डा. राजु अधिकारी
एकादेशमा एउटा सानो शहर थियो । शहरको किनारामा एउटा गाउँ थियो । गाउँको किनारामा एउटा खोला थियो । खोलाको किनारामा एउटा जरुवा थियो । जरुवाको किनारामा बेलको एउटा रूख थियो । शहर र गाउँमा मानिस बस्थे, खोला र जरुवामा माछा बस्थे, रूखको फेदका माटाका ढिस्काका प्वालमा र रूखका पातमा गुँड लगाएर कमिला बस्थे ।
गाउँ सौम्य थियो, खोला निर्मल थियो, रूख पवित्र थियो । खोला गाउँको जीवनको धमनी थियो भने जरुवा गाउँको मुटु ! मुटु र रक्त नली जस्तै ती दुवै महत्त्वपूर्ण थिए । जरुवालाई खोलाबाट छुट्याउन ढुङ्गाको बार थियो । त्यो बारले खोलालाई जरुवामा पस्नबाट रोक्थ्यो । खोलाले खेतबारीको सिचाइँ गर्न, लुगा धुन, भाँडा माझ्न, नुहाउन र वस्तुभाउलाई खुवाउनको लागि जल मात्र प्रदान गरेको थिएन मानिसलाई प्रसस्त मात्रामा माछा, गँगटा र झिँगे माछा पनि खुवाएको थियो । वर्षा सकिएपछि हिउँदको मध्यसम्म खोलामा पानी थुनेर गाउँलेहरू मिलीजुली माछा मार्थे । जरुवाले पनि पिउने पानी मात्र प्रदान गरेको थिएन जल देवतालाई बासस्थान पनि उपलब्ध गराएको थियो । त्यसैले जरुवालाई अघोषित रूपमा मन्दिरको जस्तै मान्यता प्राप्त थियो ।
मन्दिरभित्र सजिएपछि ढुङ्गा पनि देवता बने जस्तै जरुवाभित्र पसेपछि सबै जलचरहरू पनि पूज्य बन्थे । माछा, सर्प, भ्यागुता, गँगटाहरू या अन्य जुनसुकै जीव भए पनि जरुवामा सदैव सुरक्षित हुन्थे । सर्पलाई त झन् जलदेवताको पनि देवताको मान्यता प्राप्त थियो । जरुवाको मूलबाट कहिलेकाहीँ नाग देवले भक्तहरूलाई दर्शन दिए भने भक्तहरूको मन प्रफुल्ल हुन्थ्यो, पाप मोचनको अनुभव हुन्थ्यो ।
जल मन्दिरको सरसफाइ अनि जल देवताको सुरक्षामा मानिसहरू सजग थिए । जरुवामा थुक्नु हुँदैन, मुखमा खटिरा आउँछ ! जरुवा नजिकै पिसाब फेर्नु हुँदैन, कुहिन्छ ! जरुवाका माछा खानु हुँदैन, पाप लाग्छ ! जरुवाको नाग मार्नु हुँदैन, अनिष्ट हुन्छ !
ती अलिखित नियमहरू सबैका लागि अकाट्य जस्तै थिए र कसैले पनि उल्लङ्घन गर्ने दुस्साहस गर्दैनथे ।
उता, जरुवामाथिको ढिस्कोको बेल वृक्षको पनि आफ्नै पहिचान र महत्त्व थियो । ऊ अन्य वृक्षको जस्तो कसैले काटेर दाउरा बनाउलान् कि भन्ने चिन्ताबाट मुक्त थियो । पवित्र भएकोले मात्र हैन काँडैकाँडाले भरिएकोले मानिसहरू त्यसमा चढ्दैनथे, फल पनि टिप्दैनथे । मानिसले भुइँबाट टिप्न सकिने जतिका उसका पवित्र पल्लवहरूले देवताको चरणमा स्थान पाउँथे । कसैको दाँत दुख्यो भने, सातो गयो भने या कसैलाई पहिले कहिले नदेखिएको रोगको लक्षण देखा प¥यो भने प्रथम उपचार भनेको उक्त वृक्षका हाँगामा राता र सेता ध्वजा बाँध्नु हुन्थ्यो । त्यसले काम नगरेपछि बल्ल स्वास्थ्य केन्द्रको ढोका ढकढकाइन्थ्यो । वृक्षको टुप्पोमा मानिसले टिप्न नसकेका पत्रहरूमा कमिलाले आफ्नो घर बनाएका थिए । पवित्र बेलपत्रको घरमा बस्न पाए पनि कमिलाहरू माछा जति भाग्यमानी र सुरक्षित चाहिँ थिएनन् । ठूलो वर्षा, असिना या हावा हुरी आउँदा कमिलाको घर पूर्ण सुरक्षा दिन असमर्थ हुन्थ्यो । गगनमा मेघ गर्जियो भने कमिलाहरू त्रासले थर्कमान हुन्थे भने बिजुली चम्कियो भने माछाहरूको हृदय उज्यालो हुन्थ्यो । वर्षा र हावा हुरीमा कति कमिलाहरू सोझै रूखमुनिको जरुवामा खस्थे र अधिकांशको नियतिमा माछाको आहार बन्न लेखिएको हुन्थ्यो । तिनै कमिलाहरू खाएर जरुवाका माछाहरू मोटाएका थिए ।
कैयौँ शताब्दीदेखि गाउँ, मान्छे, खोला, माछा अनि रूख र कमिलाको बीचमा त्यही चक्र सन्तुलित रूपमा निरन्तर चलिरहेको थियो । समय बदलियो । मानिस बदलिए । गाउँ र शहर पक्की बाटोले जोडियो । लामो समयदेखि आफ्नो पहिचान र अस्तित्व जोगाएको गाउँ परिवर्तन भयो । गाउँमा शहर पस्यो, जरुवामा खोला पस्यो, रूखमा बन्चरो पस्यो । गाउँको चौतारी भत्कियो, वर पीपल र बेलका रुख काटियो र चूह्लोमा जलाइए । गाउँका घर धुरी बढे । दुई गाउँसम्म फैलिएको विस्तीर्ण घाँसे मैदानको मुटु छेडेर भ्यू टावर बन्यो, बारीमा सिमेन्टका पक्की घर बने । खेतमा इँटका भट्टाका चिम्नीले धुवाँ ओकल्न थाले । खोलामा प्रदूषण बढ्यो । मानिसहरूले विष हालेर, करेन्ट लगाएर माछा मार्न थाले । केही वर्षमै खोलामा माछा र अन्य जलचरहरूको अस्तित्व सिला खोज्ने अवस्थामा पुग्यो ।
मानिसहरू माटोको घरबाट पक्की घरमा सरे । बचे खुचेका माछा र अन्य जलचर जीवनको अन्तिम आशामा खोलाबाट जरुवातिर सरे । कमिलाहरू रूखबाट जमीनतिर सरे ।
गाउँमा डिप बोरिङ खनियो । घरघरमा धराबाट पानी आउन थाल्यो, पानी भर्न, भाँडा माझ्न, लुगा धुन, नुहाउन खोला र जरुवा धाउनु परेन । खोलाको महत्त्व हरायो, जरुवाको पवित्रता बिर्सियो ।
मानिसले त्यो जरुवाको पानी पिउन थालेदेखि जतिसुकै खडेरीमा पनि पूरै खोलो चक्रक्क सुक्दा पनि जरुवाले आफ्नो धर्म छोडेको थिएन । जीवनभर अविछिन्न मुटु धड्किए झैँ एक निमेष पनि विश्राम नलिई उसले जल प्रवाह गरिरहेको थियो र कैयौँ पुस्ताका मानिसहरूलाई जीवन दान दिएको थियो अनि कैयौँ जलचरहरूलाई देवता सरह सुरक्षा प्रदान गरेको थियो । जरुवाले पनि समय चक्रसँगै अनेक परिवर्तन देख्यो र भोग्यो तर पनि उसले आफ्नो निरन्तरता राखिरहेकै थियो ।
सबैतिर अस्वाभाविक र द्रुत परिवर्तन भैरहेको थियो । जलवायुमा पनि ! पहिले विरलै आउने खडेरी आउने क्रम अलि छिटो भएको थियो । चार वर्षकै अन्तरालमै फेरि एक पटक फेरि भयानक खडेरी आयो । खोलाले त खडेरी शुरू हुनुभन्दा पहिले नै आफ्नो हात उठाइसकेको थियो । जरुवाले हिम्मत हारेको थिएन । तर बदलिएको समयले ल्याएको नवीन परिवर्तनसँग जरुवाले परिवर्तनका पाइलामा पाइला राखेर अगाडि बढ्न सकेन । गाउँ शहरमा विकासको मूल फुटेसँगै जरुवाको मूल पनि सुक्न थालिसकेको थियो । त्यो वर्ष उसले थेग्न सकेन । हजारौँ वर्ष नथाकेको ऊ पनि थाक्यो र आफ्नो कर्मबाट विश्राम लिनैपर्ने अवस्थामा पुग्यो । कुनै दिन जीवन दायिनी मानेर स्याहार सम्भार गरेको जरुवाप्रति मानिसहरूलाई कुनै वास्ता थिएन । खोला र जरुवाको सीमा भत्किएको थियो र यसको अधिकांश भाग भेलको बालुवाले पुरिएको थियो । मानिसहरूलाई जरुवा सुकेको बोध पनि भएन । चिन्ता हुने त झन् कुरै भएन । जरुवाको पानी विस्तारै सुक्यो । खाल्डोमा जम्मा भएको पानीमा खेलिरहेका माछाहरूलाई मूल सुक्दैछ भन्ने पत्तो भएन । उनीहरू निमग्न पौडिरहेका थिए तर मुहानमा फर्कने बाटो बन्द भैसकेको थियो । प्रचण्ड खडेरीमा खाल्डोको पानीले तीन चार दिनभन्दा बढी थेग्न सकेन र सुक्यो । माछाहरू छटपटाउन थाले ।
उता, रूख काटिएपछि जमीनमुनि सरेका कमिलालाई पनि गर्मीले छटपटी हुन थाल्यो । उनीहरू पनि छाया र चीसो खोज्दै जरुवातिर लागे । जरुवा सुकेको देखेर त्यहाँ पसे । माछाहरू अँझै छटपटाइरहेका थिए । अघिपछि कमिलाका हूल देख्दा खुशी हुने माछाहरू त्यो दिन कमिला देख्दा त्रसित बने । अघिपछि माछा देख्दा तर्सने कमिलाहरूलाई छटपटाइरहेका माछाहरू देख्दा महाभोजमा आएको जस्तो अनुभव भयो । अकल्पनीय पुरस्कार देखेपछि कमिलाको हूलले तुरुन्तै माछाहरूमाथि आक्रमण ग¥यो । कमिलाले माछालाई एकैछिनमा सिध्याए र फर्किए ।
सुकेको जरुवामा धेरै दिनसम्म पनि माछाको कङ्काल पल्टिरह्यो ।
