निबन्धः साहित्यमा गुटबन्दी

Nayabimarsha (Weekly Newspaper from Nepal)
नवीन पौड्याल

साहित्य आफैंमा पवित्र हुन्छ । यसले देश समाज र मानवको कल्याण गर्दछ । यसले मानवतावादी चेतनालाई अघि बढाउन सहायकसिद्ध छ । साहित्य लेख्ने, पढ्ने र साहित्यिक व्यक्तिहरू अपराधी प्रवृत्तिका हुँदैनन् । साहित्यले जहिले पनि मानिसलाई सकारात्मक सोच र चिन्तनलाई जगाउने गर्छ । साहित्यले मानवको मनभित्र रहेको सामूहिक अचेतनलाई उकासेर सामूहिक हितार्थ काम गर्दछ । साहित्यकार समाजको मार्गदर्शक हो किनभने आम मानिसभन्दा पहिले साहित्यकारले समाजको कुरा देख्छ । साहित्य सर्जकहरू समाजको विसङ्गतिमा चिन्तित हुन्छन्, मानवताको ह्रास आए विचलित हुन्छन् । मानिसको सर्वाङ्गीण विकासमा साहित्यकारले चासो लिन्छ । साहित्यकार सर्जकहरू समाजभन्दा अघि हुन्छन् । साहित्यकारले दूरदर्शी भएर समाजलाई नेतृत्व दिनुपर्छ । यद्यपि लेखक साहित्यकार पनि सामाजिक प्राणी र मानिस हो । ऊभित्र पनि स्वाभाविक रूपमा मानवीय कमी कमजोरी हुन्छन् ।
साहित्य आफैं पवित्र भएता पनि व्यक्ति स्वार्थका कारणले साहित्यलाई धमिलो बनाइदिन्छन् । कोही बेला साहित्यकार नै स्वार्थका निम्ति कहिलेकाहीँ नकारात्मक काम पनि गर्छन् । गङ्गाको पानी पवित्र भए पनि मानिसहरूले नै यसको पानी धमिलो र मैलो बनाइदिन्छन् । साहित्य पनि कहिलेकाहीँ स्वार्थलिप्त मानिसहरूका कारण धमिलिन्छ, मैला हुन्छ । यस्तै एउटा साहित्यिक रोग हो गुटबन्दी । राजनीति र अन्यत्र गुटबाजी हुनु सामान्य कुरा हो तर साहित्य जस्तो पवित्र भूमिमा गुटबन्दी हुनु नराम्रो कुरा हो । साहित्यलाई आफ्नो स्वार्थसिद्ध गर्न कहिलेकाहीँ साहित्यिकहरूमा पनि गुटबाजी हुने गर्छ । मनभेद, मतभेद, वैचारिकभेद, सैद्धान्तिकभेद, लिङ्गभेद, संस्कारभेद आदि हुँदाहुँदा समूहभेद पनि हुनेगर्दछ । समूहभेदलाई नै गुटबाजीको जरा भन्न सकिन्छ ।
गुटबन्दी शब्द मूलतः तत्सम ‘गठ’ बाट आएको हुनसक्छ । गुटबाजी शब्द भने बाजी फारसी तद्धित प्रत्यय लागेकाले फारसी मूल मान्न सकिन्छ । यसको सामान्य अर्थ मूलतः विभिन्न स्वार्थका कारणले केही मानिसहरू मात्र एक ठाउँमा हुनु भन्ने बुझिन्छ । बृहत् नेपाली शब्दकोशले गुट भनेको “कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको वा सानो दल वा जमात्, पारस्परिक मतभेद वा रागद्वेशका कारणले कुनै ठुलो संगठनभित्र तयार भएको सानो संगठन वा समूहभित्र तयार भएको सानो संगठन ।“ अनि गुटबन्दी भन्नाले “गुट बनाउने क्रिया वा स्थिति, दलबन्दी” (बृनेश, पृष्ठ ३२३) भनिएको छ । ‘प्रयोगात्मक नेपाली शब्दकोश’ले पनि गुटबन्दीको अर्थ ‘गुटमा लाग्ने काम, स्थितिले कुनै जमात खडा गरिएको स्थिति’ । यसलाई वाक्यमा यसरी प्रयोग गरिएको छ– ‘गुटबन्दीमा लाग्नाले उसलाई अर्को गुटले विश्वास गरेन’ । (पृष्ठ २५२)
नेपाली साहित्यमा पनि गुटबन्दी सर्वत्र चलेको छ । साहित्यिक संस्थाको पदाधिकारी, पुरस्कार, समीक्षा आदिमा पनि यही गुटबन्दीको शिकार हुने गर्छ । साहित्यिक संस्थाभित्र पदाधिकारीहरूको कानमा खासखुस हुँदै गरेको देखियो भने त्यहाँ गुटबन्दी रहेछ भन्ने कुराको संकेत पाइन्छ । आफ्नो गुटभित्रको अति सामान्य लेखकलाई पनि ठूलो लेखक बनाएर प्रस्तुत गरिन्छ भने आफ्नो गुटभित्रका ठूला लेखक पनि गुटबन्दीको चपेटामा परेर अति सामान्य ठहरिन्छन् । पुरस्कार पाउने बेलामा पनि आफ्नै गुटकै सर्जकलाई काखी चेप्ने गरेको पाइन्छ । समालोचनाको क्षेत्रमा पनि यही कुरा लागू हुन्छ । आफ्नो गुटभित्रको लेखकको पुस्तकलाई तिललाई पहाड बनाएको जस्तो तारिफको पुल बाँधेर फुरुक्क पारिन्छ अनि आफ्नो गुटको नभएर भिन्दै वा अर्को गुटको भए जत्तिकै प्रतिभाशाली लेखक किन नहोस्, जतिको उच्च कोटिको कृति किन नहोस्, उसको समीक्षा मूल्याङ्कन हुँदैन ।
साहित्यमा गुटबाजीका धेरै आधार हुन्छन् । मित्रता नै सबैभन्दा ठूलो आधार हुन्छ । मित्रताको न्यानोपनभित्र सर्जकको सिर्जना पनि न्यानोपन पाउनेछ । मन मिल्ने र नमिल्ने कारणबाट गुटबन्दीको सिर्जना हुन्छ । आफ्नो गुटका बाहेक अर्को गुटका निम्ति कुनै स्थान छैन । गुटबाजीका कारण अर्का गुटका लेखकले न पुरस्कार पाउँछ न मानसम्मान पाउँछ, न समीक्षा नै हुने गर्छ । यस्तो कारणले गर्दा साहित्यमा गुटबन्दीको कीरा लागेर फसल नै बिग्रिने गर्छ ।
नेपाली साहित्य पनि यो रोगले ग्रसित छ । ठूलाठूला लेखकहरू उस्तो गुटबाजीतिर पस्तैनन् । गुटबाजीको थाङ्ग्राले नै साना लेखकलाई ठूलो पार्ने गरिन्छ । कमजोरलाई नै बैसाखीको आवश्यकता परेझैं कमजोर लेखकलाई नै यस्तो गुटबन्दीको आवश्यकता पर्दछ । यही कारणले सानासाना कमजोर लेखकले पनि साहित्यिक पुरस्कार हत्याएका हुन्छन् भने गुटबन्दीको शिकार भएर ठूला लेखकहरू उस्तो पुरस्कृत हुँदैनन् । अपवादका रूपमा कतिपय पुरस्कार त गुटबन्दीका कारण नभएर लेखकको प्रतिभा शक्तिका कारणले नै पाएका हुन्छन् ।
पुरस्कार पाउने जति सबैले नै गुटबन्दीका कारणले पाएको भन्ने आशय भने पटक्क होइन । यस्ता गुटबन्दी कुनैकुनै साहित्यिक संस्थातिर पनि उत्तिकै प्रबल हुन् । त्यहाँभित्र पनि अध्यक्ष पदका निम्ति गुटबाजी, कार्यक्रम आयोजना गर्न पनि गुटबाजी हुने गर्छ । मन मिल्ने नमिल्ने मूल आधार बाहेकका साथै अन्य केही आधार पनि हुन सक्छन् जस्तै कतै राजनैतिक अडान, कतै जातका आधारमा, कतै धर्मका आधारमा, कतै उमेरका आधारमा, कतै क्षेत्रीय, कतै केही न आधार स्वतः निर्माण हुन्छन् ।
‘तँ मलाई पुरस्कार दे, म तँलाई पुरस्कार दिन्छु’ भन्नु नै गुटबाजीका नमूना हो । यस्तै गरी उसको प्रशंसा अर्काले गर्ने, अर्काको प्रशंसा आफूले गरी पुरस्कार दिलाउने, सम्मान गर्ने, अभिनन्दन ग्रन्थ प्रकाशित गरिदिने आदि जस्ता परिदृश्य देखा पर्दछन् ।
समालोचनाको एउटा वृत्तिगत वर्गीकरणमा चार भेद पाइन्छन्– कोकिलवृत्ति, मधुकरीवृत्ति, काकवृत्ति र हंसवृत्ति । यसमा पनि कोकिलवृत्ति नै गुटबन्दीको मुख्य कारण हुन्छ । कोकिलवृत्ति भनेको आफ्नो गुटभित्रका वा मण्डलीभित्रका कृतिको मात्र राम्रो समीक्षा गर्ने तर अरूको नगर्ने खालको हुन्छ । अरूलाई विपक्षी ठानेर तिनको कृति र कृत्तिको चर्चै नगरिदिनु, आफ्नो गुटको कमसल कृतिलाई असल तुल्याइदिनु कोकिलवृत्ति हो । यसले गर्दा कति लक्ष्मीप्रसाद देवकोटाहरू जस्ता महान् कविहरू ओझेल परेका छन्, कति बालकृष्ण समहरू छेलिएका छन् । कति राम्रा कथाकार उपन्यासकार, नाटकका कवि लेखहरूको राम्रोसँग मूल्याङ्कन नहुनु पनि एक प्रकारले गुटबन्दीको शिकार भएर हो पनि भन्न सकिन्छ । यसकै कारणले कतिपय योग्य व्यक्तिले साहित्यमा नोबल पुरस्कार पाएनन् होला, कतिले मदन पुरस्कार पाएनन् होला, कतिले साहित्य अकादमी पुरस्कार पाएनन् नै । यसकै कारणले धेरै राम्राराम्रा साहित्यकारहरू राम्राराम्रा पुरस्कार पाउन वञ्चित भए । यद्यपि एउटा राम्रो र सफल साहित्यकारले पुरस्कार पाउनै पर्छ भन्ने पनि होइन । यदि सबै लेखकले पुरस्कार पाउने भए साहित्य लेखन पुरस्कारमुखी, आशामुखी, स्वार्थमुखी र परनिर्भरमुखी हुन्थ्यो । एउटा सर्जकले आफ्नो सिर्जना गर्दछ, स्वान्त सुखाय र पर हिताय दुवैका निम्ति । सर्जकले आफूले देखेको भोगेको यथार्थ कुरा, सामाजिक विकृति र सुधारका कुरा, अनुभव अनुभूतिका कुरालाई गुरुत्व दिएर लेख्ने हो । उसले हासिल गरेका विषयज्ञान, चैतन्यज्ञान, सांसारिकज्ञान, आनुभाविकज्ञान सामाजिक ज्ञानलाई सौन्दर्यात्मक ढ्ङगबाट शब्दार्थका कलात्मक अभिव्यक्ति दिने हो । खासगरी वास्तविक लेखकलाई पुरस्कार, गुटबाजी आदि केहीको पनि आवश्यकता पर्दैन । यस्ता कुरादेखि सर्जक टाढा हुने गर्छ । उसका निम्ति त सारा जगत्का नै मानिसहरू नै बन्धु हुन् ।
साहित्यमा गुटबन्दी तर सधैंभरि काम लाग्दैन । मानिसको प्रतिभाभन्दा ठूलो अरू केही छैन । जति नै गुटबन्दी गरे पनि सधैंभरि काम लाग्छ भन्ने छैन । सामूहिकताभित्र वैयक्तिकता पनि हुन्छ । वैयक्तिकताको आफ्नो बलबुताले गर्दा गुटबन्दीभन्दा माथि जान्छ । मानिसको प्रतिभा नै सिर्जनाको स्रोत हो । सिर्जनाभित्र नै संसार छ, ज्ञान छ, प्रज्ञा छ, विवेक छ । संसारको सबैभन्दा लोभलाग्दो प्रतिभा नै साहित्य कला र संगीत सिर्जना हो । प्रज्ञावान् व्यक्तिलाई गुटबन्दीको आवश्यकता पर्दैन । यद्यपि जोसित प्रतिभा कम प्रभाव बेसी, भित्रीभन्दा बाहिरी बेसी चाहिने, बढी लोभ लालसाले ग्रसित मानसिकतालाई गुटबन्दीले पालित पोषित गर्दछ । यो गुटबन्दी प्रथाले कसैलाई लाभ कसैलाई हानि हुने गर्छ । गुटबाजीका कारणले साहित्यका काजी पाजी हुन्छन् औ पाजी काजी हुने गर्छन् ।
जीवन दर्शनको भेउ बुझ्नेलाई गुटबन्दीको माध्यमद्वारा पुरस्कार पाउने लालसा आदि राख्दैनन् । साहित्य अकादमी पुरस्कार नपाए पनि राजनारायण प्रधान, डा. कुमार प्रधान, महानन्द पौड्याल, वीरेन्द्र सुब्बा अत्यन्तै सफल लेखक हुन् । अगमसिंह गिरीको नाम, काम र सम्मान दार्जीलिङका जनतामा उच्च स्थानमा छ, त्यो कुनै पुरस्कारभन्दा माथि नै छ । लक्ष्मीप्रसाद देवकोटा नोबेल पुरस्कारका निम्ति हकदार थिए तर सिफारिसका कमीले नोबेल पुरस्कार पाएनन् । योग्यका निम्ति पुरस्कार केही होइन ।
गुटबन्दीले फाइदा त कसैलाई गर्दैन बरु उल्टो सबैलाई नोक्सान गर्दछ । गुटबन्दीमा विश्वास गर्ने, बेसी गुटबन्दी गर्नेहरू पनि अन्तमा नोक्सानीमा नै पर्ने गर्छन् । बेसी गुटबन्दी गर्ने लेखकका कृति नै खासमा पछि गएर ओझेलमा पर्दछ । अर्का गुटका निम्ति त्यो जति राम्रो सिर्जना भए पनि पुरस्कृत हुँदैन, जति राम्रो मानिस भए पनि ऊ अर्का गुटका निम्ति मान्य हुँदैन । मरेपछि पनि उसले अर्को गुटको सदस्यबाट सामान्य श्रद्धाञ्जलीबाहेक खास सहानुभूति केही पाउँदैन । गुटबन्दीका कारण एउटा राम्रो लेखकको मूल्याङ्कन र कदर हुँदैन । अति सामान्य लेखक विशिष्ट हुन्छ औ विशिष्ट लेखक अति सामान्य बनाइन्छ । प्रयोगात्मक नेपाली शब्दकोशमा भनेझैं ‘गुटबन्दीमा लाग्नाले उसलाई अर्को गुटले विश्वास गरेन’ चरितार्थ हुन्छ । यसलाई निकट वा दूर भविष्यमा आफैंलाई घातक हुनसक्ने सम्भावना बोकेको गुटबन्दीमा विश्वास राख्नुहुँदैन बरु आफ्नो क्षमता, प्रतिभा र कर्तव्यमाथि विश्वास गर्नुपर्छ ।
गुटबन्दीका कारण कुनै पनि साहित्य फस्टिन पाउँदैन । नेपाली साहित्यको सन्दर्भमा पनि नेपाल, भारत र अन्य चारैतिर प्रत्यक्ष वा परोक्ष रूपमा नै साहित्यिक गुटबन्दी कायम छ । गुटनिरपेक्ष भएर काम गर्नु नै असल लेखकको कर्तव्य हुन्छ । यद्यपि यसलाई मानिसले बिस्तारै त्यागे असल हुन्छ । समग्रमा भने यसले कसैको भलो गर्दैन । यसको परित्याग गरिनुपर्छ तर कसले त्याग्ने र ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *