निधि पहाडी जिल्ला जान खोज्नु अर्थपूर्ण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयासले हालसम्म मूर्त रुप लिन सकेको छैन । लोसपालाई गठबन्धनमा भित्र्याउन नेपाली काँग्रेस बाहेकका दलहरु बाधक बनेको जानकारहरुले बताएका छन् । बरु आत्मालोचना गरेर आ–आफ्नो गल्ती स्वीकारे जसपा र लोसपाको फेरि एकीकरण हुने चर्चा चलेको भए पनि यी दुबै दलका नेता तथा कार्यकर्ताहरु सि.के. राउत नेतृत्वको जनमत पार्टीतिर धमाधम प्रवेश गर्ने लहर चलेको छ ।
लोसपालाई सत्ता गठबन्धनमा समावेश नगरिए धनुषा–३ बाट काँग्रेस नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिलाई आगामी मंसिर ४ गते हुने निर्वाचन लड्न सहज हुने नत्र गठबन्धन भएमा लोसपा नेता राजेन्द्र महतोसँग चुनाव लड्न समस्या पर्ने देखिएको छ । गठबन्धन भएमा धनुषा–३ निधिले महतोलाई छाड्नुपर्ने निश्चित छ । काँग्रेसको १४औं महाधिवेशन अगाडि नङ र मासुको जस्तो रहेको देउवा–निधि सम्बन्ध अहिले नदीको दुई किनार जस्तै बनेको छ । मधेश प्रदेशमा लोसपासँग तालमेल गरेर काँग्रेसको सिट बढे देउवाले निधिलाई धनुषा–३ बाट जिताउन आवश्यक देखेका छैनन् । तसर्थ निधिले यी सबै कुराको अध्ययन गरेर नै आफू धनुषा–३ आफ्नो निर्वाचन क्षेत्र छाड्ने निर्णयमा पुगेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
कुनै बेला मधेशका पिलर भनिने निधि १४औं महाधिवेशन पछि टेकोमा परिणत भएका छन् । काँग्रेसका संस्थापक नेता समेत रहेका पिता महेन्द्रनारायण निधिले २०४८ मा निर्वाचन जितेपछि २०५१ को मध्यावधि र त्यसपछि निर्वाचन क्षेत्र हेरफेर भएपछि २०६४ र २०७० को निर्वाचनमा विमलेन्द्र निधिले धनुषा–३ बाट चुनाव जितेर भौतिक योजना र गृहजस्तो मालदार मन्त्रालयको मन्त्री बनेका थिए ।
२०७४ को निर्वाचनमा निधिले लोसपाका नेता राजेन्द्र महतोसँग तीन हजार बढी मतले चुनाव हारे । चुनावी राजनीतिमा सधैं मधेश र धनुषालाई कर्मथलो बनाएर मधेशी जनताको सेवामा लग्दै आएका निधि २०७४ को चुनाव र १४औं महाधिवेशनमा प्राप्त मतले विक्षिप्त भै समानुपातिक वा पहाडी जिल्लाबाट चुनाव लड्ने निर्णयमा पुगेको जानकारहरुले बताएका छन् । नेता निधिले काठमाडौं, मुगु, रोल्पा, पाँचथर, ताप्लेजुङ र सिन्धुलीबाट चुनाव लड्ने चासो देखाएका छन् । त्यसमा पनि सिन्धुली उनको रोजाईमा परेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *