँदै आएको पाइन्छ । यसैगरी घरपालुवा जनावरहरुलाई पनि आफ्नो अनुकुल हुन्जेल पाल्ने अनि बाटामा ल्याएर छाडिदिने प्रचलन बढिरहेको छ ।
अघिल्लो साता नेपालबाट एकजोडी हात्तीहरु कतार पठाइए । भैरहवा विमानस्थलहुँदै उनीहरुलाई कतार पु¥याएका दृश्यहरु पनि हेरेँ । विमानमा चढाएर पढाउँदा उनीहरुलाई अद्र्धचेत अवस्थामा चढाइएको तथा उता उत्रिँदाको समयमा उनीहरुको आँखाबाट आँशुहरु झरिरहेका भिडियोहरु पनि देखेँ । मत्ता र ढोईका रुपमा रहेका रूद्रकली र खगेन्द्रप्रसादको विदेशयात्रा थियो त्यो ।
नेपाली माटोमा जन्मिएर, हुर्किएका तथा एक अर्काको प्रेममा रहेका हात्तीहरु हुन् रूद्रकली र खगेन्द्रप्रसाद । यसरी उनीहरुलाई विदेशी भूमिमा नेपाल सरकारले पठाउने तथा उताको सरकारले उनीहरुलाई लिने भन्ने कुरासँग जोडिएर विभिन्न प्रश्नहरु मेरो मनमा उठे । के ती पशुहरुको मनोभाव कुनै पनि कोणबाट बुझिएर उनीहरुलाई पठाइएको हो ?
आज उनीहरुको अवस्थालाई लिएर मैले घोत्लनु उचित ठानेँ । उनीहरुको भाषा हामीले नबुझेर हो वा बुझ पचाएर हो उनीहरुलाई नेपालजस्तो हरियाली मुलुकबाट कतार जस्तो मरुभूमिमा पठाइएको ? सरकारले कसैलाई उपहार स्वरुप ती हात्तीहरु दिएको भनिएको छ । त्यसरी उपहार दिने नेपाल सरकारले उनीहरुको अवस्थाका बारेमा रत्तिभर सोच्यो त ?
उनीहरु नेपाली माटो सुहाउँदो गरी जन्मिए, हुर्किए । उनीहरुका शाखासन्तान नेपाली भूमिमा अझ भनौं उनीहरु रहने बस्ने गरेको बर्दिया वा चितवन क्षेत्रमै छन् । उनीहरु आफ्नै समूहमा रमाउन चाहन्छन् । उनीहरु आफ्नै बथानमा खेल्न, भुल्न चाहने हुन्छन् । कतिपय अवस्थामा त नेपालीभाषीले उनीहरुलाई बोलाउँदा वा माउतेले प्रयोग गर्ने नेपाली शब्दहरुसँग पनि उनीहरु अभ्यस्त भैसकेका देखिन्छन् ।
यसैगरी आफ्नो समूहमा विभिन्न नातागोताका हात्तीहरु होलान् । उनीहरुको पनि आफ्नै चालचलन र बाँच्ने शैली होला । उनीहरु पनि कराउने गर्दछन्, उनीहरुको आवाजले एक अर्कालाई जोड्ने गरेको पनि देखिन्छ । उनीहरुको भाषालाई हामीले नबुझे पनि उनीहरुकाबीचमा भने त्यो बुझ्ने अवस्था रहन्छ ।
यी सबै कुरालाई पूर्णरुपमा बेवास्ता गरी सरकारले ती हात्तीहरुलाई कतार पठाउने कार्य गरेको छ । सरकारले उपहारहरुका रुपमा यसअघि पनि पठाउने गरेको थियो । विभिन्न कालखण्डमा त्यसरी गैंडा तथा अन्य वन्यजन्तुहरु विदेश नपुगेका होइनन् । पछिल्लो अवस्थामा पशुअधिकारको कुरा पनि उठिरहेको छ । यस्तो अवस्थामा पशुअधिकारलाई सबैले सम्मान गर्नुपर्ने हो । अहिलेको सरकारले यो कुरालाई मनन् गरी पहिलेको सरकारले त्यसरी पठाउने निर्णय गरेको अवस्थामा उनीहरुलाई रोक्न सक्ने अवस्था थियो । वर्तमान सरकारले त्यो कार्य पनि गरेन ।
त्यो विरानो मुलुकमा ती हात्तीहरु कसरी रमाउन सक्लान् ? नेपालमा जताततै हरियाली जंगलमा बसेका, घाँसपानी पिएका ती हात्तीका लागि मरुभूमिको देश अनौठो लाग्नु स्वाभाविक हो । उनीहरु पक्कै पनि त्यहाँ रमाउन सक्ने अवस्था रहन्न । गर्मी मौसम कतारको विशेषता हो । यस्तो अवस्थामा उनीहरुले त्यो चर्को गर्मीलाई कसरी सहन गर्लान् ?
नेपाली माउतेसँग अभ्यस्त रहेका उनीहरु नयाँ माउतेसँग कसरी भिज्लान् ? यस्तै, खानपानको प्रबन्ध पनि नेपालमा जस्तै होला कि नहोला ? आफूहरु दुई बाहेक अन्य आफन्तजन नपाउँदा के उनीहरु रमाउन सक्लान् ? नेपालमा हुने विभिन्न हात्ती प्रतियोगितामा कम्मर मर्काउँदै रमाउँदै सहभागी हुने उनीहरु कतारमा त्यसैगरी रमाउन सक्लान् ? उनीहरुमाथि मानवीयता किन दर्शाइएन ? नेपाल सरकारलाई उनीहरु घाँडो भएका थिए ?
होइन भने उनीहरुको अधिकारका बारेमा कुनै चासो नराखी विदेशमा पठाउने कार्य भयो । एकातिर नेपालीजन काम तथा शिक्षाको खोजीमा विदेशिने प्रचलन बढी रहेको छ । सरकारले विदेशमा काम गर्नेहरुबाट प्राप्त गर्ने विप्रेषण (रेमिट्यान्स) बाट आफ्नो खर्च चलाइरहेको अवस्था पनि छ ।
यस्तो अवस्थामा कतारमै पनि लाखौंको संख्यामा नेपालीजन पसिना चुहाई रहेका छन् । चर्को गर्मी सहन उनीहरुलाई गाह्रो भएको छ । मानिस भएकाले उनीहरु काम गर्ने स्थानमा वातानुकुलनको व्यवस्था पनि गरिएको होला । ती अवोध हात्तीहरुका लागि पनि वातानुकुलनको व्यवस्था गरिएला ? आखिर पशु त हो नि भनी त्यहाँ उनीहरुको लागि उचित हावापानीको व्यवस्था गर्न त्यहाँको सरकारले सक्ला ?
अवस्था हेर्दा यी सबै कुरा नेपालबाट गएका हात्तीहरुका लागि त्यति सहज देखिँदैन । सरकारले यी कुराहरुलाई सर्तका रुपमा राखेर पठाएको जस्तो पनि लाग्दैन । अझ अलि पर गएर सोचौं त ती दुई हात्तीमध्ये कुनै एक पहिले नै बित्लान् पनि । त्यस्तो अवस्थामा बाँकी रहने अर्थात् बाँचेको हात्तीको अवस्था के होला ?
आफ्नो समुदाय वा आफन्त कोही पनि नदेखिने उक्त स्थानमा बाँकी जीवन विताउन उसलाई सहज होला ? ती हात्तीहरुले बच्चा जन्माए भने तिनीहरुको पालनपोषणमा त्यहाँ व्यवस्था गरिएला ?
यावत् प्रश्नहरुको जबाफ अनुत्तरित अवस्थामै छन् । सरकारले कुनै तयारीविना नै उनीहरुलाई पठाएको जस्तो देखिन्छ । जसरी नेपालीजन बाहिर विदेशमा कामका लागि भनी मुटु गाँठो पारेर जाने गर्छन्, त्यसैगरी ती हात्तीहरु पनि मनमा बोझ लिएर गएका थिए । त्यो कुरा उनीहरुको आँशुले झल्काएको थियो । हो उनीहरुको बोलीलाई हामीले बुझ्न सक्दैनौं तर त्यसलाई महसुस गर्न त सक्छौं नि ? कि ती आँशुलाई पनि सरकारले हर्षका आँशु ठान्ने हो ?
त्यसैले नेपालीजनलाई नेपालमा बस्न सक्ने अवस्था सिर्जना गर्न चुकेको सरकारले पशुहरुलाई पनि देश छोड्न बाध्य पारिरहेको जस्तो देखिएको छ । हात्ती पाल्न गाह्रो भएको हो वा विदेशीलाई रिझाउन त्यसो गरिएको हो, यो विषयमा पुनर्विचार गरिनु आवश्यक छ । सरकारले कि त उनीहरुका लागि त्यहाँको सरकारसँग विभिन्न सर्तहरु राखी उनीहरुलाई सहज रुपमा बस्ने वातावरण बनाउन सकोस् वा उनीहरुलाई नेपालमा फर्काएर आफ्नै समुदायमा बस्ने वातावरण बनाओस् । यसैगरी भविष्यमा पशुपंछीहरुको अधिकारको सम्मान गर्दै नेपालमै उनीहरु पनि बस्न सक्ने वातावरणको निश्चिन्तता गरोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *