खोक्रो फुर्ती देखाउँदै एमाले : समस्यामा एमाले गठबन्धन कायम रहने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रमुन प्रतिपक्षी दल नेकपा (एमाले) आसन्न निर्वाचनको अवस्थाको कारण समस्यामा परेको छ । एमालेले आगामी निर्वाचनमा आफ्नो दल एक्लै लड्ने भनी फुर्ती लगाउँदै आए पनि एमालेको आन्तरिक विश्लेषणका कारण एमाले समस्यामा परेको देखिएको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अरुलाई गाली मात्र गर्न रुचाउने एमालेका अध्यक्ष आफ्नै बोलीका कारण एमालेलाई समस्यामा पार्ने अवस्थामा पुगेका छन् । एमालेको स्थायी कमिटी बैठकमा सत्तारुढ दलहरुको कसिलो गठबन्धन भए एमालेले प्रत्यक्षमा ४० सीट कटाउन पनि मुस्किल पर्ने भनी हिसाब किताब आएपछि एमालेमा रोदन छाएको छ ।
एमालेको सो बैठकमा प्रदेश इन्चार्जहरुको गरेको ‘ब्रिफिङ’ मा सबै जिल्लाको तथ्यलाई अघि सारिएको थियो । यस्तो तथ्यमा अहिले वडामा आएको मतलाई आधार बनाएर प्रदेश इन्चार्जहरुले आफ्नो प्रदेशको अनुमानित हिसाब किताब प्रस्तुत गरेका थिए । उनीहरुले पेश गरेको तथ्यलाई मान्दा धेरै स्थानमा कडा प्रतिस्पर्धा हुने तर जीत निकाल्न एमालेलाई निकै कठिन हुने भनी प्रदेश इन्चार्जहरु प्रस्तुत भएका थिए ।
प्रदेश इन्चार्जहरुले पेश गरेका तथ्यहरुलाई आधार मान्दा मुस्किलले ४० सीटमा जित निकाल्न सकिने भन्ने कुरा आएको एमालेका स्थायी कमिटिका एक सदस्यले नाम नछाप्ने सर्तमा ‘नयाँ विमर्श’ लाई बताए । यसैगरी हालको गठबन्धन टुटेमा तथा सबै दलहरु एक्लाएक्लै निर्वाचनमा होमिने परिस्थिति बनेमा भने एमालेको सय सीट आउन सक्नेसम्मको कुरा पनि उनीहरुले प्रस्तुत गरेका थिए ।
उनीहरुको प्रस्तुतिबाट एमालेका नेताहरु अत्तालिन पुगेका छन् । उनीहरु एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र घनश्याम भुषालले बैठकमै वामगठबन्धनको विषयमा कुरा राखेका बताइएको छ । आफ्नै निर्वाचन क्षेत्रमा समेत खतराको घन्टी बजिसकेको भन्ने प्रक्षेपणहरु सार्वजनिक भएका कारण पनि नेम्वाङ र भुसाल अत्तालिएका हुन् । त्यसो अध्यक्ष खड्गप्रसाद शर्मा ओली समेत आफ्नो जित निश्चित नदेख्ने अवस्थामा पुगेका छन् ।
स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले घोषणापत्र मस्यौदा निर्माणमा आकर्षक कुराहरुलाई राख्नुपर्ने प्रस्ताव पनि राखेको बताइएको छ । यसका लागि घरायसी प्रयोगमा बिजुली बत्ती निःशुल्क दिनुपर्नेदेखि आर्थिक अवस्था सुधार गर्नेसम्मका कुरा आएका छन् । उम्मेदवारको मापदण्डलाई पनि सो बैठकमा कुरा उठाइएको अवस्था छ । त्यसका लागि जिल्ला तहबाट आउने सुझावलाई ध्यान दिने बताइएको छ । एमालेले तीन मापदण्डमा रहेर उम्मेदवार छनोट गर्ने बताइएको छ ।
सो बैठकमा एमालेका अध्यक्ष ओलीले आफ्नो पुरानो अडानलाई कायम राख्न नसकेको समाचार स्रोतले बताएको छ । ओली आफ्नो दलले स्पष्ट बहुमत ल्याउने भन्दै फुर्ती हाँक्दै हिंडेको अवस्था थियो । उनले गठबन्धनमा रहेका दलहरुलाई आफ्नो दलले खासै महत्व नदिने बताउँदै आएका थिए । एमालेबाट फुटेर नेकपा (माओवादी केन्द्र) र नेकपा (ए.समाजवादी) बन्न पुगेका दलहरुसँग कुनै हालतमा पनि सहकार्य हुन नसक्ने भनी फुइँ हाँक्दै हिंडेका ओली पछिल्लो स्थानीय निर्वाचनको परिणामबाट भने झस्किन पुगेका छन् ।
ओलीले सोचेको भन्दा पृथक परिणाम स्थानीय निर्वाचनमा आएको थियो । आफू र आफ्नो दल बाहेक अन्य कुनै पनि शक्तिलाई नमान्ने घमण्डी सोचका ओली आफ्नै निर्वाचन क्षेत्रमा समेत जित निश्चित नभएको भन्ने प्रक्षेपणहरु बाहिर आएपछि सोचमग्न बन्न पुगेका छन् । उनले माओवादी केन्द्रले अहिले पनि दुईतिर गोडा राखेर खेल्ने कार्य गर्दै आएको भनी टिप्पणी गरेका छन् ।
ओलीको बोली पछिल्लो समय फेरिए पनि उनले आफ्नो फुर्ती कायमै रहेको देखाउने देखावटी प्रयास भने जारी राखेका छन् । उक्त बैठकमा ओलीले आफ्नो फुर्ती देखाएको कुरालाई भने एमालेका उपाध्यक्ष नेम्वाङ र स्थायी कमिटी सदस्य भुसालले भने पचाउन सकेनन् । उनीहरुले वामपन्थी शक्तिहरुबीच गठबन्धन गरेर जान सकिने धारणा राखेका थिए ।
उनीहरुको धारणाका कारण ओली समस्यामा परेका थिए । सोही कारण ओलीले एमालेले गठबन्धनको ढोका खुला राखे पनि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको हकमा भने कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने पूर्वशर्तलाई कायमै राखेको छन् ।
एमालेले आफू समस्यामा पर्ने देखिएको अवस्थामा समेत भ्रमको खेती गर्न नछोडेको आम बुझाइ छ । एमालेले जतिसुकै फुर्ती लाए पनि वास्तविकता त्यो भन्दा भिन्न रहेको बताइएको छ । हालको गठबन्धन कायम रहेको अवस्थामा उस्तै परे एमालेले प्रत्यक्षतर्फ नौदेखि सत्र सिटसम्म जित्न सक्ने प्रक्षेपण सार्वजनिक भएको अवस्था छ ।
एमालेले जस्तोसुकै कुरा गरे पनि प्रधानमन्त्री एवम् नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा भने सत्तारुढ गठबन्धनलाई कायमै राखी एमालेलाई रसातलमा पु¥याउने योजनका साथ लागि परेको अवस्था छ । देउवाको सोचलाई साथ दिने पक्षमै माओवादी केन्द्र र एकीकृत समाजवादी देखिएका छन् । ओलीका कर्महरुलाई प्रतिगमनको संज्ञा दिंदै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कांग्रेससँगको सहकार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिसकेका छन् ।
एमालेसँग मिलेर जाने भन्दा पनि हालको अवस्थामा एमालेलाई सिध्याउन सकेन आफ्नो औचित्य पुष्टी हुने भन्ने कुरामा माओवादी केन्द्र र एकीकृत समाजवादी देखिएका छन् । एमाले तथा नेकपामा रहँदा ओलीको एकलौटी मारमा परेका नेताहरु अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीमा गोलबद्ध भएका छन् । उनीहरुले एमालेलाई भन्दा कांग्रेसलाई मित्रशक्तिको रुपमा हेरेका छन् । एमालेमा गए वा एमालेसँग कुनै पनि किसिमको सहकार्य गरेमा ओलीको पेलानमा फेरि पनि परिने मनोविज्ञानले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई सताएको छ ।
विगतमा ओलीलाई झेलिसकेका माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमालेलाई देखाएर कांग्रेससँग बढी भाग खोज्ने नीति लिने समाचार स्रोतको दाबी छ । उता, एमाले तथा अन्य दलको चाल थाहा पाएका कांग्रेसका नेताहरु पनि उनीहरुको कुरालाई बुझेर आफ्नै रणनीति बनाउन लागिपरेको अवस्था छ । कांग्रेसले पनि बढीभन्दा बढी सिट लिने तथा जे जति सिट लिन सकिन्छ तिनीहरुमा जित निकालेर सकेसम्म आप्mनो एकलौटी सरकार बनाउने तयारी गरिरहेको देखिन्छ ।
यसरी देशको राजनीतिलाई विश्लेषण गर्ने हो भने कांग्रेस हालको गठबन्धनलाई कायम राखी आगामी निर्वाचनमा आफ्नो वर्चश्वलाई कायमै राख्ने पक्षमा देखिएको छ । यसैगरी एमाले भने हालको गठबन्धनलाई जसरी पनि टुटाउनै पर्छ भन्ने एकसूत्रीय अभियानमा लागेको देखिन्छ । यस्तै, माओवादी केन्द्र पनि तेस्रो शक्तिको रुपमा रहेर भोलिका दिनमा निर्णायक दलको रुपमा देखा परी भोलिको प्रधानमन्त्री आफ्नो हातमा पार्ने दाऊमा रहेको देखिन्छ । यस्तै, हाल सानै दलको स्थितिमा रहे पनि एकीकृत समाजवादी भने एमालेलाई जे जति बढी हराउन सकिन्छ त्यसमा मज्जा मान्ने पक्षमा देखिएको छ । एमालेलाई हराउन सक्नु नै आफ्नो सफलता ठान्ने अवस्थामा रहेको एकीकृत समाजवादी निर्वाचनपछि माओवादी केन्द्रसँग एकीकरण गरी एमालेलाई आफूभन्दा तल देखाउने सोचका साथ लागिरहेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *