कहिले हट्ला शेयर बजारको ग्रहण ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
रिसव गौतम

बढनु पर्ने शेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आप्mनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा झर्दा शेयर बजार परिसूचक २,५८१ अंकको विन्दुमा आइपुगेको छ ।
नयाँ गभर्नरमा प्रा.डा. विश्व पौडेल आइसकेपछि शेयर बजार लगानीकर्ताका धेरै मागहरु पूरा गरिएका थिए । नीतिगत रुपमा अहिले शेयर बजारलाई बाधा–व्यवधानहरु छैनन् । बैंक तथा वित्तीय संस्थाहरुको ‘ब्यालेन्ससिट’ पनि अघिल्लो आर्थिक बर्षभन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक बर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरु आक्रान्त थिए ।
खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक बर्षदेखि सुधार देखिन थालेको हो । फलस्वरुप पनि यस बर्ष बैंकहरुले थोरै भए पनि लाभांश घोषणा गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनीहरुले त यस बर्ष आकर्षक लाभांश घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरुले पनि राम्रै हिसाबको लाभांश घोषणा गरिरहेका छन् । ऊर्जा कम्पनीहरुमा त्यति आकर्षण नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरुको पनि अवस्था त्यति नराम्रो होइन । ऊर्जा क्षेत्र देशले आश गरेको समृद्धिको आधारशिला हो । यस क्षेत्र आजभन्दा १० बर्ष अघिसम्म एक दर्जनभन्दा बढी नेप्सेमा सूचीकृत थिएनन् । आज ९७ वटा जलविद्युत कम्पनी नेपाल स्टक एक्चेन्जमा सूचीकृत छन् । देशले विद्युत निर्यात बढाउँदै लगेको छ । कम्पनीहरुले निर्माणको चरणमा ऋणपान गरेरै विद्युत उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभांश दिन सक्ने अवस्थामा पुगिसेका छैनन्् ।
हालैको नवपुस्ता (जेनजी) आन्दोलनपछि होटल पर्यटन क्षेत्रमा जेनजी विद्रोहको नकारात्मक असर परेको हो तर पनि पर्यटकको आगमन बढ्न थालेकै छ । अर्थतन्त्रको ऐनाको रुपमा हेरिने शेयर बजारको प्रतिविम्व अँध्यारो छ । शेयर बजार दिनहुँ जसो ओरालो मात्र लागिरहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त शेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।
पुराना दलहरुको अति राजनीति
वास्तवमा जेनजी आन्दोलनपछि शेयर बजारको नूर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको शेयर बजार परिसूचक हठात् भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिले उच्च अंकले घटेको हो । राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष २०८२–८३ को लागि मौद्रिक नीतिमार्फत शेयर बजारलाई जब प्रोत्सहनकारी नीति ल्यायो, त्यहि ताका नै आन्दोलन शुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थिति भोगिरहेको छ ।
जेनजी आन्दोलन भएको १०० दिन वितिसकेको छ । चुनाव गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ तर चुनाव हुनेमा शंसय उत्तिकै कायम छ । ठूला भनिएका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलहरुको अति राजनीतिले चुनावी वातावरण बन्न सकेको छैन । उनीहरु भन्नलाई चुनावबाट भाग्दैनौं भनिरहेका छन् । निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूची दर्ता पनि गरिरहेका छन् । उनीहरुको मूल ध्येय सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्ने कसरतमा छ । उनीहरुले जेनजी विद्रोहलाई विद्रोह नै मानिरहेका छैन । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् ।
फगत भदौ २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरुले सक्ता सञ्चालकको हिसाबले लिनै मानिरहेका छैनन् । त्यसकारण जेनजी आन्दोलनपछि पनि कांग्रेस– एमालेमा परिवर्तन नभएको सोच, अति राजनीतिले शेयर बजारका लगानीकर्तालाई अन्यौल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थिरता र शान्तिपूर्ण व्यावसायिक वातावरण आउनेमा ढुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु भmन् बढी संकटपूर्ण पो हुने हो कि भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् । अन्यौलग्रस्थ छन् । जेनजी आन्दोलनताका सक्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्कर्षमा डरत्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरुकोे नै श्वर ठूलो हुँदै आएको छ । उनीहरु नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त शेयर लगानीकर्ताले आगामी दिन झन् संकटपूर्ण हुने ठान्ने नै भए । कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि विछिप्त भएर पार्टीमा कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनै सक्रिय हुँदै आएका छन् । कार्यवाहक दिएर करिव राजनीतिबाट विदा लिएझै गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् ।
सो पार्टीले महाधिवेशनसम्म गर्न सकेको छैन । बरु जेनजी आन्दोलन ताका सक्ता साझेदार दल एमालेसँग मिलेर कांग्रेस पनि प्रतिनिधिसभा पुनरस्र्थापनाका लागि दौडिरहेको छ । बहुमत पूर्वसांसदहरुको हस्ताक्षर गराएर सार्वेच्चमा पूरक रिट लैजाँदै छन् । अर्थात् जेनजी आन्दोलनले जस–जसलाई ‘आउट’ भनेको थियो, उनीहरु नै ‘इन’ भइरहेका छन् । तिनै बुढा पुराना र सदिऔंदेखि सक्ताको तालाचाबी लिएर बसेकाहरु हावी भएपछि नयाँ भनिएकाहरु रुष्ट छन् ।
एकथरी फागुन २१ मै चुनाव चाहन्छन्, अर्काथरी प्रतिनिधिसभा पुनरस्र्थापना गरेर पुरानो विरासद फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा व्यावसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डरत्रास र धम्कीहरु बढिरहेका छन् । यस्तो अवस्थामा शेयर बजारको नूर गिर्नु स्वाभाविक हो ।
बढ्दो अराजकता
पुराना राजनीतिक दलहरुको अति–राजनीति त भयो नै । नयाँ कतिपयहरुबाट अराजकता पनि बढी रहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दालन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुध्रुवबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुराभन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ । जेनजी आन्दोलनकै क्रममा पनि २३ गते घटना भड्किएपछि २४ गते देशका धेरै संघसंस्था, नीजि क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब रुपियाँ बराबरको नोक्सानी भएको आंकलन छ । तथ्यांकमा ८४ अर्ब नोक्सानी भए पनि विश्वले देखेको सो आगजानी, लुटपाट तथा तोडफोड घटनाले देशमा व्यावसायिक मनोबल गिराएको छ । व्यावसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगहरुमा नकारात्मक असर परेको छ । उद्यम व्यवसाय गर्न बैंकहरुमा ऋण लिन जानेहरुसम्म हच्किएका छन् । भोलि के हुने हो भनेर डराइरहेका छन् । यस्तैमा बीमा कम्पनीहरुले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् । व्यावसायिक माहौल भत्किएको छ । अराजकता बढेको छ । चन्दा, आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यावसायिक जगत आक्रान्त छ ।
शान्ति सुरक्षाको वातावरणमा खलल भएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था कायमै छ । फलस्वरुप शेयर लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।
अन्त्यमा, माथि उल्लेखित अवस्थाका बीच पनि लगानीकर्ताहरुले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यक छ । चुनाव गर्ने वातावरण बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरु चुनावमा जाने अवस्था सिर्जना गराउन व्यवसायीहरुको तर्पmबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाव हुँदा सबै कुराको सामाधान मिल्नेछ भने चुनाव स¥यो वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्नेछ । त्यसकारण चुनाव गराउनेमा सबैको सहयोग अपरिहार्य छ । ( गौतम आर्थिक विषयका लेखक तथा विश्लेषक हुनुहुन्छ)

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *