डा. छायादत्त न्यौपाने
अचेल कति मजाको समय
धित मारेर कुरा काट्न पाइन्छ
चिया पसल, छतका घाम
बगैंचाका सुन्तला र बदामसँग
क्या स्वादका कुरा !
यी कुराले जीवनलाई के दिए र दिन्छन् ?
यो हेक्का राख्नेले राखून् मलाई चाहिएन
म त मनभरिने गरी कुरौटिने हो यसैमा स्वाद छ
जति पनि कुरा गर्न खर्च नलाग्ने भएसी किन हच्किने ?
काट्ने मज्जाले काट्ने नि कुरा न हो
अवैध खाताको पैसा काटिने होइन !
नारद मनसरा शकुनि कुरैका प्रसिद्ध चरित्र
पँधेराको रमाइलो , छिमेकी ऐंचोपैंचो कुराकै देन
चुनावी नारा जनतालाई सहारा कुरै त हुन्
बाटोघाटो, शिक्षा ,स्वास्थ्य सुविधा पुलपुलेसा
कुराले पु¥याउन जान्नेले हो चुनाव जित्ने
सफलता हत्याएर मोटाएको उपलब्धि
देखेपछि पनि कुरा नकाटी बस्ने कोही मूर्ख छ ?
सज्जनको काम उपलब्धि पछ्याउने हो
ढुक्क पछ्याउँछु म पनि पहिल्यैदेखि
निरन्तर पछ्याउँदै आएको हो कुरा पुराण
यो मर्म कसले नबुझेको छ र !
लौ,जुटौं कति काट्नुछ काटौं कुरा
१.पटक २. पटक ३.पटक पटक पटक
के प्राप्त भो कुराले ? नखोजी काटौं फेरि फेरि काटौं
भन्न त हुँदैन , तिमीसित मात्र खुसुक्क हो
भन्दै जाऔ,भनौं केही थपौं, थप्दै जाऔ
कुरा न हो काम गर्नु छैन गर्ने कुरा हो
उसको उसले उसको उसले कुरा त हो
जसले जसको जति काटे पनि नसकिने कुरा
विषय नयाँ होइन शैली नयाँ भए पर्याप्त हुने
आज मसित उसका कुरा भोलि ऊसित मेरा कुरा
कुरा कुरै कुरा कति रमाइलो कुरौटे जीवन !
धेरैलाई मन पर्ने खेती हो कुरा
आज काटिने भोलिलाई राखिने
उनै कुरा उस्तै हिजो जस्तै
जति गरे पनि फरक नपर्ने
सधैँभरि पुगिरहने कुरा खेती
यो मिलिजुली काट्न मिल्ने साझा खेती
कुरौटे बजारमा बेच्न पाइने, सजिलै बिक्ने
लगानी गर्न नपर्ने , खनजोत नचाहिने
बिउमलको खाँचो नहुने कति मजाको खेती !
सजिलो र उस्तै लोकप्रिय छ यो कुराविधि
थकाइ नलाग्ने पसिनाले नसताउने सन्चसुविस्ताले
गरिरहन मिल्ने गजबको खेती कुरा
आमदानी नदिएर के भो त ! समयबाहेक
खर्च पनि क्यै छैन ! दिमाग पनि चाहिएन
नैतिकता विवेक इमान आवश्यक नपर्ने
अलिकति मरमसला थप्न जाने पर्याप्त हुने
यस्तो मजाको कुरा खेती नगरेर बस्छ
नयाँ नयाँ उन्नति खोज्ने सचेत मान्छे ?
यो परम्पराले तान्दै ल्याएको वैदिककालीन
कुराखेती सिकाउने चर्चित ऋषि
देवर्षिलाई भित्रैदेखि धन्यवाद छ !
धेरैले धेरैतिरबाट काटिरहेको कुरा
जानिफकारहरूको त झन् मलिलो अभ्यास हो
भएनभएको कुरा खेती यताबाट
उता पु¥याउन खप्पिस कुराबहादुरहरूका
सन्तान हामी कुरैसँग रम्ने हो, रमिरहेकै छौँ
पूर्वज आफन्त छरछिमेकी सबैले सबैको
ढुक्कले अनुसरण गर्न पाइने
नकसैलाई दुख्ने न त कतै घाउ लाग्ने
सर्वप्रिय कुरा खेतीकै बोलबाला छ
तपाईं पनि आउनुहोस्
सँग जुटौं मिलिजुली काटौं कुरा !
(पर्वत, हाल – काठमाडौं)
