निर्वाचनमा गठबन्धन सफल :: कांग्रेसमाथि जिम्मेदारी :: माहौल फेरियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l बैशाख ३० गते भएको स्थानीय निर्वाचनको केही पालिकाको बाहेक सबैजसो पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएका छन् । पछिल्लो अवस्था अनुसार काठमाडौं महानगरपालिकाको आज शुक्रबारसम्ममा मतगणना सम्पन्न हुने अनुमान गरिएको छ । यसैगरी केही पालिकामा मतगणनको थालनी नै पछि गरिएकाले तिनीहरुको मत परिणाम आउन बाँकी नै छन् । यसैगरी बाजुराको एउटा पालिकाको मतदानको विषयलाई लिएर निर्वाचन आयोगले कुनै निर्णय नदिएका कारण त्यहाँको मतगणना प्रारम्भ हुन पाएको छैन । हालसम्मको मत परिणामलाई आधार मान्दा सत्तारुढ दल नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा उदाउन पुगेको छ । यस पटकको निर्वाचन परिणामले कांग्रेसको लोकप्रिय मत बढ्नुको साथै कांग्रेसलाई २०४९ सालको स्थानीय निर्वाचनको अवस्थामा पु¥याइदिएको छ ।

यस पटकको निर्वाचन अलि फरक ढंगबाट भएको थियो । पहिलेका निर्वाचनहरुमा दलहरु आफ्नै ढंगबाट छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिने गरेका थिए । गत स्थानीय निर्वाचनताका केही स्थानमा चुनावी तालमेल भएका थिए भने गत संघीय र प्रदेशको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा तालमेल गरेका थिए । एउटा दलको तर्फबाट उम्मेदवारी परेको पदमा अर्को दलले उम्मेदवार नै उठाएका थिएनन् । पछि उनीहरुले दुवै दललाई एकीकरण गरेका थिए । उनीहरुको एकीकरण तीन वर्ष पनि टिक्न सकेन । अहिले उनीहरु पहिलेकै अवस्था अर्थात् छुट्टाछुट्टै दलको रुपमा रहन पुगेका छन् । त्यो बेला एमालेले हृदयेश त्रिपाठीको समूहसँग समेत तालमेल गरी उम्मेदवार बनाएको थियो । त्यो समूहले एमालेको निर्वाचन चिन्ह लिएर निर्वाचनमा उठको मात्र होइन कि निर्वाचित नै भएका थिए । एमालेको निर्वाचन चिन्हबाट जितेर आएका उनीहरुले आफ्नो समूहलाई छुट्टै पहिचानमा राख्ने अनौठो कार्यको थालनी पनि एमाले नै गराएको थियो ।

यो निर्वाचनमा भने सबैजसो दलहरुले तालमेल वा गठबन्धन बनाएर चुनावमा गए । हालको सत्तारुढ दलहरुले घोषित रुपमा गठबन्धन बनाए । एमालेले पहिले गठबन्धनको विरोध गर्दै आफ्नो दल एक्लै लड्ने भनी फूइँ हाक्यो । एमाले आफ्नो फूइँमा टिक्न सकेन । एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग घोषित रुपमा तथा अन्य दलहरुसँग स्थानीय तहमा भन्दै तालमेल गर्न पुग्यो । एमाले कतिसम्म निर्लज्ज रुपमा देखा प¥यो भने उसले कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीका छोरासँग व्यक्तिगत गठबन्धन गर्न समेत पुग्यो । यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवाबाट रुष्ट भएका डडेलधुराका कांग्रेसका नेता कर्ण मल्लसँग समेत सम्झौता गरी एमालेले तालमेल गरी उम्मेदवार बनायो । एमालेले राजपा, जनमत पार्टी, राप्रपा, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा समेतसँग तालमेल तथा गठबन्धन बनाई निर्वाचनमा उत्रियो ।

एमालेले यस्तो गठबन्धन वा तालमेल बनाए पनि उसले आफू जित्नु बाहेक अन्यलाई भने पछार्ने कार्य मात्र गरेको आरोप लागेको छ । यसैगरी यस पटक घोषित रुपमा गठबन्धन गरेका सत्तारुढ दलहरुले समेत समग्रमा २० प्रतिशत स्थानमा मात्र गठबन्धन गर्न पुगेका थिए । यसरी गरिएको गठबन्धनलाई धेरैजसो स्थानहरुमा मतदाताले साथ दिन रुचाएनन् । कांग्रेस र माओवादी केन्द्रका बीच भएको गठबन्धन अलि बढी रुपमा प्रभावकारी देखिएको पाइयो । यसैगरी एकीकृत समाजवादीले भने अपेक्षाकृत रुपमा जनमत देखाउन सकेन । यो दलको खासै जनमत नभएका कारण यो दललाई दिइएको स्थानमा समेत यो दलका उम्मेदवारहरुले नतिजा आफ्नो पक्षमा खासै रुपमा पार्न सकेनन् । उनीहरुको आफ्नो खासै जनमत नभएको अवस्थामा कांग्रेस वा माओवादी केन्द्रका तर्फबाट मात्र उनीहरुका लागि मत खसाइदिनु पर्ने जस्तो अवस्था देखिएका कारण उक्त दलले अपेक्षा गरे अनुसारको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न नसकेको बताइएको छ ।

यसरी हेर्दा यस पटकको निर्वाचनमा गठबन्धन गरी निर्वाचनमा होमिने संस्कार बढेर आएको पाइयो । यस कार्यमा कुनै पनि दल अछुतो देखिएनन् । यसरी दलहरुले गठबन्धन गर्दा तथा निर्वाचन आयोगले जिल्लामा दर्ता भएका सबै दलको चुनाव चिन्ह मतदानपत्रमा समावेश गर्दा त्यसले आम मतदातालाई समस्या पारिदियो । आयोगले उम्मेदवारी नै नपरेका दल तथा चिन्ह शुरुमै मतदानपत्रमा राखी प्रकाशन गर्ने कार्य गरेका कारण त्यसले मतदातालाई मतदान गर्न नै समस्यामा पारिदियो ।

आयोगले समय भन्दा पहिले नै मतपत्र छापेर बस्ने कार्य गरेको थियो । यसैगरी महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्रमा उम्मेदवारहरुमा मात्र चिन्ह राख्ने भनी आयोगले जानकारी दिए विपरित पुरानै ढाँचामा मतपत्र छापेको थियो । एमालेको प्रभाव तथा दबाबमा परी आयोगले आफ्नो निर्णय त्यागी एमालेको निर्देशन बमोजिम मतपत्र छपाइ गर्दा त्यसले आमजनतालाई मतदान गर्न समस्या पारिदियो ।

ठूलो आकारको मतपत्र तथा अनावश्यक चिन्हहरु समावेश भएका कारण मतदान गर्न समस्या परेको थियो । यसैगरी विभिन्न दलहरुले गठबन्धन गरेका कारण पनि मतदान गर्दा विभिन्न चिन्ह छान्न मतदातालाई समस्या परेको थियो । आयोगको यो त्रुटीका कारण ४० प्रतिशतको हाराहारीमा मत बदर हुन पुगे । जनताले लाम लागेर गरेको मतदान बदर हुनु भनेको लज्जास्पद कार्य हो । यसले गर्दा एउटा जनमत आउनु पर्नेमा कतिपय स्थानका अर्को जनमत समेत आएको पाइएको छ ।

यो निर्वाचनबाट कांग्रेसले आपूmलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गर्न सफल भएको छ । कांग्रेसले २०४९ सालको स्थानीय निर्वाचनको जस्तै निर्वाचन परिणाम हासिल गर्न सफल भएको छ । कांग्रेसले यस निर्वाचनमा समग्रमा आठ प्रतिशत लोकप्रीय मत बढाएको कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् । यसैगरी एमालेको लोकप्रीय मतमा छ प्रतिशतले कमी आएको बताइएको छ ।

यस पटकको निर्वाचनमा दलहरुका बीचमा जे जस्तो प्रतिस्पर्धा भए पनि स्वतन्त्र उम्मेदवारहरुका कारण माहौल नै अर्को बन्न पुगेको पाइयो । खासगरी काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका वालेन्द्र साह (वालेन) निर्वाचित हुने अवस्था आउनुले दलहरुलाई झस्काउने कार्य गरेको छ । दलीय प्रतिस्पर्धामा रहेका दलहरुको भन्दा दोब्बर मतका साथ उनी निर्वाचित हुने अवस्था बन्न पुग्यो । यसले काठमाडौंका जनताको परिवर्तनको पक्षमा मत रहेको देखियो । यस्तै अवस्था धरान उपमहानगरपालिकामा पनि देखियो । धरानमा दलहरुलाई पछि पार्दै हर्कराज साम्पाङ प्रमुखमा निर्वाचित भए । यस्तै अवस्था जनकपुरधाम र धनगढी उपमहानगरपालिकामा समेत देखियो । त्यहाँ पनि स्वतन्त्रले नै निर्वाचित हुने अवसर पाए ।

यसैगरी बर्दीबास नगरपालिका लगायतका सात पालिकाको प्रमुखमा स्वतन्त्रहरु निर्वाचित हुन पुगेका छन् । कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिन पुगे । दलहरुको छनौटमा नपरेका तर जनताको रोजाइमा परेका स्वतन्त्र उम्मेदवारहरुले समेत आफ्नो हैसियत देखाउने अवसर पाए ।

यस पटकको निर्वाचन परिणामलाई लिएर सबैभन्दा ठूलो धक्का एमालेलाई लागेको छ । निर्वाचनअघि आफ्नो दल सबैभन्दा ठूलो दल बन्नेमात्र होइन कि माओवादी केन्द्र र एकीकृत समाजवादी हैसियतविहीन बन्न पुग्ने भनी धाक देखाउने कार्य एमालेले गरेको थियो । एमालेको धाक विपरित ती दलले पनि उल्लेख्य हैसियत देखाएका छन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रमुखमा निर्वाचित हुन पुगे । यसैगरी हेटौंडा उपमहानगरपालिकामा पनि उक्त दलका तर्फबाट उम्मेदवार बनेकी मीना लामाले प्रमुखमा निर्वाचित हुने अवसर पाइन् ।

यसैगरी विभिन्न नगरपालिका तथा गाउँपालिकामा समेत एकीकृत समाजवादीले एमालेलाई धक्का दिन सफल भयो ।

एमालेले माओवादी केन्द्रलाई सिध्याउनका लागि हात धोएर लागेको अवस्थामा पनि भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारलाई जिताउन गठबन्धनका दलहरु सफल भए । एमालेले प्रतिष्ठाको रुपमा लिएको भरतपुर महानगरपालिकामा एमाले पहिलेको हैसियतभन्दा धेरै तल पुग्यो ।

यो निर्वाचनमा अन्तर्घातको सिकार दलहरु बने । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो दल हार्नुमा आन्तरिक अन्तर्घात प्रमुख कारकतत्वको रुपमा रहेको भनी सार्वजनिक रुपमा भनेका छन् । यसैगरी अन्य दलहरुले समेत यसको सामना गर्नु परेको देखिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *