बुढा नेताहरुलाई काँग्रेसमा धर्मसंकट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बुढो दलका बुढा नेताहरु संकटमा परेका छन् । खासगरी नेपाली काँग्रेसमा स्वतन्त्र उम्मेदवारहरुको बाढी चलेपछि बृद्ध भएका पुस्तान्तरण गर्न नचाहने नेताहरु ‘रेड जोन’ मा परेका हुन् । काँग्रेसी नेताहरुको ‘मै खाउँ मै लाउँ’ प्रवृत्तिले २०४८ सालदेखि कांग्रेसलाई मत दिँदै आएकाहरु र थपिएका नयाँ छ लाख युवा मतदाताले विकल्प खोज्न थालेका छन् । काँग्रेसमा गलत संस्कार हावी, असैद्धान्तिक गठबन्धन र अलोकतान्त्रिक व्यवहारका कारण व्यवस्था नै धरापमा पर्छ कि भन्ने विश्लेषण हुन थालेको छ । अपवित्र गठबन्धनले केही शीर्ष नेताहरुलाई फाइदा भए पनि संगठन धराशायी बन्दै गैरहेका काँग्रेसका पुराना जानकारहरुले बताएका छन् ।
पछिल्लो समय बी.पी.कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नीति एवं सिद्धान्त छाड्दा काँग्रेसप्रति वितृष्णा बढेको छ । खासगरी माओवादीको सिद्धान्तमा पछि लाग्दा लोकतन्त्रका लागि लडेको सबैभन्दा पुराना दल नेपाली काँग्रेस दिशाहीन बन्न पुगेको जानकारहरुले बताएका छन् । त्यसबाहेक टिकट वितरणमा मनपरी आफ्ना नातागोता र आसेपासे तथा गुटलाई प्राथमिकता दिँदा काँग्रेसको लागि लडेका नेताहरुको मन कँुडिएको समाचार स्रोतले बताएको छ । नातावाद हावी, व्यक्तिमा नैतिकताको खडेरी, अयोग्यलाई टिकट जस्ता विकृति भित्रिएपछि काँग्रेसका नेताहरु खिन्न बनेको चर्चा चलेको छ । बेथितिको आहालमा पौडी खेलेको काँग्रेसलाई डढेलधुरामा आफ्नै चेला कर्ण मल्ल, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गोविन्दराज जोशी र रुपन्देही ३ मा एमाले–राप्रपा गठबन्धनका कारण गृहमन्त्री बालकृष्ण खाँणलाई संकट आउन सक्ने बताइएको छ ।
त्यसमाथि मसिर ४ गते नजिकिँदै गर्दा अस्थिरता र जनतालाई किनबेचको महारोगले बुढा नेताहरु संकटमा पर्न सक्ने अनुमान गरिएको छ । यो रोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि ग्रसित बनाएको छ । काँग्रेसको विकल्प खोज्न जनतामा हुटहुटी देखिनुले परिणाम सोचेजस्तो नहुने राजनीतिक वृत्तमा चर्चा चलेको छ । चुनावको परिणाम नआउँदासम्म काँग्रेसका युवा नेताहरु पनि निद हराम बन्न पुगेको काँग्रेस श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *