(कतार) l २०४६ सालभन्दा अगाडि पञ्चायती अथवा निर्दलीय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरी कम्युनिष्टहरुले पनि भाग लिने गरेका थिए । उनीहरुले मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरुको नाममा चुनावमा भाग लिने गरेको प्रायः हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायतकालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनतामाझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरुप्रतिको आमजनताको आशक्ति नै अलग्गै हुने गथ्र्याे । त्यतिखेर अधिकांश जनपक्षीय उम्मेदवारहरु अत्याधिक मतका साथ जित हासिल पनि गर्ने गर्थे ।
अहिले यसो सोचौँ त ! उ बेला जनपक्षीय उम्मेदवारहरु किन त्यति धेरै लोकप्रिय हुने गर्थे त ? कुरा सामान्य छ । त्यतिखेरको निरङ्कुश पञ्चायती व्यवस्थाले आमजनताका मौलिक अधिकार खास गरेर विचार र अभिव्यक्तिको स्वतन्त्रतामा प्रतिबन्ध लगाएको अवस्था थियो । आमजनतालाई शान्तिपूर्वक भेलाभएर आफ्ना कुराहरु राख्न पञ्चायती कानूनले रोक लगाएको अवस्था थियो । शोषित, पीडित तथा अन्यायमा परेका जनताको पक्षमा आवाज उठाउन सहज थिएन । आमजनता एक प्रकारले निसास्सिएर बस्नु परेको अवस्था थियो ।
उल्लेखित अवस्थामा आमजनताले त्यतिखेरका जनपक्षीय उम्मेदवारहरुमार्फत आफ्ना आधारभूत मौलिक अधिकारहरुको रक्षा हुने र आपूmहरु अन्यायमा पर्दा उनीहरुमार्फत सहज रुपमा न्यायप्राप्त गर्न सकिने एउटा ठूलो आशा अपेक्षा गरेका हुन्थे । जनपक्षीय उम्मेदवारलाई आफ्नो प्रतिनिधि बनएर पठाउन सके, उनीहरु आमजनताको इच्छा आकांक्षा अनुरुप चल्ने छन्, शोषित, पीडित तथा अन्यायमा परेका आमजनताको हितमा काम गर्ने छन् भन्ने एउटा जबरजस्त विश्वास त्यतिखेरका हरेक आमजनतामा रहने गरेको थियो ।
अहिले आश्चर्यलाग्दो कुरा के छ भने प्रजातन्त्र÷लोकतन्त्रप्राप्तिको तीन दशकपछि हाम्रो देशको जनमत पुनः एक पटक जनपक्षीय उम्मेदवारतर्फ ह्वातै मोडिएको छ । आमजनताले लोकतन्त्र समर्थक दलहरुले उठाएका उम्मेदवारहरुलाई बेवास्ता गर्दै स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन थालेका छन् । उदाहरणका रुपमा धरान उपमहानगरबाट हर्क साम्पाङ, धनगढीबाट गोपाल हमाल, बर्दीबास न.पा. र जनकपुरबाट स्वतन्त्र उम्मेदवारले सानादार जित हासिल गरिसकेका छन् । काठमाडौं महानगरपालिकाबाट वालेन्द्र साहको जित सुनिश्चित बनिसकेको छ ।
यसको अतिरिक्त झापा क्षेत्र नम्बर ३ का माननीय राजेन्द्र लिङ्देनले नेतृत्व गरेको हिन्दू धर्म तथा राजा समर्थक दल राप्रप्राप्रति जनलहर उत्तिकैसंँग उर्लिएको अवस्था छ ।
यस्तो अवस्थामा, एउटा गम्भीर प्रश्न हामी सबैको मनमा उब्जिएको हुन सक्छ त्यो के भने, देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत भएको पनि १४ वर्ष पुगिसक्यो । देशको नयाँ संविधानले सबै मानिसलाई सम्मानपुर्वक बाँच्न पाउने हक प्रदान गरेको छ । सबै मानिस कानूनका दृष्टिले समान हुने भनिएको छ । कुनै पनि बहानामा राज्यले कसैलाई काखा र कसैलाई पाखा गरी भेदभाव गर्न पाउने छैन भनेर स्पष्टसँंग उल्लेख गरिएको छ । कुनै पनि व्यक्तिलाई उसको वैयत्तिक स्वतन्त्रताबाट बन्चित गरिने छैन भनिएको छ । प्रत्येक नागरिकलाई रोजगार लयायत निःशुल्क स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गरेको छ ।
हाम्रो देशको अहिलेको संविधानमा एउटा आमनागरिकले सोचेको खोजेको यस्ता तमाम् कुराहरु उल्लेख गरिएका छन् । हाम्रो संविधान साँच्चिकै उत्कृष्ट छ तर पनि किन एकाएक देशमा यस्तो परिस्थितिको सिर्जना हुन पुग्यो ?
