अनुसा थापा
चुनाव नजिकिदैं गर्दा पैसाको खोलो बगाउने क्रम चलेको छ । चुनावी माहौल तातेसँंगै टिकट खरिदबिक्रीको लर्को लागेका कुराहरु आइरहेका छन्े । मनोनीत सांसद्का लागि तीन करोड र प्रत्यक्ष चुनाव लड्नका लागि १० करोड रुपियाँसम्म खर्च गरिएका कुराहरु आइरहेका छन् । दलका नेतालाई पैसा दिन नसक्नेहरु चुनावी मैदानबाटै बाहिरिएका छन् । विगत दुई दशकदेखि दलमा लागेका र जनताका लागि हिँडेका नेताहरुसंग पैसा नहुँदा उनीहरु चुनाव लड्नबाट वञ्चित भएका छन् ।
दलले उनीहरुलाई टिकट नै दिएन । दलका अध्यक्षहरुलाई टिकट बेचेर पैसा कमाउने अवसर भयो । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायतलाई पैसा कमाउने राम्रो मौका बन्यो ।
शीर्ष नेताहरुले सम्पूर्ण उम्मेदवारसँंग मोटो रकम असुल्छन् र आफ्नो क्षेत्रमा लगेर खर्च गर्छन् ताकि चुनाव जित्ने निश्चित होस् । होइन भने नेताहरुको झोले बन्न सक्नुप¥यो । दल अध्यक्षको चम्चे भएर अघिपछि दौडिन सक्नुप¥यो । यस्ताले चाहिँ टिकट पाउँछन् । जनता माझ भिजेको, जनताले रुचाएका व्यक्तिहरुले कतिपय स्थानहरुमा टिकट पाएका छैनन् । जनताबीच लोकप्रिय भएर के गर्नु, दललाई पोस्न नसकेपछि !
केही दिनअघि मात्र एमाले प्रवेश गरेका नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाललाई काठमाडौं ६ बाट उठाइएको छ । आइजिपी हुँदा अरबौं रुपियाँ भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाएका भन्ने आरोप उनी माथि पनि लाग्दै आएको छ । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागबाट बच्नका लागि यसो गरेका भनी भन्नेहरु पनि छन् । एमालेलाई मोटो रकम दिएर चुनावी मैदानमा होमिएका उनको एक मात्र उदेश्य आफ्नो कर्तुत लुकाउनु हो भन्ने आम बुझाइ रहेको छ ।
दलमा योगदान गरेका व्यक्तिले टिकट नपाउँदा काठमाडौं क्षेत्र नम्बर ६ का जनता दुःखित भएका छन् । दलमा लागेर जनताको काम गर्नेले टिकट पाएनन् । एउटा सरकारी जागिर खाएर अरबौं सम्पत्ति जोडेकालाई टिकट दिइयो । पैसा दिन सक्नेले टिकट नपाउने, नहुनेले नपाउने । कस्तो प्रवृत्ति हो यो ? राजनीति त सेवा होइन् र ? पछिल्लो समय राजनीति व्यापार बनेको छ ।
सार्वजनिक काम नै नगरी पैसाको आडमा चुनाव लड्नेको भीड छ । हिजो दलमा आउँछन्, आज टिकट पाउँछन् । टिकट किनबेच हुँदा राम्रा नेताहरु सधंै पछि परिरहेका छन् । उही काम नगर्ने, फट्याहा र दलाल गरेर सांसद् बन्न आएकालाई मत हाल्न बाध्य छन्, जनता । दलले न टिकट दिन्छ न विरोधमा बोल्न नै दिन्छ । दलको विरोधमा चुइँक्क आवाज निकाल्यो भने सदस्यता नै खारेज गरिदिन्छ ।
दलको अगाडि निरीह भएर बस्न बाध्य छन्, कार्यकर्ता । टिकट नपाउनेले भकाभक दल नै त्याग गर्नुपर्ने अवस्था आएको छ । निरीह भएर टुलुटुलु हेर्नुको साटो दल छोडेर स्वतन्त्र उम्मेदवारी दिनु नै उचित हुन सक्छ । काम गर्ने दलको उम्मेदवार बनोस् कि स्वतन्त्रबाट चुनावी मैदानमा उत्रियोस् जनताले मत दिइहाल्छन् । दलका अध्यक्ष आफू नजिक भएपछि जे गरे पनि हुन्छ भन्ने उदाहरण महेश बस्नेत र गोकुल बाँस्कोटा हुन् ।
बाँस्कोटामाथि ७० करोड रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ । सञ्चारमन्त्री हुँदा उनले खरिद प्रकरणमा ७० करोड रुपियाँ घुस मागेको त कसैले पनि बिर्सिएका छैनन् । उनले बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि काभ्रेपलाञ्चोकका जनताको शिर लाजले निहुरिएको छ । अब काभ्रेली जनतामा निकै चेतना आइसकेको छ । फेरि पनि भ्रष्टाचार गर्ने मौका बाँस्कोटालाई काभ्रेली जनताले दिने छैनन् ।
पानी, बत्ती, रोजगारी, स्वास्थ्य, शिक्षाको अपेक्षा गरेर काभ्रेली जनताले मत दिएका थिए । तर, बाँस्कोटा मन्त्री भएर आउनेबित्तिकै घुस काण्डमा मुछिए । भन्नलाई भक्तपुर उपत्यकाभित्र पर्छ । तर, विकासको हिसाबले हेर्ने हो भने जुम्ला, हुम्ला भन्दा पनि फरक नपर्ला । महेश बस्नेतले विकासको सिन्को पनि भाँचेका छैनन् । उनले जनताको काम गर्न अलिकति पनि चासो देखाएनन् ।
बरु, इँटाभट्टालाई उपत्यकाभित्रै सञ्चालन गर्न दिएर र मदिरा उद्योगलाई लाइसेन्स बाँडेर उनले अरबौं रुपियाँ भ्रष्टाचार गरेको भनी चर्चा चल्ने गरेको छ । भक्तपुरकै जनता उनको कर्तुतबारे खुलेआम बोल्न डराउँदैनन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको यस्ता दलालीलाई जनताले नै हराउनुपर्छ भन्ने मान्यतालाई विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालहरुमार्फत व्यक्त गर्न थालेका छन् । दलले टिकट दिए पनि जनताले जिताउनु हँुदैन भन्ने खालका अभिव्यक्तिहरु आइरहेका छन् ।
पैसा र प्रलोभनका जनता बिक्नु हँुदैंन । आफ्नो नातेदार भनेर आफ्नो अमूल्य मत बेकारका व्यक्तिहरुलाई दिनु हँुदैंन । हामीमाथि नै कर बढाउँछ अनि त्यो कर विकासको साटो व्यक्तिगत सेवासुविधामा खर्चिन्छ । जनताले अधिकांश नेतालाई राम्ररी चिनेका छन् । त्यस्तालाई ठीक ठाउँमा ल्याउन जरुरी छ ।
ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका छन् । उनलाई मत दिनुअघि जनताले निकै पटक सोचविचार गर्नुपर्छ । एमालेलाई पहिले जसरी आँखा चिम्लेर मत दिनु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु जस्तै हो । यसअघि मत दिएर जनता आफैं चेतेका होलान् । अब फेरि पनि सोही काम नगर्दा उचित होला । पाँच वर्षको कार्यकाल समेत चलाउन नसकेलाई मत दिनु भनेको मुलुक ध्वस्त पार्नु मात्र हो । हरेक दलले दोहो¥याएर टिकट दिइरहेको पाइन्छ ।
कि पैसा लिएर व्यापारी र दलालीलाई टिकट दिने । सिधासाधी वर्षौ दलमा लागेकाले टिकट नै पाउँदैनन् । २०७९ साल बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा समेत पैसा खर्च गर्ने होडबाजी नै चलेको थियो । चुनाव जित्नका लागि १० करोड रुपियाँसम्म खर्च गरेको बताइन्छ । यता, दललाई दिएको रकम छुट्टै छ । यत्रो पैसा खर्च गरेपछि उसको सोचाइ नै पैसा उठाउनेतिर मात्र हुन्छ ।
साहुब्याज नै भ्रष्टाचार गरेर उठाउँछन् । भ्रष्टाचार गर्दागर्दै कार्यकाल सकिन्छ, जनताको समस्या ज्युँको त्युँ । चुनाव लड्नका लागि व्यापारीहरुसँंग चन्दा उठाउँछन् । व्यापारीसँंग पैसा लिइसकेपछि महंगी बढिहाल्छ । कि त आफ्नो नजिकको ठेकेदारलाई ठेक्का दिन्छन् र भ्रष्टाचार गर्छन् । उता, सरकारी र गुठीका जग्गाको दुरुपयोग बढ्छ । कि त कर बढाउँछन् । जताबाट असुले पनि जनता नै मर्कामा पर्ने हुन् ।
गुण्डा, व्यापारी, दलालीहरुले दललाई पोसेर टिकट लिइरहेका छन् । जनताको हितमा काम गरेका नेता, कार्यकर्ता यो चोटि पनि चुनाव लड्नबाट वञ्चित भए । चुनाव मैदानमा उत्रिन पनि दिइएन । राजनीतिमा लागेर कपाल सेताम्मे पारेका, घरखेत सिद्धाएका नेताहरुलाई नै राजनीतिबाट घिन लागेको छ । टिकट नपाउँदाको दुःख तिनलाई मात्र थाहा छ ।
राजनीतिका लागि आफ्नो घरपरिवारबाट घृणित भए । छोराछोरी पढाउन पनि धौ प¥यो । तिनले के नै पाए ? सांसद् बन्ने उनीहरुको सपना चकनाचुर भयो । पछिल्लो समय स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुको संख्या बढेको छ । दलले टिकट नदिएपछि आखिरी विकल्प नै यो हो । स्वतन्त्र भएर जनतामाझ जाने, जनताले पत्याए पत्याउँछन् नपत्याए पनि ठीकै छ भन्नेहरु छन् ।
गत बैशाख ३० गतेकै नतिजा नै उदाहरणीय छ । एमाले, कांग्रेस जस्तो ठूला दललाई किनारामा राखेर काठमाडौंका जनताले बालेन्द्र साहलाई विजयी बनाए । यता, धरानमा पनि हर्क साम्पाङ्गले बाजी मारे । स्वतन्त्र विजयी बनेको देखेपछि रवि लामिछानेले पनि ‘राष्ट्रिय स्वतन्त्र दल’ खोलेका छन् । स्वतन्त्रको नाम लिएर जित्छु भनेर हिँडेका लामिछानेको यो सपना पनि छिटै टुक्राटुक्रा हँुदैछ किनकि उनले नाम मात्र स्वतन्त्र राखेका छन् तर दलीय व्यवस्थामै आएका छन् ।
राजनीतिक दलबाट आएका जनप्रतिनिधिहरु काम नगर्ने अनि सरकारी सेवासुविधा मात्र लिने । बालेनले त जनताको शिर निहुरिने काम गरेनन् । आज मुलुकभर बालेनको नै चर्चा छ । काम गर्नलाई दल नै चाहिन्छ भन्ने जुन भ्रम थियो, त्यो बालेनले तोडेका छन् । त्यसैले पनि आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिनेको चाप बढेको हो । राजनीतिक दलहरु बालेनको काम देखेर तर्सिएका छन् ।
बुढादेखि भुरासम्म बालेनको समर्थनमा उत्रिँदा राजनीतिक दलहरु चकित भएका छन् । १० करोड रुपियाँ खर्च गरेर चुनाव लड्नुभन्दा नलड्नु नै बेस् होला । बेकारमा किन जनताको आँखामा काँडा बन्ने । पैसा खर्च गरेर टिकट लिने र चुनाव जित्ने क्रम बन्द गरौं । महेश बस्नेतले बालेनलाई धम्काउने खोज्दा मुसाजस्तो भएर दुलोभित्र छिर्नुपरेको थियो । आफ्नो पृष्ठभूमि देखाउन खोजेका थिए तर जनताको अगाडि केही लागेन ।
पैसा हुनेलाई टिकट दिँदा जनता उदासीन !
Facebook Comments Box