विद्युतीय सवारीलाई सहज बनाऔं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय
विद्युतबाट चल्ने सवारी साधनलाई ब्याट्री चार्ज गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेशनहरुलाई प्राथमिकता दिन थालेको छ । काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन प्राधिकरणले सञ्चालनमा ल्याएपछि त्यसले औपचारिकता पाउन लागेको हो । चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेपछि नेपालमा चार्जिङ स्टेशनहरुको विस्तारले ठाउँ पाउने अवस्था आएको हो । विद्युत् खपत प्रबद्र्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारीमा प्राधिकरण लागेको छ ।
देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने उद्देश्य अनुसार कार्य भइरहेको जनाइएको छ । २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा सीसीएस (साना ठूला कारहरु) चार्जर रहेका छन् । एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्ने बताइएको छ । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने पनि जनाइएको छ । चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको छ । एक सय २० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ । चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपियाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने देखिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय कार चार्ज गर्दा औसतमा प्रतिकिलोमिटर ७० पैसा बराबरको खर्च लाग्छ । एसयूभी लागि ८० पैसा, माइक्रोबसका लागि ९० पैसा र ठूला बसले एक रुपियाँ २० पैसा प्रतिकिलोमिटर बराबर खर्च लाग्छ ।
यसरी नेपालमा इन्धनको समस्या देखिइरहेको अवस्थामा विद्युतीय साधनहरुलाई प्राथमिकता दिनु राम्रो पक्ष हो । नेपालमा इन्धन नपाइने तथा विदेशबाट इन्धन ल्याउँदा एकदमै महंगो पर्ने गरेको छ । इन्धनकै कारण नेपालमा विदेशी मुद्राको सञ्चिती बढ्न सकेको छैन । विदेशी मुद्रामा इन्धनको भुक्तानी गर्नुपर्ने हुँदा नेपालका लागि इन्धन एकदमै घाँडो बनेको स्थिति छ । यस्तो अवस्थामा नेपालमा विद्युुतीय सवारी साधनहरुको प्रयोगलाई बढावा दिइयो भने त्यसले नेपालमा इन्धनको खतप घटाउन सहयोग गर्नेछ । यसैगरी विद्युतीय सवारी साधनका कारण वातावरणमा समेत यसले सहयोग पु¥याउने अवस्था हुन्छ । त्यसैले प्राधिकरणले मात्र होइन कि विभिन्न स्थानीय निकायहरुले समेत आफ्ना क्षेत्रहरुमा यस्ता चार्जिङ स्टेशनहरु खडा गरी सेवा दिन सकेमा नेपालमा विद्युतीय सवारी सर्वसुलभ रुपमा सञ्चालनमा आउने देखिन्छ । यस्तो राम्रो कार्यलाई सबै क्षेत्रबाट बढावा दिने गरिनुपर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *