गठबन्धन जोडघटाउ मिलाउँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भनी मिति तोकिएका कारण नेपालको राजनीति तात्दै गएको छ । सत्तारुढ दलहरुको गठबन्धनलाई कायमै राखी आगामी निर्वाचनमा साझा उम्मेदवारी दिने तयारीमा सत्तारुढ दलहरु लागेका छन् । यसका लागि कार्यदल बनाएर उनीहरु छलफलमा जुटेका छन् । सबै दलबाट प्रतिनिधित्व गराई छलफल गरिंदै आएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले अभिभावको भूमिका निर्वाह गर्दै सबैलाई समेटेर लाने चाहना व्यक्त गर्दै आएका छन् ।
प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको सभापति समेत रहेका कारण उनी बढी दबाबमा रहेका छन् । एकातिर सत्तारुढ दलहरुलाई एकै कित्तामा राख्नुपर्ने चिन्ता उनीमाथि छ भने अर्कातर्फ कांग्रेस भित्र कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भन्ने संकीर्ण सोच लिनेहरुको दबाब पनि कायमै छ । कांग्रेसले सबै ठाउँमा उम्मेदवारी दिंदा बहुमत बढी स्थानमा कांग्रेसको जित हुने बुझाइमा केही नेताहरु रहेको अवस्था छ । उनीहरुको सोच सबै दलहरु एक्लाएक्लै निर्वाचनमा होमिएको खण्डमा त्यस्तो निर्वाचन परिणाम आउने खालको रहेको छ । सोही कारण उनीहरु सभापति देउवालाई निरन्तर दबाब दिइरहेका छन् ।
यस्तो अवस्थामा पनि देउवा भने निकै नै सुझबुझका साथ लागेका छन् । देउवाको भित्री चाहना आगामी निर्वाचनबाट नेकपा (एमाले) लाई नेपालको मूलधारबाट बढार्ने रहेको छ । यसका लागि देउवाले आफ्नो गठबन्धनमा रहेका दलहरुलाई कायमै राख्नुमात्रै होइन कि एमालेको कित्तामा अन्य दलहरुलाई पुग्न समेत नदिनुपर्ने हुन्छ ।
यसैगरी आफ्नो गठबन्धन भत्किएमा त्यसको प्रत्यक्ष लाभ एमालेले लिने भन्ने कुरामा देउवा विश्वस्त देखिएका छन् । अहिलेको अवस्थामै एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली तथा एमालेका नेताहरु हालको गठबन्धनलाई जसरी पनि भत्काउनु पर्छ भन्ने मान्यताका साथ विभिन्न खेलहरु खेल्दै आएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षलाई प्रधानमन्त्री बनाइदिने तथा नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ता एमालेमा फर्किए पुरानै अवस्थामा राखी उचित व्यवहार गर्नेसम्मका पासाहरु एमालेका नेताहरुले फ्याल्ने गरेका छन् ।
स्थानीय निर्वाचनको हालै सम्पन्न निर्वाचनको परिणामबाट तेस्रो शक्तिको रुपमा देखा परेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष आगामी निर्वाचनबाट प्रधानमन्त्री बन्ने सपना देख्दै आएका छन् । कांग्रेस सबैभन्दा ठूलो दल बन्ने तथा एमाले दोस्रो ठूलो दल बन्ने संभावना देखेका पुष्पकमल दाहाल माओवादी केन्द्र तेस्रो बन्दा पनि दुवै दललाई खेलाउन सक्ने हैसियतमा रहने बुझाइमा रहेका बताइएको छ ।
उनको चाहना भने कांग्रेस र एमालेलाई बहुमत ल्याउन नदिने रहेको बताइएको छ । त्यसो हुँदा आफ्नो दल सरकार गठनका लागि निर्णायक हुने भएकाले आफूले फेरि प्रधानमन्त्री बन्न पाउने सोचमा दाहाल डुबेका छन् ।
उता, देउवाको चाहना पनि आगामी निर्वाचनबाट कांग्रेसको पूर्ण बहुमतको सरकारको नेतृत्व गर्ने रहेको छ । सिट बाँडफाँडमा कांग्रेसलाई सकेसम्म बहुमतको अवस्था निर्वाचित हुने गरी लिने नभए कुनै सानो दललाई समावेश गरी सरकार बनाउने पूग्ने गरी सांसद निर्वाचित गराउने पक्षमा देउवा देखिएका बताइएको छ । यसका लागि लोकतान्त्रिक समाजवादी पार्टी सबैभन्दा उपयुक्त हुन सक्ने विश्लेषण सहित देउवा लोसपालाई समेत वर्तमान सरकारमा सामेल गर्ने पक्षमा लागि रहेका छन् ।
नागरिकतासम्बन्धी विधेयक ल्याइसकेको अवस्थामा लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु कांग्रेससँगको सहकार्यको पक्षमा देखिन थालेका छन् । कांग्रेससँग अहिले नै सहकार्य गर्न सकेको खण्डमा केही स्थानहरुमा आफ्नो जित निकाल्न सहज ठान्दै आएको लोसपालाई देउवाले सरकार बनाउने माध्यमका रुपमा समेत लिएर उसलाई सरकारमा सामेल गराउने पक्षमा लागि परेको अवस्था छ ।
उता, सबैभन्दा चतूर खेलाडी ठान्दै आएका एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि राजनीतिक घटनाक्रमलाई नियाल्दै आएका छन् । उनले आफूभन्दा पनि चतूर र परिपक्कको अवस्थामा देउवालाई पाएपछि विभिन्न तानावानाहरु बुन्न थालेको समाचार स्रोतले बताएको छ । सकेसम्म हालको गठबन्धनलाई टुटाउने खेलमा लागेका ओली नसके, राप्रपा नेपाल, राप्रपा लगायतका दलहरुसँग पनि सहकार्य गर्ने मनस्थितिमा पुगेका पनि स्रोतले दाबी गरेको छ । उनी आफूले अरुलाई तान्ने भन्दा पनि गठबन्धनमा चित्त नबुझाएर कोही आएमा उनीहरुलाई सहजै समेट्ने पक्षमा देखिएका छन् ।
उनको चाहना आफ्नो दलको चिन्ह लिएर अन्य दलका उम्मेदवारहरु समेत उठाउने रहेको छ । यसो गर्न सकेमा प्रत्यक्षतर्फ जे जति मत आउँछ, त्यसलाई समेत पछि आफ्नो दलको लोकप्रीय मतको रुपमा गणना गराउन सकिन्छ भन्ने रहेको छ । यसैगरी ती उम्मेदवारहरुका कारण समानुपातिकमा आफ्नो दलको मत बढ्नेछ भन्ने बुझाइमा ओली रहेका पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *