राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अवसरमा यो मेला गरेको भनिएको छ । यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेको भनी सरोकारवालाहरुले जानकारी दिएका छन् ।
मेला गर्ने कि नगर्ने भन्नेमा उत्पादकहरुबीच विवाद चले पनि मेलाले सर्वसाधारण उपभोक्तालाई भने फाइदा पुगेको छ । मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ । जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् । त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् ।
उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् । अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको बताइन्छ । थोरै नाफा हुँदा पनि उद्योगीहरु फाइदामा छन् ।
शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । केही जुत्ता उत्पादकहरु बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे ।
त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय ग¥यो ।
विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत बर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायतका ब्राण्डका जुत्ता उत्पादकहरु आफूहरुलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए । विरोधको नेतृत्व तात्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए ।
केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् ।
साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट विश्राम पायो । उनीहरुले दशैंअघि एउटा समूहले भृकुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए । त्यही अवसर पारेर संघका अध्यक्षलगायतका पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला शुरु गरे ।
भृकुटीमण्डको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए । त्यही बुकिंगमा पनि संघका पदाधिकारीले अनुनय विनय गरेर आफ्नो स्टलहरु राखे । समाज कल्याण परिषदले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो ।
त्यसपछि संघका पदाधिकारीहरुले आफ्नो स्टल छोपेर बसे । उनीहरुले ठूलो चौर छाडेनन् । उनीहरु जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन् । अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरुले मेला गरिरहेका छन् । सानो चाँैरमा मेला लगाउनेहरु ठूलो चौरकै किनबेच भएको बताउँछन् ।
सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरुले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायतका पदाधिकारीहरु आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरु बताउँछन् । मेलामा प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई खुइल्याउन थाले । उसले त चाइनामा बनाएर ल्याउँछ र मेलामा राखेर नेपाली उत्पादन भनेर बेचिरहेको छ भनेर एक अर्कालाई आरोप लगाउन थाले ।
यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्वसाधारणले शंका गर्न थाले । यसले नेपाली उद्योग नै संकटमा पर्न थाले । यस्तो प्रश्न आफूले धेरै पटक सामना गर्नु परेको एक जुत्ताचप्पल उत्पादकहर बताउँछन् । अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ता उत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दाबी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिसत बजार धान्ने उत्पादकहरुको दाबी छ ।
हरेक बर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुन्छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दाबी छ । उत्पादकहरुले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी नै दिने गरेका छन् ।
राज्यले समेत जुत्ताचप्पल उद्योगीलाई संरक्षण गरेको छ । जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक संघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा नीति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका बताइएको छ ।
जुत्ता मेलाको प्रतिस्पर्धा, ग्राहकलाई फाइदा
Facebook Comments Box