अमृत बेलादेखि कुर्सीमा देखिएको आकृतिसम्म

Nayabimarsha (Weekly Newspaper from Nepal)

शोभाराम ओली

जनवरी १६, २०२६ शुक्रवार । बिहीबार साँझ निद्रादेवीको काखमा पुग्नुअघि मन असाध्यै चलायमान थियो । कल्याण थापा ज्यूको सुपुत्रीको अन्नप्राशन कार्यक्रमका दृश्यहरू आँखाअघि घुमिरहेका थिए । परदेशमा बसेर पनि आफ्नै संस्कार, आफ्नै माटोको सुवास यति नजिकबाट महसूस गर्न पाउनु सौभाग्यभन्दा कम थिएन । त्यसमाथि निकै लामो समयको अन्तरालपछि मित्र राजु पौडेल र कपिल भारतीसँग भएको साक्षात्कारले मनलाई अझै गह्रौँ बनाएको थियो । ती सबै स्मृतिहरू मनको मैदानमा फुटबलझैँ उफ्रिरहेका थिए ।
बिहान ५ः३० बजे आलारामसँगै खुल्नुपर्ने आँखाका ढकनीहरू ५ः२२ मै खुलिसकेका थिए । कारण थियो, भर्खरै देखेको सपनासँगै एक्कासी आएको एउटा याद ! यस्तो याद, जसले आउनलाई कहिल्यै समय माग्दैन, कहिल्यै अनुमति लिँदैन, र मनको ढोका आफैँ खोलेर सुटुक्क भित्र पस्छ । जति धपाउन खोज्यो अहँ कदापि जाँदैन ।
जुरुक्क उठेर नित्यकर्म सकेँ । मन स्वतः मुन्तजा पार्कमा पुगेर बस्यो । शरीर यहाँ थियो, तर दिमाग पुरै उनकै राज्य बनेको थियो । छ बजे पार्क पुग्दा अमृत बेलाको नीलो शान्ति चारैतिर फैलिएको थियो । चिसो मौसम थियो, तर त्यो चिसोपनले छाला मात्र छोएको थियो । मन भने उनको सम्झनाले तातिरहेको थियो ।
हरियाली दुबोको च्यादर ओढेको पार्क, पहरा दिइरहेका रूखहरू, चरीहरूको चिरबिर, दुबोमा जमेको शीत, र होलिडे भिलाको टुप्पोबाट उदाउँदै गरेको सूर्य सबै मिलेर बिहानलाई असाध्यै आत्मीय बनाइरहेका थिए । योगा प्रशिक्षक ज्यू आइपुग्नुभयो । योगा अभ्यास शुरू भयो । अनेक योगासन सँगसँगै सास भित्र, सास बाहिर, अनुलोम–विलोम ! तर जति श्वास बाहिर निकालें, अहँ उनको याद पटक्कै निस्किएन । प्रत्येक श्वाससँगै उनको आकृति मनको पर्दामा अझ स्पष्ट बन्दै गइरह्यो ।
सूर्यदेवका किरणले शरीरलाई स्नान गरिदिएपछि योगा सकियो । प्रशिक्षक श्रद्धा कटुवाल ज्यू अनि साथमा राजकुमार तिमिल्सिना र गंगाराम फुयाँल ज्यूहरू आफ्नै निवासतिर फर्किनुभयो । बाँकी हामी लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको रक्तदान कार्यक्रममा जाने तयारीमा लाग्यौँ । रक्तदाता संघ कतारसँगको आबद्धताले जिम्मेवारीको भार थपेको थियो ।
नेपालको समसामयिक राजनीतिमा छाएको तरङ्गप्रति प्रतिक्रिया दिँदै डाउनटाउन रेस्टुरेन्ट पुग्यौँ । खाली पेटलाई नागेन्द्र फगामी सरको स्याण्डविच प्रायोजनले अर्थपूर्ण सहारा बन्यो । योगा पोशाकमै हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टर पुग्दा करीब साढे आठ बजेको थियो । रक्तदाता संघ कतारका उपाध्यक्ष छबिलाल भट्टराई ज्यू र अन्य लुम्बिनी समन्वय परिषद्का पदाधिकारीहरू पहिल्यै पुग्नु भएको रहेछ ।
रक्तदान चलिरहेको थियो । कसैको हातबाट रगत बगिरहेको थियो, कसैको जीवन बचाउने मौन संकल्पसँगै । मेरो मनबाट बगेको सम्झनाको धार कुन किनार खोज्दै थियो ? म स्वयम् त्यसको दिशाप्रति अनभिज्ञ थिएँ ।
त्यो कुनै हल्ला नभएको पवित्र उत्सव थियो । म उभिएँ । कसैले बोलाउँदा मात्र ओठ चले । मन भने उनैको सम्झनातिर दौडिरहेको थियो ।
एघार बजेदेखि शुरू हुने मगर संघ कतारको माघे संक्रान्ति कार्यक्रममा पुग्नुपर्ने थियो । अचम्म लाग्थ्यो मगर संघको कार्यक्रम सुन्नासाथ मन स्वतः उतैतिर तानिन्थ्यो । कुनै अदृश्य साइनो जुरिएको जस्तो !
हमादबाट समयमै निस्किएँ । तर बिहानदेखि उनैको यादले किन यस्तो पछ्याइरहेको थियो ? शरीर मसँगै थियो, मन भने उनको छायासँगै हिँडिरहेको थियो । “आज यति धेरै याद आउनु कुनै संकेत त होइन ?” मनले आफैँसँग प्रश्न ग¥यो ।
कोठामा फर्केर तयार भएँ । कार्यक्रमका लागि निस्किँदा यस्तो लाग्दै थियो, म कुनै तीर्थ यात्रामा निस्किँदै छु, सडकका दृश्यहरूले समेत बोलाइरहेका जस्तो ! करीब बाह्र बजे डीपीएस इन्टरनेशनल स्कूल, वुकेरको सभाहलमा पुगेँ । आसन ग्रहण कार्यक्रम चलिरहेको थियो । स्टेज नयाँ दुलहीभन्दा पनि बढी सजिएको थियो । अतिथिहरूको आगमन सँगै सेलरोटी र अचारले स्वागत गरिँदै थियो ।
नेपालबाट आएका कलाकार, स्थानीय स्तरमा फुलेका प्रतिभा, सबैले आफ्नो कला पोखिरहेका थिए । कार्यसमितिका सदस्यहरू जिम्मेवारीमा खटिएका थिए । विभिन्न गीत र नृत्यहरूमा म बग्दै थिएँ । मेरो जीवन कहानी बग्दै थियो ।
कार्यक्रममा विविध प्रस्तुतिहरू निरन्तर चलिरहेका थिए, त्यही बीचमा खाना शुरू भयो । परिकारहरूमा आफ्नै मौलिक स्वाद र सुगन्ध थियो । तर अचानक उनको स्मृति घाँटीमा आएर अड्कियो । शायद त्यही यादले बाटो छेकेको थियो । भात तल झर्न मानेन । आखिर, मनले नस्वीकारेको कुरा शरीरले कसरी निल्न सक्थ्यो र ?
परदेशमा बसेर आफ्नै देशको मौलिक संस्कृतिको सुगन्ध बोकेर हिँड्दा, त्यसैमा कसैको याद मिसिँदा दिनहरू आफैँ कथा बन्दै गए जस्तो !
साँझ करीब छ बजेको हुनुपर्छ । मेरो अलिक पछाडि देब्रे पट्टि एउटा कुर्सीमा एउटा परिचित आकृति देखा प¥यो । म झसङ्ग भएँ । त्यो आकृति उनैको थियो, जो मबाट छुटेको धेरै समय भइसकेको थियो । दिमागमा बिहानैदेखि आगमन भएको थियो, तर यति अकस्मात्, यति नजिक, यति मौन रूपमा उनी आइपुग्लिन् भन्ने कल्पना गरेको थिइनँ ।
उनले मलाई देखिन् कि देखिनन् थाहा भएन । तर मैले उनलाई देखेँ । शायद बोल्नुपर्ने शब्दहरू धेरै थिए, वा शब्दहरू नै अपूरा थिए । कुर्सी र कुर्सी बीचको त्यो केही फिट दूरी भने वर्षौं लामो दूरीजस्तै लाग्दै थियो । म उनको उपस्थितिलाई नहेरी पनि महसूस गर्न सक्थेँ । त्यो परिचित शान्ति, त्यो पुरानै असहजता !
उनको वरिपरि बसेका, हाँस्दै गफिँदै गरेका युवाहरू देख्दा मुटु भित्रैदेखि चिरिएको महसूस भयो । लाग्थ्यो मुटु पहिल्यै जलिसकेको छ, अहिले धुवाँ मात्र निस्किरहेको छ ।
म उनको हाँसोमा जलेको थिएन । मलाई जलन थियो, उनलाई हेर्दै हाँस्नेहरूप्रति ।
उनी त्यहीँ थिइन्, पहिलेजस्तै, तर उस्तै होइन । समयले उनको अनुहारमा नयाँ रेखा कोरेको थियो, र मेरो मनमा पुरानै कथाहरू अझै ताजा थिए ।
म नजिकै थिएँ । त्यति नजिक कि उनको सासको ताल मैले सुन्न सक्थेँ । तर बोलाउने हिम्मत कुन दुर्घटनामा प¥यो, मलाई नै थाहा भएन । कुनै ठक्कर थिएन, कुनै आवाज थिएन, हिम्मत एकाएक हरायो । भीडमा खसालिएको सिक्का जस्तै !
उनी आफ्नै संसारमा थिइन् । शायद म त्यहाँ थिएँ भन्ने अनुमानसम्म पनि थिएन । र म त्यही क्षणमा आफ्नै मनको कोलाहलसँग लडिरहेको थिएँ ।
बोल्न नसकेपछि मनले अर्कै बाटो रोज्यो । शब्दहरू वाक्य बनेनन्, वाक्य कथा बनेनन् तर गीत बने । म फुसफुसाउन थालेँ, कसैलाई सुनाउन होइन, आफैँलाई सम्हाल्न ।
कति छ तिम्रो माया यो मनभित्र गन्नु कसरी,
तिमी त पराइ भयौ मैले आफ्नो भन्नु कसरी ?
उनी अर्कैकी भइन् कि भइनन्, त्यसको प्रमाण त समयसँग होला । तर मनले अझै पनि उनीमाथि हैन, आफ्नै मौनतामाथि जलन गर्छ ।
बिहान योग जाँदा गाडीको सिटमा बसेर गाडीहरूको लहर हेर्दै जीवनको लहर कल्पना गरेको थिएँ । यति मीठो याद आउने मान्छे आफ्नो नहुनुको कारण, आज पनि प्रश्न बनेर उभियो ।
योगाभ्यासको समयमा चिरबिराउने चरीहरू, माघीको कार्यक्रममा देखिएका जोडीहरू, सबैले उनैको यादले झस्काइरहे । कहिल्यै नबिर्सिने संयोग, कुनै समय यही मगर संघको कार्यक्रमले हाम्रो भेट जुराएको थियो । आज त्यही सम्झनाले मन फेरि एकपटक हार मानिरहेको थियो । समय उस्तै थियो, पात्र उही थिए, तर परिस्थिति कति धेरै फरक !
यस पालीको शुक्रवार गीति कथा जस्तै लाग्यो । अधुरो प्रेमसँग चुपचाप हात मिलाएको दिन । अमृत बेलामा शुरू भएको दिन साँझको एउटा कुर्सीमा आएर रोकियो ।
शरीर थाकेको थिएन, तर मन भने पूर्ण मौन थियो । उनी त्यहीँ थिइन् । म पनि त्यहीँ थिएँ । बीचमा नाम नलिइने दूरी थियो, नछोइने सम्झना थियो, र कहिल्यै नसोधिने “किन ?” थियो ।
कहिलेकाहीँ सबैभन्दा गहिरो प्रेम भेटमा होइन, नबोलेको क्षणमा बाँच्छ । त्यसैले म बोलिनँ । उनी फर्किनन् । र जनवरी १६ को शुक्रवार मुटुको धुवाँ हावामा मिसिएर कुनै उत्तर नदिई हरायो । (दोहा, कतार)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *