काठमाडौं/ जय मातृभूमि पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारहरुको बारेमा छलफल गरेको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनौटका विधि प्रक्रियाहरुलाई हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिले पारित गरेको छ ।
पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा बसको बैठकले समाजमा स्वच्छ छवि भएकालाई उम्मेदवारको प्राथमिकतामा राख्ने निर्णय गरेको छ । यसैगरी पार्टीका नीति तथा कार्यक्रमलाई जनता सामु लिएर जान सक्ने जुझारु, देशभक्त, इमान्दार र राष्ट्रियताप्रति पूर्ण प्रतिवद्ध व्यक्तिहरुलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय पनि गरेको छ । हालसम्म विभिन्न निर्वाचन क्षेत्रहरुबाट प्राप्त भएका नामहरुमाथि बैठकले गम्भीर छलफल गर्दै पार्टीको संगठन निर्माण, निर्वाचन लक्षित पार्टीको प्रचार प्रसार तथा जनजागरण कार्यक्रमको लागि ७ प्रदेशमा संयोजन समिति समेत गठन गरेको जनाइएको छ ।
महासचिव गोविन्द गिरीका अनुसार कोशी प्रदेशको लागि सह—अध्यक्ष रामशरण पाण्डेको संयोजकत्वमा वरिष्ठ नेता क्या.के.बि. लिम्वु र उपाध्यक्ष (पूर्व डि.आइ.जि.) उक्तमकुमार कार्की रहने गरी समिति गठन गरिएको छ । यसैगरी मधेश प्रदेशमा अध्यक्ष सुरेशकुमार कार्कीको संयोजकत्वमा उपाध्यक्ष राज ुमार यादव, केन्द्रीय सदस्य (पूर्व कर्णेल) कामेश्वर यादव र केन्द्रीय सदस्य अनिल पटेल रहेको समिति बनेको छ । यसैगरी बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीको संयोजकत्वमा उपाध्यक्ष आर.के.ढकाल, महासचिव गोविन्द गिरी, उप—महासचिव कृष्णराज राई, कोषाध्यक्ष आनन्द सिंखडा र केन्द्रीय सदस्य महावीर मल्लिक रहने गरी समिति बनेको छ ।
यसैगरी लुम्बिनी प्रदेशको लागि सचिव भानु के.सी.को संयोजकत्वमा प्रवक्ता डा.खेमबहादुर क्षत्री, कर्णाली प्रदेशको लागि अध्यक्ष सुरेशकुमार कार्कीको संयोजकत्वमा केन्द्रीय सदस्य पदम आचार्य रहेको समिति गठन गरिएको छ । यस्तै, सुदुर पश्चिम प्रदेशको लागि अध्यक्ष कार्कीको संयोजकत्वमा उपमहासचिव लक्ष्मीदक्त भट्ट र केन्द्रीय सदस्य अभिषेक सिंहलाई जिम्मेवारी तोकिएको छ ।
समसामयिक विषय र पार्टी एकता भएको जानकारीका लागि पार्टीले यही हिजो पत्रकार सम्मेलन पनि गरेको थियो ।
पार्टीले वर्तमान संकटको निकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जोडदार माग गर्दै आएको छ । प्रदेश पुनर्संरचनासहित स्थानीय तहको सशक्तिकरण गरी सुदृढ र थप अधिकारसम्पन्न स्थानीय तहको व्यवस्था, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, सबै खाले भ्रष्टाचार काण्डहरुको अनुसन्धान गर्न शक्तिशाली स्वतन्त्र नागरिक छानविन आयोगको गठन लगायतका माग पार्टीले अघि सार्दै आएको छ । पार्टीको चुनाव चिन्ह काखमा बच्चा लिएको आमा रहेको भनी जानकारी पनि गराइएको छ ।
जय मातृभूमि पार्टी उम्मेदवारको तयारीमा
Facebook Comments Box