एक पंक्तिमा यसको सटिक उत्तर के हुन सक्छ भने “संविधामा उल्लेख गरिएका कुराहरुलाई आमजनताले व्यावहारिक रूपमा अनुभव गर्न नपाउनु ।’’ यसलाई थोरै विस्तृत रुपमा भन्ने हो भने हाम्रो देशमा स्थापित ठूला–ठूला राजनीतिक दलका नेताहरुको आमजनताप्रतिको गैरजिम्मेवार चरित्र, आचरण नै हो । उनीहरु आमजनताका न्यूनतम आवश्यकता र चासोप्रति उत्तरदायी बन्न नसक्नु । देश र आमजनताको हितमा भन्दा पनि आफ्नो परिवार, नातेदारहरुको हितमा धेरै केन्द्रित हुनु । आमजनताका दुःख पीडाहरुलाई जान्नबुझ्न इच्छुक नहुनु । आमजनताप्रति एउटा अपनत्वको भाव दर्शाउन नसक्नु । पैसा र शक्तिलाई नै सर्वोपरी मानेर आमजनताका भावनाहरुलाई निर्मम बनेर कुल्चनु । भ्रष्ट तथा कमिसनखोरहरुको चङ्गुलबाट बाहिर निस्कन नसक्नु अर्थात् भ्रष्ट तथा कमिसनखोरहरुको पक्षपोषण गर्नु आदि ।
यस्तै बिषयमा केही दिन पहिला यो पङ्तिकारलाई आपूm पढे बढेको गाउँ झापा, गोलधापका एकजना प्रगतिशील विचार राख्ने साथीसँंग टेलिफोनमा कुरा गर्ने मौका मिलेको थियो । कुरैकुरामा ‘हैन तपाईंको हल्दिवारीमा त दुई हजार भन्दा पनि धेरै मतान्तरले राप्रपाका रविन्द्र लिङ्देनले प्रमुख पदमा जित्लान् जस्तो देखिँदै छ, यो के भैरहेको छ ?’ भनेर गरेको प्रश्नको उत्तरमा ती साथीको जवाफ थियो “हिजो मण्डले भनिनेहरुको आचरण आज कम्युनिष्टहरुको जस्तो भएको छ र आजका कम्युनिष्टहरुको आचरण हिजोका मण्डलेहरुको जस्तो बनेको छ ।’’ यसले के स्पस्ट पार्छ भने हामीले परिवर्तन त ल्यायौँ तर हामी भित्रको निष्ठा, इमान्दारिता र सत्यलाई भने कायम राख्न सकेनौं । परिवर्तनसँगै परिवर्तनकारी भित्रको सादगी र सरलतालाई उन्माद र अहंकारले ध्वस्त र भ्रष्ट पारिदियो ।
खैर, स्वतन्त्र अर्थात् जनपक्षीय उम्मेदवारका रूपमा उठेर जो जसले विजयप्राप्त गरिरहेका छन्, उनीहरूले अन्य जनप्रतिनिधिहरुको तुलनमा आ–आफ्नो ठाउँबाट पक्कै पनि केही फरक ढङ्गले राम्रो काम गरेर देखाउने सक्दो कोशिस गर्ने छन् । यो संँगसँंगै उनीहरुले अहिलेसम्म हुँदै आएका भ्रष्टाचार, अनियमितता लगायतका जनविरोधी कामहरूको जनता सामु पर्दाफास पनि गर्ने छन् । भोलि गएर यसले आगामी चुनाव तथा देशको राष्ट्रिय राजनीतिमा नै एउटा अलग्गै परम्पराको थालनी गर्न नसक्ला भनेर भन्ने अवस्था अब रहेन । आगामी दिनहरूमा यो कुरा अहिलेका स्थापित ठूला राजनीतिक दलहरुका लागि निक्कै नै चुनौतीपूर्ण बन्ने पक्का छ ।
dhakalrp@gmail.com