राष्ट्रपति पौडेल बाकुमा व्यस्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

बाकु (अजरबैजान)/ राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा भैरहेको सम्मेलनमा व्यस्त भएका छन् । जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने कुरा पौडेलले माल्दिभ्सका समकक्षीसँगको भेटमा बताएका हुन् ।
सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिइरहेका राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उनका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मंगलबार भेटवार्तामा उनले सो आग्रह गरेका हुन् ।
‘जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ’, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उल्लेख गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले ‘नयाँ विमर्श’ लाई जानकारी दिएका छन् ।
यसैगरी उक्त भेटवार्ताका समयमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकासमा महत्वपूर्ण भूमिका खेलेको प्रसंग पनि उनीहरुले स्मरण गरेको बताइएको छ । दुवै देशको आर्थिक विकासमा सघाउ पुग्नेगरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि लागि प्याकेजसहित प्रबद्र्धन गर्न सकिने विचार पनि सो अवसरमा व्यक्त गरिएको बताइएको छ ।
यस्तै वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै वैदेशिक लगानीलाई सहजीकरण गरिएको जानकारी राष्ट्रपति पौडेलले गराउँदै यसमा जलविद्युत, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधि र कृषिजस्ता क्षेत्र रहेका भनी माल्दिम्सका समकक्षीलाई जानकारी गराएको पनि पोखरेलले जानकारी दिएका छन् ।
उक्त भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनीकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *