भ्रमण वर्षको अवधारणाले सफलता पाउला ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

अनुसा थापा
संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सन् २०२३–२०३३ सम्म भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेका छन् । उनले बनाएको कार्यविधिले पर्यटन तान्न सक्ला त ? किनकि विदेशीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै ठगिन थाल्छन् ।
विदेशी ठग्ने व्यवसायीलाई कारबाही गर्नुको साटो पर्यटनमन्त्री श्रेष्ठ भ्रमण वर्ष मनाउन लागिपरेका छन् । बेतिथि हट्यो भने विदेशी आफैं ओइरिहाल्छन् । सर्वप्रथम विदेशी लुट्ने हरेक व्यवसायीलाई कारबाही हुनुपर्छ । जरिवाना गरिनुपर्छ । राम्रो र गुणस्तरीय वातावरणको प्रबन्ध मिलाउनुपर्छ । यसो गरेमा विदेशी तान्नका लागि छुट्टै कार्यविधि बनाउनै पर्दैन ।
नेपालमा भएको महंगी र ठगीले गर्दा विदेशीहरु आप्mनो बसाई छोट्याएर धमाधम आफ्नो मुलुक फर्किरहेका छन् । सरकारले अनुगमन नगर्ने अनि विदेशीलाई बोलाई बोलाई ठग्न दिने कार्य भैरहेको भन्ने बुझाइमा विदेशीहरु पुग्न थालेको अवस्था छ ।
काठमाडौं उपत्यका बाहिर ढंगको सवारी साधन नहुँदा टाँगा, रिक्सामा यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानीबाहेक अन्य जिल्लामा ट्याक्सी पनि पाइँदैन । अनि विदेशीलाई अर्को सास्ती हुन्छ । कतिपय अवस्थामा विदेशी नागरिकको अकालमा ज्यान समेत गुमेको छ । पथप्रदर्शकहरुले जोखिमपूर्ण ठाउँमा यात्रा गराउँदा उनीहरु भीरबाट खसेर मृत्युवरण गर्न पुगेका छन् । विदेशीहरु मठमन्दिरमा दर्शन गर्न पुग्छन्, त्यहीँ माग्नेहरुले धुरुक्कै रुवाउँछन् । बजार निस्किँदा पनि उनीहरुको हाल बेहाल हुन्छ । नेपाल त माग्नेको देश हो भन्ने छाप हरेक देशका नागरिकलाई परिसकेको छ ।
यसैगरी उपत्यका होस् या बाहिर सडकभरि फोहोर छ । सडकमा फोहोर हेरेर नेपालीलाई त हिंड्न गाह्रो परिरहेको बेला विदेशीहरु आउलान् ? प्रदूषणको अवस्था पनि बेहाल छ । श्वास फेर्नसमेत ग्राहो पर्न थालेको छ । अनि विदेशी ल्याएर नेपालमा कसरी राख्ने ? तराईभन्दा बढी गर्मी काठमाडौंमा भइसकेको छ । सवारी साधनको धुलो त्यस्तै छ । आफ्नो देशका जनतालाई भ्रमणमा प्राथमिकता दिने हो भने विदेशीको मुख ताक्नै पर्दैन ।
लुम्बिनीमा भएका विद्युतीय ट्याक्सी र बसभित्र घाँस उम्रिसकेको छ । विमानस्थलबाट होटलसमेत लैजानका लागि भनेर चीन सरकारले दिएको सवारी साधन त्यत्तिकै खेर गयो । पर्यटनमन्त्री श्रेष्ठले एयरपोर्टमा ट्याक्सी खोल्न यातायात मन्त्रालयलाई दबाब दिन आवश्यक छ । उपत्यकामा मात्र नभई हरेक जिल्लामा पर्यटन बोक्न ट्याक्सीको खाँचो देखिएको छ । मन्त्री श्रेष्ठले ७३ बुँदामा यो विषय किन समावेश गरेनन् ?
विदेशीलाई यहाँ ल्याएर पैदलयात्रा गराउने हो र ? २०६९ माघमा यातायात कार्यालय, एकान्तकुनाले पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न यातायात व्यवस्था विभागसंँग माग गरेको थियो । त्यो पनि लक्जरियस्, राम्रो सेवासुविधा दिन सक्ने । अहिले सञ्चालन भएका ट्याक्सीले स्वदेशी र विदेशीलाई गुणस्तरीय सेवा दिन सकेको कार्यालयको ठम्याई थियो । यी ट्याक्सी उपत्यका बाहिर पुगे भने फर्किएर आउन नसक्ने भनेर कार्यालयले स्पष्ट रुपमा भनेको थियो । अहिले ट्याक्सीको परमिट उपत्यकामा मात्र छ ।
विदेशी भ्रमण वर्ष बनाउने हो भने हरेक क्षेत्रमा भएका बेतिथि र समस्यालाई नजिकबाट नियाल्न जरुरी छ । नयाँ ट्याक्सीको दर्ता खोल्न जनताले पटक पटक माग गर्दा पनि सुनुवाई भएको छैन । सरकार जिम्मेवार बनिदिने हो भने स्वदेशी र विदेशी दुवैले सुःखको श्वास फेर्न पाउलान् । फोहोर व्यवस्थापनमा सरकारको ध्यान जाओस् । नेपाल आएका विदेशीको सुरक्षाको निश्चितता सरकारले लिनुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *