काठमाडौं/ नेपाली चलचित्रको बजारमा पछिल्लो समय एउटा प्रश्न बारम्बार उठ्ने गरेको थियो कि दर्शकलाई फेरि नेपाली चलचित्रका लागि हलसम्म कसरी फर्काउने ? एकपछि अर्को चलचित्र प्रदर्शनमा आए पनि अपेक्षित दर्शक नपाउने अवस्थाबीच अहिले प्रदर्शनरत “गौँथली” ले भने यो प्रश्नको जवाफ केही हदसम्म आफ्नै व्यापारबाट दिइरहेको छ । प्रदर्शनको दोस्रो साता पूरा हुन नपाउँदै चलचित्रले २० करोड रुपियाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ । व्यापारको यही गति कायम रहेमा आगामी केही दिनमै यसले अझै उचाइ लिने देखिएको छ ।
“गौँथली”को सफलतालाई केवल व्यापारको अंकबाट बुझ्दा यसको वास्तविक प्रभाव छुट्न सक्छ । चलचित्रले दर्शकलाई तान्नुको पछाडि यसको विषयबस्तु महत्वपूर्ण आधार बनेको देखिन्छ । ग्रामीण नेपाली समाजको परिवेशमा एउटा युवतीको जीवन, उसको शिक्षा प्राप्त गर्ने चाहना, परिवार र समाजका परम्परागत सोच, विवाह तथा त्यसपछि आउने जीवनका जटिलतामार्फत कथा अघि बढाइएको छ । महिलाको शिक्षा, बालविवाह, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारजस्ता विषय चलचित्रको कथाभित्र आएका छन् । यी विषय नेपाली समाजका लागि कुनै टाढाको कथा होइनन् । धेरै परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनुभव गरेका सामाजिक यथार्थ चलचित्रका पात्र र घटनामा देखिनु नै यसको भावनात्मक शक्ति बनेको देखिन्छ । निर्देशक डा. कपिल रिजालले पुरानो कथाभूमिलाई नयाँ पुस्ताको चलचित्रका रूपमा प्रस्तुत गरेका कारण “गौँथली” मा विगतको भावनासँग वर्तमान पुस्ताको प्रस्तुति जोडिएको छ । अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झालगायतका कलाकारको अभिनयले कथालाई अगाडि बढाएको छ । विशेषतः अरुण क्षेत्रीले निर्वाह गरेको फरक क्षमताको पात्रले चलचित्रलाई केवल महिला शिक्षा वा बालविवाहको कथामा सीमित नराखी सामाजिक संवेदनाको अर्को पाटोसँग पनि जोडेको छ ।
चलचित्रको व्यावसायिक यात्रालाई हेर्दा यसको अर्को उल्लेखनीय पक्ष शोको निरन्तरता हो । कुनै चलचित्रले पहिलो केही दिन राम्रो व्यापार गर्नु अस्वाभाविक होइन । नयाँ चलचित्रप्रतिको उत्सुकता, कलाकारको चर्चा, प्रचार र पहिलो सप्ताहन्तको फुर्सदले सुरुआती कारोबार बढाउन सक्छ । दोस्रो सातातर्फ प्रवेश गर्दा पनि दर्शकको चासो कायम रहनु भने फरक कुरा हो । “गौँथली” ले यही चुनौती पार गरेको देखिन्छ । दर्शकको उपस्थिति कमजोर भएको भए हलले शो घटाउँदै जाने थिए । मागअनुसार शो कायम रहनु वा कतिपय स्थानमा बढ्नु चलचित्रप्रति दर्शकको रुचि टिकिरहेको संकेत हो । यसमा सामाजिक सञ्जालको प्रचारभन्दा पनि चलचित्र हेरेर निस्किएका दर्शकले अरूलाई दिएको प्रतिक्रियाको भूमिका महत्वपूर्ण देखिन्छ । एउटा परिवारले चलचित्र मन पराएपछि अर्को परिवारलाई हेर्न प्रेरित गर्ने र साथीभाइबीच चलचित्रबारे कुराकानी बढ्ने अवस्थाले यसको दर्शक दायरा विस्तार गर्न सहयोग गरेको देखिन्छ ।
“गौँथली” को दर्शक आकर्षणको अर्को कारण यसको परिवारसँग बसेर हेर्न सकिने कथानक पनि हो । पछिल्ला नेपाली चलचित्रमध्ये कतिपय विशेष उमेर समूह वा निश्चित स्वाद भएका दर्शकलाई लक्षित देखिन्छन् । “गौँथली” मा परिवार, शिक्षा, विवाह, सम्बन्ध र सामाजिक सोचजस्ता साझा विषय भएकाले अभिभावकदेखि युवा पुस्तासम्मले कथासँग सम्बन्ध स्थापित गर्न सक्ने अवस्था बनेको छ । विशेषतः महिलासँग सम्बन्धित विषयलाई केन्द्रमा राखिए पनि चलचित्र महिलाका लागि मात्र बनेको छैन । एउटी छोरीको भविष्यबारे परिवारले गर्ने निर्णय, विवाहपछि बदलिने जीवन र समाजले व्यक्तिको इच्छालाई हेर्ने दृष्टिकोणजस्ता विषयले पुरुष दर्शकलाई पनि सोच्न बाध्य बनाउने ठाउँ सिर्जना गर्छन् ।
यही कारण “गौँथली” को व्यापारलाई नेपाली चलचित्रमा आएको एउटा सकारात्मक संकेतका रूपमा समेत हेर्न सकिन्छ । लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा एउटा गुनासो थियो कि दर्शक राम्रा विदेशी चलचित्र हेर्न पैसा खर्च गर्न तयार छन् तर नेपाली चलचित्रका लागि त्यही दर्शकलाई आकर्षित गर्न कठिन छ । “गौँथली” को प्रदर्शनले समस्या दर्शकमा मात्र नभएर दर्शकलाई दिइने चलचित्रको विषय र प्रस्तुतिमा पनि हुन सक्छ भन्ने प्रश्न उठाएको छ । दर्शक नेपाली चलचित्र हेर्न इच्छुक छैनन् भन्ने निष्कर्ष निकाल्नुभन्दा पहिले उनीहरूलाई कस्तो कथा दिइयो भन्ने मूल्यांकन गर्नुपर्ने देखिन्छ ।
चलचित्रको व्यापारमा मोफसलको भूमिका पनि महत्वपूर्ण हुन्छ । काठमाडौंमा रहेका ठूला मल्टिप्लेक्समा राम्रो शो पाउनु मात्र पर्याप्त हुँदैन । नेपाली चलचित्रको वास्तविक बजार देशका विभिन्न सहर र जिल्लामा फैलिएको छ । “गौँथली” ले राजधानीबाहिर पनि दर्शक आकर्षित गर्न सकेको अवस्थाले नेपाली चलचित्रको बजारलाई काठमाडौं केन्द्रित दृष्टिले मात्र हेर्न नहुने देखाउँछ । ग्रामीण र अर्धशहरी जीवनसँग जोडिएको कथाले ती भूगोलका दर्शकमा स्वाभाविक अपनत्व पैदा गर्न सक्ने भएकाले चलचित्रको विषयले नै बजार विस्तारमा सहयोग पु¥याएको देखिन्छ ।
यसबीच “गौँथली” को सफलतालाई केवल करोडको अंकमा सीमित गर्नु पनि उचित हुँदैन । २० करोड रुपियाँको यात्रा नघाएर २५ करोडको यात्रा निश्चित रूपमा निर्माण पक्षका लागि उत्साहजनक उपलब्धि हो । चलचित्रको अन्तिम सफलता निर्धारण गर्दा निर्माण लागत, वितरक तथा हलको हिस्सा, विदेश प्रदर्शनबाट प्राप्त आम्दानी र समग्र लगानीको प्रतिफलसमेत हेर्नुपर्ने हुन्छ । त्यसैले अहिलेको अवस्थामा २० करोडलाई एउटा महत्वपूर्ण व्यापारिक कोशेढुंगाका रूपमा लिन सकिन्छ, अन्तिम सफलताको सम्पूर्ण मापदण्डका रूपमा होइन ।
व्यापारसँगै “गौँथली” ले नेपाली चलचित्र उद्योगलाई दिएको सन्देश अझ महत्वपूर्ण छ । दर्शकलाई हलसम्म तान्न ठूलो बजेट मात्र पर्याप्त हुँदैन, कथा पनि ठूलो हुनुपर्छ । आफ्नै समाजका विषयलाई विश्वसनीय ढंगले पर्दामा उतार्न सकियो भने दर्शकले त्यसमा आफ्नो जीवनको छाया भेट्न सक्छन् । चलचित्रको प्रचारले दर्शकलाई टिकट किन्न उत्प्रेरित गर्न सक्छ, कलाकारको लोकप्रियताले शुरुआती आकर्षण सिर्जना गर्न सक्छ, तर राम्रो प्रतिक्रिया नआए त्यो आकर्षण लामो समय टिक्दैन । “गौँथली” ले भने पहिलो उत्सुकतालाई दर्शकको प्रतिक्रियामा रूपान्तरण गर्न सकेको देखिन्छ ।
अझ महत्वपूर्ण कुरा, नेपाली चलचित्रमा सामाजिक विषय उठाउँदा त्यो “उपदेश” बन्नु हुँदैन भन्ने चुनौती पनि हो । दर्शकलाई शिक्षा दिने नाममा चलचित्रले लगातार भाषण गर्न थाल्यो भने मनोरञ्जन हराउन सक्छ । “गौँथली” ले कथा, पात्र र सम्बन्धमार्फत विषय उठाउने प्रयास गरेका कारण यसको सन्देश दर्शकसम्म भावनात्मक रूपमा पुग्न सकेको देखिन्छ । यही सन्तुलन नेपाली चलचित्र निर्माणका लागि पनि सिकाइको विषय बन्न सक्छ ।
अबको प्रश्न “गौँथली” ले २५ करोड रुपियाँको व्यापार कट्छ कि कट्दैन भन्नेमा मात्र सीमित छैन । प्रश्न यो हो कि के नेपाली चलचित्रले दर्शकको यो नयाँ विश्वासलाई निरन्तरता दिन सक्छ ? एउटा चलचित्र सफल हुनु उद्योगका लागि उत्सवको विषय हो, तर त्यसबाट अर्को चलचित्रले सिक्न नसक्नु भने उद्योगका लागि घाटा हो । “गौँथली” को व्यापारबाट निर्माताले दर्शकको रुचि बुझ्न सक्छन्, निर्देशकले विषय छनोटको नयाँ सम्भावना देख्न सक्छन् र कलाकारले चरित्रप्रधान अभिनयको महत्त्व बुझ्न सक्छन् । हल सञ्चालकले पनि नेपाली चलचित्रलाई पर्याप्त अवसर दिँदा दर्शक आउँछन् भन्ने अनुभव लिन सक्छन् ।
यसरी हेर्दा “गौँथली” अहिले केवल पर्दामा चलिरहेको चलचित्र होइन, नेपाली चलचित्र बजारमा दर्शकको विश्वास फर्कन सक्छ भन्ने सम्भावनाको एउटा बलियो संकेत बनेको छ । अब यसले बनाएको माहोललाई नेपाली चलचित्र उद्योगले कसरी उपयोग गर्छ भन्ने नै महत्वपूर्ण हुनेछ । एउटा “गौँथली” ले बाटो देखाउन सक्छ तर त्यो बाटोमा निरन्तर चलचित्रहरू हिँड्न थाले मात्र नेपाली चलचित्रको बजार साँच्चिकै फराकिलो बन्नेछ ।
“गौँथली” को उडान २० करोडमाथि
Facebook Comments Box
