काँग्रेसमा गुट हट्यो, फोहोर हटाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ तीनतिर छिरोलिएको कारणले निकै कमजोर बन्ने गरेको नेपाली कांग्रेसमा पछिल्लो समयमा भने उत्साह थपिएको छ । विशेष महाधिवेशनपछि काँग्रेस तंग्रिएको र लगभग गुटरहित बन्न पुगेको अवस्था छ ।
काँग्रेसको विशेष महाधिवेशनको बेला महाधिवेशन हुन नदिने पक्षमा लागेकाहरु अझैं राष्ट्रिय भेला बोलाउने भन्दै डम्फु बजाउन थालेका छन् । विशेष महाधिवेशनकै विपक्षमा रहेका सबैजसो काँग्रेसी नेताहरु टिकट लिएर चुनावको प्रचार प्रसारमा लागि सकेका छन् । विशेष महाधिवेशनमा सहभागी भएको भए पार्टी विभाजन हुन्थ्यो भन्ने कथित धारणा व्यक्त गरेका डा. शेखर कोइराला र महाधिवेशन हुन नदिने अनेकौं प्रयास गर्ने डा. प्रकाश शरण महतलाई आगामी फागुन २१ ग्ते हुने आम निर्वाचनको रापतापले छोइसकेको छ । विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की पनि गगन थापालाई पार्टी सभापति स्वीकारेर चुनावमा होमिइसकेका छन् ।
यसैगरी तात्कालिन कार्यवाहक अध्यक्ष रहनु भएका पूर्णबहादुर खड्काले पनि आफू उम्मेदवार बन्दै आएको सुर्खेत क्षेत्रमा आफ्नै सहोदर भाइलाई टिकट दिलाएर भेलाको नौटंकी गरिरहनु भएको छ । यसैगरी विजयकुमार गच्छदार पनि टिकट लिएर सुनसरी क्षेत्र नं.३ मा उम्मेदवार बन्न पुग्नु भएको छ ।
‘मैले विष पिएँ र पार्टी मिलाउने प्रयास गरेँ’ भन्नेहरुले पनि न विष पिए न त पार्टी मिलाए । अझैं पनि काँग्रेसमा २०४८ सालदेखि नै शुरु भएको घातप्रतिघातको तुष र फोहरमा रमाएर स्थार्थपूर्ति गर्न पल्केका केही अवशेषहरु बाँकी रहेको जानकारहरुले बताएका छन् । अब विगतका यी सबै कुरालाई बिर्सेर काँग्रेसले इतिहासलाई कायम गरी सबैभन्दा ठूलो पार्टी बन्न प्रयास गर्नुपर्ने अवस्था छ । विगतको काँग्रेसी कार्यशैली र प्रतिबद्धता पूरा नगर्दा रिसाएका जनतालाई अब काँग्रेस सुध्रियो, नेतृत्व बदल्यो र देश पनि बदल्छौं भनेर विश्वास दिलाउन सक्नुपर्दछ ।
भ्रष्टाचार र कुशासन, नातावाद, कृपावादको अन्त्य गरी स्वदेशमै रोजगारी, दिइने प्रण गरेर सबैभन्दा ठूलो दल बन्नेतर्फ लाग्नुपर्दछ भनी कांग्रेसका शुभचिन्तकहरुले सुझाव दिन थालेका छन् । यिनै कुराहरुलाई मध्यनजर गर्दै काँग्रेसले आगामी २१ माघदेखि निर्वाचन लक्षित विशेष रणनीति लागू गर्ने भएको छ । यसअनुसार काँग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्नुपर्ने बताइएको छ । नयाँ सोच, कार्यक्रम र नारा लिएर नवीन ऊर्जा एवं उत्साहका साथ जिल्ला तहका सम्पूर्ण प्रतिनिधिहरु र काठमाडौंमा रहेका भातृ संगठनका पदाधिकारीहरु आ–आफ्नो क्षेत्रमा फर्किएर एकजुट भै निर्वाचनमा लाग्नुपर्ने निर्वाचन लक्षित कार्यक्रम ल्याइएको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *