रविको करोडौंको जमानतको स्रोत के ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
रुषा थापा

बैंकमा दश लाखभन्दा बढी रकम राख्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्छ । दश लाखभन्दा बढीको स्रोत खुलाएर र त्योभन्दा कमको स्रोत नखुलाई आम सर्वसाधारणले बैंकमा खर्बौ रकम राखेका छन् । सम्बन्धित व्यक्तिले बैंकमा राखेको दश लाखमाथि रकम कसरी आम्दानी गरिएको हो ? राज्यलाई राजस्व तिरेको छ कि छैन ? भनेर बैंकमा विवरण पेश गर्नुपर्छ । अनि मात्र बैंकले निक्षेप राख्छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हकमा भने यो लागू नभएको देखिन्छ । सर्वसाधारणले दश लाखमाथि निक्षेप राख्न अनिवार्य स्रोत खुलाउनुपर्दा रवि भने धमाधम करोडौंको करोडौं बैंक जमानत राखेर छुटिरहेका छन् । पर्सामा सहकारी ठगी आरोपमा हालै मात्र उनी धरौटीस्वरुप एक करोड बैंक जमानत राखेर छुटेका छन् ।
त्यसअघि रुपन्देहीको सहकारी ठगीमा झण्डै चार करोड बिगो बैंक जमानत राखेर उनी छुटेका थिए । यसबाहेक विभिन्न तीनवटा जिल्लाबाट पनि उनी लाखौं–करोडौं धरौटी बैंक जमानता राखेर निस्किएका छन् । उनको धरौटीमात्र हिसाब गर्ने हो भने दश करोड बढी भइसकेको छ । अनि यो पैसाको स्रोत के हो ? उनले कहाँबाट यो पैसा ल्याए ?
श्रीमती निकिता पौडेल घर बनाउन पैसा नपुगेको भन्दै फेसबुकमा रुवाबासी गर्ने अनि श्रीमान् रवि चाहिँ धमाधम करोडौं धरौटी तिरेर छुट्ने ! अर्कोतर्फ, बैंक किन उनको जमानत बसिरहेको छ ? गम्भीर प्रश्न उब्जिएको छ । एकचोटि होइन, दुई चोटि होइन, पटकपटक बैंक रविकै जमानत बसिरहेको छ, यसले दालमा कालो भएको देखिन्छ ।
आम सर्वसाधारण एक सय रुपियाँदेखि दश हजार धरौटी तिर्न नसक्दा जेलमा थुनिएका छन् । उनीहरुका लागि बैंक किन जमानत बस्ँदैन, जबकि उनीहरुको त धरौटी पनि निकै कम छ । रविको लागि मात्र बैंक किन जमानत बस्छ ? अब राष्ट्र बैंकले जवाफ दिनुपर्छ ।
बैंकमा भएको पैसा आम नागरिकको हो । जनताले रगतपसिना बगाएर कमाएर राखेको पैसा हो । अहिले बैंक रविको लागि जमानत बसिरहँदा बैंकमा सर्वसाधारणले राखेको रकमसमेत जोखिममा परेको छ ।
रविले सहकारीमार्फत त लाखौं सर्वसाधारणको अर्बौ रकम ठगेको भनी मुद्दा विचाराधीन रहेको यो बेला सो कर्मबाट उम्कन पनि जनताकै पैसा उनले प्रयोग गरिरहेका छन् । बैंकहरुले अब जवाफ दिनुपर्छ कि के आधारमा उनीहरु रविको लागि जमानत बसेका हुन् । रविको बैंकमा अर्बौ रकम छ ? कि अर्बौको घरजग्गा, गाडी, शेयर छ ? यदि छ भने त्यसको स्रोत के हो र ? नभए किन सित्तैमा रविको जमानत बसेको ?
रवि पनि आम नागरिक नै हुन् । उनको व्यापार व्यवसाय न कुनै रोजगारी । उनले अमेरिकामा रहँदा पैसा कमाए होला । त्यो पैसा उनले त्यहाँ खर्च गरेनन् होला र ? अमेरिकामा खान, बस्न सबैको लागि पैसा तिर्नुपर्छ । त्यहाँ पानीसमेत किनेर पिउनु पर्छ । अनि त्यस्तो ठाउँमा बसेर उनले नेपालमा कति चाहिँ पैसा ल्याए होला ?
नेपाल फर्किएपछि उनले सञ्चार कर्म गरेको कुरालाई नर्कान सकिँदैन । सञ्चारकर्मीको तलब महिनाको कति हुन्छ र ? यहाँ दश हजारदेखि बढीमा ४० हजार मासिक तलबमा दिन रात नभनी पत्रकारहरुले काम गरिरहेका छन् । रविले पनि पक्कै यति नै तलबमा काम गरे होलान् ? यति तलबले केही वर्षमै करोडौं कमाइन्छ त ? पुराना दल र नेताहरुको आम्दानीको स्रोत खोज्ने रवि अहिले आफ्नो बारेमा भने मौन छन् ।
अब उनले जवाफ दिनैपर्छ । धरौटीको रकम कहाँबाट ल्याइएको हो ? रविले जनतालाई उत्तर दिनुपर्छ । बैंकहरु पनि रविप्रति उदार, अरुप्रति अनुदार देखिन्छन् । तीन करोडको धितो राखेर ९० लाख ऋण लिएकाहरुले तीन किस्ता नतिर्नेबित्तिकै बैंकले धितो लिलाम गर्छ । यतिमात्र होइन, एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत, १२ देखि १८ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुलिन्छ । बैंकका कर्मचारी, अध्यक्ष र सञ्चालकलाई घुस नदिई ऋण पाइँदैन ।
बैंक बचतकर्ताप्रति पनि अनुदार छ । बचतकर्ताको निक्षेपको जम्मा एकदेखि बढीमा तीन प्रतिशत ब्याज दिइन्छ । अझ बैंकका कर्मचारीहरुको मिलेमतोमा बचतकर्ताको खाताबाटै रकमसमेत चोरिन्छ । अनि जो (बचतकर्ता र ऋणी) बाट बैंक चलिरहेको छ, उसलाई कँहीकतै केही सुविधा नदिने, सहकारी ठगलाई चाँहि सुविधैसुविधा ।
उसैको लागि मात्र जमानत बसिदिने । रविले सहकारी त डुबाएको भनिन्छ अब यस्तै हो भने बैंक पनि डुबाउँछन् भन्नेहरुको बोली आउन थालेको छ । यसले जनता सचेत हौं । नभए सहकारीका बचतकर्ता जसरी रुनु पर्ला । बैंकमा जनताले विश्वास गरेर आफ्नो दुःखको कमाई राखेका हुन् । विडम्बना, बैंकहरुले आफ्नो स्वार्थका लागि जथाभावी त्यो पैसा लगानी गरिरहेका छन् ।
रविसँगै उद्योग, वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि बैंकले डेढ अर्ब ऋण दिएको छ । धितो सरकारी जग्गा राखिएको भन्दै अदालतमा मुद्दा विचाराधीन छ । गोल्छाले केही गरी मुद्दा जिते पनि त्यो जग्गाको कुनै पनि हालतमा डेढ अर्ब आउने छैन । भाटभटेनीका साहु मीनबहादुर गुरुङले पनि देशभरका साढे दुई दर्जन भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण लिएका छन् । जेनजी आन्दोलनमा दुई दर्जन भाटभटेनीमाथि तोडफोड, आगजनी र लुटपाट भयो । एकातिर भवन खरानी, अर्कोतिर व्यापार ठप्प भएपछि गुरुङले पनि ऋण तिर्नसक्ने सम्भावना न्यून छ । यसले डुब्ने भनेको बैंक नै हो ।
यसैगरी, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, एमाले नेता महेश बस्नेत, दुर्गा प्रसाईं र पूर्वमन्त्री दीपक खड्काले समेत करोडौं रुपियाँ ऋण बैंकबाट लिएका भनिन्छ । उनीहरुले धितोमा राखेका घरजग्गाको अवस्था के कस्तो छ थाहा छैन । यदि ती पनि कमसल ठहरिए भने त भोलिका दिनमा यसले बैंकलाई नै असर पार्ने देखिन्छ । बैंकमा असर पर्नु भनेको बैंकमा निक्षेप राखेका जनता त डुब्ने अवस्था आउनु हो ।
हिजो सहकारी डुब्दा बचतकर्ता डुबे । सञ्चालक, अध्यक्ष, कर्मचारीहरु त भागे तर दुःखको कमाई डुबेको सहन नसकेपछि धेरैले आत्महत्या गरे । कतिपय डिप्रेसनमा गएका छन् । अनि बैंक पनि सहकारीकै हालतमा पुगे बचतकर्ताको हालत के होला ? बैंकले निक्षेप लगानी गर्नुपर्छ । लगानी नगरी आम्दानी र नाफा हुँदैन पनि । लगानी गर्ने भनेर जथाभावी लगानी गर्ने होइन । निकै सोचविचार र अध्ययन गरेर मात्र पैसा लगानी गर्ने हो ।
दुर्भाग्य, बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले आफ्नै पैसा जसरी जथाभावी लगानी गरे । कमिशन खाएर कमसल धितोलाई करोडौं ऋण दिए त कमिशन नपाएमा उद्योग, कृषि, व्यापार व्यवसाय गर्न पनि ऋण नदिने । बैंकको यस्तो हर्कतका कारण एकातिर देशमै केही गर्छु भन्ने युवाहरु ऋण नपाएकै कारण विदेश पलायन हुनुपर्यो, अर्कोतिर आम सर्वसाधारणको पैसा जोखिममा परेको छ । यसले, बैंकमा निक्षेप राखेका जनता अब होसियार हौं । बैंकमा मेरो पैसा सुरक्षित छ भनेर ढुक्क नहौं ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *