‘पलेँटी’ मा भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले यसअघि झण्डै सात वर्षअघि पनि पलेँटीको मञ्चमा छन्दकाव्य वाचन प्रस्तुत गर्नुभएको थियो ।
यस पटकको पलेँटीमा अग्रज र समकालीन कविहरूका करिब डेढ दर्जन काव्यात्मक रचनाहरू समेटिएको थियो । पलेँटीका वाद्यवादकहरूसहित मञ्चमा उपस्थित भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘वसन्त स्नान’ का रूपमा ग्रहण गरिदिन दर्शकसँग अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा उहाँले
‘कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।’
बोल समेटिएको मङ्गलगानबाट गर्नुभएको थियो । श्लोक वाचनका क्रममा उहाँको मुहारमा भावानुकूल करुण रसको स्निग्धता झल्किएको देखिन्थ्यो ।
काव्य साहित्यप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै भूषिताले यसपालिको पलेँटीलाई नवरस केन्द्रित बनाइएको जानकारी दिनुभयो । उहाँले ‘विभत्स’ र ‘भयानक’ रसलाई सचेत रूपमा समेटिएको छैन भन्दै ‘बसन्त स्नान’ जस्तो सुन्दर साँझमा ती रस घोल्न मन नलागेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम कवि सोमनाथ शर्मा सिग्द्यालको ‘बसन्त ऋतु’ शीर्षकको कविताबाट अघि बढ्दै मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, अग्निप्रसाद शर्मा बराल र भैरव अर्याल जस्ता मूर्धन्य कविहरूका रचनाहरूमा विस्तार भएको थियो ।
यसक्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराईका साथै आफ्नै सृजनाहरू पनि वाचन गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी लोकप्रिया देवकोटाको कविता प्रस्तुत गर्दै उहाँले महिलाहरूका लागि साहित्यमा स्थापित हुनु ऐतिहासिक रूपमा कठिन रहेको सन्दर्भ उठाउनुभयो । अङ्ग्रेज साहित्यकार भर्जिनिया वुल्फको निबन्ध उद्धृत गर्दै उहाँले ‘जुडिथ सेक्सपियर’ को उदाहरणमार्फत महिला स्रष्टाको संघर्षमाथि टिप्पणी गर्नुभयो ।
हास्यरसका कवि भैरव अर्यालको कविता वाचनका क्रममा उहाँले भानुभक्त र देवकोटाको परलोक भेटसम्बन्धी सन्दर्भ रोचक शैलीमा प्रस्तुत गर्नुभयो । सोही क्रममा भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ माथिको प्यारोडी पनि सुनाउनुभयो ।
कार्यक्रमको अन्तिम चरणमा बाल्यकालका स्मृतिमा डुब्दै पिताजीका दुई कविता वाचन गर्दा उहाँ भावुक बन्नुभएको थियो । अन्ततः स्वःरचित ‘हजुरआमालाई’ शीर्षकको कविता वाचनमा उहाँका गहहरू टिलपिलाएको देखिन्थे, जसको भाव दर्शकदीर्घासम्म फैलिएको अनुभूति हुन्थ्यो ।
कार्यक्रमको समापन लक्ष्मीप्रसाद देवकोटाको ‘एक सुन्दरी वेश्याप्रति’ शीर्षकको कविता वाचनबाट गरिएको थियो । पञ्चचामर छन्दमा आबद्ध उक्त कविता तालमय सुनिनुका साथै भूषिताको अनुहारमा भावअनुरूप रौद्रता पनि प्रकट भएको थियो ।
पलेँटीका संयोजकले भूषिताको काव्यवाचन मनमोहक मात्र नभई कविता र साहित्यप्रतिको उहाँको दृष्टिकोण र दर्शन विशेष महत्वको रहेको बताउनुभयो । उहाँले भूषिताको काव्यात्मक अध्ययन र अन्वेषणमार्फत नेपाली समाजको विकासक्रम र इतिहाससमेत चिहाउन सकिने टिप्पणी गर्नुभयो ।
वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, गिटारमा विक्रम कार्की तथा प्रकसन (रिदम र इफेक्ट) मा पारसमणि सुवेदीले साथ दिनुभएको थियो ।
पलेँटी प्रत्येक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो । दर्शकको मागलाई ध्यानमा राख्दै पलेँटीको पहिलो दिनको कार्यक्रम लाइभ स्ट्रिमिङ समेत गरिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमको अन्त्यमा आगामी मार्च, अप्रिल र मे महिनाको तालिका सार्वजनिक गरिएको थियो । यसअनुसार मार्चमा दुर्गा खरेलमार्फत दार्जिलिङका पुराना रचनाहरू अभिलेखीकरण गरिने, अप्रिलमा गायक पवन गोले र मे महिनामा संगीतकार रञ्जित गजमेर प्रस्तुत हुने जानकारी गराइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *