मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।
नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताए । कुनै पनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक, अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताए । उनले नर्सहरुलाई उत्साहित पार्दै ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ भने ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षत्रीले नर्सिङ सेवालाई मर्यादित, सम्मानीत बनाउँदै लैजानुपर्ने औंल्याए । कलेज प्रशासन नर्सिङ सेवालाई प्रभावकारी बनाउन र नर्सिङ क्षेत्रका जनशक्तिहरुको व्यवस्थापनमा सदैव सकारात्मक रहेको बताए । कार्यक्रममा भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहट्ठा, डाइरेक्टर डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, नर्सिङ स्टाफ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा कलेजले १० वर्षदेखि नर्सिङ पेशामा सक्रिय स्टाफ नर्सहरुलाई सम्मान गरेको थियो । कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो ।
कार्यक्रममा कलेजका नर्सहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शनी गरेका थिए । नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचाररत करिब एक सय ३० जना बिरामीहरुलाई फलपूmल समेत वितरण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *