अनुसा थापा
नेपालीमा एउटा उखान छ, ‘नबिराउनु, नडराउनु ।’ यसको अर्थ गल्ती गरेको छैन भने किन डराउने भन्ने हो । हाम्रो घरपरिवारमा पनि यो पाठ सिकाइएको हुन्छ । गल्ती नगर्ने व्यक्ति न समाजसँग डराउँछ न मुख नै छोपेर हिँड्नुपर्छ । तीन दशकअगाडिसम्म भनिन्थ्यो, ‘शिर ठाडो पारेर मुख नछोपिकन हिँड्नुपर्छ । नत्र केही गल्ती गरेको ठान्छन् ।’
अहिले अवस्था यस्तो बनेको छ कि कोही मुख नछोपिकन हिँड्नै सक्दैन् । कारण हो वायू प्रदूषण । जोकोही मास्क लगाएर हिँडिरहेका हुन्छन् । सरकारी कार्यालयमा कर्मचारी मास्क नै लगाएर बसिरहेका हुन्छन् । यता, पसलमा व्यापारी–ग्राहक, शिक्षालयमा शिक्षक–विद्यार्थी पनि मास्कमै देखिन्छ ।
सार्वजनिक यातायात चढ्दा होस् या सार्वजनिक स्थलमा सबै मास्क लगाएर बसिरहेका हुन्छन् । अवस्था यस्तो छ कि आफ्नै घरभित्र मास्क लगाउनुपर्ने बाध्यता छ । पछिल्लो समय मुलुकमा वायू प्रदूषण ह्वात्तै बढेको छ । काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरहरुमध्येमा गनिन थालेको छ ।
धुँवा–धुलो र प्रदूषणले सर्वसाधारणलाई घरबाट बाहिर निस्किन हम्मेहम्मे बनाइदिएको छ । वायू प्रदूषण बढेका कारण उपत्यकाभित्र घाम लाग्न छोडेको छ । धुँवा–धुलोको कारणले नेपालीहरु बिरामी बन्दै गएका छन् । छालाको रोगी दिनप्रतिदिन बढ्दै गएका छन् । कतिपयलाई श्वास फेर्नै गाह्रो परेको छ ।
बाहिर निस्कनेबित्तिकै आँखा चिलाउन थाल्छ । धुँवा–धुलोले भुरादेखि बुढासम्मलाई रोगी बनाएको छ । सरोकारवालालाई वास्ता छैन । बढ्दै गएको वायू प्रदूषण घटाउन के गर्न सकिन्छ ? सरकारसँग कुनै योजना नै छैन । देशमा वातावरण मन्त्रालय र वातावरण विभाग छ ।
ती निकाय नाम मात्रको निकाय बनेको छ । कर्मचारी पाल्ने थलो बनेको छ, वातावरण मन्त्रालय र विभाग । प्रदूषण के कारणले बढ्दैछ ? सरोकारवालाले अनुगमन गरेका छैनन् । त्यहाँका कर्मचारी ‘दिन कटाउने र माना पचाउने’ काम मात्र गरिरहेका छन् ।
किन बढ्दैछ वायू प्रदूषण ?
मुलुकमा वायू प्रदूषण बढ्नुको पछाडि प्रमुख चार–पाँच वटा कारण देखिन्छ । ती कारणमाथि सरकारले काम गर्ने हो भने धेरै हदसम्म प्रदूषण न्यूनीकरण हुन सक्छ । पहिलो २० वर्षे सवारी साधनको विस्थापना र सवारीको प्रदूषण चेकजाँच । थोत्रा, पुराना गाडीले सबैभन्दा धेरै प्रदूषण गरिरहेका छन् ।
कालो धुँवाको मुस्लो फ्याँलेर सवारी साधन सडकमा गुड्दा पनि नियामक निकायले कारबाही गरेको छैन । सवारीबाट निस्किने उक्त पिरो धुलोले आम नागरिकलाई रोगी बनाइरहेको छ । अर्को हो, ईंटाभट्टाबाट निस्किने धुँवा । काठमाडौं उपत्यकाभित्र धेरै स्थानमा ईंटाभट्टा सञ्चालनमा छन् ।
इँटा पोल्दा सबैभन्दा बढी धुँवा निस्किने गर्दछ । यसले वायू प्रदूषणलाई मलजल गरिरहेको छ । उद्योग कलकारखाना, घर, संघसंस्था, अस्पताल लगायतबाट निस्किएको फोहोरहरुले पनि प्रदूषण गरिरहेको छ । फोहोर ल्याएर सडकमा फाल्ने क्रम जारी नै छ । त्यसले पैदलयात्रीलाई कति समस्या पर्छ ? उनीहरुको स्वास्थ्यमा कति असर पर्छ ? मतलब गरिएको पाइँदैन ।
सरकारले प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउन सकेको छैन । प्रतिबन्ध लगाउने भनिन्छ, तर कार्यान्वयन गरिँदैन । अहिले पनि पसलहरुमा प्लास्टिकको झोला छ्याप्छ्याप्ती भेटिन्छन् । प्रदूषण गर्ने एउटा प्रमुख तत्व प्लास्टिकको झोला पनि हो । खाद्य सामग्रीहरु पनि प्लास्टिकमै प्याक गरेर आएको हुन्छ ।
खायो, बाटोमा फ्याँक्यो । सरकार डस्टबिन राख्न जान्दैन, सर्वसाधारण आफूहरुले गरेको फोहोर व्यवस्थापन गर्न सिक्दैनन् । अनि त्यसको मर्का सबैले भोग्नुपर्छ । सडक छेउछाउ हामीले मासु पोलिरहेको देख्छौं । दाउरा बालेर मासु पोलिरहेका हुन्छन् । यसले कति वायू प्रदूषण निम्तिएको होला ?
यता, चुरोट पिउनेहरुले पनि प्रदूषण गरिरहेका छन् । चुरोट पिँउछन्, आफू त रोगी बन्छन्, साथै अरुलाई पनि बनाउँछन् । चुरोटको धुँवाले वायू प्रदूषण हुन्छ । अर्कोतिर ठुटा सडकमा फालेर सडक पनि दुर्गन्धित बनाइदिन्छन् । काठमाडौं उपत्यका घरैघरको शहर बनेको छ । जता हेर्यो, त्यतै घर ।
हरियालीको नामोनिशान देखिन छाडिसकेको छ । विकासको दोस्रो नाम नै घर हो भन्ने सरकारको आशयले गर्दा आज उपत्यका सबैभन्दा बस्न नलायक शहर बनेको छ । वनजंगल जम्मै फडाँनी गरेर बसाइँएको उपत्यका कुरुप देखिन थालेको छ । यता, वायू प्रदूषणले श्वास फेर्न हम्मेहम्मे बनाइदिएको अवस्था छ ।
मुलुकमा शहरी विकास मन्त्रालय, शहरी विकास विभाग र स्थानीय सरकार छ । शहर व्यवस्थित बनाउने दायित्व यी निकायको हो । यी निकाय निदाउँदा आज देशको राजधानीको ‘छ्ँया’ भन्नुपर्ने खालको बनेको छ । वायू प्रदूषण न्यूनीकरणका लागि रुख, बोटविरुवा निकै नै आवश्यक हुन्छ ।
विडम्बना, हामीका यस्तो विकास भयो कि वनजंगल फडाँनी गरेर घर ठड्याउने । जसका कारण वायू प्रदूषण बढेको छ । रुखले मान्छेलाई अक्सिजन दिन्छ । सबै रुख नै फडाँनी गरिदिएपछि कहाँबाट अक्सिजन पाइन्छ ? अनि श्वास फेर्न त समस्या हुने भइहाल्यो । हाम्रो सरकार यति नौटंकी गर्छ कि के भन्ने ?
अन्य मुलुकले प्रकृतिको संरक्षण गर्दै विकास गरेका छन् । नेपालमा विकासका लागि विनाश गर्नैपर्छ भन्ने भाष्य स्थापित हुँदै गएको छ । त्यसो होइन । प्राकृतिक स्रोतसाधनको संरक्षण गरेर विकास गर्न सकिन्छ यद्यपि यो कुरा सरोकारवाला बुझ्दैन् । भएको जंगल फडाँनी गरेर सडक छेउछाउ एकाध विरुवा रोपेर प्रकृतिको संरक्षण गरेको देखाउन खोजिएको छ ।
सडकको दायाँबायाँ रोपिएको त्यो विरुवा कहिले हुर्किने ? त्यहीमाथि पानी नहाल्दा ती विरुवा मरिरहेका छन् । जनताले तिरेको कर ‘बालुवामा पानी’ भइरहेको अवस्था छ । पहिले पहिले भनिन्थ्यो, ‘हरियो वन, नेपालको धन ।’ अब त बनै छैन । बन पनि सकियो, विकासको नाममा जथाभावी पैसा ओइराउँदा नेपालको धन पनि ।
नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिन्छ । खोला मासेर कुलो बनाइसकें । पानीको हाहाकार भइसक्यो । अब के–को जलस्रोतको दोस्रो धनी देश ? देशमा ६३४ वटा ढुंगेधारा थियो, त्यो कता गयो ? अत्तोपत्तो छैन । सबै भूमाफियाहरुले कब्जा गरे । सहयोग गर्यो सरकारले ।
ताल, पोखरी, कुँवा सबै माँसिसक्यो । पाटीपौवा, चौतारा पनि खाइदिए । नेपालको पहिचान डाँडाकाँडा थिए । डाँडाभरी हरियाली, हेर्दै कति सुन्दर देखिन्थ्यो । डाँडाकाँडामा डोजर चलाएर घर बनाइयो । योभन्दा बढ्ता विकासको के नै कल्पना गर्न सकिएला र ? खेतीयोग्य जमिनमा पनि घर, डाँडाकाँडामा पनि घर । त्यसैले त बेलाबखत उठीबास पनि लाग्नुपर्छ ।
प्रकृतिमाथि छेडखानी होइन संरक्षण गर्ने हो । नेपालका नेता र नेपालीले यो कहिले बुझ्ने हुन् ? पछिल्लो समय काठमाडौं उपत्यकामा खाली ठाउँ देखिन छोडेको छ । सबैतिर जोडेर घर बनाइएको छ । बुढाबुढीलाई बसेर गफिने र बालबच्चालाई खेल्ने ठाउँको अभाव भएको छ । घरभित्र गुम्सिएर बस्नुपर्ने बाध्यता छ । काठमाडौं उपत्यकाभित्र अब खाली जमिन देखिन छोडिसकेको छ ।
सफा, स्वास्थ्य वातावरणमा बाँच्न पाउनु आम सर्वसाधारणको अधिकार हो । यसको सुनिश्चितता सरकारले गर्नुपर्छ । त्यसका लागि सबै निकाय एकत्रित हुनुपर्छ । उपत्यकालाई वास्तवमै व्यवस्थित, प्रदूषणमुक्त बनाउने हो भने वातावरण मन्त्रालय–विभाग, शहरी मन्त्रालय–विभाग, स्थानीय तह, काठमाडौं उपत्यका विकास प्राधिकरण तात्नुपर्छ ।