अन्तरिक्ष केन्द्रको २५ वर्षे यात्राका रोचक तथ्य

Nayabimarsha (Weekly Newspaper from Nepal)
रिचार्ड होलिङह्याम

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मानव निर्मित सबैभन्दा महँगो बस्तु हो र यो २५ वर्षदेखि निरन्तर पृथ्वीको कक्षमा घुमिरहेको छ । यसको २५ वर्षे इतिहासलाई यहाँ २५ वटा अङ्कहरूमार्फत प्रस्तुत गरिएको छ ।
पृथ्वीबाट करिब ४०० किलोमिटर (२५० माइल) माथि परिक्रमा गरिरहेको आईएसएस मानव जातिको सबैभन्दा महत्त्वाकांक्षी इन्जिनियरिङ परियोजनाहरूमध्ये एक हो । पहिलो ‘एक्सपीडिसन–१’ मिसनदेखि अहिलेसम्म २८० भन्दा बढी अन्तरिक्ष यात्रीहरूले यसको भ्रमण गरिसकेका छन् । यदि तपाईंको जन्म २ नोभेम्बर २००० पछि भएको हो भने, तपाईंको जीवनको हरेक पल अन्तरिक्षमा कोही न कोही मानिस बसिरहेकै छन् ।
बिजुली आपूर्तिदेखि बस्ने ठाउँसम्म र वाद्ययन्त्रदेखि शौचालयसम्मका कुरा समेटेर आईएसएसको २५ वर्षलाई यहाँ २५ अङ्कमा चर्चा गरिएको छ ः
– आईएसएसको पहिलो भाग ‘जार्या’ सन् १९९८ को एक निरस नोभेम्बर बिहानीमा काजाकिस्तानको बाइकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । त्यसबेला यो परियोजना ढिलाइ र बढ्दो लागतको समस्यामा फसेको थियो । यो अमेरिकाको रद्द गरिएको ‘फ्रिडम’ र रुसको ‘मिर’ स्टेसनको सम्मिश्रण थियो ।
– पहिलो मिसन ‘एक्सपीडिसन–१’ का सदस्यहरू सन् २००० को नोभेम्बरमा जब बिल सेफर्ड, सेर्गेई क्रिकालेभ र युरी गिडजेन्को आईएसएसमा पुगे, तब जम्मा तीनवटा मोड्युल मात्र थिए । उनीहरूले ५ महिना त्यही साँघुरो ठाउँमा बिताए । आजभोलि, सामान्यतया एकपटकमा सातजना अन्तरिक्ष यात्रीहरू त्यहाँ हुन्छन् ।
– आईएसएसमा १६ देखि २० वटा बस्न मिल्ने कोठाहरू (मोड्युल) र ८ वटा ठूला सोलार प्यानलहरू छन् । यी सबैलाई अन्तरिक्षमा जोड्न धेरै पटक उडान भर्नुप¥यो । अमेरिकाको स्पेस सटल र यसको रोबोटिक हातले यी भागहरू जोड्न ठूलो मद्दत ग¥यो । रुस, अमेरिका, युरोप र जापानमा बनेका भागहरू अन्तरिक्षमा अचम्मसँग फिट भए ।
– बस्न योग्य आयतन (घन मिटर) त्यहाँ रहेको छ । अन्तरिक्ष यात्रीहरूका लागि उपलब्ध ठाउँ ६ कोठाको घर बराबर छ । गुरुत्वाकर्षण नहुने भएकाले भुइँ, भित्ता र सिलिङ सबै प्रयोग गर्न सकिन्छ । त्यसैले भित्री भागका सबै सतहहरू उपकरण र सामग्रीले ढाकिएका हुन्छन् ।
– लामो समय अन्तरिक्षमा बस्दा तौलविहीनताले मांसपेशी र हड्डी कमजोर बनाउँछ । पृथ्वीमा फर्कदा स्वास्थ्य समस्या नहोस् भनेर यात्रीहरूले दिनको दुई घण्टा व्यायाम गर्नुपर्छ। सन् २०१६ मा बेलायती यात्री टिम पिकले अन्तरिक्षमै ट्रेडमिलमा दौडेर म्याराथन पूरा गरेका थिए ।
– अन्तरिक्षमा एउटा भनाइ छ, ‘आजको पिसाब भोलिको कफी हो ।’ त्यहाँको पानी प्रशोधन प्रणाली यति उन्नत छ कि यसले ९८% पानी रिकभर गर्छ । यसले हावामा भएको पसिना र बाफ तथा शौचालयको पिसाबलाई पिउनयोग्य पानीमा बदल्छ ।
– यात्रीहरूले आफ्नो धेरैजसो समय प्रयोगहरू गर्नमै बिताउँछन् । यहाँ चिकित्सा, नयाँ सामग्री र औषधिसम्बन्धी अनुसन्धान गरिन्छ । केही निजी कम्पनीहरूले अन्तरिक्षमा विशेष सामग्रीहरू उत्पादन गर्न अनुसन्धान गरिरहेका छन् । यसअन्तर्गत ४,४०० प्रकाशित अनुसन्धान पत्रहरू रहेका छन् ।
– शुरुमा अन्तरिक्ष यात्री हुन युवा हुनुपथ्र्यो, तर अहिले अनुभव महत्त्वपूर्ण मानिन्छ । हालै ७० औँ जन्मदिनमा पृथ्वी फर्किएका डन पेटिट आईएसएसमा बस्ने सबैभन्दा पाका व्यक्ति हुन् । स्मरण रहोस्, जोन ग्लेन ७७ वर्षको उमेरमा दोस्रो पटक अन्तरिक्षमा गएका थिए, तर आईएसएसमा होइन ।
– ६ महिनाभन्दा लामो मिसन अहिले सामान्य भइसक्यो । नासाका फ्रान्क रुबियोले सेप्टेम्बर २०२३ मा फर्कनुअघि लगातार ३७१ दिन आईएसएसमा बिताए । (रुसको ‘मिर’ स्टेसनमा ४३७ दिन बिताएको भ्यालेरी पोल्याकोभको रेकर्ड भने अझै कायम छ) ।
– आईएसएसमा रहेको ‘कुपोला’ झ्याल पृथ्वी हेर्नका लागि सबैभन्दा लोकप्रिय ठाउँ हो । यहाँबाट दृश्य हेर्दा काम गर्न भुल्ने डरले यात्रीहरूले अलार्म लगाउने गर्छन् ।
– धेरै यात्रीहरूले वाद्ययन्त्रहरू (जस्तै गितार, सेक्सोफोन) अन्तरिक्षमा लगेका छन् तर डन पेटिटले त्यहाँको भ्याकुम क्लिनरलाई ‘डिजेरिडु’ (अस्ट्रेलियन बाजा) मा परिणत गरेर बजाएका थिए, जुन विज्ञानको प्रयोग पनि थियो ।
– सुत्नका लागि यात्रीहरूलाई फोन बुथ जत्रो सानो निजी ठाउँ र भित्तामा बाँधिएको स्लिपिङ ब्याग दिइन्छ । पंखाको आवाज र उज्यालोका कारण यहाँ सुत्नु चुनौतीपूर्ण हुन्छ ।
– एकपटक क्रिस ह्याडफिल्डले बिग्रिएको शौचालय मर्मत गर्नुलाई आफ्नो ६ महिनाको यात्राको सबैभन्दा गर्वको क्षण मानेका थिए । अहिले त्यहाँ ४ वटा शौचालय छन् ।
– अन्तरिक्षको खानामा धेरै सुधार आएको छ । सन् २०१९ मा अन्तरिक्ष यात्रीहरूले ५ वटा कुकिज बेक गरेका थिए, तर तिनलाई खान दिइएन; तिनलाई परीक्षणका लागि पृथ्वीमा फिर्ता ल्याइयो ।
– अन्तरिक्षमा करिब २८ हजारवटा फोहोरका टुक्राहरू (स्पेस जंक) घुमिरहेका छन्। आईएसएसले ठूलो क्षति ब्यहोर्नु नपरे पनि साना टुक्राहरू ठोक्किरहन्छन् । ‘ग्राभिटी’ फिल्ममा देखाइएको जस्तो जोखिम सधैँ रहन्छ ।
– सन् १९९८ देखि अहिलेसम्म २७० भन्दा बढी पटक यात्रीहरू मर्मत सम्भारका लागि यान बाहिर निस्केका छन् । यसलाई स्पेसवाक पनि भनिन्छ । सन् २००१ मा सुसन हेल्म्स र जिम भोसले ८ घण्टा ५६ मिनेट लामो स्पेसवाक गरेका थिए ।
– क्यानाडाले बनाएको यो रोबोटिक हात आईएसएसको महत्त्वपूर्ण हिस्सा हो । यसले सामान सार्न र मानिसलाई बोक्न मद्दत गर्छ ।
– अहिले सरकारी यात्री मात्र होइन, १३ जना निजी व्यक्तिहरूले पनि आईएसएसको भ्रमण गरिसकेका छन् । नासाले बस्नका लागि एक रातको करिब ३५ हजार डलर लिने गरेको बताइएको छ ।
– २८ हजार कि.मि. प्रतिघण्टाको गतिमा हिँड्ने भएकाले आईएसएसका यात्रीहरूले हरेक दिन १६ पटक सूर्योदय र १६ पटक सूर्यास्त देख्छन् ।
– पहिले स्पेस सटलको उडान लागत १.५ अर्ब डलर पथ्र्यो । अहिले स्पेसएक्सको ड्रागनमा एक सिटको मूल्य करिब ५.५ करोड डलर पर्छ ।
– बोइङको स्टारलाइनरमा समस्या आएपछि ८ दिनका लागि गएका सुनिता विलियम्स र बुच विल्मोरले करिब १० महिना (२८६ दिन) अन्तरिक्षमा बिताउनुप¥यो । उनीहरू मार्च २०२५ मा मात्र पृथ्वी फर्किए ।
– आईएसएसको सोलार प्यानलहरू एअरबस ए ३८० जहाजको पखेटाभन्दा लामा छन् । यसले ब्याट्रीहरू चार्ज गर्छ र स्टेसनलाई चाहिने सम्पूर्ण ऊर्जा दिन्छ ।
– चन्द्रमामा पुग्दा प्रयोग भएको कम्प्युटरभन्दा अहिलेको फोन धेरै शक्तिशाली छ । आईएसएस चलाउन लाखौँ लाइनका कोडहरू र धेरै कम्प्युटरहरू (पुरानोदेखि नयाँ ट्याब्लेटसम्म) प्रयोग हुन्छन् ।
– स्टेसनमा रहेका हरेक सामान (ट्वाइलेट पेपरदेखि ठूला उपकरणसम्म) मा बारकोड लगाइएको हुन्छ ताकि ती नहराउन् । नासाको मिसन कन्ट्रोलले यी सबैको हिसाब राख्छ ।
– यसको यकिन हिसाब गर्न गाह्रो छ, तर नासाले मात्रै यसको सञ्चालनका लागि वर्षको ३ देखि ४ अर्ब डलर खर्च गर्छ । के यो लगानी सही थियो ? यसको निर्णय तपाईं आफैं गर्नुहोस् ।

 

कतारमा १३ नेपालीलाई आममाफी
काठमाडौँ÷ कतारमा कैद सजाय भोगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसर पारेर कतार सरकारले त्यस्तो आममाफी दिएको हो । यसरी १३ नेपाली कैदीलाई आममाफी दिएकोमा कतार सरकारप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।
मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा पनि मन्त्रालयले लिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *